
कुनै-कुनै लेखकका कर्मलाई देख्दा लाग्छ नेपाली साहित्यमा केन्द्रीय र परिधीयको समस्या आजसम्म पनि विद्यमान छ । केन्द्रका आँखा त्यति फराकिला छैनन् कमजोर नै छन् । अलि टाढाका दृश्य त्यति राम्ररी ठम्याउन सक्दैन । काठमाडौंले बाहिरका स्रष्टालाई फुच्चे आँखाले हेर्ने पुरानो परम्परा गणतन्त्र आएपछि पनि फेरिएको छैन । गणतन्त्रले संघीय र प्रादेशिक भनेर पुनः कित्ताकाट गरेको छ नागरिकलाई । आज त्यस्तै साहित्यकारका कुरा गर्न मन छ जसले नेपाली साहित्यको केन्द्रलाई गुणात्मक योगदान गरेका छन् । हो तिनै गोन्दिराज विनोदी (२०१०) हिजो राजधानीबाहिरका अर्थात् मोफसलका स्रष्टा थिए आजको राजनीतिले प्रादेशिक साहित्यकार बन्न पुगेका छन् ।
कास्की रूपाकोटमा जन्मिएर चितवन, गैंडाकोटलाई कर्मथलो बनाएर विनोदीले सात दशक बिताएका छन् । शरीरमा असाध्य रोगलाई पालेर पनि अविश्रान्त साहित्यको आराधना गरिरहेका उनी चितवन वरपर मानक स्रष्टाका रूपमा छन् । त्यस क्षेत्रमा विनोदीविनाका साहित्यिक कार्यक्रमहरू अधुरा मानिन्छन् । अहिले उनी उमेर र स्वास्थ्य अवस्थाका कारणले केही अशक्त जस्ता देखिन्छन् । जन्मघर कहीँ किन नहोस् अब्बल स्रष्टाले जहाँ बस्यो त्यहीँ आफ्नो घर बनाउँछ । तर आजका विनोदीलाई देख्दा परिस्थिति यस्तो छ जति नै मूल्य चुकाएर पनि काठमाडौंमा आएर यहाँका साहित्यिक सभासमारोहमा दुईचार पटक सामेल हुने अनि आफ्ना कृति जेजसरी हुन्छ काठमाडौंमै सार्वजनिक गर्ने रणनीति अवलम्बन गर्नैपर्छ जस्तो पनि लाग्छ ।
लेखकहरू सबैका लेखक अनि देशका लेखक हुनसकेको अवस्था छैन । हो यही मान्यता विनोदी गुरुका विषयमा पनि लागू हुन्छ । जीवनका छ दशक साहित्यको सेवा र आराधनामा व्यतीत गरेका गोविन्दराज विनोदी अहिले प्रादेशिक साहित्यकार बनेका छन् ।
त्यसो त गोविन्दराज विनोदी केन्द्र नदेखेका स्रष्टा होइनन् । केन्द्रलाई चुनौती दिने उनका कालजयी रचनाहरू यसका साक्षी छन् । त्यसमाथि सक्कली साहित्यकारहरू राजनीति गर्न रुचाउँदैनन् र राजनीति हुने ठाउँबाट टाढै बस्न मन पराउँछन् । विनोदी राजनीतिक चेत भएका स्वतन्त्रताको लडाइँमा लागेर जीवनका धेरै अवसरहरू गुमाएका तर साहित्यमा राजनीति भएको नरुचाउने स्रष्टा हुन् । बाल्यकालदेखि नै साहित्यको साधनामा लागेर निरन्तर लेखिरहने स्रष्टा विनोदी हस्तक्षेपकारी साहित्य लेख्छन् । सानो कद तर अग्लो इतिहास बनाएका विनोदी उच्च गरिमायुक्त साहित्य सिर्जना गर्दछन् ।
गोविन्दराज विनोदी भन्नेबित्तिकै कतिपयलाई उनको परिचयका धेरै पानाहरू खुल्न सक्छन् तर साहित्यको केन्द्रमा विनोदीको उपस्थिति सारपूर्ण ढङ्गले भएको लाग्दैन । नेपाली साहित्यमा सुललित साहित्यका प्रयोक्ता विनोदी नाउँजस्तै विनोदी छन् । विनोदी गुरुको नाम लिँदा उनको योगदान अगाडि आउनेहरूलाई यो समाचार स्वाभाविक लागे पनि गोविन्दराज विनोदी यो देशको सुप्रसिद्ध साहित्यकार हुन् भन्ने समाचार देशैभरि पुगोस् भन्ने हेतुले मात्र यति कुरा गर्न खोजिएको हो । हिजैमात्र एकजना मित्रले प्रसङ्गात् भन्नुभएका केही वाक्यहरू सम्झना भए । उहाँको भनाइको सार थियो लेखकहरू जेजस्तो अवस्थामा लेख्छन् ।
उनीहरूलाई जसरी पनि प्रयोग गर्न सकिन्छ । साँझको बिहान एउटा कविता दिनपर्यो भन्ने हो भने पनि समयमै कविता लेखेर खुसी हुँदै घरमै आइपुग्छन् । उनीहरूलाई पारिश्रमिक लिनुपर्छ भन्ने थाहा पनि छैन र लोभ पनि छैन भन्ने हिजोहिजोको धरणाक्रमशः फेरिँदै गएको छ । अब स्रष्टाहरूको पनि सम्ममान गर्ने प्रचलन बढेको छ । श्रम अनुसारको पारिश्रमिक दिनुपर्छ भन्ने मान्यता स्थापित हुँदै गएको छ । सरले भनेझैँ काठमाडौँमा साहित्य अलिअलि व्यावसायिक बनेको छ तर साहित्यको यो व्यावसायिकता व्यापारिक चरणमा पुगेपछि यसका साइड इफेक्टहरू अझ नराम्रो किसिमले आउने गरेका छन् । गुट गुटमा बाँडिएका साहित्य स्रष्टा कतै पूर्व र पश्चिम भएर बाँडिएका छन् । कतै प्रगतिशील र अप्रगतिशील भएर बाँडिएका छन् । त्यसपछि गुटको विकराल दलदलमा फसेका छन् ।
लेखकहरू सबैका लेखक अनि देशका लेखक हुन सकेको अवस्था छैन । हो यही मान्यता विनोदी गुरुका विषयमा पनि लागू हुन्छ । जीवनका छ दशक साहित्यको सेवा र आराधनामा व्यतीत गरेका गोविन्दराज विनोदीलाई देशका कति पाठकले पढेका होलान् ? खासमा अहिले उनी प्रादेशिक साहित्यकार बनेका छन् । गैँडाकोट नगर प्रज्ञा-प्रतिष्ठानका उपकुलपति रहेका उनी राष्ट्रकै ठूलो प्राज्ञिक संस्थामा उपकुलपति भएको सुहाउँथ्यो तर त्यस्तो अवसर उनलाई प्राप्त हुने सम्भावना कम छ । किनकि उनी कुनै पार्टीका साहित्यकार बन्न सकेका छैनन् । खासमा उनी देशले नै पढ्नुपर्ने साहित्यकार हुन् । उनीजत्तिका स्रष्टा देशकै साहित्यकार भएको राम्रो हो । विनोदी गुरुको विनोदप्रियताका बारेमा उहाँसँग गहिरो सङ्गत गरेका व्यक्तिबाट थाहा पाइन्छ ।
खासगरी चितवन वरपरका उनका शिष्यहरू, अनुयायीहरू र सहकर्मीहरूले गरेका कुरा अनि उनको सम्मानमा ज्येष्ठनागरिक कल्याणकारी प्रतिष्ठानले प्रकाशन गरेको अभिनन्दन ग्रन्थ गोविन्दराज विनोदी : जीवन र सृष्टि (२०७५) विनोदीलाई धेरै कोणबाट चिनाउने गहकिलो पुस्तक हो भन्ने लागेको छ । र, त्यस पुस्तकको पहिलो आलेख नयाँ पुस्ताका सुपरिचित स्रष्टा अमर न्यौपानेको रहेको छ । उक्त लेख पढेपछि विनोदीको विनोदप्रियताका बारेमा धेरै जानकारी मिल्नेरहेछ । आक्कलझुक्कल भेट र भलाकुसारी गर्ने मौका मिले पनि विनोदी गुरुका बारेमा मलाई पनि त्यति धेरै जानकारी थिएन । उनको शूर्पणखा महाकाव्यको पाण्डुलिपि परिचर्चामा सामेल हुने र केही कुरा राख्ने अवसर मलाई पनि प्राप्त भएको थियो । उक्त महाकाव्यमा विनोदीले ल्याएको नवीन दृष्टि र उनको काव्यकारिताका बारेमा थोरैमात्र जानकारी पाएको मलाई विनोदी : जीवन र दृष्टि पढेपछि थप जान्ने अवसर मिल्यो ।
देशका ख्यातिप्राप्त चौरानब्बे जना लेखकहरूले स्रष्टा विनोदीको जीवनका विविध पक्षमाथि उक्त ग्रन्थमा प्रकाश पारेका छन् । लोकतन्त्रप्रतिको निष्ठा, साहित्यको साधना, पेशाप्रतिको प्रतिबद्धता, समाजसेवाप्रतिको अभिरुचि, पत्रकारिताका माध्यमले स्वच्छ सूचनाको सम्प्रेषण अदि उनको व्यक्तित्वका आयामहरू रहेको कुरा उक्त ग्रन्थबाट जानकारी पाउन सकिन्छ । स्रष्टा अमर न्यापाने तयार पारेको विनोदीको जीवनी, केदानाथ खनालले लेखेको सम्मान र योगदानको अभिलेख, प्रा.डा.नारायणप्रसाद खनालले तयार गरेको व्यक्ति कृति, प्रा.डा चूडामणि बन्धुले लेख्नुभएको बालकविताप्रतिको योगदान, प्रा.डा.लक्ष्मण गौतमले लेखेको पुनर्पाठ, प्रा.कपिल अज्ञातको कैकेयी महाकाव्यमाथिको विमर्श, केशवराज आमोदीको विनोदीको महाकाव्यकार व्यक्तित्वमाथिको लेख, डा.एकनारायण पौड्याल, केशवप्रसाद सापकोटा, कृष्णादेवी श्रेष्ठ, प्रा.डा.गुरुप्रसाद सुवेदी, गोपी सापकोटा, प्रा.डा.जीवन अधिकारी, डा.घनश्याम न्यौपाने, देवीभक्त ढकाल, डा.धनपति कोइराला, डा.धनेश्वर भट्टराई, नारायण नेपाल, पुरुषोत्तम दाहाल, हरिहर खनाल, हरिहर सविता, ज्ञानु अधिकारीलगायत लेखकहरूका लेखबाट स्रष्टा विनोदीको बहुआयामिक व्यक्तित्व अनि काव्यकार व्यक्तित्वका बारेमा धेरै कुराको जानकारी प्राप्त गर्न सकिन्छ ।
त्यसै गरी प्रा.डा.नारायणप्रसाद खनाल सम्पादक अनि इन्दिरा चापागाई संयोजक रहेको शूर्पणखा खण्डकाव्यमाथिको अन्तरक्तिया (२०७४) पुस्तक विनोदीको काव्यकारिता र शूर्पणखा खण्डकाव्यको विशेषता र महत्त्व दर्साउने अर्को गहकिलो रचना बनेको छ । यस पुस्तकमा देशका सुप्रसिद्ध तीसजना समालोचकहरूले शूर्पणखा खण्डकाव्यका विविध पक्षमा प्रकाश पारेका छन् । हरेक कृति पठनीय अनि समीक्षणीय रहेका विनोदीका विषयमा अबका दिनमा पनि चर्चापरिचर्चा भइरहन आवश्यक छ ।
भनिन्छ, उनका कविता सुनाएरै धेरैजना व्यक्ति कवि भए । काव्यक्षेत्रका गुरु विनोदी गुरु कविताका पर्याय नै हुन् । सयौं सिर्जनाका माध्यमले विनोदी गुरुले काव्यजगत्मा पुर्याएको योगदानलाई थोरैमा संश्लेषण गर्न सम्भव छैन ।
नेपाली कविता र काव्यका क्षेत्रमा विनोदीको विशिष्ट योगदान रहेको छ । २०२१ सालदेखि औपचारिक रूपमा कविता प्रकाशन गर्न थालेका विनोदीले २०४७ सालमा आएर पहिलो कविता सङ्ग्रह प्रकाशन गरेका थिए । त्यसपछि क्रमशः उनका कविता, खण्डकाव्य, महाकाव्य र बालसाहित्यका गरी दर्जना बढी कृति बाहिर आएका छन् । कृतिको थुप्रोमा हराउने स्रष्टाहरूको पनि नेपाली साहित्यमा कमी छैन तर विनोदी हरेक कृतिले अग्लिँदै गएका स्रष्टा हुन् । मेरो वर्तमानता (२०४७), निर्ममनिर्मम घडीहरू (२०५६), आँखाका नानी (२०५७), छन्दविनोद (२०५९), अविश्रान्त (२०५९), हिमस्पर्श (२०६६), सृष्टिमाथि दृष्टि (२०६६), अनुपमा धर्ती (२०६६), नानीका गीत (२०६९), वनभोज (२०७१), शूर्पणखा (२०७१), कैकेयी (२०७४), अशोक वाटिका (२०७७), तप्त चाँदनी (२०७८) जस्ता सुन्दर कृति नेपाली साहित्यमा योगदान गरेका विनोदी सिद्धहस्त छन्दकवि मात्र नभएर महाकाव्यकार नै हुन् ।
अनुष्टुप छन्दलाई आफ्ना सिर्जनाको केन्द्रीय शैली बनाएका विनोदी शास्त्रीय वार्णिक र मातृक छन्दका सम्राट नै हुन् । छन्दमात्र नभएर रस, अलङ्कार, ध्वनि, प्रतीक एवम् बिम्बविधानमा सफल उनका काव्यहरू पौरस्त्य मिथक प्रयोगका गहकिला दृष्टान्तहरू हुन् । पौराणिक इतिहासले किनारामा राखेका कैकेयी, शूर्पणखाजस्ता विवादित पात्रहरूलाई केन्द्रीय भूमिका दिएर लेखिएका कैकेयी महाकाव्य र शूर्पणखा खण्डकाव्यले विनोदीको काव्यकारिताले उत्कर्ष प्राप्त गरेको अनि नेपाली साहित्यमा नयाँ आयाम भित्रिएको भन्ने समीक्षकहरूको धारणा पाइन्छ । आशुलेखन विनोदीको विशेषता हो । साहित्यिक कार्यक्रममा गएर त्यहीँको त्यहीँ छन्दमा कविता लेखेर सुनाएर पनि सबैको मन जित्न सक्ने विनोदी कवितामै कुराकानी गर्न सक्छन् । कवितामै पत्राचार गर्छन् र कवितामै संवाद गर्न सक्छन् । सरल भइकन सुललित, श्रुतिमधुर अनि भावगम्भीर कविता लेखेर आफ्नो अलग्गै पहिचान बनाएका विनोदी छन्दसाहित्यका अद्वितीय साधक हुन् ।
पाएर छोरा दुई उग्रवादी
त्यो गाउँफर्के अनि राष्ट्रवादी,
आफँै स्वसंहार गरिरहेछ
पञ्चयती लाश जलिरहेछ ।
विनोदीले २०३६ सालमा बहुदलको पक्षमा लागेर पञ्चयती व्यवस्थाप्रति व्यंग्य गरेर लेखेको माथिको कविताको अंश पढेपछि उनको साहस र कवित्व दुवैको धेरथोर अनुमान गर्न सकिन्छ । पञ्चायती व्यवस्थामा ठूलो क्रान्तिकारी राजनीतिकर्मीले पनि आँट गर्र्न नसक्नेमाथिको सशक्त कविता लेखेर बहुदलको पक्षमा लागेकै कारण उनले पटकपटक माविको आयोग पास गरेर पनि स्थायी नियुक्ति पाएनन् भनिएको छ । व्यक्तिगत जीवनका अनेकौं असजिलाहरूमा पनि विचार, दर्शन र दृष्टिमा अडिग रहेर ठूलो मूल्य चुकाएका विनोदी हामी धेरैले सम्मान गर्नुपर्ने स्रष्टा हुन् । गोविन्दराज विनोदी धेरैलाई कवि बनाउने स्रष्टा हुन् । सधैं सकारात्मक सोच र ऊर्जा प्रदान गर्ने उनको स्वभाव र सङ्गतमा रहेका धेरै स्रष्टाहरू छन्दकवि बनेका अनगिन्ती दृष्टान्त छन् ।
भनिन्छ, उनका कविता सुनाएरै धेरैजना व्यक्ति कवि भए । काव्यक्षेत्रका गुरु विनोदी गुरु कविताका पर्याय नै हुन् । सयौँ सिर्जनाका माध्यमले विनोदी गुरुले काव्यजगत्मा पुर्याएको योगदानलाई थोरैमा संश्लेषण गर्न सम्भव छैन । अन्त्यमा कवि विनोदीका केही काव्य बान्कीहरूका यहाँ दृष्टान्त प्रस्तुत गर्दै उहाँप्रति सम्मान व्यक्त गर्दछु ।
नारी छैनन् जुन सदनमा त्यो छ आलोकहीन,
नारी छैनन् जुन सहरमा त्यो छ शोभाविहीन ।
सोचौँ नारीरहित जगको कल्पना हुन्छ कस्तो ?
बन्ध्या धर्ती, ग्रहगणविना शून्य आकाशजस्तो । (शूर्पणखा खण्डकाव्य)
मेरो बुद्धि भयो भ्रष्ट दासीका तर्कना सुनी,
अनायासै भयो आफ्नै अन्तश्चेतन बैगुनी ।
मेरै कारणले प्यारा राजाको अवसान भो,
मैले गर्दा भयो सोझै उल्लङ्घन विधानको ।
मेरो जीवनको दाग छ कैल्यै नपखालिने,
तर बुझ्छ कि यो चित्त प्रायश्चित्त गरेँ भनेँ ।
प्रिय राम तिमीबाट अरू क्यै आस गर्दिन,
आमा माफ दिएँ मैले यत्ति चाहन्छु सुन्न म । (कैकेयी महाकाव्य)
अपमान हुने गर्छ नारी अस्तित्वको जहाँ
हुँदैन शान्तिको वास कहिल्यै त्यस ठाउँमा
म यो अशान्त लङ्कामा रहँदासम्म निश्चय
तेरो साम्राज्यमा होला शान्ति सौविध्यको क्षय । (अशोक वाटिका खण्डकाव्य)
जमिन वा धन जे जति साथ होस्
कि पदजन्य महत्तम मात होस्
प्रकृतिकै भरमा सब छाड्नु छ
अनि त शून्यतिरै सब लाग्नु छ । (तप्त चाँदनी काव्य)
अन्त्यमा हाम्रा सरले भनेझैँ उनीसँग बेलाबेला छन्दका कविता निःशुल्क माग्नेहरू धेरैथोरै पारिश्रमिक लिएर उनको दैलोमा आऊन् र कविता किनेर लिएर जाऊन् । जय साहित्य ।
आभारी छु डा नारायण चालिसेज्यूप्रति ।