श्राद्ध गर्ने रकम क्यान्सर रोगीको उपचारमा सहयोग

Read Time = 4 mins

-ध्रुवसागर शर्मा
म्याग्दी । म्याग्दीकी एक मनकारी महिलाले पितृकार्य (श्राद्ध) मा खर्च हुने रकम क्यान्सर रोगीको उपचारका लागि सहयोग गरेर उदाहरणीय काम गर्नुभएको छ ।

म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटकी शिवकुमारी घिमिरेले आफ्ना स्वर्गीय ससुरा बाको श्राद्धको तीथि पारेर सोमबार पेटको क्यान्सर रोगबाट पीडित रघुगंगा गाउँपालिका– २ राखु भगवतीका ४७ बर्षिय रिमबहादुर विकलाई आर्थिक सहयोग गर्नुभएको हो ।
अत्यन्त कमजोर आर्थिक अवस्थाका विकको आर्थिक अभावका कारण उपचारमा समस्या भएको खबर थाहा पाएपछि घिमिरेले आफ्ना दिवंगत ससुरा बा रुद्रबहादुर घिमिरेको श्राद्ध तीथि पारेर रु ७ हजार ५ सय ५ रुपैयाँ आर्थिक सहयोग गर्नुभएको क्यान्सर पीडित रिमबहादुर विकले जानकारी दिनुभयो ।

स्वर्गीय ससुरा रुद्रबहादुर घिमिरे, स्वर्गीय सासु कालिका घिमिरे र स्वर्गिय श्रीमान भद्रबहादुर घिमिरेको सम्झनामा पोखरास्थित गण्डकी मेडिकल कलेज (जिएमसी ) अस्पतालमा उपचारत विकलाई बेनीको कालीपुल बसपार्कमा भेटेर उक्त रकम हस्तान्तरण गरेको सहयोगदाता घिमिरेले बताउनुभयो ।

“उहाँको अवस्था अत्यन्तै दयनीय रहेछ,आर्थिक अभावकै कारण उपचार प्रभावित भएको खबर पाएपछि सक्दो सहयोग गरेकी हुँ” घिमिरेले भन्नुभयो “कहिले जेष्ठ नागरिक आश्रम,कहिले बालगृह र अन्य ठाउँहरुमा पनि पितृको स्मृतिमा सक्दो आर्थिक सहयोग गर्दै आएकी छु,अहिले क्यान्सर जस्तो जटिल रोगले थलिएका भाइको उपचारमा थोरै भए पनि सहयोग गर्न पाएँ खुसी लागेको छ” घिमिरेले भन्नुभयो ।
विगत एकबर्षदेखि पेट दुख्ने समस्याले ग्रसित विकको उपचारको क्रममा गत जेठ २७ गते भरतपुर क्यान्सर अस्पतालले पेटमा क्यान्सर भएको पत्ता लगाएको थियो । औषधी उपचार गरिरहेका विकलाई डाक्टरले पेटको अप्रेसन गर्न भनेको छ । हाल क्यान्सर रोगको अप्रेसन गर्न महंगोे खर्च लाग्छ । अहिले शरिरमा किमो र औषधी प्रयोग भईरहेको छ । पेटको क्यान्सरको अप्रेसन गर्न २० लाख भन्दा माथि खर्च हुने डाक्टरले बताएको विकले जानकारी दिनुभयो ।

अहिलेसम्म औषधी उपचार र किमोमा गरी रु १० लाख खर्च भइसकेको बताउँदै विकले भन्नुभयो “कति किमो लगाउने हो एकीन छैन् । अस्पतालमै बसेर उपचार गर्ने पैसा छैन् । मनकारी सहयोगदाताहरुसँग उपचारका लागि आर्थिक सहयोग गर्न अपिल गर्दछु ।”

दैनिक आरन र फर्निचरको काम (काठे काम) गरेर परिवारको घरखर्च संचालन गर्नुभएका विकलाई क्यान्सर रोगको उपचारमा आर्थिक जुटाउन परिवारलाई समस्या भएको छ । श्रीमानको क्यान्सर रोगको उपचारका लागि स्वदेश तथा विदेशमा रहेका दाजुभाई तथा दिदिबहिनी तथा संघसंस्थाले आर्थिक सहयोग गरिदिन श्रीमती लक्ष्मी विकले अपिल गर्नुभएको छ । उहाँलाई आर्थिक सहयोग गर्न चाहनेले ९८४३५४१४१८ वा ९८२१३९५२७० नम्वरमा सम्पर्क गर्नसक्नुहुनेछ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?