
चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेका दुई बस र बसमा सवार यात्रुको खोज तथा उद्धार कार्यमा शनिबारदेखि भारतीय टोली पनि परिचालन भएको छ । भारतीय नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ) को १२ सदस्यीय टोली शनिबार खोजतलासका लागि घटनास्थल आइपुगेको हो । खोजतलासमा परिचालन हुनुअघि भारतीय टोलीले जिल्ला प्रशासन कार्यालय चितवनमा प्रमुख जिल्ला अधिकारीसहित यहाँका सुरक्षा निकायका अधिकारीहरूसँग छलफल गरेको थियो । छलफलपछि प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले टोलीमा रहेका १२ जनामध्ये चारजना गोताखोर रहेको जानकारी गराउनुभयो । शनिबार टोलीले विपद् व्यवस्थापन शिक्षालय कुरिनटारका उद्धारमा खटिएकासँग छलफल गरेपछि काम सुरु गरेको उहाँले बताउनुभयो । उहाँले नेपालका जस्तै नदी भारतमा पनि रहेको जनाउँदै उस्तै प्रकृतिका नदीमा खोजतलास गर्न समस्या नहुने बताउनुभयो ।
धमिलो र उच्च बहावका नदीमा खोजतलास कार्य भारतमा गरेको भन्दै उहाँले यहाँ काम गर्न सकिने बताउनुभयो । सुनौली नाका हुँदै नेपाल भित्रिएको टोली भैरहवामा बसेर शनिबार चितवन आइपुगेको थियो । पानीमुनि खोजतलासमा प्रयोग हुने यन्त्र उपकरणलगायत सेटसहित उनीहरू आएका छन् । उनीहरूले तीनवटा अत्याधुनिक सोनार उपकरण पनि ल्याएको यादवले जानकारी दिनुभयो । ती उपकरणले पानीभित्र ३० फिट तलसम्म हेर्न मिल्ने जानकारी दिनुभयो । टोली सात दिनसम्म रहने उहाँको भनाइ छ । नेपालको स्रोत साधनले बसको अवस्था पत्ता लगाउन नसकेपछि सरकारले खोजीका लागि अन्तर्राष्ट्रिय उद्धार टोली मगाएको हो । गृह मन्त्रालयले परराष्ट्रमार्फत भारतीय उद्धार टोली मगाएको थियो ।
यही असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौंबाट गौर जान आउँदै गरेको बागमती प्रदेश ०३-४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस चितवनको सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीमा यात्रु बेपत्ता भएका थिए । उक्त बसमा सवार ६५ जनामध्ये तीन जना सकुशल निस्किएका थिए भने ६२ बेपत्ता भएका थिए । शनिबारसम्म २५ जनाको शव फेला पारिएको छ भने १७ जनाको सनाखत भएका छन् । अझै ३७ यात्रुको दुईवटै बसको अवस्था पत्ता लाग्न सकेको छैन ।
विपद्मा ज्यान गुमाएका परिवारलाई दुई लाखका दरले राहत निकासा
मनसुनी विपद्मा परी ज्यान गुमाएका ६९ जनाका परिवारलाई मापदण्डअनुरूप दुई लाख रुपैयाँका दरले राहत वितरणका लागि जिल्ला विपद् व्यवस्थापन कोषमा निकासा गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिलेसम्म मृत्यु भएका ६९ जनाका परिवारका लागि एक करोड ३८ लाख निकासा भएको र उक्त रकमबाट कतिपय जिल्लाले प्रक्रिया पुर्याएर पीडित परिवारलाई राहत वितरण पनि गरिसकेका छन् । मनसुनको अवधिमा सबै प्रकृतिका विपद्मा परेर पछिल्लो समयसम्म १२५ भन्दा बढीको मृत्यु भइसकेको छ । त्यसमा सबैभन्दा बढी बाढीपहिरो र चट्याङका कारण मानवीय क्षति भएको छ । मनसुनका समयमा देशभर परेको भारी वर्षाका कारण विपद्का घटना बढेपछि उच्च जोखिममा रहेका १२५ जनालाई सुरक्षा निकायद्वारा जीवितै उद्धार गर्न सफल भएको पनि प्राधिकरणले जानकारी गराएको छ ।
प्राधिकरणका प्रवक्ता उपसचिव डिजन भट्टराईले ओखलढुंगा, ताप्लेजुङ, कालीकोट र बझाङलगायत जिल्लाबाट हेलिकप्टरमार्फत उद्धार गरिएको पनि जानकारी दिनुभयो । शुक्रबार मात्रै गएको एक महिनामा भएको मनसुनी विपद्को अवस्था प्रतिवेदन सार्वजनिक गर्दै प्राधिकरणले जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समिति, नेपाल रेडक्रसलगायत संघ संस्थाद्वारा प्रभावित परिवारलाई खाद्यान्न तथा गैरखाद्यान वस्तु वितरण गरिएको जानकारी दिएको छ । यसपालि बढी वर्षा हुने आंकलन रहेको थियो । मनसुनको सुरुआत महिनामै भारी वर्षाले जनधनको क्षति गराएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच