कुनै बेला राष्ट्रिय राजनीतिको केन्द्रमा हुनुहुन्थ्यो- तारानाथ रानाभाट । पूर्वसभामुख एवं नेपाली कांग्रेसका पूर्वमहामन्त्री उहाँ अहिले पनि सक्रिय राजनीतिमै हुनुहुन्छ । नेपाली कांग्रेसमा कुनै महत्वपूर्ण पदमा आसीन नभए पनि पाका राजनीतिज्ञको हिसाबले मुलुकको घटनाक्रम र पार्टीका गतिविधिलाई उहाँले राम्रैसँग नियाल्नुभएको छ । सममामयिक राजनीति, संसदीय गतिविधि र विविध विषयमा केन्द्रित रहेर नकुल अर्यालले हिमालय टाइम्सका लागि तारानाथ रानाभाटसँग गर्नुभएको संवाद:-
पूर्वसभामुखका रूपमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र संसद्को गतिविधिलाई कसरी नियालिरहनुभएको छ ?
नेपालको राजनीतिले समयानुसार आफूलाई रूपान्तरण गर्न सकेन कि भन्ने लाग्छ । हामी कहाँ राजनीतिक आन्दोलन र परिवर्तनको दशकौं बितिसकेको छ । मुलुकको सर्वपक्षीय उन्नति हुनुपर्ने थियो तर अहिले पनि हामी पछौटेपनमै छौं । नेपालको राजनीतिमा एक खालको अस्थिरता सधैं कुनै न कुनै रूपमा रही नै रहने हो कि भन्ने देखिएको छ । हामी भारत र चीनजस्ता दुई ठूला मुलुकको बीचमा छौं । यी दुई देशमा राजनीतिक व्यवस्था र वैचारिक आस्था जे भए पनि यिनीहरू संसारका शक्तिराष्ट्र बनिसकेका छन् । प्रजातन्त्रको दृष्टिकोणले उनीहरू हामीभन्दा धेरै अगाडि होइनन् । उनीहरूको विकासको गतिकै बीच केही नगरे पनि नेपाल एक समृद्ध मुलुक भइसक्नुपर्ने थियो । तर, हाम्रो शासकीय प्रबन्धमै केही दोष छ । भारत विकसित हुनसक्ने, चीन विकसित हुनसक्ने तर नेपाल किन हुन नसक्ने ? त्यसकारण हामीकहाँ प्राकृतिक हिसाबले अथाह सम्भावना भए पनि राजनीतिक हिसाबले देश बनाउनुपर्छ भन्ने चेतनाको उपयोग नै हुनसकेन । भूगोल र संभावनाको तुलना गर्ने हो भने यो देशलाई बनाउन कत्ति समय लाग्दैन तर राजनीतिक, धार्मिक, सामाजिक र सांस्कृतिक रूपमा विभाजित भइरहँदा मुलुकको भविष्य बनाउने कुरा ओझेलमा पर्दै आएको छ । पढेलेखेको र दक्ष जनशक्ति नै मुलुकमा भेटिन गाह्रो पर्न थालेको छ । यी विविध कारणले मुलुकको पछिल्लो अवस्था सन्तोषजनक म देख्दिनँ । जनताको भाग्य र भविष्यप्रति गम्भीर हुनेहरू पाखा लागिसकेकाले स्थिति अत्यन्तै निराशाजनक छ । प्रजातन्त्र र कानुनको शासनप्रति हाम्रो प्रतिबद्धता घट्दो छ । राष्ट्र र नेपाली जनतालाई केन्द्रमा राखेर तिनको सुखद् भविष्यका लागि काम गर्न हामी चुक्यौं । यसमा राजनीतिक नेतृत्व बढी जिम्मेवार छ ।
संसद्को समय र जनताको भावनाको क्षति नहोस् भनेर सभामुखले अग्रसरता लिनुपर्ने हो । दलहरूले पनि संवादलाई भन्दा शक्ति प्रदर्शनलाई प्राथमिकता दिएको देखिन्छ । सधैं चुनावी मानसिकता बोकेर संसद्मा प्रस्तुत हुने परम्परा कायमै रहेको देखिन्छ ।
तपाईंले समग्र मुलुकको कुरा गर्नुभयो । अहिले संसद्मा देखिएका दृश्यहरू के त्यसैका प्रतिबिम्ब हुन् ? संसद्मा बारम्बार देखिने विवाद र अवरोधबारे के भन्नुहुन्छ ?
राजनीतिक अभ्यासको दृष्टिकोणले जनतालाई केन्द्रमा राख्न थालेकाले २००७ सालदेखि होनि । बीचमा जति बाधा परे पनि, जसले शासन गरे पनि केन्द्रमा त जनता नै छ भनेका थियांै नि । सात सालदेखि आजसम्मको अवधि छोटो त होइन नि ¤ संसदीय राजनीतिले पनि पर्याप्त अभ्यासको अवसर पाइसक्यो । तर, अहिले संसद्को गतिविधि हेर्दा सही राजनीतिक संस्कृतिको विकास हुन सकेन भन्ने लाग्छ । राजनीतिक दलहरूबीच जनताको मत लिनका लागि केही प्रतिस्पर्धा हुनु स्वभाविक हो । दलहरूबीच चुनावको समयमा सामानय छेडखानी पनि होलान् तर यहाँ त हरेक दिन छेडखानी भइरहेको छ । एकले अर्काको राजनीतिक अस्तित्वलाई आरोपित गर्ने काम भइरहेको छ । हिजोका दिनमा पनि संसद् थियो, दलहरू थिए, पक्ष प्रतिपक्ष हुन्थे । फरक दल र आस्थामा भए पनि एकले अर्काको राजनीतिक अस्तित्व नकार्ने चलन थिएन । आज त कसले कसलाई सक्ने भन्नेमात्रै उद्देश्य छ । संसद्मा भइरहेको विवाद त्यसैको उपज हो । संसद् भनेको जनताको थलो हो । दलका नेताहरूले निरन्तर विवाद झिकेर संसद्लाई समस्यामा पार्नु हुँदैन । संसदलाई गतिहीन, दिशाहीन बन्नबाट रोक्नुपर्छ । यसका लागि राजनीतिक दलहरूको मूल नेतृत्व र संसद्का सभामुखले विशेष जिम्मेवारी बहन गर्नुपर्छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लामो समय सदन अवरोध गर्यो । अवरोधकै बीच नीति कार्यक्रम पारित पनि भयो । सभामुखको भूमिकाबारे प्रश्न पनि उठ्यो । सदनको गति र सभामुखको भूमिकाबारे के भन्नुहुन्छ ?
सभामुख भनेको सदनको नेता हो । उसमा केही निश्चित गुण र क्षमताहरू हुन्छन् भन्ने विश्वास गरिन्छ । जस्तो कि सभामुखको कुर्सीमा बसेको व्यक्ति दलीय स्वार्थभन्दा माथि उठेको हुनुपर्छ । राजनीतिक समस्या समाधानको पहल गर्ने इच्छाशक्ति भएको हुनुपर्छ । राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिको जानकार हुनुपर्छ । अहिले संसद्मा जे भइरहेको छ त्यसको जिम्मेवारी सभामुखले लिनुपर्छ । सभामुखले नै संसद्का सरोकारवालासँग पर्याप्त छलफल गर्नुपर्छ । संसद्मा प्रतिपक्षले राखेका विषयलाई चासो दिनुपर्छ । यिनै कारणले सभामुखको गरिमा बढ्ने हो । जब सभामुखले आफ्नो आस्था प्रकट गर्छ तब समस्या बढ्न जान्छ । विपक्षीले संसद्मा समय माग्ने, चर्को बोल्ने, प्रश्न सोध्ने, रोष्टम घेर्नेलगायत काम गरिहाल्छ । राजनीतिमा कहिलेकाहीँ त्यस्तो हुन्छ । त्यसबाट संसद्को समय र जनताको भावनाको क्षति नहोस् भनेर सभामुले अग्रसरता लिनुपर्ने हो । दलहरूले पनि संवादलाई भन्दा शक्ति प्रदर्शनलाई प्राथमिकता दिएको देखिन्छ । सधैं चुनावी मानसिकता बोकेर संसद्मा प्रस्तुत हुने परम्परा कायमै रहेको देखिन्छ । अहिलेको विवाद निरूपण गर्नपनि सभामुखले नै निष्पक्ष पहल लिनुपर्छ । ढिलै भए पनि प्रमु्ख राजनीतिक दलहरूले संसदीय छानविन गठन गरेका छन् । सदन सुचारु भएको छ । विवाद बल्झनुअघि नै प्रमुख दलबीच संवादबाट निकास खोज्ने परम्परा थालनी गर्नुपर्छ । आगामी दिनमा अहिलेको जस्तो समस्या आउन नदिन सभामुखले पनि आफूलाई थप जिम्मेवार बनाउनुपर्छ । सभामुखले आफ्नो विगतको आस्थाभन्दा सदनको हित, मुलुकको हित र जनताको हितलाई केन्द्रमा राख्न जरुरी छ ।
सभामुखले पूर्वसभामुखहरूसँग सरसल्लाह, सुझाव लिने गर्नुभएको छ कि छैन ?
संसारभरी सभामुखले पूर्वसभामुखहरूसँग, सिनियर पोलिटिसियनसँग छलफल गर्ने, सुझाव लिने कुरा स्वभाविक हो । नेपालमा पनि सभामुखले आवश्यकता अनुसार आवश्यक व्यक्तिहरूसँग सरसल्लाह, छलफल, परामर्श गर्नुभएकै होला । तर, मैले खबर पाएको छैन । सभामुखले पक्कै कसैको सल्लाह त लिनुभएकै होला तर मैले त्यस्तो शौभाग्य पाएको छैन । मलाई सम्पर्क गर्नुभएको छैन ।
मुलुकको राजनीति विभाजित, विवादित र अस्थिर भइरहनुको मुख्यकारण के होला ?
हामीकहाँ कानुनी शासन र जनताको हितका लागि साझा धारणा विकास नै हुनसकेन । मुख्य रूपमा दुईवटा विषयमा हामी चुक्यौजस्तो लाग्छ । पहिलो कुरा हामीसँग राष्ट्रिय सोच छै । दोस्रो हामीसँग राष्ट्रिय नेता छैन । अहिलेको नेपालमा पनि जाति र धर्मको लडाइँ जारी छ । बाहिर नदेखिए पनि नेपाली समाजको भित्री तहसम्म विवादका बाछिटाहरू पुगेका छन् । समाजमा जरो गाडेका धार्मिक, सांस्कृतिक विकृति रोक्न कसैले ध्यान दिएको छैन । दलहरूले आफ्ना स्वार्थका कुरा त गरेका छन् तर जनताको स्वार्थ अझै बुझेका छैनन् । चुनावको बेला जति झगडा गरेपनि यही देश बनाउने दायित्व छ भन्ने कुरा नेताहरूले बुझेनन् । नेपालको प्राकृतिक, भौगोलिक, सांस्कृति र सामरिक महत्वलाई नबुझेको राजनीतिक नेतृत्व भयो । बीपी कोइराला, पुष्पपाल श्रेष्ठ, मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई जस्ता राष्ट्रिय सोच भएका नेताको अभाव खड्कियो । सबै दल र विचार बोक्नेले पनि आश गर्नसक्ने टावरिङ पर्सनालिटी भएको नेता कोही भएन । जति ठूलो नेता भए पनि आफ्नै पार्टी र गुटको फेरोभन्दा माथि उठ्न सकेको छैन । त्यसैले नेपालको आजको राजनीतिमा राष्ट्रिय सोच र नेतृत्वको अभाव म देख्दछु ।
तपाईं नेपाली कांग्रेसको पूर्वमहामन्त्री पनि हुनुहुन्छ । कांग्रेसमा सक्रिय हुनुहुन्छ । कांग्रेसले निर्वाह गरिरहेको भूमिका कस्तो लागिरहेको छ ?
नेपाली कांग्रेस अघिल्लो निर्वाचनबाट सबैभन्दा ठूलो दलका रूपमा स्थापित भयो । सबैभन्दा ठूलो दल भए पनि कांग्रेस प्रतिपक्षमा छ । संसद्मा कुनै एक दलको बहुमत नभएका कारण गठबन्धन हेरफेर भइरहन्छ । ठूलो पार्टी हुँदैमा कांग्रेस सत्तामा हुने होइन, त्यसका लागि संसद्मा बहुमत जुटाउनुपर्छ । कांग्रेस कहिले सत्तामा होला कहिले नहोला, यो गौण विषय हो । कांग्रेस जहाँ भए पनि नेपालको राजनीतिको मियो पार्टी हो । कांग्रेसले लिने निर्णय, कांग्रेसले गर्ने व्यवहार र कांग्रेसको कार्यले मुलुकको राजनीतिलाई प्रभावित गर्छ । अब अहिले कांग्रेसले जे गरिरहेको छ, सामान्य छ । जिम्मेवार दलका रूपमा आफूलाई अगाडि बढाउन खोजेको देखिन्छ । संसद्मा प्रतिपक्षको भूमिकामा कांग्रेस परिपक्व देखिन्छ । त्यसैले कांग्रेसले आफूलाई जरूरी परेअनुसारकै भूमिका गरिरहेजस्तो लाग्छ । नेपालको हरेक राजनीतिक परिवर्तनको अगुवा शक्ति कांग्रेस नै हो । आफ्नो इतिहासको यो गरिमालाई जोगाउनेगरी कांग्रेस अगाडि बढ्नुपर्छ ।
कांग्रेस र एमालेबीचको सम्बन्ध कस्तो हुनुपर्छ ?
कांग्रेस र एमाले दुवै नेपालका ठूला पार्टी हुन् । कहिले कांग्रेस, कहिले एमाले ठूलो सानो भएको देखिन्छ । कांग्रेस कहिले सरकारमा कहिले एमाले सरकारमा हुँदै आएको छ । कांग्रेस–एमालेले आफ्नो तागत बुझेनन् कि जस्तो लाग्छ । कांग्रेस एमालेले सही ढंगले अघि नबढेकै कारण उनीहरूमाथि चुनौती बढेको छ । हामीकहाँ प्रजातन्त्रको, संसदीय व्यवस्थाको अभ्यास लामो समय भइसकेको छ । लामो समय पार गरेपनि साझा उपलब्धिका लागि सहकार्य हामीले गर्न सकेका छैनौं । कांग्रेस-एमाले दुवैले मुलुकको आवश्यकतालाई वस्तुनिष्ठ ढंगले समीक्षा गरेर अगाडि बढ्नुपर्छ । कांग्रेस-एमालेले आफ्नो स्ट्रेन्थ अनुसारको भूमिका अझै प्रस्तुत गर्न सकेका छैनन् ।
पार्टी राजनीतिमा कत्तिको व्यस्त हुनुहुन्छ ?
म आफ्नै ढंगले व्यस्त छु । पार्टीभित्र सबैको आ-आफ्नो जिम्मेवारी हुन्छ । म अहिले कांग्रेसको राजनीतिक कार्यकर्ताका रूपमा क्रियाशील छु । साथीहरूसँग भेटघाट, छलफल, विमर्श भइरहन्छ । पदमा रहनुभएका साथीहरूले बोलाउँदा जान्छु । कहिलेकाहीँ नभनी नहुने कुरा परे आफैं गएर यसो हो है भन्दिन्छु । मेरो हिसाबले म व्यस्त छु । कांग्रेस पनि आफ्नै गतिमा व्यस्त नै छ ।
राजनीतिक अस्थिरता कायम हुनु र जनतामा निराशा छाउनुको पछाडि संविधानमै त्रुटि त छैन ?
संविधानको देखिने त्रुटि खासै सतहमा आएको छैन । संविधानको विषय सबैले आ-आफ्नो ढंगले बुझ्ने-बुझाउने कुरा हो । संविधान भनेको कुनै ईश्वरीय वस्तु पनि होइन । मान्छेहरू बसेरै संविधान बनाएका हुन् । मान्छेले बनाएको संविधानमा त्रुटि छैन त म भन्न सक्दिन । पक्कै संविधानमा सुधारको विषय सबै रहिरहन्छ । हरेक जनताले संविधानले दिएको प्रबन्धले मुलुकलाई अगाडि लैजाँदैछ भन्ने महसुस गर्नुपर्छ । संविधानमाथि समीक्षा त हुन्छ नै । तर त्यो कुरा राजनीतिक दलहरूले भन्नुप¥यो । संविधानका कारण केही बाधा परेको छ भने त्यसको पनि उपाय त छ । दलहरूले संविधानबारे समीक्षा गरेर अगाडि जानुपर्छ ।
नयाँ पार्टीहरूबारे केही भन्नुहुन्छ ?
केही नयाँ पार्टीहरू आएका छन् । लोकतन्त्रमा पार्टीहरू बन्ने क्रम रही नै रहन्छ । ट्रायल एण्ड इरर भनेझै काम गर्दै जानी सिक्दै जानी हो । नयाँ दलहरूले पनि सिक्दै जानुपर्छ । नयाँ दलहरू आन्तरिक झगडामा नपरुन् भन्ने चाहन्छु । नयाँ पार्टीलाई जनताले गरेको विश्वासको कदर उनीहरूले नै गर्ने हो । अरू कुरा त हेर्दै जानुपर्छ । नयाँबारे धेरै टिप्पणी गर्ने बेला भइसकेको छैन ।
प्रधानमन्त्री प्रचण्डको पर्फमेन्स कस्तो पाउनुहुन्छ ?
प्रचण्डको स्कुलिङ के हो अध्ययन गर्नुभयो भने प्रष्ट हुन्छ छ । यो देशमा प्रधानमन्त्री को-को भए ? राणाहरू पनि प्रधानमन्त्री थिए । बीपी कोइरालाजस्तो सुप्रसिद्ध नेता पनि प्रधानमन्त्री हुनुहुन्थ्यो । पञ्चायतमा पनि प्रधानमन्त्रीहरू भए । नेपालमा धेरै व्यक्ति प्रधानमन्त्री भइसकेका छन् । प्रधानमन्त्री कतिपटक भएभन्दा पनि प्रधानमन्त्रीले कस्तो काम गरे भन्ने जनताको चासोको विषय हो । प्रधानमन्त्रीले पार्टीको चासोभन्दा देशको चासोलाई सधै प्राथमिकता दिनुपर्छ । जनताको धारणा बुझेर काम गर्नुपर्यो । अहिलेका प्रधानमन्त्रीले पनि आफ्नो प्रयत्न देश र जनताको हितमा लगाउनुपर्छ भन्ने सुझाव दिन चाहन्छु ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच