
दुर्जनः परिहर्तव्यो विद्ययाद्रलङ्कृतोद्रपि सन् ।
मणिनाभूषितः सर्पः किमसौ न भयङ्करः ।।
आदरणीय नेपाली जनसमुदाय !
जयनेपाल, लालसलाम र नमस्कार,
नीतिले भन्छ, दुर्जनलाई कुनै पनि हालतमा छाड्नै पर्छ/त्याग्नै पर्छ यद्यपि गुणवान् नै छ भने पनि । टाउकामा मणि भएको सर्प भयंकर हुँदैन र ? नेपालका अहिलेका राजनीतिक दलका पहिलो, दोस्रो, तेस्रो श्रेणीकै पनि राजनीतिकर्मी विद्याको उच्च तहको प्रमाणपत्र भएका मान्छे छन् तर तिनको आचरण र चिन्तन भएन । आचरण र चिन्तन नभएको मान्छे र बाहुलाएको कुकुर समान हुन्छन् सामाजिक उपयोगिताका दृष्टिले । जनता र देशका लागि काम गर्ने तिनको प्रमाणपत्रले होइन मान्छे र मान्छेका सोच र आचरण (गरौं भन्ने भावना) ले हो । पृथ्वीनारायण शाहलाई सामन्त देख्ने कृतघ्नहरू आज देशको राजनीतिमा व्याप्त भएका छन् । जसले राज्य दियो उसलाई दोषी देख्नु राम्रो हो ?
देशका जनता बिहानबेलुका खान नपाएर बाँको खाएर जहानै सामूहिक आत्मघातमा जाने अवस्था हुँदाहुँदै खेतीयोग्य जमिनमा करौडौं अर्बाैं राष्ट्रिय ढिकुटी रित्याएर भ्युटावर निर्माणका लहडी र कमिसनका खेलमा लागेको देख्दादेख्दै पनि हामी पटक-पटक तिनैलाई चुनाव जिताएर पठाउँछौँ । यो हाम्रो गिदीहीनताको द्योतन सामग्री होइन र ? बहुदलीय प्रजातन्त्र श्रीखण्ड नै हो संसारका राजनीतिक पद्धतिमध्ये तर त्यसलाई दाउरा या हँसियाको बिँड बनाउने बुद्धिले उपयोग गर्न जानेन भन्दैमा श्रीखण्ड धुर्सुल या बोहरे काठको टुक्रो बन्छ र ? यसरी हेर्दा दोष हामी मतदातामा पनि देखिन्छ ।
देश जनताको हो जनता अर्धमूर्छित अवस्थामा रहँदा कहिल्यै पनि देश बन्दैन । सुन काण्ड, रक्त चन्दन काण्ड, वाइड बडी काण्ड, गिरिबन्धु काण्ड, ओम्नी काण्ड, बुढी गण्डकी काण्ड, मेलम्ची ढिलासुस्ती काण्ड हाम्रा राज्यसञ्चालकले गरे कि साधारण जनताले गरे भनेर किन विश्लेषण नगरेको हामीले ।
राजनीतिशास्त्रले जनतालाई दोषी ठान्न निषेध गर्दछ तर गणेशमानजीले त हाम्रो यस्तै नीचतम प्रवृत्तिलाई संकेत गर्दै काठमाडौंका जनता चेतना नभएका पशु समान छन् भन्नुभएको थियो तर मैले विचार गर्दा त हामी सबै नेपाली नै विचेत भएर बसेका हुनाले नै हामी २००७ सालदेखि ठगिएका ठगियै भएका रहेछौं । अहिले त गोरखा, डडेल्धुरा र झापाले पनि नेपाल र नेपाली सिध्याउने मुल्याहालाई नै चुनेको देख्दा भन्न मन लाग्छ यहाँको माटै यस्तै रहेछ । अस्ति सतीप्रथालाई पनि हामीले शिरोधार्य गरेका थियौं । हिजो राजा र राणालाई कुर्नेश गरेरै आयौं । आज भ्रष्ट गृह तथा उपप्रधानमन्त्री बोलेपछि अरूले बोल्नै नपाइने कुरा वक्दै छौं ।
अर्काले बोकाएको संघीयताको थोत्रे डोको बोकेकै छौं । चतुष्पाश्र्विक दृष्टि र शैलीमा हुने गरेका भ्रष्टाचारीलाई पूजा गरेकै छौं । गोठालालाई वरासन दिए पनि गोठै खोज्छ रे । हामीले सांसद बनाएर के गर्नु यी पप्लु, टिप्लु र चुस्कीबेगर निद्रा नलाग्ने जीवलाई । कोही प्रधानमन्त्री भएर सरकारी जमिन बेच्छन् त कोही एउटा प्रयोजनलाई उपलब्ध गराएको जमिन ऐन नियम नै परिवर्तन गरेर भूमाफिया पोस्छन् अनि त्यो अर्काका टाउकामा फाल्न नचाहिँदो प्रयास गर्छन् ।
यस्तालाई हामी तारणहार ठान्छौं अनि कसरी भलो हुन्छ हाम्रो ? वैयक्तिक आचरण नभएका, आर्थिक भ्रष्टाचारमा चुर्लुम्म डुबेका, अहोरात्र अरूलाई ठगेर जीविका चलाउँदै आएका मान्छे नभए सरकार बनाउन सकिँदैन भन्ने धारणा भएकासँग के के न गर्लान् भनी आस गर्छौं । विचार अनि चिन्तन नभएको मान्छेलाई प्रधानमन्त्री, प्रहरीप्रमुख र पूर्वप्रधानमन्त्री छानबिनै गर्नु नपर्ने भनेर सदनमा वक्छन् । यो कस्तो तमाशा हो ?
शत्रुणानहि सन्दध्यात् संश्लिष्टेनापि सन्धिना
सन्तप्तमपिपानीयं शमयत्येव पावकम् ।
अर्थात् राम्ररी सन्धि गरेको भए पनि शत्रु (विपरीत विचार) लाई विश्वास नगर्नू । किनभने राम्ररी (भक्भकी) उम्लिएको पानीले आगो निभाउँदैन र ? भन्छ राजनीतिले । राजनीति नै नीतिमध्येको सर्वोत्तम नीति हो । त्यही मिलीजुली खाने भयो भने देश र जनता त डुब्ने नै भए नि होइन र ? नेपालमा भएका सबै राजनीतिक दल सत्ताका लागि वैचारिक बैरीसँग अँगालो मारेर चुनावमा गएको देख्दा पनि हामी चेतेनौं । लहडका भरमा काम गर्नेगरे देख्दा पनि हामी मतदातादलहरू तिनका हली बन्नैतिर लोभियौं । देश विकास गर्ने दलले होइन दलमा भएका राम्रा चरित्रका मान्छेले हो भन्ने हामीले सोचेनौं । कहिले जातलाई, कहिले चरित्रै नभएकालाई अनि कहिले जनताले अविश्वास गरेकालाई हामीले राज्य चलाउने जिम्मा दियौं भागका आसमा परेर ।
अहिले आएर तमाम पत्रपत्रिका, विद्युतीय सञ्चारजगत् र बौद्धिक जगतले समेत अनेकौं प्रकारले दलनायक र दलका साथै विचारका क्षेत्रमा देखिएका नराम्रा कुरा औंल्याउँदा औंल्याउँदै पनि हामी के केमा बिकेर पछि पश्चाताप गर्नुपर्ने नै काम गर्दै आएका छौं । आवधिक चुनाव, विधिको सर्वोच्चताजस्ता कुराका पछि भन्दा प्रान्त, पहिचान, जातीय र दलीय कुरालाई मात्रै मतदाताले ध्यान दिनाले संविधान नै फटाहाले मिलेर डुँडुलो डुबाउन पाउने बनाएको चालै पाएनछौं । देश चलाउने मूल विधानमा नै खोट देखिँदा पनि हामी भागबण्डामा नै लागेर छेपाराले रङ बदले झैँ आचरण चिन्तन र चरित्र बदल्नेका काखमा निःशंक सुतेका छौं ।
अब त सचेत बनेर यो संविधान संशोधन गर्न दलहरूलाई बाध्य पार्ने काम जनस्तरबाटै आरम्भ गरौं । संविधान संशोधन गरेर देशमा भएका दलहरूको ऐतिहासिक योगदान, संगठन, आचरण र विश्वसनीयतालाई तिनका घोषणापत्र पढेरमात्रै भोट दिन जागरुक बनौं । हामीले चुनावलाई पैतृक बिरासत् बनाउँदै लैजान थालेका छौं । सहकारीको काम पैसा उठाएर लगानी गर्ने होइन, लगानी बैंक या वित्तीय कम्पनीले राज्यले बनाएका विधान र राष्ट्रबैंकले दिएका निर्देशका परिधिमा बसेर आर्थिक राशी उपलब्ध गराउने नियम बनाउन लगाऊँ । सहकारीले त त्यसरी आएका विकासका योजनालाई साधन जुटाउने मात्रै हो । नर्वे, सिंगापुरजस्ता देशले गरेका विकासका मोडेलबाट पनि सिकौँ । धनी बन्न व्यवसाय गर्नुपर्छ व्यापार गर्नुपर्छ, उद्योग गर्नुपर्छ भन्ने कुरो बिर्सेर नेपालमा त धनी हुने उद्योग राजनीतिलाई बनायौँ हामीले ।
देश जनताको हो जनता अर्धमूर्छित अवस्थामा रहँदा कहिल्यै पनि देश बन्दैन । सुन काण्ड, रक्त चन्दन काण्ड, वाइड बडी काण्ड, गिरिबन्धु काण्ड, ओम्नी काण्ड, बुढी गण्डकी काण्ड, मेलम्ची ढिलासुस्ती काण्ड हाम्रा राज्यसञ्चालकले गरे कि साधारण जनताले गरे भनेर किन विश्लेषण नगरेको हामीले । नागरिकलाई गैरनागरिक बनाएर धन असुल्ने काम कुनै साधारण जनताले गरेको हो कि जननेताको मखुण्डोधारी अवसरवादीले गरेको हो ? सहकारी अपचलन पनि त अहिले पत्रकारले खोज गर्दा कुनै न कुनै राजनीतिक दलका आडमा भएको छर्लङ्ग भयो नि । व्यक्तिले गरेको भ्रष्टाचार त राज्यले खडा गरेका निकायले खोज्दोरहेछ तर राजनीतिक आडमा गरिने संस्थागत भ्रष्टाचारको छानविन कसले गर्ने ?
मोहम्मद महाथिर, लि क्वान युले देश विकास गरेका कुरा हाम्रा राजनीतिकर्मीलाई पनि राम्रो थाह छ तर पनि यिनीहरू खान, सत्तामा भागबण्डा गर्न पछि पर्दैनन् । देश र जनताको भलो मुखले मात्रै गर्छन् र कुर्सीमा जुको टाँसिए झैँ नमरुन्जेल टाँसिइरहनका लागि अनेकौं जालझेल गर्दछन् ।
आज सदन किन अवरुद्ध भयो त ? राजनीतिक आडका संस्थागत भ्रष्टाचार तथा दलीय स्वार्थले होइन र ? अब जनता जाग्नुपर्छ, संस्थागत भ्रष्टाचार गर्ने दललाई अस्वीकार गर्ने हिम्मत देखाउनै पर्छ । भो, भयो अति सुत्यौं अब जागौं । मन्त्रालय फुटाएर हुन्छ कि पार्टी फुटाएर हुन्छ सत्ता र शक्ति चाहियो चाहियो । यही हो राजनीतिक चरित्र ? वंशजलाई विदेश धपाएर अंगीकृतले भरिएको देश भनेर सामान्य ज्ञानमा छाप्न कसैले काम गरिरहेको त छैन ? यदि यसो छैन भने यति धेरै भद्रगोल किन भयो त ? दम्भ, लोभ र उथलपुथलका मात्रै भरमा त नहुनुपर्ने होइन र ?
द्रवत्वात् सर्वलोहानां निमित्ताद् मृगपक्षिणाम्
भयाल्लोभाच्चमूर्खाणां सङ्गतं दर्शनात् सताम् ।
अर्थात् सबै प्रकारका धातुको मेल पग्लिएका अवस्थामा हुन्छ, पशुपक्षीको मेल खाने कुरामा हुन्छ, मूर्खहरूको मेल डर र लोभका कारणले मात्रै हुन्छ भने विद्वान् र सज्जनको मेल दर्शन र संगतका कारणले हुन्छ । नेपालमा २००७, २०३६, २०४७ र २०६१/०६२ मा सज्जन जनताहरूको मेल देशका लागि भएको थियो । बाँकी जति पनि मेल या गठबन्धन भएका छन् ती सबै लोभ, लाभ र भोजनका लागि भएका देखिन्छन् चाहे जेसुकै गफ गरून् राजनीति कर्मीहरू । चार या पाँच वटा घटनाले देश र जनताको अवस्थामा कायापलट गराएका छन् ।
अतः यी मेलहरू सदुद्देश्यले भएका थिए बाँकी मूर्खता र लोभलाभका लागि भएका छन् । मोहम्मद महाथिर, लि क्वान युले देश विकास गरेका कुरा हाम्रा राजनीतिकर्मीलाई पनि राम्रो थाह छ तर पनि यिनीहरू खान, सत्तामा भागबण्डा गर्न पछि पर्दैनन् तर देश र जनताको भलो मुखले मात्रै गर्छन् र मलामी बटुल्न नसक्ने डरले कुर्सीमा जुको टाँसिए झैँ नमरुन्जेल टाँसिइरहनका लागि अनेकौं जालझेल र तिगडम गर्दछन् । प्रचण्डको बेला न कुबेलाको उथलपुथल, ओलीको दम्भप्रदर्शन, झलनाथको अर्जुनदृष्टि, डा.बाबुरामको अस्थिरता, शेरबहादुरको सत्ताछट्पटी सबैमा स्वार्थ र लोभ अनि बौद्धिक दिवालियापना प्रदर्शित भएका छन् ।
हुन त भारतमा शेर बनेर गर्जेका मोदी पनि आफ्नै बुद्धिहीनताका कारणले खस्कँदै गएका देखिन्छन् । बर्माकी आङसाङ सुकीको पनि पतनको कारण लोभ र आर्थिक अपचलन हो भनेर त्यहाँको सैनिक शासनले विश्वलाई सुनाइरहेको छ । पाकिस्थानलाई जर्नेलका भूतले सताएको सतायै छ । चीनले फेरि विगतको माओचाओको नीति अख्तियार गर्नाले उत्तर कोरियाली दम्भी शासनसँग मितेरी लाएर ताइवानलाई थर्काउन र दक्षिण कोरिया तथा अमेरिकालाई थर्काउन बल मिलेको विश्लेषण गरिन्छ तर स्याल सिंह हुँदैन ।
तानाशाह केही दिन बलियो देखिए पनि अन्ततः जनताको स्वतन्त्रचेतकै विजय भएको देखिन्छ ऐतिहासिक कालखण्डदेखि नै । अहिले भ्रष्टले भ्रष्टलाई कसरी जोगाउने भन्ने खेल नेपालको राजनीतिमा चलेको देखिन्छ । हेरौं हिलाले हिलो पखालिन्छ कि पखालिँदैन । हुन त लोकजीवनमा पनि काले काले मिलेर खाँऔँ भाले भन्ने खाने कुराको गीत भेटिन्छ । आज संसद्लाई ओली र पुकदा मिलेर ब्यारेकमा रूपान्तरण गरेको पनि देखियो ।
Commendable remarks
अहिले भ्रष्टले भ्रष्टलाई कसरी जोगाउने भन्ने खेल नेपालको राजनीतिमा चलेको देखिन्छ । हेरौं हिलाले हिलो पखालिन्छ कि पखालिँदैन । हुन त लोकजीवनमा पनि काले काले मिलेर खाँऔँ भाले भन्ने खाने कुराको गीत भेटिन्छ । आज संसद्लाई ओली र पुकदा मिलेर ब्यारेकमा रूपान्तरण गरेको पनि देखियो ।