काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बबिन बोहरा, सुमनबहादुर मगर र अशोक दर्लामीलाई ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिताका बाँकी खेल खेल्न प्रतिबन्ध लगाएको छ । फरक क्लबमा दर्ता भएको तथा फुकुवा पत्रबिनै लिगमा सहभागिता जनाएको भन्दै एन्फाले ती खेलाडीलाई कारबाही गरेको हो । एन्फाको अनुशासन समितिले तीनजना खेलाडीलाई कारबाहीको सिफारिस गरेको थियो । समितिको सिफारिसमा बबिन, सुमन र अशोक कारबाहीमा परेका हुन् । बबिन र सुमनले आरसी ३२ फुटबल एकेडेमी तथा अशोकले सामाजिक युवा क्लबबाट लिग खेलेका थिए ।
एन्फाले खेलाडीलाई मात्र होइन, आरसी ३२ र सामाजिक युवालाई समेत कारबाही गरेको छ । दुवै क्लबलाई दश हजार रुपैयाँका दरले जरिवाना तोकेको छ । साथै, कारबाहीस्वरूप एन्फाले आरसी ३२ र सामाजिक युवालाई ३-० को हार नतिजा सुम्पिएको छ । ‘लिग प्रतियोगिता नियमावली २०२४ को नियम २८ अनुसार अनुशासनको कारबाही गरिएको छ,’ एन्फाले पत्रमा भनेको छ, ‘खेलाडी यसअघि नै ‘बी’ डिभिजन क्लबमा दर्ता थिए, उनीहरूले रिलिज पत्रबिना ‘सी’ डिभिजन खेलेको पुष्टि भएको छ ।’
एन्फाका अनुसार बबिन र अशोकले शहीद स्मारक ‘बी’ डिभिजन लिग खेल्न श्रीभगवती तथा सुमनले झापा फुटबल क्लबमा दर्ता भएका थिए । ‘बी’ डिभिजन दुई वर्षदेखि भएको छैन । एन्फाले बबिन र अशोकलाई दुई खेलमा यसअघि नै प्रतिबन्ध लगाए पनि शनिबार स्वयम्भूविरुद्ध खेलेका थिए । गत २२ चैतमा सुमनले खालिबारी तथा बबिनले १० वैशाखमा सामाजिक युवाविरुद्ध खेलेको उजुरी परेको थियो । ‘क्लबमा आबद्ध खेलाडीले खेल्नुपूर्व कम्तीमा ४८ घण्टाअगाडि दर्ता गर्नुपर्ने व्यवस्था रहेकोमा आरसी ३२ र बबिनले प्रतियोगिता नियमावलीविपरीत कार्य गरेको पुष्टि भएकाले कारबाही गरिएको हो,’ एन्फाले जनाएको छ । यो खेलमा सामाजिक युवा क्लबलाई ३-० ले विजयी घोषणा गरेको छ ।
‘सी’ डिभिजन लिग खेलिरहेको सर्लाहीको बागमती युवाले श्रीभगवती क्लबमै दर्ता भएका अशोकले स्वयम्भूबाट खेलेको उजुरी गरेको थियो । एन्फाले छानबिनमा अशोक दोषी पाएको भन्दै बाँकी खेल खेल्न नपाउने र स्वयम्भूलाई दश हजार जरिवाना गराएको छ । सो खेलमा बागमतीलाई ३-० ले विजयी गराएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच