सुकुम्बासी समस्या हो कि पेशा वा व्यवसाय ?

A A- A+

✍️ प्रा. देवीभक्त ढकाल

कुनै पनि समस्यालाई जब पेशा वा व्यवसाय बनाइन्छ भने यो समस्याको समाधान आफैँ जटिल बन्छ । हाम्रो सुकुम्बासी समस्या पनि अब समस्या नभएर यो हाम्रो राजनीतिले पेशा, व्यवसायको रूपमा विकास गरेको नकारात्मक चिन्तन र दृष्टिकोण हो । सुकुम्बासीहरूको संख्यात्मक वृद्धि जति जति बढ्छ उति नै यसले राजनीति गर्नेलाई लाभ दिने भएकाले यसको समाधानमा भन्दा संरक्षणमा सबै पार्टीहरू क्रियाशील छन् । सुकुम्बासी समस्या किन उत्पत्ति हुन्छ ? सुकुम्बासी बन्नुभनेको नेपालमा छिटै र सजिलोसँग धनी हुने उपायको खोज वा प्रयोगात्मक अनुसन्धान हो ।

नागरिकलाई स्वाभिमानी र आत्मनिर्भर हुने क्षमता विकासमा हाम्रो सरकार र नागरिकको ध्यान कहिल्यै गएन । तसर्थ सरकार र नागरिक दुवै परनिर्भरताको संक्रामक रोगबाट पीडित छन् । त्यही रोग हो सुकुम्बासी समस्या वा पेशा वा व्यवसाय वा देशमा बढ्दो बेरोजगारीको संख्या । नागरिक र देश दुवैलाई आत्मनिर्भर र स्वाभिमानी बनाउन शिक्षा, सीप विकास, रोजगारी जस्ता विषयहरू अनिवार्य शर्त हुन् । शिक्षा र सीपको विकासका कारण व्यक्ति रोजगार बन्छ । रोजगारी व्यक्तिको आयआर्जन क्षमता वृद्धि गर्ने मुख्य अस्त्र हो । शिक्षा र सीपका कारण जब व्यक्ति रोजगार हुन्छ त्यसपछि व्यक्तिले आफू कमजोर र असहाय अनुभव गर्दैन ।

जोसँग शिक्षा र सीप छैन र बेरोजगार छ उसले आफूलाई असहाय ठान्नु स्वाभाविकै हो । मानिसलाई सक्षम, क्षमतावान र आत्मविश्वासी बनाउने एउटा जबर्जस्त उपाय हो शिक्षा र सीपको प्रशिक्षण र त्यसले सिर्जना गर्ने रोजगारी । हामीले व्यक्तिलाई शिक्षा, सीप र रोजगारी नदिएर जमिन, घर दिएर क्षमतावान् बनाउने प्रवृत्ति, शैलीहरू बेठीक प्रमाणित भए । तसर्थ हाम्रो शैलीलाई पुनर्विचार गर्न जरुरी देखियो । तर, सरकार नागरिक दुबैका त्यसतर्फ अझै ध्यान नजाँदा परिस्थिति सकारात्मक दिशातिर होइन झन नकारात्मक दिशातिर निर्देशित भएको छ ।

एक ठाउँमा जमिन लिने त्यसपछि त्यसलाई बिक्री गरेर अर्को ठाउँमा सुकुम्बासी बन्न जाने संस्कार, संस्कृति र प्रवृत्तिभन्दा पनि यो पेशा वा व्यवसायलाई रोक्ने उपायको खोजी नगरिकन यो समस्याको समाधान खोज्नु मुर्खता हो ।

हामीले सुकुम्बासीको नाममा यसअघि जग्गा दिएका व्यक्तिहरूसँग कति जनासँग अहिले जग्गा छ ? के राज्यले यस्ता विषयहरूको अध्ययन, अनुसन्धान, समीक्षा र विश्लेषण गरेको छ ? यस्ता विषयहरूमा गहिरो अनुसन्धान र अध्ययनविना जग्गा वितरण गरेर समाधान खोज्ने हाम्रो शासकीय कार्यशैली नै विशेष दोषी छ । एक ठाउँमा जमिन लिने त्यसपछि त्यसलाई बिक्री गरेर अर्को ठाउँमा सुकुम्बासी बन्न जाने संस्कार, संस्कृति र प्रवृत्तिभन्दा पनि यो पेशा वा व्यवसायलाई रोक्ने उपायको खोजी नगरिकन यो समस्याको समाधान खोज्नु मुर्खता हो ।

हाम्रो कानुन, व्यवस्था र राजनीतिले सुकुम्बासी समस्यालाई जानीजानी समाधान नै नहुने समस्याको रूपमा विकास गरेकाले यो समस्या क्रोनिक बनेको छ । समाधान नखोजी सुख नहुने तर कहिल्यै समाधान पनि नहुने यस समस्याका लागि नेपाली राजनेताहरू आफैँ धामी र आफैँ बोक्सी बनेका छन् । राजनीतिक प्रतिशोध र लाभ लिन सुकुम्बासीहरू प्रयोग गर्ने राजनीतिक चरित्र मुख्य दोषी छ ।

सबै पार्टीहरूले देशभर अतिक्रमित बस्तीलाई आआफ्नो भोट बैंक बनाएका छन् । निर्वाचनमा, जुलुसमा, र्‍यालीमा सबै उनीहरूलाई अन्धाधुन्ध प्रयोग गर्छन् । त्यसैले तिनीहरूबाट भएको सरकारी जमिनको अतिक्रमण बेठीक हो भनेर कुनै राजनीतिक पार्टीले भन्दैन । उल्टै व्यवस्थित बनाउने नाममा सुकुम्बासी आयोगहरूलाई कार्यकर्ता भर्ती केन्द्र बनाए । पार्टीका कार्यकर्तासमेत जमिनको हकदार बनाउने वातावरण बनाए । सुकुम्बासी अब समस्या नभएर सबैले पेशा वा व्यवसायको रूपमा ग्रहण गर्दै आएका कारण यो समस्या आफैँमा जटिल बनेको छ ।

जमिनलाई पूरै बिक्री गर्ने हक व्यक्तिलाई दिने अनि जमिन बिक्री गरेर सुकुम्बासी सहजै बन्न पाउने व्यवस्था हुउन्जेल यो समस्या कसरी टुंगिन्छ ? माछा खाने स्थायी व्यवस्था गर्न उसलाई बल्छी र बल्छी प्रयोग गर्ने सीप दिनुपर्छ । त्यसबाट उसले सधैँ माछा खान सक्छ । तर, हामीले सुकुम्बासीलाई बल्छी होइन माछा दिएका कारण उनीहरूले आफूलाई आवश्यक पर्दा आफैँ माछा मार्न सक्तैनन् । तसर्थ सुकुम्बासीलाई जग्गा दिनुभनेको माछा दिनु हो ।

उनीहरूलाई सीप दिनुभनेको बल्छी दिनु हो ता कि उसले आफ्नो इच्छाअनुसार माछा मारेर उपभोग गर्छ । सुकुम्बासीलाई जमिन वितरण गर्ने हाम्रो सरकारको कार्यशैली नै गलत छ । उनीहरूको परिवारलाई गुणस्तरीय शिक्षा, स्वास्थ्यको प्रबन्ध गर्ने र स्वरोजगार हुने प्रशिक्षणतिर सरकार केन्द्रीकृत भएको भए बस्ती हटाउने नाममा नियमित जस्तै द्वन्द्व र टकरावको अवस्था सिर्जना हुँदैनथ्यो ।
हाम्रो राजनीतिक नेतृत्व गर्ने पूर्वसुकुम्बासीले सत्ता प्राप्तिपछि सबैले काठमाडौंमा घर, बंगला, गाडी, विलासी जीवनलाई आफ्नो प्रमुख गन्तव्य बनाए । सबैले के सिके भने जसरी पनि काठमाडौंमा घर हुनुपर्छ ? काठमाडौंका मात्रै होइन देशभरका शहरी क्षेत्रका सार्वजनिकस्थल अतिक्रमणमा पर्नुको मुख्य कारण यहीँ हो । पूर्वप्रधानमन्त्रीहरू, पार्टीका नेताहरू र देशका सर्वोच्च अदालतका न्यायाधीशसमेतले बालुवाटारको प्रधानमन्त्री निवासको सरकारी जग्गालाई आफ्नो नाममा दर्ता गर्ने जुन घृणित र आपराधिक काम गर्दा पनि दण्डित भएनन् तिनीहरूका कारणले नै काठमाडौंलगायतका शहरी क्षेत्रहरूमा नक्कली सुकुम्बासीको बिगबिगी भएको हो ।

सरकारका र पार्टीहरूका जिम्मेवार मानिसहरूको सहयोगमै देशभर सरकारी जमिन अतिक्रमणको चपेटामा परेका छन् । गलत आश्वासन दिएर गलत मानिसहरूबाट भोट प्राप्त गरेर निर्वाचन जित्ने र नाजायज काम गर्नेहरूबाटै सरकारी जग्गा अतिक्रमण गर्ने काम हुँदैआएको छ । गलत कामहरूबाट व्यक्तिगत फाइदा लिने तत्वहरूलाई राजनीतिबाट विस्थापित नगर्दासम्म परिस्थिति किमार्थ सकारात्मक बन्दैन ।
सुकुम्बासी समस्या जमिन वितरण गरेर समाधान गर्ने दृष्टिकोण नै आत्मघाती छ । सीमित भूगोल र बढ्दो जनसंख्यालाई जमिन वितरण गर्ने विषय के सम्भव छ ? सरकार जस्तो जिम्मेवार निकायले असम्भव विषयलाई किन पच्छ्याउँछ ? सुकुम्बासी बन्न खुला छुट दिने र अतिक्रमण जस्तो आत्मघाती काम गर्न प्रोत्साहन गर्ने त्यसपछि त्यो क्रियाकलापबाट हिंसा र मृत्यु भयो भनेर पछुताउने र दोषारोपण गरेर आफू चोखो छु भन्ने पार्टीका नेता नाम गरेका दलालहरू नै वास्तविक अपराधी हुन् । सुकुम्बासी आयोगका नाममा आफ्ना कार्यकर्तालाई आयोगको जिम्मेवारी दिने र त्यस्तो जिम्मेवारी पाउने व्यक्ति सम्बन्धित विषयको विज्ञ भए पो उसले छानविन र निष्पक्ष समाधान खोज्छ ।

आयोग नै पक्षपातीहरूको बनाउने, जमिन र त्यसको वितरणका सम्बन्धमा फुट्टी ज्ञान नभएको कार्यकर्ता भर्ना गर्नेहरूले यसलाई समाधान गर्ने हेतुले नै आयोग नबनाएका कारणले यो समस्या दिनप्रतिदिन पेचिलो र गम्भीर बन्यो । यस्ता सुकुम्बासी बस्तीहरूलाई सबै राजनीतिक दलहरूले जुलुसको लागि, आन्दोलनहरूमा तोडफोड र अव्यवस्था सिर्जना गर्न आवश्यक जनशक्ति आपूर्ति गर्ने विश्वासिलो थलो बनाएका छन् । राज्यको जमिन अतिक्रमण गर्ने उत्साह र प्रेरणाको स्रोत नै पार्टीहरूका नेताहरू हुन् ।

हिजो हामी सबैले जानेका चिनेका, पालेका सुकुम्बासी नेताहरू एकाएक सम्पन्न कसरी भए भने सत्तामा रहँदा खुलम्खुला भ्रष्टाचार गरे । कतिपयले सार्वजनिक जग्गा अतिक्रमण गरेर पनि काठमाडौंमा महलहरू बनाए । यसबाट सबैमा अतिक्रमणको मनोविज्ञान र धारणा विकास भयो । धनी हुन सरकारको जमिनलाई अतिक्रमण गर्नु सजिलो उपाय हो भन्ने सबैले सिके । त्यसैले सुकुम्बासी समस्या उत्पादन गर्ने मुख्य भूमिकामा घुस्याहा नेताहरू बढी जिम्मेवार छन् । जिम्मेवार नेताहरू नै गैरजिम्मेवार भएकोले हाम्रा अधिकांश समस्याहरू कहिल्यै समाधान नहुने शैलीले विकसित भएका छन् ।

स्थानीय निर्वाचनमा काठमाडौं, धरान र धनगढीमा दलहरूका लागि अप्रत्याशित नतिजा आयो । त्यसले स्थानीय निर्वाचनमा ती स्वतन्त्रहरूले पाएको मत आफ्ना बधुवा कार्यकर्ताको हो भन्ने भ्रम सबै दलका नेताहरूमा छ । आफ्नो भोटको साम्राज्यलाई बालेन साहले अतिक्रमण गरेका कारण नै उनी विजयी भएका हुन् भन्ने निष्कर्ष कांग्रेस, एमाले र माओवादीलगायत नेताहरूको बुझाइका कारण सबै दलहरूको तारो अहिले बालेन साह बने । बालेन साहले जित्छन् भन्ने सुइकोसम्म पहिल्यै पाएको भए रातारात कांग्रेस र एमालेबीच पनि सम्झौता भएर बालेनलाई यिनीहरूले पाखा लगाउँथे ।

वास्तवमा बालेनले उनी लोकप्रिय भएका कारणले नभएर कांग्रेस, एमाले र माओवादीहरू अलोकप्रिय भएका कारण जित हात पारेका हुन् । कांग्रेस, एमाले र माओवादीका नेताहरूलाई बालेनले हाम्रा एकलौटी मतदातालाई झुक्याएर जित हात पारे भन्ने बुझाइले अहिले पार्टीका नेताहरूको व्यवहार बालेन साहप्रति दुश्मनीपूर्ण देखियो । स्थानीय निर्वाचनपछि संसदीय निर्वाचन नजिकै हँुदा बालेनलाई तत्काल आक्रमण गर्दा निर्वाचनमा त्यसको नकारात्मक प्रभाव आफ्नो पार्टीलाई पर्छ भन्ने डरले यिनीहरूले बालेनलाई छुन सकेका थिएनन् ।

अब संसदीय निर्वाचनमा दलहरूले आफ्नो अवस्था दह्रो बनाएपछि आक्रमण सुरु भएको हो । अब तीनै ठूला भनिने दलहरू मिलेर स्वतन्त्रहरूलाई पूरै समय पदमा रहन नदिने रणनीति समेत अख्तियार गर्ने प्रबल सम्भावना छ । यसलाई समयले पुष्टि गर्ला । काठमाडौं महानगरपालिकामा अहिले कांग्रेसको बहुमत छ । बालेनलाई समाप्त गरेर स्वतन्त्रहरूको भविष्य नामेट पार्दा भोलि सबै पार्टीहरूलाई राजनीतिक फाइदा हुने भएकाले अब सबै पार्टीहरूको सामूहिक आक्रमणको सिकार बन्छन् बालेन साहलगायतका अन्य स्वतन्त्र उम्मेदवारहरू जसले निर्वाचनमा विजय प्राप्त गरेका छन् ।

अब दलहरूले काठमाडौंका मेयरलाई विस्थापित गर्ने हतियार सुकुम्बासीलाई नबनाउलान् भन्न सकिँदैन । किनकि दलहरूसँग काठमाडौंको विकास, व्यवस्थापन, सुन्दरता बारे चिन्ता र चिन्तन गर्ने प्रवृत्ति र सोच छैन । उनीहरूको ध्यान देशको कानुन व्यवस्थालाई व्यवस्थित र मर्यादित बनाउने दिशामा पनि छैन । दलका नेताहरूको चिन्ता र चासो निर्वाचन जसरी पनि जित्नु पर्छ, निर्वाचनको जितलाई सबै नेताहरूले अवैध आर्जन र कुशासनको जबर्जस्त हतियार ठानेका छन् ।

अब दलहरूले काठमाडौंका मेयरलाई विस्थापित गर्ने हतियार सुकुम्बासीलाई नबनाउलान् भन्न सकिँदैन । किनकि दलहरूसँग काठमाडौंको विकास, व्यवस्थापन, सुन्दरता आदिबारे चिन्ता र चिन्तन गर्ने प्रवृत्ति र सोच छैन । उनीहरूको ध्यान देशको कानुन व्यवस्थालाई व्यवस्थित र मर्यादित बनाउने दिशामा पनि छैन ।

उनीहरूको गन्तव्य जसरी पनि निर्वाचन जित्ने, कुशासन, भ्रष्टाचार देशलाई र जनतालाई सधैँ उपहार दिने नीति छ । कुशासनको र भ्रष्टाचारको उपहारलाई स्थायित्व दिने हतियार जहिलेसम्म नेताहरूले सुकुम्बासीलाई बनाउँछन् त्यतिबेलासम्म सुकुम्बासी समस्या समाधान हुँदैन । बालेन साहको जिम्मेवारी काठमाडौं शहरलाई सफा, सुन्दर, व्यवस्थित र आकर्षक बनाउने हो । त्यसका लागि अनुकूल वातावरण सिर्जना गर्ने काम संघीय सरकारको भएकोले उनले अव्यवस्थित बसोवासलाई व्यवस्थित गर्ने जिम्मेवारी लिएको संघीय सरकारलाई समयमै समाधानार्थ अनुरोध र पत्राचार गरेको भए उनको पक्षमा जन दबाब सिर्जना हुन्थ्यो र संघीय सरकार सुकुम्बासीलाई व्यवस्थापन गर्न बाध्य हुन्थ्यो ।

बालेनेले आफ्नो जिम्मेवारी, दायित्व र कार्यक्षेत्रका सम्बन्धमा अध्ययन गरेर आउँदा दिनहरूमा यस्ता विवादहरूबाट पर रहन पनि यसले शिक्षा दिएको छ । बालेन साहलाई परिस्थिति सहज छैन । अनुभवहरू बटुल्दै राम्रो सल्लाहकारको टिम बनाएर अघि बढ अन्यथा यात्रा कष्टकर बन्छ । पार्टीहरूले सुकुम्बासी समस्यालाई व्यवसाय वा पेशाको रूपमा विकास गर्न प्रोत्साहित गर्दैगर्दा बालेनलाई सहजरूपमा काम गर्न किमार्थ दिँदैनन् । अहिले बालेन असफल हुनुभनेको परिवर्तनका पक्षधरहरू र तिनीहरूको चिन्तन असफल हुनु हो । परिवर्तन र विकासलाई सधैँ ओझेलमा पार्ने यथास्थितिवादीलाई चुनौती दिन बालेनले शहरको सुन्दरताको विकास, सुशासन र भ्रष्टाचारविरोधी अभियानलाई सशक्त बनाउनुपर्छ ताकि परिवर्तन विरोधीहरूले आगामी निर्वाचनमा उम्मेदवार हुने आँट र साहस नै गर्न नसकून् ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?