रात्रिकालीन समयमा खुला आकाशमा देखिने चम्किला ताराले आकाश मण्डललाई नै सुन्दर र चमत्कृत तुल्याइरहेका हुन्छन् । रात्रिकालीन सौदर्य दर्शाउनुका साथै हाम्रा दिनचर्यामा पनि नक्षत्रले प्रत्यक्ष प्रभाव पर्ने गरेका छन् । यसैले हाम्रा ऋषिमहर्षिले चम्किका देखिने वस्तुलाई ताराको संज्ञा प्रदान गरेका छन् । जसको अध्ययन गर्ने परम्परा अर्बाैं वर्ष पहिलेबाट आरम्भ भएको कुरा ज्योतिषका ग्रन्थबाट प्राप्त गर्न सकिन्छ । एक अर्ब पञ्चानब्बे करोड वर्षको प्रत्यक्ष गणना र अर्बाैं वर्षको अप्रत्यक्ष गणना सूर्यसिद्धान्तमा विद्यामन छ । यसैले आकाशीयतारा माण्डलको अध्ययन गर्ने परम्परा अति नै प्राचीन रहेको पाउन सकिन्छ ।
आकाशमा रहेका चम्किला ताराहरूको समूहलाई नक्षत्र भनिन्छ । आकाश मण्डललाई अध्ययन गर्नका निम्ति प्रायशः स्थिर रहने ताराको समूहका आधारमा गणना गर्ने परम्परा बनाइएको छ । यसैले नक्षत्रको अर्थ नै नचल्नेवाला वा स्थिर भन्ने हुन्छ । हुन त संसारमा हरेक अणु परमाणुको गति हुन्छ तर कसैको कम र कसेको अधिक हुन्छ । यसैगरी दूरीका कारण पनि गतिमा भिन्नता पर्ने गर्दछ । नजिकको ग्रहतारा चाँडै हिँडेको देखिन्छ भने टाढाको ग्रहतार बिस्तारै हिँडेको देखिन्छ । यस्तो भौतिक दूरीका कारण पनि हुने गर्दछ । जस्तो कि ३० अंशको दूरी पार गर्न चन्द्रमालाई २.५ दिन लाग्छ भने शनिलाई २.५ वर्ष लाग्ने गर्दछ । पृथ्वीबाट चन्द्रमाको तुलनामा शनि अत्यन्त टाढा छन्, यसैले दूरी टाढा भएर पनि गतिमा कमी प्राप्त हुने गर्दछ ।
आकाश मण्डलको अध्ययनका निम्ति हाम्रा ऋषिमहर्षिले आकाश मण्डललाई भिन्न भिन्न भागमा विभाजन गरी अध्ययनका थिति बसाएका छन् । यो आकाश मण्डललाई गोलीय स्वरूप प्रदान गरिएको छ । जसमा ३६० अंशको परिकल्पना छ । यिनै ३६० अंशलाई १२ भागमा विभाजन गरी राशि भनी निर्धारण गरिएको छ । जुन ताराको एक झुण्ड विशेषले प्रतिनिधित्व गर्ने क्षेत्र हो । गोलो आकाशमा नक्षत्रको समूह वा ३० अंशभित्रको मानलाई एक राशि भनी निर्धारण गरिएको छ र उक्त तारा कुन स्वरूपमा देखिन्छन् सोही आधारमा नामकरण पनि गरिएको छ । भेडाको जस्तो आकृति देखिने ताराको समूहलाई मेष नामकरण गरिएको छ । साँढेको जस्तो आकृति देखिने तारा समूह जुन ३० देखि ६० अंशभित्रमा पर्ने गर्छ जसलाई वृष भनिन्छ ।
यसैगरी प्रत्येक ३०/३० अंशको विभाग गरी राशिको परिकल्पना र १३।२०/१३।२० अंशको नक्षत्र मण्डल मानिएको छ । अझ भनौं राशिभित्रको सानो एकाई नक्षत्र समूह हो । नक्षत्रमा पनि ताराको समूह हुन्छ । एकदेखि अनेक ताराहरू नक्षत्रमा विद्यमान छन् । नक्षत्रको १३।२० भित्र पनि ३।२० अंशादि मानलाई एक नक्षत्र चरणका रूपमा विभक्त गरी अध्ययन गर्ने व्यवस्था मिलाइएको छ । जसबाट हाम्रा नाम निर्धारण भएका छन् । यसरी २७ नक्षत्रको विभाग गर्ने शास्त्रीय प्रमाण यो ऋग्वेदीय सूक्तबाट प्राप्त गर्न सकिन्छ : ‘द्वादशारं न हि तज्जरायवर्वत्र्तिचक्रं परिद्यामृतस्य । आपुत्राअग्ने मिथुनासो अत्र सप्तशतानिविंशतिश्च तस्थुः ।।’ (ऋग्वेद, १।१६४।११) ।
यहाँ मन्त्रद्रष्टा ऋषि दीर्घतमाले क्रान्तिवृत्तका १२ भागमा २७ नक्षत्रको परिकल्पना गरेको कुरा बताएका छन् । जसबाट आकाशको अध्ययन अनुसन्धान गर्ने परम्परा प्राचीन रहेको पुष्टि हुन्छ । आकाशमा अधिक समय स्थिर नै रहने ताराको समूह जो प्रायः हाम्रो तुलनामा स्थिर रहन्छ त्यस्ता नक्षत्रलाई आधार मानेर हाम्रा तिथि मिति गणनाका सिद्धान्त निर्माण भएका छन् । यिनै नक्षत्रलाई आधार मानेर हाम्रा व्रतपर्वको निर्धारण, विवाह, व्रतबन्ध आदि साइत निर्धारणका साथै हाम्रा जीवन र जगत्का हरेक कार्यकलाप सम्पादन हुने गर्दछन् । मौसम विज्ञान, वर्षाको ज्ञान, चराचर जगत्को भौतिक फलादेश, जातकाको फलादेश आदि विविध ज्योतिषीय विषयवस्तुको अध्ययन यिनै नक्षत्रमण्डललाई आधार मानी गर्ने गरिन्छ ।
पाश्चात्य जगत्मा पनि ताराको अध्ययन गर्ने परम्परा छ । हरेक तारालाई अल्फा, बिटा आदि नामकरण गरी अध्ययन गर्ने परम्परा पाइन्छ । अन्तरिक्ष अध्ययनको आधार पोल अर्थात् ध्रुवलाई नै मानिएको छ । जसबाट आज अन्य अन्तरिक्षका गूढतम रहस्यको उद्घाटन भइरहेको छ । जसको मूल पथप्रदर्शक पौरस्त्य शास्त्र नै हुन् । ज्योतिष शास्त्रले पनि यिनै ताराको विशद् अध्ययन गरेका छन् । ध्रुवतारा ज्योतिष शास्त्रकै देन हो । ध्रुवताराकै आधारमा सम्पूर्ण ब्रहमाण्डको अध्ययन गर्न सकिने व्यवस्था आजका स्काइम्पायमा पनि देख्न सकिन्छ ।
किन ध्रुवलाई नै कन्द्रित बनाइयो भन्ने सन्दर्भमा स्थिर रहने निश्चय रहने भएकाले नै हो । जुन कुरा हाम्रा ऋषिमहिर्षले हजारौं वर्षपहिले नै बताएका छन् । ध्रुवको अर्थ नै स्थिर भन्ने हुन्छ । यही ध्रुवलाई नै वरिपरि पारेर सप्तर्षि तारा घुम्ने गर्दछन् । यही ध्रुवको २४ अंशभित्रको कदम्ब वृत्तलाई आधार मानेर सूर्यादि ग्रहहरू परिक्रमा गर्ने गर्दछन् ।
नक्षत्रको सङ्ख्या २७ रहेको छ । यसरी १२ राशिमा २७ नक्षत्रलाई विभाजन गरी आकाश दर्शनलाई सरल तुल्याउनुका साथै ज्योतिषीय परिगणनालाई पनि सुबोध्य बनाउन यसरी वर्गीकरण गरिएको हो । हरेक नक्षत्र र नक्षत्रले प्रतिनिधित्व गर्ने देवताको व्यवस्था शास्त्रमा उल्लेख पाइन्छ । यसरी उल्लेख हुने देवता कर्मसँग आधारित छन् । जस्तो कि अश्विनी नक्षत्रका स्वामी अश्विनीकुरमार अर्थात् देवताका वैद्य हुन् । उक्त समय वैद्य एवं तत्सँग सम्बद्ध कर्मका निम्ति उत्तम रहन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ ।
यसै गरी भरणीका यमराज, कृतिकाका अग्नि, रोहिणीका सृष्टिकर्ता ब्रहृमा, मृगशिराका चन्द्रमा, आद्र्राका शिवजी, पुनर्वसुका आदिति (देवताकी आमा), पुष्यका देवगुरु बृहस्पति, अश्लेषाका सर्प, माघाका पितृ, पूर्वाफाल्गुनीका भग, उत्तराफाल्गुनीका अर्यमा (पितृका देवता), हस्तका सूर्य, चित्राका त्वष्टा (देवशील्पी विश्वकर्मा), स्वातीका वायु, विशाखाका इन्द्र, अनुराधाका मित्र नामक सूर्य, ज्येष्ठाका इन्द्र (स्वर्गका राजा), मूलका राक्षस, पूर्वाषाढाका जल, उत्तराषाढाका विश्वेदेव (पितृदेव), अभिजितका ब्रहृमा, श्रवणका विष्णु, धनिष्ठाका वसु, शतभिषाका वरुण, पूर्वाभाद्रपदाका अजचरण, उत्तराभाद्रपदाका अहिर्बुध्न्य (सूर्य), रेवतीका पूूषा (सूर्य विशेष) (मुहूर्तचिन्तामणि, २।१) ।
यसरी २७ नक्षत्रले प्रतिनिधत्व गर्ने देवता र उक्त देवतले प्रतिनिधत्व गर्ने कार्यविशेष वस्तुसँगको अन्तरसम्बन्ध नक्षत्रसँग गाँसिएको छ ।
जब आकाशमा ती नक्षत्रको उदय हुन्छ तब तत् सम्बद्ध कार्यमा वृद्धि हुन्छ भन्ने मान्यतामा ज्योतिष शास्त्रको फलादेश हुने गर्दछ । हाम्रा महिनाको नाम निर्धारणमा पनि यिनै नक्षत्रलाई नै आधार मानिएको छ । ‘...मासस्तथातिथयस्तु हिनांशुमानात्’ भनी सिद्धान्त शिरोमणि, मध्यमाधिकार, श्लो.३१ मा चान्द्रमान अनुसार महिनाको निर्धारण गर्न निर्देश गरिएको छ । यसैले विशाखा नक्षत्रमा पूर्ण हुने महिना वैशाख हो । चित्रामा पूर्णिमा हुने चैत्र हो । एवं क्रमले अन्य महिनामा पनि चन्द्रमा जुन नक्षत्रमा पुगेर पूर्ण स्वरूपमा देखिन्छन् त्यही नक्षत्रको नामबाट महिनाको पनि नाम निर्धारण हुने गर्दछ ।
खगोल अध्ययनका मूल आधार आकाशका तारा हुन् जुन ताराको समूहलाई नक्षत्र भनिन्छ । आकाशलाई गोलस्य स्वरूप परिकल्पना गरी नक्षत्र ताराको अध्ययन गर्ने सुदीर्घ परम्परा पाइन्छ । यिनै आकशका तारालाई आधार मानेर हाम्रा तिथिमितिको गणना हुने गर्दछन् । हाम्रो नाम पनि यिनै नक्षत्रले प्रतिनिधित्व गर्ने चरणका आधारमा हुने गर्दछ । यसका साथै धार्मिक कार्यको सम्पादन, तिथिव्रत निर्णय, चाडपर्व हरेक वियावस्तु यिनै नक्षत्र मण्डलसँग आधारित भएर निर्धारित छन् । प्रायः आकाशमा स्थिर वृत्तिमा देखिने भएकाले गणना पद्धतिमा सहज हुने र आधार मान्न पनि प्रत्यक्ष देखिने भएकाले पनि नक्षत्रको प्रयोग हाम्रा शास्त्रमा विशद् रूपमा भएको पाइन्छ ।
पञ्चाङ्गमध्ये मुख्य अङ्का रूपमा नक्षत्रलाई लिइएको छ । जसका आधारमा हाम्रा नाम निर्धारणका साथै हरेक कार्र्यका निम्ति साइत जुराउने, शुभाशुभ कार्य गर्ने आदि सम्पादन हुने गर्दछन् । यसका साथै खगोलीय अध्ययनमा पनि नक्षत्रको ज्ञान आवश्यक रहन्छ । नक्षत्र अवलोकन गर्ने परम्परा न्यून रहेको वर्तमान अवस्था छ । आकाश दर्शन एवं अध्ययन निरन्तर भइरहनुपर्ने विषय हुन् किनकि हरेक पिण्ड चलायमान छन् । गुरुत्वाकर्षणका साथै अन्य आकर्षण बलका कारण पनि वास्तविक स्वरूपमा परिवर्तन भएरहेको हुन्छ । सामान्यतः एउटै देखिए पनि किञ्चित् भिन्नता रहने गर्दछ । जसको सूक्ष्म अध्ययन आज आवश्यक रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच