म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजार नजिकै रहेको एक गाउँका स्थानीयको घरमा धारा जडान गरेको दुई बर्ष वितिसक्दा पनि धारामा पानी झरेको छैन ।
म्याग्दीको बेनी नगरपालिका–६,छाप गाउँमा आँगनमै धारा जडान गरेपछि लामो समयदेखिको पानीको समस्या समाधान हुन्छ कि भन्नेमा आशामा बसेका स्थानीय दुई वर्ष वितिसक्दा पनि धाराबाट पानी नझरेपछि निराश बनेका हुन् । बषौंदेखि खानेपानीको समस्या झेल्दै आएका स्थानीयबासीले घरकै छेउमै धारा बनेपछि पानीका लागि दुःखका दिन अन्त्य भएको महसुस गर्न नपाएको गुनासो गरेका छन् ।
बेनी नगरपालिका ६ चापकी देवकुमारी बानियाँले पानी कुरेर बसेको तीन वर्ष भए पनि धाराबाट पानी नआउँदा निराश हुनुपरेको बताउनुभयो । उहाँले भन्नुभयो “ तीन वर्ष अघि २०७८ सालमा खानेपानी,जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयबाट सुरू भएको काउँले खानेपानी आयोजना प्रयाप्त बजेटको अभावका कारण पूरा हुन नसकेपछि घर आगनकै धारोबाट पानी भरेर खाने सपना पूरा हुन नसकेको हो ।”
आयोजना निर्माणमा भएको ढिलाइ र हरेक बर्ष न्यून बजेट विनियोजनले धाराको प्रयोग नगरी जिर्ण बन्दै गएको स्थानीयको भनाइरहेको छ ।
काउँले खानेपानी उपभोक्ता समितिले खोरगैरामा ४४ घरधुरीलाई खानेपानी वितरण गरेको छ । खाना पकाउनका लागि पनि प्रयाप्त पानी छैन, क्रमागत बजेटको नाममा कनिका छर्केजस्तै बजेट दिएर स्थानीयलाई सास्ती दिने काम भइरहेको स्थानीय लक्ष्मी केसीले बताउनुभयो ।
२० हजार घनमिटरको १ वटा र ५ हजार घनमिटरको २ वटा ट्याङ्की सहित धारा निर्माण गरिएपनि पाइप लाइन धारमा जडान र गाड्ने काम बाँकी रहेको खानेपानी,जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय प्रमु्ख इन्जिनियर झलकमोहन ओझाले बताउनुभयो । उहाँका अनुसार क्रमागत बजेटका कारण खानेपानी आयोजनाले पूर्णता पाउन नसकेको हो ।
गत आवमा ८ लाख र चालु आवमा उक्त खानेपानीका लागि १० लाख विनियोजन भएको उहाँले जानकारी दिनुभयो , हालसम्म २५ लाख खर्च भएको आयोजनामा मुलबाट ट्याङ्कीसम्मको दूरी १५ सय मिटर छ ।अहिलेसम्म १६ घरधुरीमा धारा समेत बनेको छैन । बेनपा–६,पुलाचौरको न्यारी खर्क लगायत ४ वटा मुललाई रिजर्भ ट्याङ्कीमा संकलन गरी वितरण गर्ने लक्ष्य रहेपनि मुहानमा विवाद, पहिरो र पानी सुक्दै जाँदा समस्या भएको छ ।
काँउले–१ मुहान सुकेको छ भने अर्कोमा पहिरो छ । खानेपानीका लागि स्थानीयले भोक्दै आएको सास्ती छिटो अन्त्य गर्न सम्बन्धित निकायले ध्यान दिन जरुरी रहेको स्थानीयले बताएका छन् ।
बेनी खानेपानीको २२ करोडको डिपिआर स्वीकृत
बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको झण्डै २२ करोड बराबरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) खानेपानी मन्त्रालयले स्वीकृत गरेको छ ।
१८ बर्ष अगाडी बेनीबजारमा वितरणका लागि बनाइएको पाइपलाइनको डिजाइन परिवर्तनसँगै, नयाँ पाइप विस्तार लगायतका उपभोक्ताको घरदैलोमा पुर्याउने खानेपानीलाई सहज बनाउन तयार गरिएको २१ करोड ७४ लाखको डिपिआर खानेपानी मन्त्रालयले स्वीकृत गरेको संस्थाका अध्यक्ष रमेश गिरीले बताउनुभयो ।
“डिपिआर स्वीकृत भएको छ, आगामी बजेटमा बजेट सुनिश्चितता हुने जानकारी आएको छ ” अध्यक्ष गिरीले भन्नुभयो । उहाँका अनुसार पूरानो पाइपलाइन परिवर्तन, बेनीबजारको माथिल्लो क्षेत्रमा रहेको पाइपलाइनलाई कालिगण्डकी र म्याग्दी नदी आसपासका क्षेत्र हुदै विस्तार गरिने,बजारभित्रमा तत्कालिन खानेपानी कार्यालयले बि.स २०५२ सालमा विस्तार गरेको पाइप समेत परिवर्तन समेत गरिने छ ।
४ र ६ इन्चको दुईवटा पाइपलाई परिवर्तन गरी ८ इन्चको एउटै पाइप थपिने छ । बेनीबजारको माथिल्लो क्षेत्रमा खानेपानीको वितरणमा देखिएको समस्या समाधान समेत हुने खानेपानी संस्थाले जनाएको छ ।बेनी–जोमसोम–कोरला सडक विस्तारको क्रममा निरन्तर पाइपलाइनमा क्षती तथा डल्लेपिपलदेखि क्याम्पसचोक हुदै ट्यांकीमा ल्याइएको खानेपानीको पाइपले बजार क्षेत्रलाई जोखिम देखिएपछि सम्रग समस्यालाई समाधान गर्ने गरी डिपिआर बनाइएको निर्वतमान अध्यक्ष माधबप्रसाद रेग्मीले बताउनुभयो ।
बेनी खानेपानीले सदरमुकाम बेनीबजार आसपासको क्षेत्रमा बासोबास गर्ने २२ हजार जनसंख्यालाई नियमित शुद्ध पिउनेपानी वितरण गदै आइरहेको छ।ग्रामीण क्षेत्रबाट तीव्र बसाइँ सराइका कारण बढ्दो जनसंख्याको चापले खानेपानीको अभाव महशुस गरी बि.स २०६३ सालमा करिव ५ करोडको लागतमा सुरू गरिएको खानेपानी संस्थामार्फत बेनीबजार क्षेत्रका ११ सय १४ घरधुरीमा धारा जडान गरिएको छ ।
वि.स २०६३ सालमा ४ करोड ९३ लाख, २०७३ सालमा ६ करोड १५ लाख गरी कुल ११ करोड ५ लाखको र चालु आवमा निर्माणाधिन बेनी गुणस्तर सुधार खानेपानी आयोजनामा ५ करोड ८२ लाख लागतमा सञ्चालित आयोजनाले नगर विकास कोषबाट सहुलियत कर्जा लिएरप्रति सेकेन्ड २० लिटर क्षमताको पानी भण्डारण र शुद्धिकरण गर्ने सेडिमेन्टेसन टंकी र स्लो स्याण्ड फिल्टर टंकीको निर्माण गरिएको थियो ।
जिल्लाको अन्नपूर्ण गाउँपालिका–८ राम्चेको पुम्दीखोला, रिठ्ठाखर्क, डाँडाखर्क, दुधे र कोप्रे खोलाबाट प्रति सेकेण्ड २० लिटर आपुर्ती गर्न सक्ने अवस्थामा पुगेको छ भने खडेरी, पाइप फुटेको, पहिरोका कारण आपूर्ति बन्द भई हाहाकार मच्चिने समस्या हटाउन म्याग्दी नदीको पानी तानेर बेनी बजारमा वितरण गर्न थालिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच