
काठमाडौं । देशको अवस्था के छ ? जनता कसरी बाँचिरहेका छन् ? यसको उत्तर खोज्न धेरै केही गर्नु पर्दैन । एकपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दृश्य नियाले पुग्छ । विमानस्थलबाट दैनिक विदेशिनको लाइनले देशको अवस्था दर्शाउँछ । अझै छिमेकी देश भारतलगायत मुलुकमा जाने नेपालीको लर्कोले अर्को चित्र देखाउँछ । अस्पतालमा शैय्या नियाले पनि हुन्छ । जहाँ पैसाको अभावमा बिरामी छट्पटाइरहेका देखिन्छन् । पैसा तिर्न नसकेर लास कुरेर बसेका आफन्त देखिन्छन् । गाउँ बस्ती उजाड बन्दै छन् । देश विस्तारै बुढापाकाहरूको बन्दै छ । अधिकांश युवा देशभन्दा विदेशमा भेटिन्छन् । गाँस, बास र कपासको समस्या भोग्नेहरू छन् । एक छाक खान नपाएर भौतारिहेका नागरिक पनि भेटिन्छन् । देशको आर्थिक अवस्था जर्जर बन्दै छ । भएका उद्योग, कलकारखाना बन्द हुने अवस्थामा छन् ।
अनि सरकार ? छ नि ! देशमा कम्युनिष्टको सरकार छ । डेढ वर्षदेखि कम्युनिष्टका प्रधानमन्त्री छन् । दैनिक सत्ता राजनीतिको फोहोरी खेल प्रस्तुत गरेकै छन् । सडकदेखि सदनसम्म बलमिच्याइँ गरेकै छन् । सत्ता टिकाएकै छन् । चार–चारपटक विश्वासको मत पाएकै छन् । जनविश्वास गुमे के भो त ? सत्ता टिकेकै छ । उनीहरूलाई सबै पुगेकै छ । नपत्याए मंगलबार सार्वजनिक उनीहरूको सम्पत्ति विवरण हेरे पुग्छ ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा सरकार गठन भएको डेढ वर्ष पुग्नै लाग्दा बल्ल प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो । मन्त्रिपरिषद्को हालै बसेको बैठकले प्रधानमन्त्रीसहित सबै मन्त्रीहरूको विवरण सार्वजनिक गर्ने निर्णय गरेअनुसार कार्यालयको वेबसाइटमा सम्पत्ति विवरण सार्वजनिक भएको हो । सरकार बनेको करिब डेढ वर्षसम्म पनि सम्पत्ति विवरण सार्वजनिक नगरेको भन्दै चर्को आलोचना भइरहेको थियो ।
सार्वजनिक विवरणअनुसार धेरैजसो मन्त्री करोडपति छन् । काठमाडौंसहित ठाउँ ठाउँमा घर जग्गा छन् बैंकमा करोडौँ नगद मौज्दात छ । अधिकांशले श्रीमतीका नाममा सम्पत्ति देखाएका छन् । उनीहरूले आफ्नो आम्दानीबाट खासै सम्पत्ति नजोडेको विवरण उल्लेख गर्दै अधिकांशले श्रीमतीका नाममा सम्पत्ति रहेको विवरण दिएका छन् ।
प्रधानमन्त्रीसँग २५ लाख नगद, भरतपुरमा १४ कठ्ठा जग्गा
प्रधानमन्त्री प्रचण्डको भरतपुर महानगरपालिका–१४ मा १४ कठ्ठा पार्किङको जग्गासहित घर छ । स्वर्गीय धर्मपत्नी सीता दाहालको नाममा रहेको घर र जग्गा पैतृक सम्पत्ति भएको उहाँको सम्पत्ति विवरणमा उल्लेख छ । भरतपुर महानगरपालिकामा स्वर्गीय दाहालको नाममा एक कठ्ठा जमिन रहेको र यो अंशबाट प्राप्त भएको उल्लेख छ । प्रधानमन्त्रीसँग पाँच तोला सुन छ, यो पनि पैतृक भएको विवरणमा उल्लेख छ ।
प्रचण्डको नाममा एभरेष्ट बैंकमा २५ लाख रुपैयाँ नगद मौज्दात रहेको सम्पत्ति विवरणमा उल्लेख छ । सो रकम प्रतिनिधिसभा सदस्यका हैसियतमा प्राप्त भएको स्रोतमा आधारित रहेको उल्लेख छ । विवरणअनुसार प्रधानमन्त्रीको नाममा कुनै पनि पशु धन, ऋण र सवारीसाधन छैन । २०७३ सालमा प्रधामनन्त्री हुँदा उहाँले बुझाएको सम्पत्ति विवरणमा एक कठ्ठा पैतृक सम्पत्ति र तीन तोला सुन रहेको उल्लेख थियो । अहिले प्रधामनन्त्री प्रचण्डले थप १४ कठ्ठा जमिन पनि थप सम्पत्तिका रूपमा देखाउनुभएको छ । यसलाई पनि पैतृक सम्पत्तिकै रूपमा उल्लेख गर्नुभएको छ ।
नारायणकाजीको खातामा एक लाख २२ हजार
उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो बैंक खातामा एक लाख २२ हजार ९१८ रुपैयाँ ६४ पैसा रहेको खुलाउनुभएको छ । सार्वजनिक सम्पत्ति विवरणमा उहाँले आफ्नो पैतृक सम्पत्ति पार्टीलाई हस्तान्तरण गरेको घोषणा गर्नुभएको छ । गोरखाको सिरानचोक गाउँपालिका–८ मा उहाँको नाममा तीन कित्ता जग्गा छ । एउटा कित्ता ३१ रोपनी १५ आना छ, अर्को कित्ता एक रोपनी १० आना र अर्को पाँच रोपनी सात आना छ । त्यसलाई उहाँले पैतृक भन्नुभएको छ । २०५८ सालमै पार्टीलाई हस्तान्तरण गर्ने घोषणा गरेको र हाल प्रक्रियामा रहेको बताउनुभएको छ । उहाँसँग बा १० च ५७९८ नम्बरको महिन्द्रा गाडी छ, यो गाडी प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रयोगका लागि उपलब्ध गराएको श्रेष्ठले सम्पत्ति विवरणमा उल्लेख गर्नुभएको छ ।
रविसँग एक लाख नगद, अधिकांश सम्पत्ति पत्नीको नाममा
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाममा नेपाल बैंक लिमिटेडमा एक लाख पाँच हजार र ग्लोबल आईएमई बैंकमा पाँच हजार रुपैयाँ रहेको विवरणमा उल्लेख छ । उहाँको नाममा भक्तपुरमा एक रोपनी एक आना जग्गा छ । पैतृक सम्पत्तिबाट प्राप्त जग्गाबाहेक अरू सबै पत्नी निकिता पौडेलको नाममा भएको विवरणमा उल्लेख छ । निकिताको नाममा बूढानीलकण्ठ-८ मा पाँच आना जग्गामा बनेको घर छ । विभिन्न व्यवसाय सञ्चालनबाट आएको रकमबाट तीन करोड ७५ लाख रुपैयाँमा घर खरिद गरेको विवरणमा उल्लेख छ । घर किन्दा बैंकबाट लिएको दुई करोड ५० लाख रुपैयाँमध्ये अब एक करोड ५० लाख तिर्न बाँकी रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।
लामिछानेले पत्नी निकिता पौडेलसँग ८० तोला सुन रहेको पनि खुलाउनुभएको छ । त्यसको स्रोत भने अधिकांश बुबा आमाले दिएको र केही खरिद गरेको उल्लेख गरिएको छ । त्यस्तै, १५÷२० केजी चाँदी रहेको भनिएको छ । त्यो २५० देखि ३०० प्रति तोला भएको बेला खरिद गरेको भनिएको छ । अन्य नगद निकिता पौडेलको नाममा छ । पत्नी निकितासँग गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्सको १० रोपनी आठ आना जग्गाको २५ प्रतिशत सेयर रहेको पनि गृहमन्त्री लामिछानेले उल्लेख गर्नुभएको छ । निकिताको नाममा टाटा नेक्सनको विद्युतीय कार रहेको भनिएको छ । ४२ लाख रुपैयाँमा दुवैको निजी आय र बचतबाट २०७९ सालमा कार खरिद गरेको भनिएको छ । निकिता नारी टेलिभिजन र गोपीकृष्ण कामाक्ष मिडिया कम्पनीको सञ्चालक रहेको उल्लेख गरिएको छ । नारी टेलिभिजनको हालको मूल्य तीन करोड रुपैयाँ र कामाक्ष मिडियाको हालको मूल्य एक करोड रुपैयाँ रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।
महासेठसँग सवा दुई करोड नगद, ठाउँ ठाउँमा जग्गा र घर
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पनि अधिकांश सम्पत्ति श्रीमती जुलीकुमारी महतोको नाममा रहेको देखिएको छ । महतोको नाममा जनकपुरमा ४२०० वर्गमिटर जग्गामा घर, ललितपुरमा दुई रोपनी १३ आना जग्गा र घर, धनुषामा सात बिघा क्षेत्रफल जग्गा, ललितपुरकै अर्को ठाउँमा एक रोपनी सात आना जग्गा रहेको छ । त्यस्तै, महासेठको नाममा धनुषामा एक बिघा बढी जग्गा रहेको छ । दुई करोड २५ लाख रुपैयाँ बराबर नगद, ४३ तोला सुन, १.५ किलो चाँदी रहेको मन्त्री महासेठको सम्पत्ति विवरणमा उल्लेख छ । तीबाहेक पत्नी महतोको नाममा विभिन्न कम्पनीको तीन करोड ५५ लाख रुपैयाँ बराबरको सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।
सुमनासँग डेढ करोड नगद, घर छैन
शिक्षामन्त्री सुमना श्रेष्ठले आफ्नो सम्पत्ति विवरणमा कुनै घर नभए पनि काभ्रेको रियालेमा नौ लाख ९४ हजारमा खरिद गरेको जग्गा रहेको उल्लेख गर्नुभएको छ । पारिश्रमिकबाट खरिद गरिएको जग्गाको स्वामित्व संयुक्त नाममा रहेको उहाँले विवरणमा उल्लेख गर्नुभएको छ । आफ्नो नाममा एनआइसी एसिया बैंक र एभरेष्ट बैंकमा एक करोड ५२ लाख रकम मौज्दात रहेको उल्लेख छ । दुवै स्रोत उहाँले पारिश्रमिक रहेको जिकिर गर्नुभएको छ । उहाँसँग बिहे र हजुर आमाको शेषपछि प्राप्त ११ तोला सुन, बिहेका बेला उपहार पाएको १०० तोला चाँदी र एक-एक सेट हिराको हार र हिराको टप रहेको उल्लेख गर्नुभएको छ । उहाँसँग नबिल बैंकसहित विभिन्न कम्पनीको सेयर रहेको खुलाउनुभएको छ । सवारी साधनका रूपमा एउटा स्कुटर र २० लाख रुपैयाँमा खरिद गरेको इभी गाडी रहेको उहाँको विवरणमा उल्लेख छ ।
कसको सम्पत्ति कति ?
सहरी विकासमन्त्री धनबहादुर बुढाको काठमाडौंमा दुई वटा घर, थप जग्गा र प्रशस्त सुनचाँदी र नगद मौज्दात रहेको पाइएको छ । सम्पत्ति विवरणअनुसार उहाँको डोल्पामा पैतृक सम्पत्ति रहेको छ भने श्रीमती हिमालीको नाममा १७ र २० आना क्षेत्रफलको जग्गामा काठमाडौं महानगरपालिका वडा नम्बर ६ मा दुईवटा घर रहेको छ । यस्तै, श्रीमती हिमालीकै नाममा काठमाडौं महानगरपालिका ६ मै अर्को ६ आना जग्गा पनि रहेको छ । यस्तै, उहाँको १५० तोला सुन र ३०० तोला चाँदी रहेको सम्पत्ति विवरणमा उल्लेख छ । यस्तै, मन्त्री बुढाको नाममा १५ लाख बैंक ब्यालेन्स रहेको छ भने श्रीमतीको नाममा थप ४५ लाख नगद रहेको छ ।
वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले आफूसँग १२ बोरको एक थान बन्दुक (राइफल) रहेको उल्लेख गर्नुभएको छ । त्यस्तै, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका र राजविराजमा श्रीमती र छोरासहित गरी नौवटा घर रहेको छ । उहाँले पेस गरेको विवरणमा १५ ठाउँ जग्गा देखाइएको छ । छोरा बुहारी र पत्नीको नाममा १५८ तोला सुन रहेको छ । ८० लाख ऋण छ ।
श्रम, रोजगार तथा सुरक्षा मन्त्री डिपी अर्यालले आफ्नो सम्पत्ति विवरणमा १२ स्थानमा रहेको जग्गा, काठमाडौंमा घर, सुन, बैंक खातामा रहेको नगद देखाउनुभएको छ । अर्यालले धादिङ, काठमाडौं, लमजुङ र भक्तपुरमा रहेका जग्गा देखाउनुभएको हो । धादिङ र काठमाडौंमा रहेका जग्गा अम्बिका केसीको नाममा रहेको अर्यालले सम्पत्ति विवरणमा उल्लेख गर्नुभएको छ । लमजुङ र भक्तपुरमा रहेको जग्गा आफ्नो नाममा रहेको अर्यालले सम्पत्ति विवरण देखाउनुभएको छ । १२ ठाउँमा रहेको जग्गाको मूल्य पाँच करोड, २८ लाख रुपैयाँ बराबरको रहेको अर्यालले सम्पत्ति विवरणमा उल्लेख छ । निजी कमाई र व्यापारबाट सम्पत्ति जग्गा किनिएको अर्यालले विवरणमा देखाउनुभएको छ । अर्यालसँग सुन १५० तोला, चाँदी १०० तोला र हिरा १० तोला रहेको छ । पाँच बैंक र एक सहकारीमा अर्याल र श्रीमती अम्बिका केसीका नाममा रकम देखाउनुभएको हो । अर्याल र श्रीमती केसीका नाममा ६७ हजार कित्ता सेयर छ । उहाँसँग एक करोड २५ लाख ४३ हजार रुपैयाँमा किनेको प्राडो कार छ । अर्यालको स्वामित्वमा स्वयम्भू स्टार ब्यांकेट, सुमिरे ट्राभल्स एण्ड टुर्स प्रालि, इजी लिंक र एपिए ह्याण्डीक्राफ्ट रहेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले आफ्नो र परिवारको नाममा तीनवटा घर भएको सम्पत्ति विवरण बुझाउनुभएको छ । मन्त्री जोशीले आफ्नो नाममा बझाङ जयपृथ्वी नगरपालिका–७ मा २ रोपनी क्षेत्रफलमा बनेको घर रहेको उल्लेख गर्नुभएको हो । त्यस्तै, मन्त्री जोशीले जयराज जोशीको नाममा बझाङमै दुई रोपनी क्षेत्रफलमा बनेको पैतृक घर पनि उल्लेख गर्नुभएको छ । काठमाडौं कीर्तिपुरमा जयलक्ष्मी देवी जोशीको नाममा एउटा घर छ । त्यस्तै, बझाङमै जयराज जोशीको नाममा जग्गा छ । काठमाडौंको चन्द्रागिरिमा चार आना दुई दाम निर्मलाकुमारी कोइरालाको नाममा जग्गा छ । मन्त्री जोशीले चार तोला सुन भएको उल्लेख गर्नुभएको छ ।
यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले राष्ट्रिय वाणिज्य बैंकमा सात लाख ५० हजार रुपैयाँ मौज्दात रहेको उल्लेख गर्नुभएको छ । त्यस्तै, चल सम्पत्तिमा १३ लाख नगद पनि छ, जसलाई उहाँले तलब भत्ताबापत पाएको भन्नुभएको छ । त्यसैगरी, उहाँको जन्मथलो नुवाकोट पञ्चकन्या गाउँपालिका-३ मा १२ रोपनी आठ आना तीन पैसा एक दाम जग्गा पैतृक सम्पत्ति रहेको उल्लेख गर्नुभएको छ । त्यसबाहेक तामाङसँग ६ तोला सुन र सात/आठ तोला चाँदी रहेको विवरणमा उल्लेख छ ।
अर्थमन्त्री वर्षमान पुनसँग एनएमबी बैंकमा ३३ लाख ७० हजार ६१८ रुपैयाँ मौज्दात छ । उक्त रकम पुनले तलब भत्ता, भ्रमण भत्ता समेतबाट प्राप्त गरेको उल्लेख गर्नुभएको छ । त्यसैगरी उहाँको जन्मथलो रोल्पा नगरपालिका-७ माडीचौरमा ८२० वर्गमिटर पैतृक सम्पत्ति रहेको उल्लेख गर्नुभएको छ । त्यसबाहेक पुनसँग एक थान हलुका सवारीसाधन पनि छ, जसलाई उहाँको पार्टीको सम्पत्ति भन्नुभएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले चल अचल सम्पत्तिको रूपमा आफ्नो घर नभएको उल्लेख गर्नुभएको छ । सम्पत्ति विवरणमा जग्गा भने नुवाकोट र काठमाडौंमा गरेर चार ठाउँमा भएको उल्लेख गर्नुभएको छ । जसअनुसार उहाँको नाममा नुवाकोटको पञ्चकन्यामा सात रोपनी १५ आना हाराहारीमा जग्गा छ । यस्तै, शिवमाया तामाङको नाममा पनि नुवाकोटमा दुई ठाउँ र काठमाडौंको टोखामा एक ठाउँमा जग्गा रहेको उल्लेख छ । यस्तै, सात–आठ तोला चाँदी, सात लाख सुन र केही नगद चल सम्पत्तिको रूपमा रहेको उनले उल्लेख गरेका छन् ।
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले आफ्नो सम्पत्ति विवरणमा काठमाडौं महानगरपालिका-२४ मा इन्द्रचोकमा दुई आना जग्गामा घर र काठमाडौं महानगरपालिका-१३ ताहाचलमा चार आना जग्गामा घर रहेको देखाउनुभएको छ । इन्द्रचोकमा रहेको जग्गा र घर वीरेन्द्रभक्त श्रेष्ठको नाममा तथा ताहाचलमा रहेको जग्गा र घर विकास श्रेष्ठको नाममा रहेको उल्लेख छ । उहाँले आफ्नो सम्पत्ति विवरणमा यी दुवै स्थानमा रहेका जग्गा र घर सगोलको पैतृक सम्पत्ति बिक्री गरेर प्राप्त भएको उल्लेख गर्नुभएको छ । यसैगरी, श्रेष्ठले आफ्नो सम्पत्ति विवरणमा १५ तोला सुन र ५० तोला चाँदी रहेको उल्लेख गर्नुभएको छ ।
सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले आफ्नो सम्पत्ति विवरणमा श्रीमान् कृष्णध्वज खड्काको नाममा काठमाडौंको कीर्तिपुरमा घर रहेको उल्लेख गर्नुभएको छ । ६ आना एक पैसा दुई दाम क्षेत्रफलमा बसेको उक्त जग्गामा साढे दुई तलाको घर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । प्युठानमा जग्गा, चल सम्पत्तिमा ६ तोला सुन, दुई तोला चाँदी, विभिन्न बैंकमा नगद मौज्दात रहेको उल्लेख छ । यस्तै, एउटा होण्डाई कार रहेको पनि उहाँको सम्पत्ति विवरणमा उल्लेख छ ।
कानुनमन्त्री पदम गिरीको पर्वतमा सात आना जग्गा रहेको छ । त्यो पैतृक सम्पत्ति रहेको उल्लेख गर्नुभएको छ । उहाँले आफूसँग २३ तोला सुन र पारिश्रमिकबाट आएको एक लाख बैंक खातामा रहेको उल्लेख गर्नुभएको छ । न्यु ऐरा रेष्टुरेण्ट एण्ड पार्टी प्यालेस पोखरामा ऋण र पैतृक सम्पत्तिबाट ५० लाख लगानी गरेको उल्लेख गर्नुभएको छ । यस्तै, नेपाल बैंकबाट ४० लाख ऋण लिएको सम्पत्ति विवरणमा उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच