म्याग्दी । बेनी-दरबाङ सडकलाई म्याग्दी जिल्लाकै ‘लाइफलाइन’ मानिन्छ । जिल्ला सदरमुकाम बेनीबजारदेखि पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङसम्म २४ किलोमिटर दूरीको यो सडकको ट्र्याक खुलेको करिब दुई दशक हुन लाग्यो । मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारमा २०६३ सालमा सडक पुगेको हो । बेनी-दरबाङ सडक खण्डको बाबियाचौर क्षेत्रसम्म सडक कालोपत्रे भएको छ । तर, त्यस यताको करिब सात किलोमिटर सडक भने जोखिम र सास्तीको पर्याय बनेको छ । यसको कारण सडक स्तरोन्नति र कालोपत्रेको ठेक्का लिएको निर्माण कम्पनी र त्यसका ठेकेदार बनेका छन् ।
यो सडकको स्तरोन्नति तथा कालोपत्रेको काम तीन खण्डमा विभाजन गरेर अलग-अलग निर्माण कम्पनीले जिम्मा लिएका थिए । त्यसमध्ये दुईवटा खण्ड कालोपत्रे भइसकेका छन् । तर, तेस्रो खण्डको जिम्मा लिएको विरुवा-क्याराभान जेभीका ठेकेदार भने काम छोडेर बेपत्ता भएका छन् ।
बेनी-दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो खण्ड रणबाङ-दरबाङको कालोपत्र योजनाको काम अलपत्र पारेर ठेकेदार सम्पर्कविहीन भएका छन् । सडकको बाँकी अन्य खण्डको कालोपत्रे भइसकेको अवस्थामा पूर्वाधार कार्यालयबाट केही रकम निकासा भएपछि बेपत्ता भएका हुन् । ठेकेदारले विभिन्न बाहना र शक्ति केन्द्रको पहुँच देखाउँदै आएका थिए । यो सडक कालोपत्र आयोजनाको ठेक्का विरुवा-क्याराभान जेभीले वि.सं.२०७६ साल जेठ ३१ लिएको थियो । ठेकेदारको अटेरीले पाँच वर्षमा पनि आयोजनाले पूर्णता पाउन नसक्दा यात्रु, यातायात व्यवसायी र स्थानीयबासी सास्ती पाउने गरेका छन् ।
मंगला गाउँपालिका-२, रणबाङदेखि मालिकाको केन्द्र दरबाङसम्म आठ किलोमिटर सडक कालोपत्र गर्न ठेकेदार कम्पनी र पूर्वाधार विकास कार्यालय म्याग्दीबीच २२ करोड ५७ लाख ९३२ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । कार्यालयका अनुसार, आयोजनाको अहिलेसम्म भौतिक प्रगति करिब ७२ प्रतिशत सम्पन्न भएको छ । गत चैत-वैशाखदेखि यता, निर्माण व्यवसायी निर्माण आयोजना स्थलमा देखिएका छैनन् । सडक निर्माणको काम नहुँदा यात्रु र स्थानीयले सास्ती बेहोर्दै आएका छन् । स्थानीय भन्छन्, ‘सरकारभन्दा पनि शक्तिशाली हुन्छन् र ठेकेदार ? सरकारले घोक्रेठ्याक लगाएर काममा फर्काउन सक्दैन र ठेकेदारलाई ?’
सडक ओधारेर र खण्डखण्ड बनाएर ठेकेदार सम्पर्कविहीन भएपछि दुर्घटनाको जोखिम र यातायात सञ्चालनमा समेत समस्या हुने गरेको रणबाङका श्रीराम पौड्यालले बताउनुभयो । सडक निर्माणको काम अलपत्र हुँदा धुलो र धुवाँले हैरान बनाउनुका साथै स्वास्थ्यमा समेत समस्या देखिन थालेको मालिका गाउँपालिका-६, तोलाबाङकी पूर्णकली बिकले गुनासो पोख्नुभयो । ‘सडकको धुलो र धुवाँ उडेर घरको भान्छामा पस्छ । बिस्कुन सुकाउन पनि पाइएको छैन । धुलोकै कारण स्वास्थ्यमा समस्या आउने गरेको छ,’ उहाँले भन्नुभयो । पहिरो प्रभावित क्षेत्रबाहेक रणबाङदेखि ढाँडखर्कसम्म सडक फराकिलो बनाएर नाली पर्खाल निर्माण गर्ने काम सकिएको छ । ठेकेदारको जिम्मामा पर्ने बांगे पहिरो क्षेत्र पहिरोग्रस्त र जोखिमयुक्त छ ।
सडक आयोजनाका निर्माण व्यवसायीलाई पटक-पटक ताकेता गरे पनि अटेरी गरेको पूर्वाधार विकास कार्यालय म्याग्दीका इञ्जिनियर अर्जुन शर्माले बताउनुभयो । ‘ठेक्का लिएको लामो समय बितिसक्यो । पहुँचको आधारमा निर्माण व्यवसायीले म्याद थपेर काम गर्दैनन्,’ उहाँले भन्नुभयो । फोन नउठाउने विरुवा-क्याराभान जेभीका सञ्चालक चन्द्र थकालीलाई पत्र काटेर ताकेता गरेको कार्यालयले जनाएको छ ।
निर्माण व्यवसायीले चार किलोमिटरमा सब बेस राखिसकेका छन् । मंगला, मालिका र धवलागिरी गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने २४ किलोमिटर दूरीको यो सडक वि.सं. २०६३ मा मार्ग खुलेको थियो । बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि प्रयोग गर्ने गर्दछन् । सो खण्डको कालोपत्र योजनाको लागि बजेट अभाव नभएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच