![राष्ट्रिय जिडिपीमा कर्णालीको ४.२८ प्रतिशत योगदान](https://ehimalayatimes.com/wp-content/uploads/2024/03/karnali-pradesh-sabha.jpg)
काठमाडौं । प्रसिद्ध राजनीतिकर्मी श्रीकान्त अधिकारीको ९८औं जन्मजयन्तीका अवसरमा दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानको आयोजनामा चेतनाको मुहान नामक सामयिक प्रकाशनको लोकार्पण भएको छ । अधिकारीकी धर्मपत्नी तथा महिला नेतृ गायत्री अधिकारीको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्वसभामुख दमननाथ ढुंगान, संविधान सभासदस्य खिमलाल देवकोटा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य योजना आयोगका पूर्वउपाध्यष डा.गोविन्दराज पोख्रेल तथा हिमालय टाइम्सका प्रधानसम्पादक प्रा.पुरुषोत्तम दाहालले सो प्रकाशनको लोकार्पण गर्नु भएको हो ।
प्रकाशनमा राजनीतिक सन्दर्भका १९ जना लेखकका विचारहरू संग्रहित छन् । सो अवसरमा लेखकहरूलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै पूर्वसभामुख ढुंगानाले विगतमा अनेक राजनीतिक योद्धाहरूले देशको मुहार फेर्न योगदान गरेको र त्यो योगदानको ढोका ००७ ले खोलेको चर्चा गर्दै श्रीकान्तजी जस्ता लोकतनत्रका योद्धाहरू सदा स्मरणीय हुने विचार प्रकट गर्नुभएको थियो ।
संविधान सदस्य तथा माओवादी केन्द्रका नेता खिमलाल देवकोटाले क्रान्तिभूमि लमजुङबाट श्रीकान्त अधिकारी जस्ता व्यक्तित्वको उदय र उहाँले सामाजिक क्षेत्र र शैक्षिक क्षेत्रमा पुर्याउनु भएको योगदान भविष्यकालागि उदाहरणीय रहेको विचार प्रकट गर्नुभएको थियो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.पोख्रेलले हलो क्रान्तिका जन्मदाता, अनेक विद्यालयहरूको संस्थापक र परिवर्तनमा अग्रगामी सोच राख्ने श्रीकान्तका विषयमा प्रतिष्ठान स्थापना गरिएकोमा खुशी प्रकट गर्दै आजको आर्थिक विसंगतिले देश आहत भएको तथ्यहरू प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा प्रा.दाहालले सूर्यप्रसाद उपाध्यायको निकटस्थ भएर अधिकारीले लोकतनत्रममा योगदान दिनुभएको र जतिसुकै बांगा बाटोको यात्रा गर्नु परे पनि लोकतन्त्र र स्वतन्त्रताको चुरो नछाडेको हुनाले श्रीकान्तप्रति श्रद्धानत हुनुपर्ने विचार प्रकट गर्नुभएको थियो ।
श्रीकान्त अधिकारीको योगदानका विविध पक्षबारे शरणकुमार अर्याल, गणेश न्यौपाने, देवीप्रसाद न्यौपाने र देशबन्धु अधिकारीले चर्चा गर्नु भएको थियो । लमजुङ दुराडाँडामा जन्मनु भएका श्रीकान्त अधिकारी ००४ मा जयतु संस्कृतम् आन्दोलन, ००७ को क्रान्ति, ०१४ को भद्र अवज्ञा आन्दोलन, ०३६ को जनमतसंग्रहमा बहुदल पक्ष र ०४६ मा जनआन्दोलनका पक्षमा सक्रिय हुनुहुन्थ्यो । उहाँ ०१५ सालको आमनिर्वाचनमा १०० नं निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसको उम्मेदवारका रूपमा विजयी हुनु भएको थियो ।
०१७ पछि केही समय उहाँले जेलजीवनसमेत बिताउनु भएको थियो । लमजुङमा १२ वटा विद्यालयहरूको स्थापनादेखि विकासका अनेक कार्यहरूमा उहाँको योगदान स्मरणीय रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच