काठमाडौं । डेढ वर्षअघि पोखरामा दुर्घटनाग्रस्त भएको यती एअरलाइन्सको जहाजको ब्ल्याक बक्समा सुरक्षित पाइलट र कोपाइलट बीचको कुराकानीको अडियो सार्वजनिक भएपछि उड्डयन क्षेत्र तरंगित बनेको छ । नेपाल ग्राउण्ड जिरो नामक सञ्चार माध्यमबाट सार्वजनिक भएको अडियोको सन्दर्भले संसद्देखि सरकार सम्मको ध्यान खिचेको छ ।
२०७९ साल माघ १ गते काठमाडौंबाट पोखराका लागि उडेको यती एअरलाइन्सको यात्रुवाहक विमान पोखरा विमानस्थलनजिकै दुर्घटना भएको थियो । सो दुर्घटनामा परी चालक दलका सदस्यसहित ७२ जनाको मृत्यु भएको थियो । दुर्घटनालगत्तै सरकारले सत्यतथ्य छानविन गर्न पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरेको नेतृत्वमा पाँच सदस्यीय आयोग गठन गरेको थियो । आयोगले ११ महिना अनुसन्धान गरेर गत पुसमा अनुसन्धान प्रतिवदेन बुझाएको थियो । प्रतिवेदनमा चालकको त्रुटि नै दुर्घटनाको मुख्य कारण भएको औँल्याइको थियो ।
सोही जहाज दुर्घटनामा परी मृत्यु भएका पाइलट कमल केसी र कोपाइलट अञ्जु खतिवडाबीच जहाज दुर्घटना हुनुपूर्व भएको कुराकानीको अडियो सार्वजनिक भएको हो । सो अडियोका आधारमा पाइलट केसीले कोपाइलट खतिवडालाई सबै कन्ट्रोल जिम्मेवारी दिएर आफूले निर्देशन मात्रै दिएको बुझ्न सकिन्छ । अवतरणका लागि प्रयत्न गर्नुभन्दा अगाडि गरिएको संवादका क्रममा कोपाइलट खतिवडाले पाइलट केसीको निर्देशनअनुसार काम गर्नुभएको छ । अडियोको प्रारम्भमै पाइलट केसीले आफूहरू निकै माथि आइपुगेको उल्लेख गर्नुभएको थियो । कोपाइलट खतिवडाका लागि क्याप्टेन पास गर्न अन्तिम उडानका रूपमा रहेकाले पाइलट केसीले सम्पूर्ण कमाण्ड खतिवडालाई नै छोड्नुभएको थियो ।
सामान्यतया दुर्घटनाग्रस्त जहाजको ब्ल्याकबक्समा सुरक्षित अडियो सार्वजनिक गरिँदैन । कानुनी हिसाबले पनि यस्तो काम दण्डनीय हुन्छ । यद्यपि, यती एअरलाइन्सको जहाज दुर्घटनाबारे ककपिटमा भएको अडियो रेकर्ड नै बाहिरिनुले सम्बद्ध निकायको कमजोरी रहेको बुझिन्छ । यस सन्दर्भमा प्रतिनिधि सभामा पनि प्रसंग उठेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले दुर्घटनाग्रस्त जहाजको भ्वाइस रेकर्ड सार्वजनिक हुनु गम्भीर विषय रहेको भन्दै छानविन र कारबाहीको माग गर्नुभयो । ‘२०७९ माघ १ गते भएको यती एअरको ककपिटको भ्वाइस रेकर्ड सामाजिक सञ्जालमा छ्यापछ्याप्ती पाइन्छ । यो कानुनले दिँदैन तर कसरी बाहिर आयो ? सबै साझेदारको ध्यानाकर्षण गराउन चाहन्छु । कडाइका साथ कारबाही होस्’, सांसद झाले प्रतिनिधि सभाको बैठकमा भन्नुभयो ।
गत बुधबार मात्रै पोखराका लागि उडेको सौर्य एअरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै दुर्घटनाग्रस्त भएको थियो । सो दुर्घटनामा परी १८ जनाको मृत्यु भएको थियो । सो दुर्घटनापश्चात् संसदीय समितिमा सांसदहरूले नागरिक उड्ययन प्राधिकरणको नेतृत्वको राजीनामा माग गरेका थिए । यही पृष्ठभूमिमा यती एअरको ककपिटको अडियो टेप सार्वजनिक हुनु सामान्य घटना नभएको सांसदहरूको भनाइ छ । ‘सौर्य एअरको दुर्घटनामा नागरिक उड्ययन प्राधिकरणको पनि कमजोरी छ भनेर सांसदहरूले प्राधिकरणका महानिर्देशकको राजीनामा माग्नु र यती एअरको अडियो सार्वजनिक हुनु संयोग मात्रै होइन । यसबारे गम्भीर छानविन जरुरी छ’, संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका एक सदस्यले हिमालय टाइम्ससँग भन्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच