एकैपटक ५१ विद्युतीय फास्ट चार्जिङ स्टेसन उद्घाटन

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले देशका विभिन्न स्थानमा निर्माण गरेको ५१ विद्युतीय सवारीसाधनको अत्याधुनिक फास्ट चार्जिङ स्टेसनको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र सचिव दिनेशकुमार घिमिरेले संयुक्त रूपमा काठमाडौंस्थित नेपाल पुलिस क्लब भृकुटीमण्डपमा स्थापना गरिएको फास्ट चार्जिङ स्टेसनको उद्घाटन गर्नुभएको हो ।

प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूण ऋण तथा नर्वे सरकारको प्राविधिक सहयोगमा विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजनाअन्तर्गत सात प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला शहरमा ५१ चार्जिङ स्टेसन निर्माण गरिएको हो ।
करिब ४० करोड रुपैयाँ लागतमा निर्माण गरिएका चार्जिङ स्टेसनमध्ये २६ वटामा ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार र २५ वटामा साना–ठूला कार चार्ज गर्न मिल्नेछ ।

सो अवसरमा मन्त्री बस्नेतले ५१ वटा चार्जिङ स्टेसन सञ्चालनमा आउनु विद्युतीय सवारीसाधनको यात्रा हरित, स्वच्छ ऊर्जा खपतमार्फत् कार्बन उत्सर्जन तथा जलवायु परिवर्तनका प्रभाव न्यूनीकरणमार्फत देशको दिगो विकासमा महत्वपूर्ण पाइला भएको बताउनुभयो । विद्युतीय सवारीको प्रवद्र्धनमा नीतिगत तथा कानुनी व्यवस्थाका लागि सरकारले काम गरिरहेको उल्लेख गर्दै उहाँले विद्युतीय गाडी नेपालमै उत्पादन गर्न लगानीकर्तालाई आकर्षित गर्ने कार्य भइरहेको बताउनुभयो ।

करिब ४० करोड लागतमा निर्मित चार्जिङ स्टेसनमध्ये २६ वटामा ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार र २५ वटामा साना–ठूला कार चार्ज गर्न मिल्नेछ । 

आन्तरिक रूपमा विद्युत् खपत बढाउने महत्वपूर्ण क्षेत्र यातायात भएको उल्लेख गर्दै ऊर्जा सचिव घिमिरेले विद्युतीय सवारीसाधन प्रयोगले प्रतिव्यक्ति ऊर्जा खपत बढाउन सहयोग पुग्ने बताउनुभयो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारीसाधन प्रवद्र्धन गर्न चार्जिङ स्टेसन स्थापना गरिएको बताउनुभयो । विद्युतीय सवारीसाधन पेट्रोलियमबाट चल्नेभन्दा १५/२० गुणा सस्तो पर्ने उल्लेख गर्दै उहाँले यसबाट देशको वैदेशिक मुद्रा सञ्चितिमा पनि सकारात्मक योगदान पुग्ने बताउनुभयो । प्राधिकरणले देशभर थप पाँच सयवटा चार्जिङ स्टेसन स्थापना गर्न लागेको पनि उहाँले जानकारी दिनुभयो । एसियाली विकास बैंककी दक्षिण एसिया ऊर्जा महाशाखा प्रमुख सुजाता गुप्ताले कार्बन उत्सर्जन घटाउने यातायात महत्वपूर्ण क्षेत्र भएकाले विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्ने पूर्वाधार निर्माणमा जोड दिनुभयो ।

चार्ज गर्दा कारमा औसत ७० पैसा, एसयुभीमा ८० पैसा, माइक्रोबसमा ९० पैसा र बसमा एक सय २० पैसा प्रतिकिलोमिटर खर्च हुनेछ । नेपालमा उपलब्ध सवारीसाधनमा रहेको ब्याट्री क्षमताअनुसार कम्तीमा आधा घण्टादेखि एक घण्टासम्ममा चार्ज पूर्ण हुनसक्छ ।
हरेक चार्जिङ स्टेसनमा एक सय ४२ किलोवाटको चार्जर, त्यसमा विद्युत् आपूर्तिका लागि ५० केभिएको ट्रान्सफर्मर, अनलाइन बिलिङ प्रणाली जडान गरिएको छ । चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०/६० किलोवाटका डिसी र २२ किलोवाटका एसी चार्जर राखिएका छन् । ठूला बससहित तीनवटा सवारी एकसाथ चार्ज गर्न सकिनेछ ।

चार्जिङ स्टेसन निर्माण आपूर्ति, जडान, परीक्षण, सञ्चालन र मर्मतसम्भारका लागि वाङवाङ डिजिटल इनर्जी कर्पोरेसन लिमिटेड चीनसँग ३७ करोड ७९ लाख ५५ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सञ्चालनमा आएको पाँच वर्षसम्म चार्जिङ स्टेसन मर्मतसम्भार ठेकेदार कम्पनीले नै गर्नेछ । तीन सयभन्दा बढी चार्जरलाई सेवा दिनसक्ने गरी प्राधिकरणको डाटा सेन्टरमा चार्जिङ स्टेसनको सफ्टवेयर राखिनेछ । ५१ वटै स्टेसनको कन्ट्रोल काठमाडौंबाट हुनेछ । सवारी चार्जपछि ग्राहकले क्युआर कोड र मोबाइल एपमार्फत् बिलको भुक्तानी गर्न सक्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?