
अहिले मेरा हातमा एउटा भीमकाय पुस्तक छ र यसको नाम हो ‘संसद्मा केपी शर्मा ओली’ । शीर्षकबाटै सबै कुरा थाहा हुन्छ यो पुस्तक लामो समयदेखि नेपाली राजनीतिको शीर्षस्थानमा रहँदै आउनुभएका नेता केपी शर्मा ओलीका बारेमा लेखिएको हो भन्ने । तर, सन्दर्भ अलिक फरक छ यो ओलीको समग्र व्यक्तित्व, सङ्घर्ष र राजनीतिमा दिएको योगदानलाई आधार बनाएर लेखिएको कृतित्वमूलक पुस्तक होइन यो ओलीले २०४८ सालदेखि यता संसद्मा दिनुभएका अभिव्यक्तिहरूको सङ्कलन हो । यसको सङ्कलन र सम्पादन सानुमैयाँ खड्का (सविता)ले गर्नुभएको छ । यसमा केपी ओलीका २०४८ सालदेखि २०७४ सालसम्मका संसद्मा गरेका सम्बोधन समेटिएको छ ।
यसको प्रकाशक पनि सम्पादक स्वयम् रहनुभएको छ । पहिलो संस्करणका रूपमा आएको यो पुस्तक २०८० सालमा छापिएको छ । यसको सर्वाधिकार सम्पादक प्रकाशकमै छ भने यो ३००० प्रति छापिएको जनाइएको छ । पहेंलो हलुका कागजको प्रयोग भएको यस पुस्तकको छपाइ स्तरीय छ र अशुद्धि कमै भेटिन्छन् । एफोर साइजमा प्रकाशित भएको यस पुस्तकको भूमिका खण्डमा १२ र पाठ्य खण्डमा ८३६ गरी जम्मा ८४८ पृष्ठ छन्, यसको मूल्य २००० रुपैयाँ छ । अग्नि छापाखाना पुरानो बानेश्वरमा मुद्रण भएको यस पुस्तकको आवरण सेटिङ नानु बजिमयोबाट तयार भएको छ ।
कुनै शोधका लागि होस् वा निजात्मक ढङ्गले उहाँका संभाषणहरूको अध्ययन गर्न चाहनेका लागि होस् यसले निश्चय सहयोग पुर्याउनेछ । छरिएर रहेका उहाँका भाषण बटुलेर अध्ययन गर्न निश्चय गाह्रो हुन्छ ।
आवरण आकर्षक छ । नीलो पृष्ठभूमिमा बीचमा विधायिका संसद्को दृश्य रहेको छ भने छेउतिर धरहरा र केपी ओलीको संसद्मा बोल्दै गरेको फोटो छ । माथि ठूलो अक्षरमा ‘संसद्मा केपी शर्मा ओली’ भनिएको छ भने तल सङ्कलक एवम् सम्पादकको नाम दिइएको छ सानुमौयाँ खड्का (सविता) भनेर । पृष्ठ आवरणमा माथि नेपालको नक्शा, संसद् भवनको फोटो र नामसहित सम्पादक खड्काको फोटो दिइएको छ । भूमिका खण्डमा विषयसूची, सम्पादक/संकलकको ‘यस ग्रन्थका सम्बन्धमा’ शीर्षकमा उहाँको भनाइ राखिएको छ । यसबाहेक अरू कसैको भनाइ समेटिएको छैन ।
माथि नै भनिसकियो केपी ओलीको समग्र जीवनी समेटिएको यो पुस्तक होइन । त्यसकारण यसमा ओलीलाई विभिन्न कोणबाट हेर्न नसकिएला तर ओलीको संसद्मा प्रस्तुत भएका विचारहरूलाई अध्ययन गर्न यो एउटा उपयुक्त सङ्ग्रह हो । कुनै शोधका लागि होस् वा निजात्मक ढङ्गले उहाँका संभाषणहरूको अध्ययन गर्न चाहनेहरूका लागि होस् यसले निश्चय सहयोग पुर्याउनेछ । छरिएर रहेका उहाँका भाषण बटुलेर अध्ययन गर्न निश्चय गाह्रो हुन्छ । त्यसलाई सहज बनाइदिने काम गरेको छ यस पुस्तकले ।
कुन कालखण्डमा उहाँले संसदमा के बोल्नुभएको थियो भनेर अध्ययन गर्न यसले सजिलो बनाइदिएको छ । यो एउटा ऐतिहासिक दस्तावेज हो त्यस अर्थमा यसको महत्व छ । हुन सक्छ उहाँका सबै भाषणको उत्तिकै महत्व नहुन सक्छ । कतिपय अवस्थामा उहाँले संसद्मा गरेका सम्बोधनहरू राष्ट्रहितमा थिए र कतिपय प्रतिकूल पनि थिए होलान् तर इतिहासमा ती सबैको महत्व रहन्छ । उहाँको सम्बोधनहरूलाई एकीकृत गरी ठूलो पुस्तकाकार रूपमा आफैँ सङ्कलक, सम्पादक र प्रकाशकसमेत भएर सार्वजनिक गरिदिने सानुमैयाँ खड्काको प्रयास प्रशंसनीय छ ।
यसले नेपालको राजनीतिक इतिहासमा एउटा दूरगामी प्रभाव पार्न सक्छ । खड्काको यस प्रयासलाई हेरेर अरू पनि राष्ट्रिय राजनीतिको अग्रस्थानमा रहनुभएका नेताहरूका सम्बोधनहरूलाई यसरी बाहिर ल्याइदिन र सङ्गृहीत गरिदिन सके ती पनि उपयोगी बन्न सक्नेथिए भन्ने विश्वास गर्न सकिन्छ । पुस्तकका लागि सम्पादकलाई बधाई छ र आगामी दिनहरूमा पनि यस्ता अन्य प्रयास हुनसक्ने कुरामा आशावादी बन्न सकिन्छ, शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच