सर्लाही । केही दिनयता तराई मधेशमा अत्यधिक बढेको गर्मीले जनजीवन नराम्ररी प्रभावित बनाएको छ । त्यसमा पनि स्कुले बालबालिका सबैभन्दा बढी मारमा परेका छन् । विद्यार्थीमात्र होइन शिक्षकहरूले समेत एक्कासी बढेको गर्मीले अध्यापन गराउन समस्या भएको बताएका छन् । यस्तै अवस्था सर्लाहीमा पनि देखिएको छ । अहिले मधेश-तराईका अधिकांश विद्यालय गर्मी छल्न बिहान सञ्चालन भइरहेका छन् । तर, अधिकांश विद्यालयका कक्षा कोठामा जस्तापाता रहेकाले बिहानैदेखि रापिने घामले विद्यार्थीलाई समस्या बनाएको हो । दिन प्रतिदिन बढ्दै गइरहेको गर्मीका कारण निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीहरू बेहोस हुनेक्रम बढेको छ ।
४५ सालमा आएको भूकम्पपछि जाइकाको सहयोगमा निर्माण गरिएका स्कुल भवनको मोडल नै अहिले तराईका सबै क्षेत्रमा देख्न सकिन्छ । जहाँ तल पक्की र छानो भने जस्तापाताले छाइएको छ । जुन मोडल अहिलेको अवस्थामा भने अनुपयुक्त देखिएको ईश्वरपुुर नगरपालिकाका शिक्षा शाखा प्रमुख हरि दाहाल बताउनुहुन्छ । देशमा शिक्षाको विकास धेरै पछि भएको र जाइकाले तयार पारेको मोडेल अपनाउँदा जस्तापाताले छाएका अधिकांश भवन निर्माण हुन पुगेको उहाँको भनाइ छ ।
निर्माण गर्ने बेलाको आर्थिक अवस्था तथा मौसम अनुुकूल भवन भए पनि पछिल्लो समय जलवायु परिवर्तनका कारण अत्यधिक गर्मी हुँदा त्यस मोडेलको भवन अभिशाप हुन थालेको छ । गर्मीमा जस्तापाता छिट्टै तात्ने भएकाले अत्यधिक गर्मी हुने र शीतलहर चलेका बेला पानी चुहिने समस्याले गर्दा विद्यार्थी धेरै मारमा परेका छन् । जिल्लामा जस्तापाताले छानो छाएको भवन करिब ७० प्रतिशतको हाराहारीमा रहेको शिक्षा विकास तथा समन्वय इकाई मलंगवाको तथ्यांकमा छ ।
गर्मी अत्यधिक हुन थालेपछि प्रदेशका विद्यालय धमाधम बन्द गर्न थालिएको छ । बाहिर निस्किन मुस्किल पर्ने गरी तातो हावासमेत चलिरहेको छ । उच्च तापक्रम, तातो हावा र अत्यधिक गर्मीले आममानिस प्रभावित बनेका छन् । बाहिर तातो हावा चल्दा अत्यावश्यक काम परेर बाहिर निस्कनुपर्ने पैदलयात्री, सवारीका यात्रु, मोटरसाइकल चालकलगायत अत्यन्त प्रभावित बनेका छन् । बढेको गर्मीले जनजीवन नराम्ररी प्रभावित बनिरहेको छ । गर्मीले मजदुर, किसानसँगै विद्यालय जाने बालबालिका समस्यामा परिरहेका छन् । खडेरीले किसानलाई पिरोलेको छ । खडेरी र तातो हावाले मकै, तरकारीलगायतका बालीनाली सुकेर जान थालेका छन् । पानी नपर्दा किसानले नयाँ बाली लगाउन पाएका छैनन् । चापाकल सुक्न थालेको छ भने चुरे भेगमा खानेपानीका धारा, कुवा र इनार सुक्न थालेका छन् । जसले गर्दा जनजीवन थप प्रभावित बनेको छ ।
अहिले तातो हावाका कारण टाउको दुख्ने, शरीर शिथिल हुने, घाँटी दुख्ने, आँखा पोल्ने जस्ता स्वास्थ्य समस्यासमेत बढ्दै गएका छन् । बालबालिका, ज्येष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिलाई अझ बढी समस्या भएको चिकित्सकको भनाइ छ । घाउ, खटिरा, टाइफाइड, ज्वरो, झाडापखालालगायत रोगका बिरामीको चाप बढ्न थालेको स्वास्थ्य कार्यालय मलंगवा, सर्लाहीका प्रमुख डा. नवलकिशोर झाले बताउनुुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच