
काठमाडौं । प्रदीप खड्का र अभिलाषा विष्ट १०औँ सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको सिंगल्समा शनिबार च्याम्पियन बन्नुभएको छ । डिफेन्डिङ च्याम्पियनद्वय प्रदीपले पुरुष तथा अभिलाषाले महिलामा उपाधि रक्षा गर्नुभएको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को टेनिस कोर्टमा भएको पुरुष सिंगल्स फाइनलमा प्रदीपले प्रणव मानन्धरलाई ६–३ र ६–२ को सोझो सेटमा पराजित गर्नुभयोे । महिलाको उपाधि भिडन्तमा अभिलाषाले सुनिरा थापालाई सिधा सेटमा ६–० र ६–१ ले हराउनुभयो । पुरुष/महिला दुवैमा पहिलो हुनेले ५० हजार तथा दोस्रोले २५ हजार नगद पुरस्कार पाए । शुक्रबार अभिलाषाले मिक्स डबल्समा पनि ऋतिक राणासँग मिलेर स्वर्ण जित्नुभएको थियो ।
सिटिजन्स बैंकको मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगितामा विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । भेट्रानमा पूर्वराष्ट्रिय च्याम्पियन जितेन्द्र परियार र विमलकुमार गुरुङले दोहोरो स्वर्ण जित्नुभयो । जितेन्द्रले ३५ वर्षमाथि पुरुष सिंगल्स र डबल्स तथा विमलले ५५ वर्षमाथि सिंगल्स र डबल्समा स्वर्ण हात पार्नुभयो ।
नेपाल टेनिस संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताको भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्समा कमल थापा तथा डबल्समा विदुर विष्ट र धिरबहादुर गुरुङ पहिलो हुनुभयो । भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्स र डबल्समा क्रमशः कमलबहादुर भण्डारी तथा चन्द्र शाही र डेगेन्द्र श्रेष्ठको जोडीले उपाधि चुम्नुभयो ।
विजेतालाई सिटिजन्स बैंकका अध्यक्ष प्रवलजंग पाण्डे, नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, आयोजक संघका अध्यक्षसमेत रहनुभएका नेपाल टेनिस संघका महासचिव मनोहरदास मुललगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभएको थियो ।
अध्यक्ष पाण्डेले राम्रो व्यवस्थापन गरी प्रतियोगिता आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिँदै आउने संस्करणदेखि प्रायोजन रकममा वृद्धि गर्ने प्रतिबद्धता जनाउनुभयो । अध्यक्ष मुलले आगामी संस्करणदेखि पुरस्कार रकम बढाउने वाचा गर्नुभयोे ।
साताव्यापी प्रतियोगितामा १५१ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतिस्पर्धा भएका ११ वटै स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेलाई नगद पुरस्कार प्रदान गरिएको थियो । जम्मा पाँच लाख ८२ हजार पाँच सय नगद पुरस्कार वितरण गरियो । प्रतियोगिताका केही खेलहरू भद्रकालीस्थित आर्मी अफिसर्स क्लबको कोर्टमा पनि भएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच