
उपन्यासकार सुभाष घिमिरे नेपाली साहित्यमा त्यति परिचित नाम होइन । प्रकाशित र अप्रकाशित गरी करिब आधा दर्जन सिर्जनाका सर्जक सुभाष घिमिरेको पछिल्लो प्रकाशित कृति हो ‘मौन विद्रोह’ उपन्यास । यो उपन्यासले उनलाई नेपाली साहित्यमा परिचित र स्थापित गर्नेछ भन्ने विश्वास गर्न सकिन्छ । ‘मौन विद्रोह’ उपन्यासलाई शिखा बुक्सले प्रकाशित गरेको छ । विद्रोहमा क्रान्ति हुन्छ । क्रान्तिमा आन्दोलन हुन्छ । नाराबाजी हुन्छ । चित्कार हुन्छ र चिच्याहट पनि हुन्छ । विरोध हुन्छ र विध्वंस पनि हुन्छ । तर मौन विद्रोह अब्यक्तरूपमा हुन्छ । मौन विद्रोहमा क्रान्ति त हुन्छ, तर अव्यक्त रूपमा । त्यो क्रान्तिमा आन्दोलन, विरोध र विध्वंस पनि हुँदैन । नाराबाजी, चित्कार र चिच्याहट पनि हुँदैन । बरु मौन विद्रोहभित्रको अदृश्य क्रान्तिले ठूलो परिवर्तन ल्याउँछ र जीवनको दिशा पनि बदलिदिन्छ ।
सुभाष घिमिरेलिखित ‘मौन विद्रोह’ उपन्यासमा पनि अव्यक्त विद्रोह छ । मौन विद्रोहबाटै उपन्यासकी मुख्य पात्र अनामिका अर्थात् अनुको जीवनको दिशा नै बदलिएको छ । त्यसैले भन्न सकिन्छ, विद्रोहलाई विरोध र विध्वंसको पर्यायको रूपमा मात्रै हेरिनु हुँदैन । शान्तिपूर्वक पनि विद्रोह हुनसक्छ, जुन विध्वंसात्मक विद्रोहभन्दा बढी प्रभावशाली र परिवर्तनकारी पनि हुन्छ । अनामिका अर्थात् अनु नामकी पात्रले लोग्ने, सासु र जेठानीबाट पाएको धोका, अपमान र अन्यायबाट आजित भएर अन्ततः कसैलाई सुइँको पनि नदिई डेनमार्कबाट फर्केका एक विवाहित तर पत्नीसँग सम्बन्ध विच्छेद गरेका अर्कै पुरुषसँग सम्बन्ध जोड्न पुगेको र नारायणी नदी किनारमा रहेको हरिहर मन्दिरमा गएर सुटुक्क बिहे गरेको कथा नै यो उपन्यासको सार हो ।
मन नपरी–नपरी बिहे गरेको लोग्नेले उसलाई एउटा भोग्याको रूपमा मात्रै व्यवहार गर्छ । उता सासु र जेठानीले पनि अनेक निहुँमा उसलाई आरोपित र दोषी करार गर्ने प्रयास गर्छन् । उसलाई नखाएको विष लागेजस्तै हुन्छ । यही नखाएको विषको पीडाले रन्थनिएर बाँचेकी अनामिकाले अन्ततः अर्कै पुरुषसँग सम्बन्ध जोडेर पीडाले जलेको मनलाई शीतलता प्रदान गर्छे । यो उपन्यासमा मूलभूतरूपमा सासु–बुहारी र देउरानी–जेठानीबीचको असमझदारीबाट सुरु भएको विद्रोहको कथा छ । लोग्नेसँगको असमझदारीसँगसँगै त्यही असझमदारीबाट उत्पन्न भएको घृणा र वियोगको कथा पनि छ । यस्तो कथा हाम्रो समाजमा हिजो थियो र आज पनि छ ।
कथानकलाई अलि विस्तारमा अघि बढाएको भए यो उपन्यासको आयाम अझै बढ्ने थियो । तर उपन्यासले छिटो लक्ष्य भेटेकाले त्यसलाई नतन्काउने लेखकको निर्णय स्वागतयोग्य छ । अहिलेको व्यस्त समयमा पाठकको अमूल्य समयलाई बचत गरिदिनु पनि बुद्धिमानी नै हो ।
विश्व–समाज एक्काइसौँ शताब्दीको सङ्घारमा उभिएको परिवेशमा लेखिएको यो उपन्यास उही पारम्परिक कथाको आधुनिक संस्करणजस्तो लाग्छ । कथानकले पुरानै पुस्ताको कथालाई दोहो¥याएको भए पनि यसका पात्रहरू भने आधुनिक सोच र विचारका छन् । उपन्यासका पात्रहरूले आफ्नो वैयक्तिक स्वतन्त्रतालाई प्रधानता दिएका छन् । सामाजिक मूल्य र मान्यताभन्दा एक कदम अगाडि बढेर आफ्नो जीवनको दिशा नै बदलेका छन् । अनिच्छापूर्वक जोडिएको सम्बन्धले सुमधुरता कायम गर्न नसक्दा अन्ततः उपन्यासका नायक–नायिका दुवैको जीवनलाई अर्कै दिशामा मोडिदिएको छ । कथानकको अन्तर्यलाई दृष्टिगत गर्दा यो उपन्यासले सामाजिक परिवर्तनको सोचलाई अनुमोदन गर्ने आफ्नो अभीष्ट बनाएको महसुस हुन्छ । उपन्यासमा पुरानो कथामाथि आधुनिकताको लेपन लगाउने प्रयास भएको छ ।
पुरातन सामाजिक मूल्य, मान्यता र संस्कारमा जकडएिको समाजबाट उन्मुक्ति खोज्ने केही परिवर्तनकामी पात्रहरूले समाजमा विद्रोहको झिल्का समयसमयमा सल्काएकै हुन् । त्यसमा कोही सफल भए कोही भएनन् । यसो त सामाजिक मूल्य, मान्यता र संस्कारलाई तोड्नु वा भत्काउनुमात्रै क्रान्ति होइन र परिवर्तन पनि होइन । सामाजिक मूल्य, मान्यता र संस्कारमा आँच नआउने गरी र आफ्नो पहिचान र अस्तित्वको रक्षा गर्दै पनि सामाजिक सुधार गर्न सकिन्छ । यसका लागि मानिसको सोच, विचार, बुझाइ र व्यवहारमा थोरै परिवर्तन जरुरी छ र जडतालाई त्याग्नु जरुरी छ । यो उपत्यासको पात्रहरूले यही जडतालाई त्याग्ने प्रयास गरेका छन् ।
यो उपन्यासमा मुख्य पात्र अनामिका अर्थात् अनुको बाल्यकालदेखिको मनोभाव र मनोदशा सँगसँगै उसले गरेको मौन विद्रोहलाई प्रथम पुरुष शैलीमा प्रस्तुत गरिएको छ । नेपाली समाजमा हिजोदेखि आजसम्म पनि महिलाले भोग्दै आएको र भोग्नुपरेको सामाजिक संस्कारजन्य शारीरिक हिंसा र मानसिक यातनाको पीडालाई सुन्दर ढङ्गले प्रस्तुत गरिएको छ । विशेषगरी मुख्य पात्र अनामिकाले भोगेको सामाजिक संस्कारजन्य मानसिक यातनाले सिर्जना गरेको उसको मनोदशाले उसलाई जीवन र मृत्युको दोसाँधमा उभ्याएको छ । मनोद्वेगले छटपटिँदै आत्महत्याको प्रयाससम्म भएको छ अनामिकाबाट । तर त्यही समयमा उसकी छोरीको मुखबाट निस्केको एउटै शब्द ‘मम्मी’ ले उसको निर्णयमात्रै बदलिएको छैन, उसको जीवनको दिशा नै बदलिदिएको छ ।
विश्व–समाज एक्काइसौँ शताब्दीको सङ्घारमा उभिएको परिवेशमा लेखिएको यो उपन्यास उही पारम्परिक कथाको आधुनिक संस्करणजस्तो लाग्छ । कथानकले पुरानै पुस्ताको कथालाई दोहो¥याएको भए पनि यसका पात्रहरू भने आधुनिक सोच र विचारका छन् ।
तर, जीवनभर नै पाइला–पाइलामा उसले भोग्नुपरेको मानसिक यातनाले उसको मनोदशा नै विशृङ्खलित हुनपुगेको छ । यद्यपि उसको कठोर निर्णयका कारण उसको जीवनमा सुख र आनन्दको सङ्केत दिएर उपन्यासले अन्ततः सेफ ल्याण्डिङ गरे पनि मौन विद्रोहको अर्थ वैयक्तिक स्वतन्त्रन्ताको खुला उपयोग मात्रै हो त ? भन्ने प्रश्न भने छोडेको छ ।
अत्यन्तै निजात्मक शैलीमा लेखिएको यो उपन्यासमा नारी मनोविज्ञान र नारी संवेदनालाई अत्यन्तै मिहिन तवरले खोतल्ने प्रयास भएको छ । नारीका शत्रु नारी नै हुन् भन्ने सन्देश पनि उपन्यासमा छ । पुरुषसत्ताको समाजमा नारीलाई भोग्याको रूपमा मात्रै हेर्ने वा लिने गरिएको पुरातन मान्यतालाई प्रस्तुत गरेर त्यसमा परिवर्तन हुनुपर्छ भन्ने सन्देश पनि दिन खोजिएको छ । मनले खोजेजस्तो र मनले चाहेजस्तो प्राप्ति भयो भने मन आल्हादित हुन्छ अथवा मन आनन्दित हुन्छ भन्ने यथार्थलाई अनामिकाले अर्के पुरुष अर्थात् अनमोलसँग सम्बन्ध जोडेपछि उसले पाएको प्रेम र उसले महसुस गरेको खुसी र आनन्दले प्रकट गरेको छ । खुसी र सुखी जीवनका लागि सबैभन्दा ठूलो र पहिलो आवश्यकता भनेको प्रेम हो भन्ने यथार्थलाई पनि यो उपन्यासले पुष्टि गर्न खोजेको छ ।
उपन्यासकी मुख्य पात्र अनामिका अर्थात् अनु नेपाली समाजमा पीडित नारीहरूकी एउटी प्रतिनिधि पात्र हो । यस्ता पीडित नारीहरूको मौन विद्रोहले समाजलाई नयाँ दिशामा डो¥याउन सक्छ भन्ने सन्देश यो उपन्यासले दिन खोजेको छ । उपन्यासमा घटना र परिवेशको तीब्रता ठूलो छ । घटना र परिवेश निकै छिटोछिटो बदलिएका छन् । सिनेमाको रील घुमेजस्तै छन् उपन्यासका घटना र परिवेश । कथानकलाई अलि विस्तारमा अघि बढाएको भए यो उपन्यासको आयाम अझै बढ्ने थियो । तर उपन्यासले छिटो लक्ष्य भेटेकाले त्यसलाई नतन्काउने लेखकको निर्णय स्वागतयोग्य छ । अहिलेको व्यस्त समयमा पाठकको अमूल्य समयलाई बचत गरिदिनु पनि बुद्धिमानी नै हो ।

उपन्यासको कथानाक सामान्य छ र लेखनशैलीसमेत पुरातन शैलीकै छ । रेखिक ढाँचामा लेखिएको यो उपन्यासको भाषा, शैली र प्रस्तुति अत्यन्त सरल र कथानकमा पनि सहज प्रवाह छ । लेखनशैलीमा कुनै प्रयोगको आग्रह नगरिएको यो उपन्यासमा नेपाली समाजको दैनन्दिनको यथार्थलाई टपक्क टिपेर जस्ताको तस्तै प्रस्तुत गरेर सामाजिक परिवर्तनको आवश्यकतालाई औँल्याउन खोजिएको छ । उपन्यास पठनीय छ । एक बसाइमा पढ्न सकिने छोटो आयामको यो उपन्यासबाट पठनको भरपुर आनन्द प्राप्त हुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच