न्यूकासलको सानदार सुरुवात

हिमालय टाइम्स
Read Time = 3 mins

लण्डन । न्युकासल युनाइटेडले इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा एस्टन भिल्लालाई ५–१ ले पराजित गर्दै सानदार सुरुवात गरेको छ । न्युकासलको जितमा एलेक्जेन्डर इसाकले २ तथा सान्ड्रो टोनाली, क्यालम विल्सन र हार्भी बार्नसले १–१ गोल गर्नुभयो । भिल्लाका लागि मौसा डियाबीले बराबरी गोल फर्काउनुभयो ।

खेलको छैटौं मिनेटमा नै घरेलु टोलीले डेब्यु गरिरहेका इटालियन मिडफिल्डर टोनालीको गोलमा अग्रता लियो । ११ औं मिनेटमा भिल्लाका डियाबीले बराबरी गोल गर्नुभयो । त्यसको ५ मिनेटपछि नै न्युकासलले इसाकको गोलमा फेरि अग्रता लियो ।

५८ औं मिनेटमा इसाकले व्यक्तिगत दोस्रो गोल गर्नुभयो । पेनाल्टी क्षेत्रभित्र भिल्लाका डिफेन्डरले गरेको गल्तीमा इसाकले गोल गर्नुभयो । ७७ औं मिनेटमा हार्भी बार्नसको पासमा क्यालम विल्सनले चौथो र इन्ज्युरी समयमा बार्नसले पाँचौ गोल गर्नुभयो ।

प्रिमियर लिगअन्तर्गत नै शनिबार आर्सनलले पनि विजयी सुरुवात गर्नुभयो । एडी एनकेटिया र बुकायो साकाको गोलमा आर्सनलले नटिंघलाई २–१ ले हरायो । ताइवो अवोनियीले पाहुना टोलीका लागि एकमात्र गोल गर्नुभयो । त्यसबाहेक ब्राइटनले नवप्रवेशी ल्युटनमाथि ४–१ को जित दर्ता गर्यो ।

रियल विजयी
यता स्पेनिस क्लब रियल म्याड्रिडले पनि स्पेनिस ला लिगा फुटबलमा विजयी सुरुवात गरेको छ । रियलले म्याड्रिडलाई २–० को जित दिलाउनुभयो । ब्राजिलियन विंगर रोड्रीगोले अग्रता दिलाएको खेलमा बेलिंघमले रियलका लागि दोस्रो गोल गर्नुभएको थियो । लिगअन्तर्गत भएको अर्को खेलमा रियल सोसीडाड र जिरोना तथा लास पाल्मास र मालोर्काले १–१ को बराबरी खेले ।

यता फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) नयाँ सिजनको पहिलो खेलमा गोल गर्न असफल भएको छ । घरेलु मैदानमा लोरीएन्टविरुद्ध पिएसजी गोलरहित बराबरीमा रोकिएको हो ।

स्टार फरवार्डद्वय किलीयन एमबाप्पे र नेयमारलाई टोलीमै राखेपनि टोलीले जित हात पार्न सकेन । लिगकै अर्को खेलमा मार्सेले राइम्सलाई २–१ ले पराजित गर्यो । त्यसअघि शुक्रबार राती निस र लिलको खेल १–१ को बराबरीमा सकिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?