
राष्ट्र जोगाउन जागौँ
माथि शीर्षकीय स्थानमा राखेको वाक्यांश ऋग्वेदको हो भनेर उद्धरण गरेका अवस्थामा मैले धेरैतिर पढेको थिएँ जस्तो लागे पनि यसपटक हरि मन्जुश्रीले वैदिक गानसम्बन्धी गीत रचना गरेर यसका सम्बन्धमा लेख्न मलाई पठाइदिनुभएको हुनाले सम्बद्ध वैदिक संहिताका ठेली पल्टाएर खोज्दा मैले ऋक्संहितामा त्यो वाक्यांश होइन तलका एकै अर्थ भएका तीनवटा वाक्य ऋक्संहिताको दशम मण्डलान्तर्गत सूक्त ४२, ४३ र ४४ मा ऋषि कृष्ण आङ्गिरस, देवता इन्द्र र छन्द त्रिष्टुभमा निबद्ध दशौं मन्त्रमा पनि शीर्षकीय वाक्यांशकै अर्थ रहेको देखिन्छ । यस्ता ऋचा तीनपटक दोहोरिएका पनि छन् ।
‘गोभिष्टरेमामतिं दुरेवां यवेन क्षुधं पुरुहूत विश्वाम् ।
वयं राजभिः प्रथमा धनान्यस्माकेन वृजनेना जयेम’ ।।१०।।
अर्थात् हे इन्द्रदेव, तिमी सबैका आहृवनीय छौ । अतः तिम्रो कृपा हामीले पाए हामी पनि गाईरूप धन जम्मा गरेर दुःखदारिद्य्रबाट उन्मुक्त भई यव (जौ) आदि अन्नबाट वुभुक्षा शान्त पारी शासनका अधिकारी वर्गसँग अग्रिम पंक्तिमा रहेर आफ्ना राज्यको रक्षाका लागि सामथ्र्य प्रदर्शन गर्ने छौं । यही मन्त्र सूक्त ४३ देवता आङ्गिरस छन्द जगती त्रिष्टुभ नै रहेको दोहोरिएको छ र मन्त्र ।।१०।। नै मानिएको देखिन्छ ।
यसैगरी सूक्त ४४ मा पनि दशौं मन्त्र त्यही सूक्त ४२ कै ।।१०।। नं.मा राखिएको छ । यी तीनै स्थानमा पटकपटक आएको मन्त्र पनि शीर्षकीय भागमा भएकै वाक्यांशको अर्थबाहक भएर देखा परेको भए पनि ट्वाक्क त्यही चाहिँ छैन ।
आजको विश्वमा पश्चिमा अनुसन्धाताहरू ऋग्वेदलाई विश्वसंविधान भनेर मान्न थालेका छन् । महाभारतले भने झैँ यसले ‘यदिहास्तितदन्यत्र यन्नेहास्ति न तत्क्वचित्’ भन्ने उद्घोष नगरेको भए पनि ऋग्वेद भनेको ज्ञान, दर्शन र कर्मको अथाह त्रिवेणीका रूपमा रहेको देखिन्छ । यसमा भएका सूक्तहरूमध्ये पुरुष सूक्त १६ वटा मन्त्र भएको छ र यसले यस ब्रहृमाण्डको रचना र ब्रहृमको व्याख्या गरेको देखिन्छ । यसैगरी नासदीय सूक्त जम्मा सातवटा मन्त्रको रहेको छ । यो चाहिँ दृश्यमान ब्रहृमाण्ड नास भयो ।
अहिलेको नेपालमा देखापरेको सामाजिक, राजनीतिक, धार्मिकमात्रै होइन शैक्षिक र पेशा व्यावसायिक अस्तव्यस्तताबाट लेखक, चिन्तक र समाजसेवीहरू चिन्तित बनेका हुनसक्छन् । देश चलाउने स्वच्छ मूल्ययुक्त राजनीतिले हो तर नेपालको राजनीति कहिल्यै पनि सङ्लेन ।
वैज्ञानिकका धारणामा कालो दुलो (ब्ल्याक होल) भित्र यो ब्रहृमाण्ड पसेर हराएको अवस्था हो भने अध्यात्मविज्ञान या ज्ञानका नजरमा चाहिँ महाप्रलय भएर सारा सबै विनाश भई केबल त्यो ब्रहृम जो यो ब्रहृमाण्ड शरीर भएको र यो ब्रहृमाण्ड जसबाट सृजन्छ र जसमा गएर विलीन भएर केवल ॐको प्रणवावस्थामा रहेको हुन्छ । त्यसबेला न ब्रहृमाण्ड हुन्छ न त तातोचिसो, घामपानी, उज्यालोअँध्यारो केही पनि नभएका अवस्थाको वर्णन नासदीय सूक्तले गरेको छ । ऋग्वेदमा १० वटा मण्डल, १०१७ सूक्त, १०५५२ मन्त्र रहेका देखिन्छन् ।
यसैगरी यजुर्वेदमा ४० अध्याय, १९७५ मन्त्र रहेका छन् भने सामवेदमा १८२४ मन्त्र छन् । यो वेदलाई दुई अर्चिकामा विभाजन गरिएको छ । पहिलोमा ६ वटा प्रपाठ छन् । दोस्रामा नौवटा प्रपाठ रहेका छन् । पौरस्त्य जगत्का संगीतको उत्पत्ति, विकास र विस्तारका दृष्टिले यो वेद पनि अनन्य रहेको देखिन्छ । यसरी हेर्दा ऋक्संहिता सबैभन्दा पहिलो भएर पनि सबैभन्दा स्थूल तथा गम्भीर पनि रहेको बुझ्न कठिन छैन भने अथर्ववेद काण्डमा विभाजित छ र यसमा २० वटा काण्ड छन् । ५९७० वटा मन्त्र छन् भने ८७७ वटा सूक्त रहेका भेटिन्छन् ।
जागृयामः
वैदिक व्याकरण पढ्ने पढाउने परम्परा नेपालमा छैन । वेद पढ्नेले पनि ऋचा घोक्छन् । बढीमा सार अनि स्वरका उदात्त, अनुदात्त र स्वरित (उच्च, निच, समाहार) ‘प्रातिशाख्य’ नामका वैदिक प्रयोगका व्याकरण र याश्काचार्यको ‘निरुक्त’ वैदिक शब्दको व्युत्पत्ति देखाउने शास्त्र मानिन्छन् । पाणिनिको ‘वैयाकरण सिद्धान्त कौमुदी’ मा वैदिक प्रकरण भनेर सीमित सूत्र र वैदिक शब्दनिर्माण विधि बताएको पाइन्छ । जागृ निद्राक्षये भन्ने धातु जुहोत्याप्रिकरणमा छ । अरू सबै लकारका रूपहरू सिद्धान्त कौमुदी अनुसारै भए पनि पाँचौ लेट लकारका रूप वेदमा मात्रै प्रयोग हुने भएका हुनाले यो जागृयामको प्रयोग जुहोत्यादि अनुसारै भएको देखिन्छ तर ऋक्संहितामा यस प्रकारका वाक्य छैनन् । यस प्रकारको प्रयोग कसरी गरियो मैले निश्चित गर्न सकिन । अतः विज्ञजनको ध्यान पनि यता विनिपात भए रमाइलै हुनेथियो ।
धर्म संरक्षणार्थाय लोकानां च हितेच्छया
निद्रां हित्वा वयं राष्ट्रे जागृयाम पुरोहिताः ।।
अर्थात् धर्मको रक्षा गर्न र लोकको उपकारका लागि हामी राज्यका मान्छेहरू रातभरिको निद्रा त्यागेर पनि राष्ट्र रक्षाका लागि जागा रहन्छौंँ र पो राज्य रहेको छ भनेर मनुले भनेका थिए । मनुस्मृतिका अनेकौं संस्करण भएको चर्चा गरिन्छ । यस्ता अवस्थामा यो भनाइ मनुकै हो भनेर कसरी तोक्ने ? यस्ता भनाइ त पृथ्वीनारायण शाहले पनि देश सिकारीले बिलो बाँणे झैँ बिलो भाग लाउने चिज होइन भनेका कुरा राष्ट्र कवि माधवप्रसाद घिमिरेले ‘राष्ट्रनिर्माता’ खण्डकाव्यमा गरेका छन् । सत्ता मोह यस्तो हुँदोरहेछ आखिरी विकास निर्माण र शक्तिसामथ्र्यको वृद्धिबेगरै आजका राजनीतिकर्मीले देशलाई खण्ड/खण्ड पारेर भाग लाएरै छाडेको स्थितिबोध गरेपछि एउटा राष्ट्रप्रेमी दिलदिमाग भएको कवि/गीतकार गुञ्गुनाउन लागेको देखिन्छ तलका गीतका पंक्तिमा-
हरिको गीत
वयं राष्ट्रे जागृयाम पुरोहिता :
हामी नसुतौँ उठौँ, हामी नफुटौँ जुटौँ
हामी एकै स्वरमा बोलौँ-
वयं....पुरोहिताः ।
अहिलेको नेपालमा देखापरेको सामाजिक, राजनीतिक, धार्मिकमात्रै होइन शैक्षिक र पेसाव्यावसायिक अस्तव्यस्तताबाट पनि लेखक चिन्तक र समाजसेवीहरू चिन्तित बनेका हुनसक्छन् । देश चलाउने स्वच्छ मूल्ययुक्त राजनीतिले हो । नेपालको राजनीति कहिल्यै पनि सङ्लेन । राजा, राणा, राजा पञ्च, राजा कांग्रेस, राजा कम्युनिस्ट, कम्युनिस्ट कांग्रेस, कांग्रेस कम्युनिष्ट जजसले मुलुक हाँके पनि मुलुक व्यथित र पीडित नै रहृयो । अब फेरि पुरानै सिकारी देश चलाउन आउन लागेका छन् कति कहाँ–कहाँ सिकार गर्ने हुन् अड्कल गर्न सजिलो छैन । पल्केको झिल्के घरिघरि मिल्के भन्ने आहान नै पनि छ ।
मेची कोशी सगरमाथा जनकपुर जागौँ
बागमती, नारायणी र गण्डकी जागौँ
लुम्बिनी र धौलागिरि, राप्ती, भेरी जागौँ
कर्णाली र सेती, काली सबै ठाउँ जागौँ
हामी नसुतौँ...
वयं......पुरोहिताः ।।
पूर्व क्षेत्र, मध्य क्षेत्र, पश्चिम क्षेत्र जागौँ
सतहत्तर जिल्ला अनि सातै प्रदेश जागौँ
नेपाललाई उठाउन नेपाली भै जागौँ
हामी नसुतौँ, उठौँ हामी नफुटौँ जुटौँ
हामी एकै स्वरमा बोलौँ-
वयं... पुरोहिताः ।।
कुनै पनि आकार भएका वस्तुको लम्बाइ चौडाइ र गहिराइ हुन्छ । छेउ र बीच पनि हुन्छन् । देशका पनि चौसुर हुन्छन् र पूर्वपश्चिम तथा मध्य क्षेत्र पनि देखिन्छन् नै । सानो देश नेपालमा रहेका विविधताको महिमा, यसको गौरव बुझेर सदुपयोग गर्नेभन्दा एक आपसमा भिड्ने, एक आपसमा शंकाउपशंका गरेर देशविकास र जनतालाई सेवासुविधा तथा शासकीय पद्धतिलाई स्थिरता दिनभन्दा मौका छोप्न र टुटफुटमा रमाएर नचाहिँदा चुरीफुरी देखाएर देश र संस्कृतिलाई नै प्रदूषित गर्ने खालका आचरण पनि भए । यस प्रकारका अभिलक्षणमा रमाएका नेपाली राजनीतिक दलका नायकका क्रियाकलापका दृश्य वास्तवमा नै निराशाजनक नै थिए र हरिले त्यसैको चित्रण गरेका छन् माथि उद्धृत गरिएका पंक्तिमा ।
अहिलेका नेपालमा सबै धमिरा र कमिला छिचिमिरा बनेका छन् । कमिला र धमिराको पँखेटा उम्रिएपछि उसको मात्र होइन ऊ बस्ने थातथलाको पनि रिक्तावस्था आउँछ । अहिलेका हाम्रा नेताले एउटा देशलाई सातवटामा परिणत गरेजस्तो हुनु चाहिँ विकास हो भन्न अलि सकिँदैन नै होला भन्छु ।
देश झुसिल्किराको गुण होइन । देशमा अनेकौं संस्कार संस्कृति धर्म धारणा हुन्छन् ती सबैलाई स्वीकार गर्ने छातीको पनि आवश्यक्ता पर्दछ । पहाडे, मधिसे, तल्लो जात माथिल्लो जात, चुचे, नेप्टे, चेप्टे सबैको मातृक्रोड हो देश । म भइँन जेसुकै गरून् भनेर सुत्ने, स्वार्थका लागि भिड्ने र उदास हुने प्रवृत्तिले देश जनता र राजनीतिक संयन्त्रसँग सम्बद्ध कसैको पनि भलाई हुँदैन । जेता, नेता, धनी, गरिब, पठित अपठित सबैको समान अधिकार हुन्छ देशमा भनेर नै ‘वयं’ बहुवचन प्रयोग गरिएको छ । पुरोहिताः पनि पुरः अगाडि हिताः कल्याणका लागि । सबैको कल्याणका कामनाले हामी अग्र स्थानमा रही राष्ट्रको रक्षा गरौँ भनिएको देखिन्छ ।
पशुपतिनगर सुस्ता, महेशपुर जागौं
लिपुलेक, कालापानी, लिम्पियाधुरा जागौँ
हराएका, सारिएका सीमास्तम्भ जागौँ
बेचिएका, फालिएका उद्योग धन्दा जागौँ (जगाऊँ ?)
हामी नसुतौँ, उठौँ हामी नफुटौँ जुटौँ
हामी एकै स्वरमा बोलौँ-
वयं राष्ट्रे जागृयाम पुरोहिताः ।।
हामी बाँचेका छौँ भने सबै सँगै जागौँ
जातजाति, वर्ण वर्ग हटाएर जागौँ
साम्प्रदायिक सोचबाट माथि उठी जागौँ
मौलिकता र अस्तित्वको रक्षा गर्न जागौँ
हामी नसुतौँ उठौँ हामी नफुटौँ जुटौँ
हामी एकै स्वरमा बोलौँ-
वयं राष्ट्र जागृयाम पुरोहिताः ।।
अहिलेका नेपालमा सबै धमिरा र कमिला छिचिमिरा बनेका छन् । कमिला र धमिराको पँखेटा उम्रिएपछि उसको मात्र होइन ऊ बस्ने थातथलाको पनि रिक्तावस्था आउँछ । यद्यपि पँखेटा उम्रनु उसको विकास हुनु हो तर पनि अहिलेका हाम्रा नेताले एउटा देशलाई सातवटामा परिणत गरे जस्तो हुनु चाहिँ विकास हो भन्न अलि सकिँदैन नै होला भन्छु । मलाई लागे जस्तै हरिलाई पनि लागेको हुनाले यस प्रकारका गीत लेखेका हुन् । सृष्टिको सुरुदेखि नै कुनै बहादुर मान्छेले राज्यविस्तार गर्ने आर्जन गर्ने तर पछिल्ला निम्छराले अनेकौं बहानाबाजी गरेर सत्ता हत्याउने र जनतालाई दुःख दिएर पनि आफू मोजमस्ती गर्ने गरेको इतिहास पूर्वपश्चिम उत्तरदक्षिण सबैतिर भेटिन्छ ।
बेनले दुःख दिएका जनतालाई पृथुले सुख र समुन्नति दिएका थिए । उग्रसेनले सुख समृद्धिमा राखेका गोकुल मथुरावासीलाई कंसले दिनसम्म दुःख दिएको थियो । नेपाली जनता पेलिए भाइबाट, शोषिए भाइबाटै आज पनि भाइभाइ मिल्न नसकेर नै नेपाली हेपिएको र पछौटे भएको छ । यस जातिलाई मानसिक उपनिवेशमा धेरैले हाले, शैक्षिक उपनिवेशमा पनि गौराङ्ग बाबुहरूले राखेकै छन् । अहिले त नेप्टे नासिका र चिम्से आँखा भएका स्वर्णवर्णी पनि गौराङ्गका उपनिवेशमा आफैँ प्रवेश गर्न लागेका देखिन्छन् । स्वर्णभा भएका जातिले पहिले आफ्नै भाषा र भेषको विकास गरेथे ।
त्यसबेला हामी गौराङ्गका भाषामा बाहेक ज्ञान विज्ञान र दर्शन अनि समाजविकासका मन्त्र अन्यत्र छैनन् भन्ने झुट्टो विश्वासमा परेर सबै बिगा¥यौँ । अब पनि सम्हालिने लक्षण देखापरेको छैन । आफ्ना ढिकुटीको बासमती धान दिएर अरूले दिएका कनिका मिठो मान्न लागेका यो देशका अगुवाको मति फिरोस् भनेर नै हरिले यी गीत लेखेका हुन् । गीत पाठ्यभन्दा गेय हुन्छन् । अतः नाम चलेका गायक संगीतकारको सहयोगमा राष्ट्रिय प्रशारण संयन्त्रबाट गायन गराउनेतिर लाग्नु राम्रो हुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच