जुम्ला । कर्णाली प्रदेशकै सबैभन्दा बढी स्याउ उत्पादन हुने जिल्ला जुम्लाका बगैँचामा स्याउका फूल फुलेर सेताम्मे भएका छन् । यो याममा स्याउका फूलले यहाँको वातावरण निकै रमणीय देखिएको छ। जुम्लाका किसानले उत्पादन गरेका स्याउ बगैंचा यो याममा फुलेर सेताम्मे बनेका छन् ।
कर्णाली राजमार्गमा रहेका स्याउका बगैंचा फुलेर सेताम्मे भएपछि जिल्ला भित्रिने विशेषगरी आन्तरिक पर्यटन स्याउ बगैंचामा पुगेर फोटो खिच्नेदेखि भिडियो बनाउने गरेको तिला गाउँपालिका-१ का स्याउ किसान महेन्द्र बुढाले जानकारी दिनुभयो । स्याउ बगैंचा फुलेर रमाइलो भएको छ । यो सिजनमा स्याउमा चाहिने मलदेखि पानीको व्यवस्थापन गरे राम्रो उत्पादन बगैंचाले दिने स्याय किसान बुढाको भनाइ छ ।
जिल्लैभरि रहेका बगैंचामा स्याउका बोट फुलेर सेताम्मे भएपछि यहाँको वातावरण रोमाञ्चक देखिएको छ । जुम्ला स्वादिलो स्याउ पाइने जिल्लाका रुपमा चिनिन्छ । त्यो स्वादिलो स्याउ फल्ने बोटका बगैंचाहरुमा फूल फुलेर अहिले सेताम्य भएको हो । चैत वैशाखमा स्याउ फुल्ने र भदौमा पाक्नेगर्छ । गुणस्तरीय स्याउको फल दिनका लागि बगैंचालाई चाहिने मलको उचित प्रयोगदेखि सिँचाई व्यवस्थापनमा अहिले जुम्ली किसान रातदिन लागि परेको तिला-१ स्थित रारामा रहेको पातिहल्ला स्याउ बगैंचाका समुहका सचिव गोरीकला बुढाले जानकारी दिनुभयो ।
सामुहिक रुपमा स्याउ बगैंचा गर्दा सम्बन्धि निकायबाट अनुदान लिन सहज भएको छ। अहिलेसम्म पातिहल्ला स्याउ बगैंचाको समुहमा करिब चार हजार स्याउका विरुवा रहेका छन् । अहिलेसम्म दुई हजार विरुवाले फल दिने गरेको छ । अबको एक बर्षभित्र सबै विरुवाले फल दिने समुहका सचिव रावतको भनाइ छ । एक नगरपालिका र सात पालिकाका ६० वटै वडामा स्याउ फल्ने गरेको छ ।
फुल फुलेर स्याउ बगैंचा सेताम्मे यो याममा रमाइलो बनाएको छ। स्याउ फुल्दा निकै खुसी लाग्छ तर कालो तुसारोले स्याउका फुलहरु झारेर सखाप पार्ने भएकोले किसानलाई चिन्तित बनाएको जिल्लाका स्याउ किसान बताउँछन् ।
माघदेखि स्याउ बिरुवाको रेखदेख, मलखाद व्यवस्थापनलगायतका काममा किसानलाई चटारो छ । स्याउका बिरुवा फुलेपछि बगैंचामा अधिकांस किसानहरु सिचाइ व्यवस्थापनमा लागेका छन् । स्याउ फुलेकाले यस वर्ष लटरम्म फल्ने आशा जुम्ली किसानको छ ।
जिल्लाका १८ हजार घरधुरीमध्ये करिब १६ हजार घरधुरी स्याउ खेतीमा संलग्न छन् । कृषि विकास कार्यालयका अनुसार अहिले चार हजार दुई सय ५० हेक्टर जमिनमा स्याउ खेती भइरहेको कार्यालयका सुचना अधिकारी शेर बहादुर भण्डारीले जानकारी दिनुभयो । जुम्लामा गोल्डेन, रेड, रोयल, जोनाथान र ओरेन्ज टिपिन, म्याकन्जलगायत जातका स्याउ उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।
जुम्लाको स्याउको इतिहास
जुम्ली स्याउको इतिहास विसं २०२२ सालदेखि शुरु भएको हो । जुम्लामा विसं २०२२ मा केही व्यक्तिले भारतको कस्मिरबाट स्याउका बिरुवा ल्याएर रोपेपछि शुरु भएको स्याउ खेती आजसम्म यहाँ जिल्लाभरि फैलिएको छ । स्याउ खेतीको विस्तारका लागि तत्कालीन सरकारले पनि सघाएको थियो । विसं २०३२ मा रानी ऐश्वर्यको जुम्ला भ्रमण भएपछि यहाँको चन्दननाथ नगरपालिका (तत्कालीन कार्तिकस्वामी गाउँ पञ्चायत) को गैरागाउँँमा स्याउको वागबानी केन्द्र स्थापना भएको थियो । उक्त बागवानी केन्द्रमा विसं २०३४ मा स्याउका बिरुवा उत्पादन गर्दै जिल्लाका केही स्थानमा किसानले नमूनाका रूपमा स्याउखेती शुरु गरेको जुम्लाको स्याउको इतिहास भेटिन्छ । तर यहाँ महतगाउँका कृषक स्व पदमबहादुुर महतको पुरानै स्याउ बगैंचा थियो । उनले भारतको कस्मिरबाट स्याउका बिरुवा ल्याएर रोपेका थिए । त्यसैले उनलाई जुम्लामा स्याउ भित्र्याउने पहिलो कृषकका रुपमा पनि मान्ने गरिन्छ ।जिल्ला कृषि विकास कार्यालयले ‘एक घर एक बगैंचा’ कार्यक्रम अगाडि सारेपछि बिरुवा वितरण, काँटछाँट र प्राविधिक सहयोग पनि भयो र स्याउ खेतीको विकास हुँदै गएको पाइन्छ ।
विसं २०६४ मा जुम्ला अर्ग्यानिक जिल्लाका रुपमा घोषणा गरियो । यसरी अब अर्ग्यानिक स्याउ पाइने जिल्लाका रुपमा पनि बाहिर चिनिन थाल्यो । अहिले जुम्लामा १२ जातका स्याउ फल्ने गरेको कृषि विज्ञहरुको भनाइ छ । यहाँ गोल्डेन डेलिसेस, रेड डेलिसेस, रोयल डेलिसेस, जोनाथान, कक्स ओरेन्ज टिपिन, म्याकन्ज, पछिल्लो समयमा इटालिएन फुजी र गाला जातका स्याउ फल्ने गरेका छन् । जुम्लाको स्याउले काठमाडौं, नेपालगञ्जलगायत देशका ठूला शहरमा पनि निकै आकर्षक बजार लिएको छ । जिल्ला बाहिर स्याउको बिक्री वितरण शुरु भएको धेरै भएको त छैन तर जुम्लाकै स्याउ पाए भने मन नपराउने भने कोही नेपाली छैनन् ।
विसं २०२२ अघि जुम्लाका स्याउ कृषक स्व पदमबहादुर महतले चार हजार स्याउका बिरुवा रोपेर बगैँचा बनाएका थिए । उनी तत्कालीन समयमै कृषिमा उच्च शिक्षा हासिल गरेर सरकारी सेवामा पनि थिए ।भूमिसुधार अधिकृतका रुपमा राष्ट्रसेवा गरेका महतले कृषि क्षेत्रको उत्पादनले नै जुम्लाको भविष्य राम्रो हुने लागेर सरकारी नोकरी छाडेर आफ्नो घर तत्कालीन महत गाविसको महतगाउँमाथि रहेको नाङ्गो डाँडामा स्याउको नमूना फार्म बनाए । एसियाकै चौथो ठूलो सूचीकृत बगैँचामा तत्कालीन राजा वीरेन्द्रदेखि देशको उच्च सरकारी ओहदामा रहेका व्यक्तिले भ्रमणसमेत गर्ने गरेका थिए । उनको स्याउ खेती फस्टाएपछि धेरै किसान जुर्मुराएर यो खेतीतर्फ आकर्षित भएका हुन् ।
त्यतिबेला सडक सञ्जालसँग जुम्ला नजोडिएकाले जहाजबाट ढुवानी गरेरै स्याउ बिक्री गरिन्थ्यो । कृषक महतको सपना जुम्लामा गाडी कहिले पुग्ला भन्ने थियो । तर त्यस समय सम्भव पनि भएन । तर पनि उनले जहाजबाटै स्याउ निर्यात गरेर वर्षेनी लाखौँ रुपैयाँ आम्दानी गर्ने गर्थे । दशक अघिदेखि सुर्खेत-जुम्ला-कर्णाली राजमार्गले जोडिएपछि यहाँका किसान स्याउ खेतीतर्फ आकर्षित भएका छन् । पछिल्लो समय राजमार्ग कालोपत्रे भएपछि जिल्ला बाहिर सजिलै निर्यात हुने भएकाले पनि जुम्ली किसानको आकर्षण स्याउ खेतीमा भएको पाइन्छ । आफूले फलाएको स्याउले सजिलै बजार पाउने र निर्यात हुने भएपछि किसान उत्साहित भएका हुन् । उनीहरु भन्छन्, ‘गर्नसक्यो भने जुम्लाको स्याउको इज्जत नै अर्कै छ, तर ठूला शहर बजार टाढै छन्, त्यसले गर्दा मुख्य समस्या ढुवानीमै छ ।
परम्परागत रूपमा कस्मिरी स्याउ उत्पादन हुने जुम्लामा यसवर्ष भने इटालियन स्याउको फसल छ । वर्ष दिनमै उत्पादन दिने र राम्रो बजार पाइन थालेपछि स्थानीय बासिन्दा इटालियन स्याउतर्फ आकर्षित भएका हुन् । चन्दननाथ भैरवनाथ गुठी समितिको १० हजार वर्गमिटर जग्गा भाडामा लिएर इटालियन जातको स्याउखेती गर्दै आएका चन्दननाथ-५ का सरोज शाहीले राम्रो उत्पादन भइरहेको बताउँछन् । यो जुम्लाको हावापानी सुहाउँदो स्याउ भएको उनको भनाइ छ । अहिले दुर्गम गाउँमा पनि इटालियन जातको स्याउको खेती परीक्षण भइरहेको बताउँदै उनले भने, ‘हेर्दैमा आकर्षक, स्वादिलो र कडा प्रकारको भएकाले धेरै समयसम्म भण्डारण गर्न पनि सहज हुन्छ र यो स्याउ उपभोक्ताको रोजाइमा पनि पर्छ । यतिबेला स्याउ फार्म गोडमेला, मलजल गर्ने बेला हो तर लकडाउनले समस्या भएको छ । बाहिरबाट मल ल्याउन नपाएको कृषक शाहीले बताउनुभयो । यसले उत्पादनमा समस्या हुने देखिएको छ । अर्कोतिर प्राकृतिक प्रकोप असिना पानीले पनि स्याउको कोपिला झार्ने समस्या पनि छ । यो याम भने स्याउको फूल फुल्ने र कोपिला लाग्ने बेला हो तर यहाँ पटक पटक असिना पानी पर्ने गरेकाले उत्पादनमा पनि ह्रास आउने सम्भावना भएको उनको भनाइ छ ।
विकसित मुलुकमा स्याउ फार्म ढाक्ने, असिना पानीलाई छेक्ने जाली (नेट) को व्यवस्थापन हुन्छ तर हामीकहाँ भने यस्तो प्रविधिको विकास नभएको उनले जानकारी दिए । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड कर्णाली प्रबन्धक ऋषिराम पाण्डेकाअनुसार असिना पानीले स्याउ क्षति भएको प्रतिवेदनअनुसार बीमाले क्षतिपूर्ति उपलब्ध गराउने गरेको छ । कृषकले स्याउको बीमा गरेको खण्डमा क्षतिपूर्ति उपलब्ध गराउने हो ।
उनले भने, ‘यसवर्ष कर्णालीको पाँच जिल्ला जुम्ला, मुगु, कालीकोट, डोल्पा र हुम्ला जिल्लाका स्याउ किसानका स्याउको बीमा गरिएको छ । असिना पानीले क्षति भएको प्रतिवेदनअनुसार क्षतिपूर्ति पाउने छन् । बीमाको महत्त्व बुझेपछि यो बर्ष स्याउको बीमा गर्ने गतबर्षभन्दा ६० प्रतिशतले बढेको शिखर बीमा कम्पनी जुम्ला शाखाले जनाएको छ । इटालियनसँगै स्थानीय स्याउका बगैँचा घर-घरमा हुने गरेका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना जुम्लाका कार्यालयका प्रमुख खेमराज शाहीका अनुसार फुजी स्याउ खेतीका लागि पनि सुपरजोनले सिँचाइ र बाहिर जिल्लाबाट बिरुवा ल्याउनका लागि समन्वय गर्दै आएको छ । अहिले यहाँका सदरमुकाम खलङ्गासहित ग्रामीण क्षेत्रमा पनि यो स्याउको खेती बढ्दै गएको उनको भनाइ छ । यहाँका कृषक स्याउ खेतीमा धेरै आकर्षित भएका छन् । यसबाहेक अहिले जुम्लामा ओखर खेती पनि वृद्धि हुन थालेको छ । स्याउभन्दा ओखर भण्डारण, ढुवानीदेखि बिक्री वितरण गर्न पनि सहज भएकाले यो खेतीतिर पनि कृषकको रुचि बढेको पाइएको उनले बताए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच