
नकुल अर्याल/हिटा
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संघीय संसद्मा जारी अवरोध तत्काल नहट्ने संकेत दिएको छ । वैशाख २८ गतेदेखि संसद्को बजेट अधिवेशन सुरु हुँदै छ । सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने समेतलाई अनुसन्धान गर्नेगरी संसदीय छानविन समिति बनाइनुपर्ने मागबाट कांग्रेस पछि नहट्ने भएको छ । कांग्रेसका पदाधिकारी, पूर्व-पदाधिकारी एवं शीर्ष नेताहरूको बुधबार बसेको बैठकले यथास्थितिमा सदनको कारबाही अगाडि बढ्न नसक्ने ठहर गरेको हो । कांग्रेसले संसद्को हिउँदे अधिवेशनमा पनि संसदीय छानविन समिति गठनको माग गरेको थियो । कांग्रेसले संसद्का अरू कार्यसूचीमा अवरोध नगरे पनि उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई संसद्मा बोल्न दिएको थिएन । अघिल्लो अधिवेशनको निर्णयमा अडिग रहने कांग्रेसको निर्णयले सदनको गतिरोध अझै लम्बिने देखिएको छ । यसबाट नीति तथा कार्यक्रम र बजेट प्रभावित हुन सक्छन् ।
पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले संसद्को आसन्न अधिवेशन, पार्टीले उठाएका एजेण्डा र सभामुखले बोलाएको बैठकका बारेमा संक्षिप्त जानकारी गराउनुभएको थियो । प्रमुख सचेतक रमेश लेखकले सत्तारूढ गठबन्धन सहकारी समस्या समाधानका लागि उदासीन देखिएकोले सर्वदलीय बैठकबाट विवाद नसुल्झिएको बताउनुभयो । सभामुखले बोलाएको बैठकमा गृहमन्त्री लामिछानेले महान्यायाधिवक्ता कार्यालयको पत्र देखाएर चोखिने प्रयास गरेको र सत्तारूढ नेताहरूले समर्थन जनाएको लेखकले उल्लेख गर्नुभयो । बैठकमा गृहमन्त्री लामिछानेले आफूविरुद्ध कुनै पनि जाहेरी नपरेको र अनुसन्धान र अभियोजन नभएको जानकारी सहितको पत्र देखाउनुभएको थियो । कांग्रेसले भने गृहमन्त्री जोगाउन राज्यका निकायहरूकै दुरुपयोग भएको ठहर गरेको छ ।
गृहमन्त्री जोगाउने प्रपञ्च : थापा
बैठकमा कांग्रेस नेताहरूले समान प्रकृतिको आरोपमा धेरै व्यक्तिहरू जेलमा रहेको तर पर्याप्त प्रमाण भेटिँदा पनि सत्ताको दुरुपयोग गरेर गृहमन्त्रीलाई जोगाउने प्रयास भएको बताएका थिए । कांग्रेस महामन्त्री गगन थापाले महान्यायाधिवक्ता कार्यालयले गृहमन्त्रीको अनावश्यक बचाउ गरेर सत्ता दुरुपयोगलाई प्रमाणित गरेको बताउनुभयो । ‘महान्यायाधिवक्ताले पत्र लेखेको भरमा गृहमन्त्रीलाई यो प्रकरणबाट सफाइ मिल्दैन । यस्तो पत्र नै अवैधानिक हुन जान्छ । यो प्रकरणले त गृहमन्त्रीमाथि संसदीय छानविन हुनुपर्ने औचित्य अझ पुष्टि हुन्छ’, थापाको भनाइ छ । गृहमन्त्रीले आफैँले आफैँलाई निर्दोष घोषणा गर्नुको सट्टा संसदीय छानविनको सामना गर्न तयार हुनुपर्ने थापाले बताउनुभयो ।
सभामुख देवराज घिमिरेले मंगलबार राख्नुभएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री लामिछानेको बचाउ गर्नुभएको थियो । उहाँहरू दुवैजना संसदीय छानविन समितिको विपक्षमा उभिएपछि कांग्रेसले गृहमन्त्री जोगाउन सत्ता गठबन्धनले राज्य संयन्त्र नै दुरुपयोग गरेको निष्कर्ष निकालेको हो ।
सदन चलाउने दायित्व सरकारको : गुरुङ
कांग्रेस उपसभापति धनराज गुरुङले संसद् सुचारु गर्ने मुख्य दायित्व नै सरकारको भएकाले आवश्यक तयारी सरकारले नै गर्नुपर्ने बताउनुभएको छ । ‘कांग्रेस सहकारी ठगहरूलाई कारबाही गर्न संसदीय छानविन समिति बनाउने पक्षमा छ । लाखौँ जनता ठगिएको मुद्दामा संसद् चलाउने गरी सरकार आउँछ कि आउँदैन, हामी हेर्छौं’, गुरुङले बताउनुभयो । उहाँले संसदीय छानविन समिति कांग्रेसको बटमलाइन रहेको भन्दै संसद्मा गृहमन्त्रीले बोल्दैमा कांग्रेसले चित्त नबुझाउने उल्लेख गर्नुभयो । ‘गृहमन्त्रीले संसद्मा बोल्दैमा सहकारी पीडितले न्याय पाउने होइन । गृहमन्त्री आफैँ छानविनको लागि तयार हुनुप¥यो । संसदीय छानविन समिति कांग्रेसको बटमलाइन हो’, उपसभापति गुरुङले बताउनुभयो ।
एमालेसँग गठबन्धनको सम्भावना छैन : लेखक
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले एमालेसँग गठबन्धन गर्ने कांग्रेसको कुनै तयारी नभएको बताउनुभएको छ । कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकारहरूसँग कुराकानी गर्दै लेखकले वर्तमान सरकार ढाल्न कांग्रेसले कुनै प्रयत्न नगरेको दाबी गर्नुभयो । ‘कांग्रेस देशकै सबैभन्दा ठूलो पार्टी भएकाले सबैसँग संवाद गरेको छ तर यसको उद्देश्य नयाँ गठबन्धन बनाउने भन्ने होइन’, लेखकले बताउनुभयो । उहाँले सत्ता गठबन्धन फेर्न कांग्रेसले हतार नगर्ने भन्दै सत्तारूढ दलभित्रकै किचलो मिलाउन प्रधानमन्त्रीलाई हम्मेहम्मे परेको बताउनुभयो । नेकपा एमालेसँग विगतमा धेरैपटक कांग्रेसले सहकार्य गरेको भए पनि तत्कालै सत्ता सहकार्यको सम्भावना आफूले नदेखेको लेखकले बताउनुभयो । ‘हामी यो सरकार ढाल्न हतार गरिरहेका छैनौँ । एमालेसँग मिलेर नयाँ सरकार बनाइहालौँ भन्नेमा पनि छैनौँ । एमालेसँग अहिले नै गठबन्धन भइहाल्ने अवस्था छैन’, उहाँले बताउनुभयो ।
संसदीय दलको बैठक बस्दै
संसद्को बजेट अधिवेशन र पार्टीको रणनीतिबारे छलफल गर्न कांग्रेसले आज (बिहीबार) संसदीय दलको बैठक बोलाएको छ । बजेट अधिवेशनका दौरान पार्टीका सांसदहरूको भूमिका र रणनीतिबारे बैठकमा छलफल हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच