लण्डन । लगातार दुईपटक युरोकप प्रतियोगितामा उपविजेताका रूपमा चित्त बुझाउनुपरेपछि इंग्ल्याण्डको राष्ट्रिय टोलीका प्रशिक्षक गारेथ साउथगेटले अप्रत्यासित रूपमा आफ्नो पदबाट राजीनामा दिनुभएको छ । यसै साता जर्मनीमा सम्पन्न युरोकपको फाइनलमा इंग्ल्याण्डको टोली स्पेनसँग एक-दुई गोलले पराजित भएको थियो । युरोकपको फाइनलमा पराजित भएसँगै विश्व फुटबलमा प्रभावशाली प्रशिक्षकको छवि बनाउनुभएका ५३ वर्षीय साउथगेट आलोचकहरूको निशानामा पर्नुभएको थियो ।
प्रशिक्षक साउथगेटले लगातार दुईपटक इंग्ल्याण्डलाई युरोकपको फाइनलमा पुर्याउनुभएको थियो । यसअघि इंग्ल्याण्डको टोली सन् २०२० मा सम्पन्न युरोकपको फाइनलमा इटालीसँग पेनाल्टी सुटआउटमा ३-२ गोलले पराजित भएको थियो । आठ वर्षअघि जिम्मेवारी सम्हाल्नुभएका ५३ वर्षीय साउथगेटको प्रशिक्षकत्वमा इंग्ल्याण्डले कुल एक सय दुई खेल खेलेको थियो । उहाँ सन् २०१६ मा इंग्ल्याण्डको राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षक बन्नुभएको थियो । उहाँको पछिल्लो सम्झौता अवधि आगामी डिसेम्बरमा सकिने थियो । ‘पहिले खेलाडी र त्यसपछि प्रमुख प्रशिक्षकका रूपमा इंग्ल्याण्डको राष्ट्रिय टोलीमा सहभागी हुन पाउनु मेरा लागि गौरवको विषय हो,’ आफ्नो राजीनामामा उहाँले भन्नुभएको छ ।
उहाँले प्रशिक्षकको भूमिकामा पनि राष्ट्रिय टोलीको स्तर उकास्न आफूले सकेजति प्रयास गरेको बताउनुभयो । ‘मैले प्रशिक्षकको भूमिकामा पनि सकेजति गरेँ । अब टोलीमा परिवर्तन आवश्यक छ । त्यसैले मैले यो जिम्मेवारी त्याग गर्ने निर्णय लिएको हुँ,’ उहाँले भन्नुभयो । फुटबल एसोसिएसन (एफए) ले पनि प्रमुख प्रशिक्षक साउथगेटले राजीनामा दिएको समाचारको पुष्टि गरेको छ । साउथगेटले प्रमुख प्रशिक्षकको जिम्मेवारी सम्हालेयता ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा इंग्ल्याण्डको प्रदर्शन सन्तोषजनक रहृयो । उहाँको प्रशिक्षकत्वमा इंग्ल्याण्डले ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा एकपछि अर्को उत्कृष्ट नतिजा निकालेको थियो । उहाँले लगातार दुईपटक इंग्ल्याण्डलाई युरोकपको फाइनलमा पुर्याउनुभएको थियो । उहाँकै प्रशिक्षकत्वमा इंग्ल्याण्ड सन् २०१८ मा फिफा विश्वकपको सेमिफाइनलसम्म पुगेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच