ट्रान्सजेन्डरको कथामा यसरी बन्यो ‘गुन्युचोला’ : निर्देशक समुन्द्र

Read Time = 5 mins

काठमाडौं । समुन्द्र भट्ट निर्देशित चलचित्र ‘गुन्युचोलोः कमिङ अफ एज अफ अ गर्ल’ यतिबेला चर्चामा छ । पारलैकिंक कथामा बनेको यो चलचित्रलाई हलिउड निर्माण तथा वितरण गर्दै आएको अमेरिकन कम्पनी भिजिअन इन्टरटेनमेन्टले विश्वव्यापी प्रदर्शन अधिकार खरिद र निर्माणमा सहकार्य गरेपछि चलचित्रको चर्चा बढेको हो ।

सुरुवातमा यो चलचित्रको नाम ‘गुलाबी’ थियो । तर, अन्तर्राष्ट्रिय बजारमा चलचित्र जाने निश्चित भएपछि अहिले नाम ‘गुन्युचोलोः कमिङ अफ एज अफ अ गर्ल’ राखिएको छ । यो चलचित्रको भित्री कथा आमचलचित्रभन्दा केही फरक छ । कोरोना भाइरस (कोभिड-१९)को महामारी नभइदिएको भए सायदै त निर्देशक समुन्द्रले पारलैकिंक कथामा चलचित्र बनाउनुहुने थिएन ।

सुरुवातमा यो चलचित्रको नाम ‘गुलाबी’ थियो । तर, अन्तर्राष्ट्रिय बजारमा चलचित्र जाने निश्चित भएपछि अहिले नाम ‘गुन्युचोलोः कमिङ अफ एज अफ अ गर्ल’ राखिएको छ ।

‘कोभिड अगाडि नै मैले दुई तीनवटा प्रोजेक्ट गर्ने तयारी गरेको थिएँ । सबै प्रोडक्सनको काम सकिएको थियो । त्यही बेला लकडाउन भयो । लकडाउनमा घरमा त्यसै बस्न मन लागेन । अनि खुलामञ्चमा गएर खाना खुवाउने काम गरें । टाढा टाढाबाट सर्वसाधारण खाना खान आउँथे’, समुन्द्र भन्नुहुन्छ, ‘त्यही बेला एकजना ट्रान्सजेन्डर साथीसँग भेट भयो । उसले एलजीबीटी सोसाइटीका मान्छेहरूलाई पनि खाना अथवा राहत बाडे हुन्थ्यो भन्ने कुरा गर्‍यो । उसको कुरा पनि सही थियो । अनि मैले आफूले गर्न सक्ने गर्छु भनेपछि एक दिन लाजिम्पाट भित्रपट्टी गयौं जहाँ अन्य ट्रान्सजेन्डरहरू बस्थे ।’

तर, समुन्द्र जब त्यहाँ पुगिन्, तब नसोचेको दृश्य देखिन् । किनकी त्यहाँ एउटै कोठामा धेरै ट्रान्सजेन्डर बसेका थिए । ‘जस्ताले बेरेको कोठामा त्यति धेरै संख्यामा बसेको देख्दा मेरो आँखामा आँशु आयो । मैले श्रीमान्लाई पनि लिएर गएको थिएँ । तीमध्येको एक ६२ वर्षे ट्रान्सजेन्डरले मेरो टाउकोमा हात राखेर ‘धन्यवाद छोरी’ भन्नुभयो’, समुन्द्रले सम्झिनुभयो ।

उनीहरूलाई भेटेपछि समुन्द्रको दिमागमा उनीहरूकै कथा दिमागमा आयो । सुरुमा त उहाँले यो कथामा भिडियो बनाउने सोच बनाउनुभएको थियो । तर, उहाँले भिडियोको सोच हटाएर चलचित्र बनाउने योजना बनाउनुभयो । ‘चलचित्र बनाउने भएपछि कोभिडको पहिलो वर्ष ट्रान्सजेन्डर साथीहरू र उनीहरूको संस्थाका मान्छेसँग भेटेँ । तीन वर्षसम्म सबै कुरा खोज्दा गज्जब लाइन अप पाएँ’, उहाँले भन्नुभयो ।

समुन्द्रले ट्रान्सजेन्डरको कथामा चलचित्र बनाउन लागेपछि उहाँले सिनियर निर्माता र निर्देशकको सुझाब लिनुभयो । तर, कसैले सकारात्मक सुझाब दिएनन् । त्यसपछि श्रीमान्लाई कुरा राखेपछि श्रीमान्ले आफूले लगानी गर्ने ढाडस दिए । कथाको लाइनअप बनिरहँदा उहाँको दिमागमा अभिनेता नाजिर हुसेन आइसक्नुभएको थियो । उहाँका अनुसार नाजिरले चलचित्रको चरित्रका लागि एक वर्ष मिहिनेत गर्नुभएको थियो ।

यो चलचित्र अन्तर्राष्ट्रिय बजारमा उहाँका श्रीमान्मार्फत जान लागेको हो । श्रीमान्ले अमेरिकामा बस्ने साथीलाई समुन्द्रको प्रोजेक्टको कुरा गरेपछि उहाँहरू सकारात्मक हुनुभएको थियो । समुन्द्रका अनुसार अन्तर्राष्ट्रिय प्रदर्शनका लागि हलिउडमै पोष्ट प्रोडक्सनको काम भइरहेको छ । उहाँ प्रोडक्सनको काम हेर्न अमेरिका जाँदै हुनुहुन्छ । नेपालीको चाहिँ नेपालमै डबिङ हुनेछ । समुन्द्रले यसअघि ‘रिङ रोड’ र ‘आधा पेज’जस्ता चलचित्र निर्देशन गरिसक्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?