काठमाडौं । डिफेन्डिङ च्याम्पियन सुवास तामाङले भुवन नगरकोटी र निरज तामाङलाई दुई स्ट्रोकले हराउँदै सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि चुम्नुभएको छ । शुक्रबार ४-अण्डर ६८ को कार्ड तयार गर्दै सुवासले समग्रमा १६-अण्डर २७२ को सानदार नतिजामा उपाधि आफ्नो पोल्टामा पार्न सफल हुनुभएको हो । प्रो गल्फर बनेपछिको पहिलो उपाधि चुम्नुभएका उहाँले नगद दुई लाख ७५ हजार प्राप्त गर्नुभयो ।
समग्रमा १४-अण्डर २७४ को स्कोरमा निरज र भुवनले संयुक्तरूपमा दोस्रो स्थान बाँड्नुभयो । निरजले ५-अण्डर ६७ र भुवनले ३-अण्डर ६९ को स्कोर बनाउनुभयो । उहाँहरूले जनही एक लाख ४८ हजार ५०० नगद पुरस्कार प्राप्त गर्नुभयो । दिनेश प्रजापतिले १-अण्डर ७१ सहित समग्रमा १२-अण्डर २७६ को स्कोरमा चौथो हुनुभयो । उहाँले एक लाख दुई हजार प्राप्त गर्नुभयो ।
समग्रमा ६-अण्डर २८२ को नतिजामा तोरणविक्रम शाही पाँचौं हुँदै ८८ हजार प्राप्त गर्नुभयो । उहाँले शुक्रबार इभन–पार ७२ मा खेल सकाउनुभयो । २-अण्डर २८६ को स्कोरमा छैटौं हुनुभएका सञ्जय लामाले अन्तिम दिनको खेल २-अण्डर ७० मा सकाउनुभयो । उहाँले ८० हजार हात प्राप्त गर्नुभयो ।
समग्रमा इभन-पार २८८ सहित टंकबहादुर कार्की र जयराम श्रेष्ठ सातौं हुनुभयो । टंकले ३-अण्डर ६९ र जयरामले ४-ओभर ७६ मा खेल सकाउनुभएको थियो । उहाँहरूले जनही ७१ हजार ५०० नगद हात पार्नुभयो । समग्रमा १-ओभर २८९ को स्कोरमा रवि खड्का नवौं र ६-ओभर २९४ सहित रामे मगर दशौं हुनुभयो । रविले शुक्रबार ३-अण्डर ६९ र रामेले २-ओभर ७४ मा खेल सकाउनुभएको थियो । रविले ६४ हजार र रामेले ५९ हजार नगद हात पार्नुभयो ।
एमेच्योरतर्फ ८-अण्डर २८० को स्कोरमा विजय श्रेष्ठ आइन्हाउसलाई दुई स्ट्रोकले हराउँदै सद्भाव आचार्यले उपाधि जित्नुभयो । उहाँले शुक्रबार १-ओभर ७३ को स्कोर निकाल्नुभएको थियो । १-अण्डर ७१ खेल्दै विजय समग्रमा ६-अण्डर २८२ सहित दोस्रो हुुनुभयो । समग्रमा २-अण्डर २८६ को स्कोरमा तेन्जिङ पाल्देन तेस्रो हुनुभयो । उहाँले शुक्रबार २-अण्डर ७० खेल्नुभयो ।
अन्तिम दिनको सुरूवात गर्दा सुवास र भुवनबीच कडा प्रतिस्पर्धा चलेको थियो । दोस्रो होलको बोगीविरूद्ध पहिलो र तेस्रो होलको बर्डीले सुवासले फ्रन्ट नाइन १-अण्डर ३५ मा सकाउनुभयो । भुवनले दोस्रो र आठौं होलमा एक-एक सट खेर फाल्नुभएको थियो भने तेस्रो, छैटौं, सातौं र नवौं होलमा बर्डी प्रहार गर्नुभएको थियो । फ्रन्ट नाइन २-अण्डर ३४ मा सकाउनुभयो । फ्रन्ट नाइनको खेल सकिंदा सुवास र भुवन कुल १३-अण्डरको स्कोरमा बराबरीमा हुनुहुन्थ्यो ।
यसपछि दशौं होलमा भुवनले उत्कृष्ट चिप पटमा बर्डी प्रहार गर्नुभयो र एक स्ट्रोकको अग्रता बनाउनुभयो । ११औं होलमा सुवासको टी-सट पानीमा खस्यो । यो होलमा सुवासले बोगी खेप्नुभयो । भुवनले भने बर्डी प्रहार गर्दै दुई स्ट्रोकको अग्रता बनाउनुभयो । तर, यो अग्रता सुवासले १२औं होलमा एक स्ट्रोकमा झार्नुभयो । सुवासले उत्कृष्ट चिप गर्दै इगलको सफलता प्राप्त गर्नुभयो । भुवनले भने बर्डी प्रहार गर्नुभयो । यसपछिका चार होलमा दुबैले बराबरी खेल्नुभएको थियो ।
एक स्ट्रोकले अगाडि रहनुभएका भुवनको लागि १७औं होल हारको कारण बन्यो । उहाँको अप्रोच सट रूखमुनि पुग्यो र डबल बोगी खेप्नुभयो । सुवासले पार बचाउँदै एक स्ट्रोकको अग्रता बनाउनुभयो । अन्तिम होलमा बर्डी प्रहार गर्दै सुवासले दुई स्ट्रोकले उपाधि चुम्नुभयो । उहाँले ब्याक नाइन ३-अण्डर ३३ मा र भुवनले १-अण्डर ३५ मा पुरा गर्नुभयो । सूर्य नेपाल गल्फ टुरमा सुवासको यो समग्रमा छैटौं उपाधि हो ।
निरजले सातौं होलको बर्डीले फ्रन्ट नाइन १-अण्डर ३५ मा सकाउनुभयो । यसपछि १०औं, १२औं, १४औं र १८औं होलको बर्डीले ब्याक नाइन ४-अण्डर ३२ मा पुरा गर्दै बोगी फ्री स्कोर कार्ड बनाउनुभयो । पुरस्कार राशीको आधारमा सिजनकै ठूलो प्रतियोगितामा कुल १५ लाख ५० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगितामा ३७ प्रो र ११ एमेच्योर गरी कुल ४८ गल्फरको सहभागिता रहेको थियो ।
यो सिजनको कुल आठ प्रतियोगितामध्ये एमेच्योर सदभाव आचार्यले दुई तथा प्रो दिनेश प्रजापति, शुक्रबहादुर राई, भुवन नगरकोटी, रवि खड्का, निरज तामाङ र सुवास तामाङले एक-एक उपाधि जित्नुभयो ।
विजेता खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका म्यानेजिङ डिरेक्टर रविकुमार रायवरम र पिजिए नेपालका अध्यक्ष रविन्द्रमान श्रेष्ठले पुरस्कार वितरण गर्नुभएको थियो । सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसीप अन्तर्गत प्रो-एम प्रतियोगिता शनिबार हुँदैछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच