
सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बयलवासमा रहेको नेपाल विद्युत् प्राधिकरणको फ्युज सेन्टरमा कार्यरत कर्मचारीमाथि कुटपिट र कार्यालयमा भएको तोडफोडको विषयमा आज ६ बुँदे सहमति भएको छ ।
बयलवासस्थित वडा नं ६ र ७ को संयुक्त कार्यालय अर्थात् साविकको नगरपालिका भवनमा रहेको फ्युज सेन्टरमा कार्यरत कर्मचारी सुजन शर्मा (खरेल) र प्रवीणकुमार यादवमाथि हिजो कार्यालयमै आएर कुटपिट भएको थियो । सो घटनापछि आज दिउँसो ईश्वरपुर नगरपालिकाको कार्यालयमा भएको छलफलबाट ६ बुँदे सहमती गरिएको हो ।
सहमतिको पहिलो बुँदामा घटनामा दोषीलाई प्रमुख जिल्ला अधिकारीले कारवाही चलाउने उल्लेख छ । प्रहरीले विद्युत्का कर्मचारी कुटपिटमा संलग्न २ जनालाई हिजै नियन्त्रणमा लिएर अभद्र व्यवहारमा कारवाही अघि बढाएको छ । उनीहरु इलाका प्रहरी कार्यालय केशरगन्जको हिरासतमा छन् । ६ बुँदे सहमति अन्तर्गत ईश्वरपुर नगरपालिका १, २ र ३ मा विद्युत्का कर्मचारीलाई मिटर रिडिङ गर्न दिने, विद्युत्का कर्मचारीले पनि व्यवहार सुधार गर्ने, माछापालक किसानको माग बमोजिम माछापालनका लागि प्रयोग भएको मिटरलाई सिँचाई अन्तर्गत राखेर विद्युत् महशुलमा छुट गराउन सम्वन्धित निकायहरुमा लेखि पठाउने लगायतका सहमती भएका छन् ।
ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार आचार्य, प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रका प्रमुख त्रिभुवन यादवलगायतको उपस्थितिमा यस्तो सहमती गरिएको हो । वितरण केन्द्र प्रमुख यादवका अनुसार केही व्यक्ति आएर कर्मचारीमाथि कुटपीट गर्नुका साथै काउन्टरमा रहेको कम्प्युटर तोडफोड गरेका छन् ।
कम्प्युटर नै तोडफोड भएपछि बयलवासबाट तत्कालका लागि बिजुलीको महशुल लिने काम बन्द हुने भएको छ । आज नै धेरै सेवाग्राही फ्युज सेन्टरमा बत्तीको महशुल बुझाउन भनी आएपनि कार्यालय बन्द रहेकाले त्यसै फर्किएर गएका छन् । अब केन्द्रिय कार्यालयबाट कम्प्युटरसहितका उपकरण ल्याएर छिट्टै महशुल संकलन कार्य सूचारु गरिने वितरण केन्द्र प्रमुख यादवले बताउनुभयो ।
यता, प्रहरीले नियन्त्रणमा राखेको दुई जनालाई तत्काल रिहा गर्न माग गर्दै आज बिहानैदेखि ईश्वरपुर नगरपालिका १, २ र ३ का माछापालक किसानले बयलवासस्थित इलाका प्रहरी कार्यालय अगाडि आएर धर्ना दिइरहेका छन् ।
त्यसक्षेत्रका माछापालक किसान प्राधिकरणले बिजुलीको प्रतियुनिट २ रुपैयाँ ५ पैसाबाट एकैचोटी ११ रुपैयाँ महशुल पुर्याएको भन्दै केही समयअघि देखि नै असन्तुष्ट छन् । प्राधिकरणले माछापालक किसानले कर्मचारीलाई मिटर रिडिङ गर्नै नदिएको दावी गरेको छ । कर्मचारी खटिएर जाँदा डाइरेक्ट हुकिङ लगाएर चलाइएको पाइएपछि मिटर बरामद गरेर ल्याएको रिसमा कर्मचारीमाथि आक्रमण हुन पुगेको वितरण केन्द्र प्रमुख यादवको दावी छ ।
उहाँले काउन्टरमा बसेर पैसा बुझ्ने कर्मचारीलाई धरी कुटपिट गर्नु दुःखद भएको बताउनुभएको छ । विद्युत् कर्मचारीको विभिन्न संघसंगठनले आज संयुक्त विज्ञप्ती जारी गरी दोषी व्यक्तिलाई कारवाही गर्न र कर्मचारीलाई सुरक्षाको व्यवस्था गर्न माग गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच