
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजनविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्ने बताउनुभएको छ । जसपा विभाजनपछि बुधबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा पत्रकार सम्मेलन आयोजना गरेर उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीसमेत रहनुभएका अध्यक्ष यादवले भन्नुभयो, ‘नयाँ दल दर्ता असंवैधानिक छ । त्यसको कानुनी हैसियत छैन । त्यसविरुद्ध हामी अदालत जान्छौँ । कानुनी र राजनीतिक लडाइँ लड्छौँ । केही स्वार्थी र व्यक्तिगत महत्वाकांक्षाले संविधान, लोकतन्त्र, पहिचानको आन्दोलन र मुद्दा धरापमा पर्ने सम्भावना बढेको छ । तर, हामी त्यसो हुन दिने छैनौँ ।’ अध्यक्ष यादवले जसपाले सरकार ढाल्न लागेको भन्ने हल्ला सत्य नभएको स्पष्ट पार्दै भन्नुभयो, ‘त्यो कपोलकल्पित अफवाह मात्रै हो । यति हुँदाहुँदै पनि हामी यही सरकारमै रहन्छौँ । यो सरकारलाई दिएको समर्थन फिर्ता लिँदैनौँ । अब परिस्थिति कसरी अघि बढ्छ, त्यो हेरेर कदम चाल्छौँ ।’
आफूले अमेरिका जानुअघि कार्यवाहक अध्यक्ष दिएर गएको नेताले नै अहिले पार्टी फुटाएको गुनासो गर्नुभएका यादवले पार्टी विभाजनको हल्ला चलाइए पनि पार्टीको केन्द्रीय समितिमा दुईतिहाइ र कार्यकारिणी समितिमा बहुमत सदस्य आफ्नो पक्षमा रहेको दाबी गर्दै भन्नुभयो, ‘पाँच÷सात सांसदलाई मन्त्री बनाउने प्रलोभनमा पारेर पार्टी फुटाएको प्रचार गरिएको छ । तर, उनीहरूसँग कुनै पनि जनाधार छैन । पार्टी अझ सुदृढ भएर जान्छ । त्यस्ता अतृप्त आत्माहरू जम्मा गरेर पार्टी बन्दैन ।’
शीर्ष नेतादेखि निर्वाचन आयोग सम्मलाई दोषारोपण
उपप्रधान तथा स्वास्थ्यमन्त्रीसमेत रहनुभएका जसपाका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी फुटाउने नेताहरूलाई मात्र आरोपित गर्नुभएन, सत्ता सहयात्री दलका शीर्ष नेतादेखि निर्वाचन आयोग सम्मलाई पनि दोषारोपण गर्नुभएको छ । उहाँले आफ्नो पार्टी फुटाउन आफूले सरकार ढाल्न लागेको भ्रम फैलाएको र पैसाको समेत चलखेल गरिएको, सरकार ढाल्न र आफैँ प्रधानमन्त्री बन्न लागेको भनेर सत्तारूढ दलकै शीर्ष नेताहरूले निराधार हल्ला चलाएको र निर्वाचन आयोगले पनि कानुनी शून्यतामा रातारात पार्टी दर्ता गरेको टिप्पणी गर्नुभयो । केन्द्रीय समितिमा दुई तिहाइभन्दा बढी र संसदीय दलमा पनि बहुमत सदस्य आफैँसँग रहेकाले अल्पमत पक्षको महत्वाकांक्षाले वैधता प्राप्त नगर्ने ठोकुवा गर्दै अध्यक्ष यादवले पार्टी विभाजन परिवर्तन विरोधीको षड्यन्त्र भएको समेत आरोप लगाउनुभयो । नेपालको राजनीतिमा दल विभाजन नौलो कुरा नरहेको उल्लेख गर्दै उहाँले आफूलाई सत्ताविमुख बनाउन खोज्नेहरूका कारण पनि पार्टी फुटेको तर्क गर्नुभयो ।
प्रधानमन्त्रीलाई भ्रममा पारिएको जिकिर
अध्यक्ष उपेन्द्र यादवले हल्लाका आधारमा पार्टी फुटाइएको र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समेत भ्रममा पारिएको तर्क गर्नुभएको छ । प्रधानमन्त्रीलगायत शीर्ष नेताले पनि हल्ला पत्याएको कारण समस्या आएको उल्लेख गर्दै यादवले भन्नुभयो, ‘जसपाले सरकार ढालेर अर्को सरकार बनाउँदै छ भन्ने कपोलकल्पित हल्लाहरूलाई सरकारमा रहेका केही साथीहरूले पत्याउनुभयो । यति हुँदाहुँदै पनि सरकारलाई दिएको समर्थन निरन्तर रहनेछ । हाम्रो कारणले अस्थिरता आउँदैन । म नेपाल सरकारको प्रतिनिधि भएर विश्व जनसंख्या विकास सम्मेलनमा भाग लिन संयुक्त राष्ट्रसंघमा गएका बेलामा मौका छोपेर एउटा हल्ला चलाइयो । हल्ला के चलाइयो भन्दा जसपा र एकीकृत समाजवादी कांग्रेससँग मिलेर यो सरकार ढाल्ने भो भनेर । त्यो हल्ला अत्यन्तै निराधार, अत्यन्तै कपोलकल्पित हल्ला चलाइयो जसको कुनै बेस छैन ।’ सरकार ढाल्ने विषयमा आफूले कांग्रेसका नेताहरूसँग छलफल नगरेको दाबी गर्दै अध्यक्ष यादवले भन्नुभयो, ‘संयोग नै मान्नुपर्छ यो सरकार बनेपछि मैले कांग्रेसका एकजना नेतालाई पनि भेटेको छैन, सँगै बसेर एक कप चिया पनि खाएको छैन ।’
अध्यक्ष यादव अमेरिका भ्रमणमा रहेकै बेला गएको सोमबार नेता अशोक राईले आफूसमेत सातजना सांसदलाई साथमा लिएर जसपा विभाजन गर्नुभएको थियो । पार्टी विभाजनपछि अब उपेन्द्र यादवको पक्षमा पाँचजना मात्रै सांसद छन् । जसपा विभाजनपछि गठन भएको राई नेतृत्वको जनता समाजवादी पार्टीलाई निर्वाचन आयोगले दर्ता गरेर दलको मान्यतासमेत दिइसकेको छ । केही समयअघि मात्रै जसपा नेपालबाट बाबुराम भट्टराई नेतृत्वको समूह अलग्गिएको थियो । त्यसअघि महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी सहितका नेताहरू अलग्गिएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनाउनुभएको थियो । महतोले त लोसपाबाट अलग्गिएर छुट्टै मोर्चासमेत सञ्चालन गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच