भेडाहरूका देशमा शीघ्रातिशीघ्र ब्वाँसाहरूको राज्य स्थापित हुन्छ : एडबर्ड आर.मुरो ।
भेडाका देशमा राज्य ब्वाँसा तुरुन्त गर्दछन्
भेडा, भेडा बनी नित्य घाँस खोजेर चर्दछन्
पत्ता लगाउँदै छिद्र हुँडारै बन्छ शासक
सत्ताको स्वादमा ब्वाँसा, भेडा निरीह दर्शक । (प्रहृलाद पोख्रेल, वाणीका बान्की)
हजुर बुबाको पालामा परिवारैले नेपाली कांग्रेसलाई भोट दिएका थिए भनेर अहिले पनि कांग्रेसका उम्मेदवारहरूबाहेकलाई मतदान नगर्नेहरूलाई यी माथिका भनाइहरूले इंगित गरेका होलान् । आफ्ना पिताको समर्थन कम्युनिष्टहरूप्रति रहेको थियो भन्दै आफ्नो पिताको समर्पणलाई खेर जान दिन्न भनी नेकपा एमालेको भक्त बनेकाहरूमा केन्द्रित वाक्य हुन् भन्न पनि सकिन्छ । विसं २०५२ देखि २०६३ सम्मको ध्वंश देखेर त्यतिबेलैको त्रास अनुभव गर्दै उही माओवादीलाई बारम्बार मतदान गर्नेहरूलाई भनेको पनि भन्न मिल्दछ । छिमेकीको छोरोले अमेरिकाबाट फोन गरेर नयाँ पार्टीमाथि विश्वास गर्नु भनेर आफ्नी आमालाई भनेछ भन्दै घण्टी नै ठिक भन्दै नारा लगाउनेहरूमाथि औंला तेर्साएको हो कि जस्तो पनि लाग्दछ । एडवर्डले युरोप अमेरिकातिरको उतिबेलाका माहोलमा यो भनाइ राखेका थिए होलान् तर नेपालको वर्तमानको अवस्था त्यतिबेलै उनले कसरी थाहा पाए होलान् जस्तो लाग्दछ ।
नेकपा एमालेका वर्तमान अध्यक्ष ओलीको भजन गाएर बस्नेहरू हुँदासम्म नेपाल र नेपालीलाई जोगाउन को पो आउन सक्ला र ? यो मुलुक र नेपाली जनताको तारणहार प्रचण्ड नै हुन् भनी उनैको प्रशंसामा मग्न हुनेहरूको बोलवाला रहँदासम्म परिवर्तनको आशा कसरी गर्न सकिन्छ र ?
एडवर्ड मुरो दोस्रो विश्वयुद्ध ताकाका चर्चित अमेरिकी पत्रकार हुन् । उनले सर्वसाधारण नागरिकहरूको अन्धसमर्थन गर्ने बानी र शासकहरूका शैलीलाई लिएर यो भनाइ राखेका थिए । विशेषतः चुनावमा मतदान गर्ने बेलामा मतदाताहरूले बिना विश्लेषण मतदान गर्ने र पछि पछुताउने प्रवृत्तिलाई पनि यो भनाइले घोचपेच गरेको छ । अमेरिका तथा युरोपतिर शासकहरू तानाशाही एवं निरंकुश बन्दै गएका कारण उत्पन्न परिस्थितिले एडवर्डलाई यो भनाइ राख्न उत्प्रेरित गरेको सहजै अनुमान गर्न सकिन्छ । आफ्नो विवेकभन्दा पनि अरूको लहलहैमा लाग्ने मतदातालाई सचेत गराउने उनको उद्देश्य रहेको थियो । पछिल्ला अवधिका चुनावी परिणामहरूको विश्लेषण गर्दा मुरोको उक्त भनाइभन्दा एकरत्ति भिन्न देखिँदैन । जनतालाई भेडा भन्न त मिल्दैन र लोकतन्त्रमा जनमत नै सर्वमान्य मानिन्छ तर नेपालमा ब्वाँसाहरूको राज्य निरन्तर रूपमा रही आएको छ ।
कवि प्रहृलाद पोखरेलले विभिन्न विद्वान्हरूका यस्तै भनाइ संकलन गरेर ती भनाइहरूलाई नेपाली पद्यमा प्रस्तुत गरेका छन् । अर्थात् विभिन्न समयमा व्यक्त विभन्नि व्यक्तित्वका भनाइलाई छन्दमा लयबद्ध गरेका छन् । त्यस्तै पद्यहरूलाई पुस्तकाकार दिऐर कवि पोख्रेलले वाणीका बान्की नामक पुस्तक प्रकाशन गरेका छन् । सरस एवं सुललित तबरले प्रस्तुत पद्यात्मक पंक्तिहरूको यो पुस्तक पठनीय छ एवं पढेका कुराहरू मननीय छन् । इतिहासमा भनिएका कुराहरू जो आज पनि उत्तिकै सान्दर्भिक छन्, ती कुराहरूलाई कविले छन्दमा आबद्ध भई रंग भरेका छन् र अंग्रेजी नबुझ्नेहरूका लागि पनि सहज बनाइदिएका छन् । पढ्दै जाँदा राजनीतिक रूपमा व्यंग प्रहार गरिएका सबै वाणीहरू आजको नेपालका लागि हो कि जस्तै लाग्दछ ।
विश्वेश्वरप्रसाद कोइरालाको छवि नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवामा देख्नेहरूलाई कसले के भन्न सक्छ र ? मनमोहन अधिकारी निष्कलंक प्रधानमन्त्रीका रूपमा स्थापित भएर गए भन्दै नेकपा एमालेका वर्तमान अध्यक्ष केपी ओलीको भजन गाएर बस्नेहरू हुँदासम्म नेपाल र नेपालीलाई जोगाउन को पो आउन सक्ला र ? यो मुलुक र नेपाली जनताको तारणहार प्रचण्ड नै हुन् भनी उनैको प्रशंसामा मग्न हुनेहरूको बोलवाला रहँदासम्म परिवर्तनको आशा कसरी गर्न सकिन्छ र ? देउवा, ओली र प्रचण्डहरूको विकल्पमा उम्रदै तीन पात भने झैँका रवि लामिछानेका पछि दौडनेहरूको मत हावी हुँदासम्म नेपालमा राज गर्नेहरूको व्यवहारमा देशभक्तिको झलक पाउन सकिएला र ?
भेडा र ब्वाँसाहरूका बारेमा थुप्रै रोचक कथाहरू पाइन्छन् । भेडाहरू बथानमा हिँड्दछन् । सबैभन्दा अगाडिको भेडाका अगाडि एउटा तगारो तेस्र्यायो भने त्यो नाघ्नका लागि पहिलो भेडो उफ्रिन्छ । एउटा भेडा उफ्रिएपछि त्यो तगारो हटाइदियो भने पनि त्यसपछिका सबै भेडा त्यो ठाउँमा उफ्रेरै जान्छन् । बाटो कस्तो छ, बाटोमा के छ भन्ने हेर्दैनन् । सबैभन्दा अगाडिको भेडो भीरबाट हाम फाल्यो भने त्यो समूहका सबै भेडा हाम फाल्दछन् । पहिलो भेडो त्यहाँबाट खसेर मरेको अरू कुनै भेडाले हेर्नेसम्म पनि गर्दैनन् र आफू जोगिने प्रयाससम्म पनि गर्दैनन् ।
ब्वाँसोले सर्वप्रथम भैँसीको ज्यान कन्याइदिने गर्दछन् । नंग्राले हल्कारूपमा ज्यान कन्याई दिँदा भैँसीले आनन्द मान्दछ । बिस्तारै पछिपछि सर्दै गएर गुदद्वार कन्याउन थाल्दछ, भैँसीलाई झन् मजा आउँछ । कन्याउँदा कन्याउँदै गुदद्वारबाट हात छिराउँछ र सुस्तरी पेटभित्रबाट आन्द्राभुँडीको साथै मुटु मिर्गौला समेत झिकेर ब्वाँसोले खान्छ तर भैँसीले पत्तै पाउँदैन । जब पीडा सुरु हुन्छ, त्यतिबेला न भैँसीले प्रतिकार गर्न सक्दछ न ज्यान जोगाउन नै सक्दछ । ब्वाँसाहरूले एकएक गरेर यसैगरी अर्को प्राणी खाँदै जान्छ तर मर्नेलाई आरम्भमा ब्वाँसोले मलाई खाँदै छ भन्ने पत्तै हुँदैन ।
सयवटा मुसा खाएर बिरालो हज गर्न गयो भन्ने ठान्न र नरभक्षी बाघले एकादशी बार्छ भनेर सोच्न पनि हुँदैन । जति दिन खान नपाए पनि मृगले खाने घाँसै हो र सिंहले खाने मासु नै हो । जो नैतिकतामा चुकिसकेको छ ।
माथिको भनाइले विशेषतः चार पक्षका प्रवृत्तिलाई समेटेको छ । आमनागरिक, नेता वा शासक, भेडा र ब्वाँसाहरूको प्रवृत्तिलाई उजागर गरेको छ । आमनागरिकलाई भेडासँग लगेर दाँज्ने काम भएको छ भने नेता वा शासकहरूलाई ब्वाँसोसंग तुलना गरिएको छ । नागरिक र नेता मानव योनीका हुन् भने भेडा र ब्वाँसा पशु योनीका हुन् । मानिसलाई बुद्धि भएको प्राणी मान्ने गरिन्छ भने पशुलाई बुद्धिहीन ठानिन्छ । बुद्धि हराएर नागरिक र नेता दुवैले गरेका पशुवत् व्यवहारहरूको चित्रण गर्न अंग्रेजीमा राखिएको र नेपाली पद्यमा प्रस्तुत गरिएका दुबै भनाइ नेपालको वर्तमान अवस्थालाई प्रष्ट्याउन पूर्णतः सफल भएका छन् ।
दोस्रो विश्वयुद्ध ताका प्रस्तुत भनाई आज पनि विश्वका कतिपय मुलुकहरूमा सान्दर्भिक देखिन्छ । मतदाता झुक्किएर नभई विवेकहीन भएर शासक छान्दा मुलुक दुर्गतिमा फस्दै गएको र जनताको अवस्था दयनीय बन्दै गएका उदाहरणहरू पर्याप्त भेटिन्छन् । जहाँका जनता आज पनि गाँस, वास र कपासको अभावमा छट्पटिएका छन्, त्यहाँको जनताको प्रवृत्ति यस्तै छ भन्न कुनै अप्ठेरो मान्नुपर्दैन । मतदाता अन्धभक्त र नेता तानाशाह भएका सबै मुलुकहरू गरिबी र अभावमा पिल्सिन परेको सबैका अगाडि छर्लंगै छ । सोमालिया, रुवाण्डा, हाइटी जस्ता मुलुकहरू सर्वाधिक चर्चामा छन् भने तिनैको लहरमा नेपाल आउँदा एक नेपालीको हैसियतले साह्रै चित्त दुख्दछ ।
दलहरूका नारा मीठा हुँदैमा चयन गर्नु बुद्धिमानी ठहर्दैन । अत्यन्त खराब विगत प्रत्यक्षै देखिसकेपछि पनि चुनावमा आएर दिएका आशाप्रद आश्वासनमा झुक्किनु कदापि हुँदैन । आँखा अगाडि नै प्रशस्त अपराधहरू छर्लंग हुँदाहुँदै पनि उसैमाथि विश्वास गर्नेहरूलाई त के भन्ने र ? सयवटा मुसा खाएर बिरालो हज गर्न गयो भन्ने ठान्न र नरभक्षी बाघले एकादशी बार्छ भनेर सोच्न पनि हुँदैन । जति दिन खान नपाए पनि मृगले खाने घाँसै हो र सिंहले खाने मासु नै हो । जो नैतिकतामा चुकिसकेको छ, उसले मौका पाउने बित्तिकै गर्ने काम अनैतिक नै हुन्छ । किरिया खाएका भरमा पत्याउनेहरूलाई एडवर्डले भेडा भनेका छन् ।
नेपाली कांग्रेसमा विश्वेश्वरपछि कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, सुशील कोइरालाहरू देखिए । यो पार्टीभित्र अझै अन्य थुप्रै त्यही प्रकृतिका नेताहरू छन्, त्यस्तालाई छान्न सक्नुपर्दछ भन्ने आशय मुरोको होला । एमालेभित्र पुष्पलालहरूले पार्टी स्थापना गर्दा देखेको सपना बमोजिम चल्ने प्रयास मनमोहन अधिकारीले पालना गरेको देखियो, खोज्दै जाँदा अरू पनि भेटिन सक्छन् । माओवादी पार्टीमा त उपयुक्त व्यक्तित्वको चयन गर्न मुस्किल नै पर्ने अवस्था आइसकेको छ तर राष्ट्रिय स्वतन्त्र पार्टीमा सभापतिलाई विभिन्न आरोप लागे पनि उनी बाहेकका भेटिएलान् । राप्रपामा पनि गतिला हुन सक्छन्, त्यस्ताको खोजी गर्नु भनेर सन्देश दिन खोजेका होलान् । छिमेकीले भनेका भरमा, विदेशमा बसेकाहरूले उक्साएका भरमा, मीठा नाराहरू लगाएका भरमा, पार्टीको इतिहास पढेकै भरमा नेता चयन नगर्नु भन्ने नै एडवर्डको सन्देश हो जस्तो लाग्दछ । जनता अब भेडा नबन, ब्वाँसाहरूको विश्वास नगर भनेकै त होलान् नि ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच