काठमाडौं । मुलुकको राजनीतिमा अहिले सबैभन्दा ठूलो संकट नेकपा माओवादी केन्द्रमा देखिएको छ । लगातार नौ वर्ष सरकारमा रहेको माओवादी अहिले प्रतिपक्ष कित्तामा छ । विपक्षी कित्तामा पुगेको कारण नभई आन्तरिक विवाद, दिन प्रतिदिन खिइँदै गएको संगठन र माओवादीप्रति नागरिकको बढ्दो असन्तुष्टिले माओवादी संकटमा परेको हो ।
कहिले कांग्रेस त कहिले एमालेलाई प्रयोग गर्दै निरन्तर झण्डै एक दशक सत्तामा रहन सफल भए पनि पछिल्लो समय सत्ताविमुख भएसँगै माओवादीमा पार्टी संगठन सुदृढीकरणको व्यापक बहस चलिरहेको छ । संसद्को प्रमुख प्रतिपक्षी बेञ्चमा पुगेको माओवादीले यसलाई अवसरका रूपमा व्याख्या गर्ने गरेको छ । पहिलो संविधान सभाको चुनावयता निरन्तर ओरालो यात्रामा रहेको माओवादीलाई अब पुनः २०६४ सालकै जनमतमा पु¥याउने नेताहरूले दाबी गरिरहेका छन् । त्यसको सुरुवात पार्टी संगठनबाटै हुनुपर्नेमा नेताहरूले जोड दिएका छन् ।
सुरुमा पार्टी र पार्टीका अन्य समितिलाई छरितो बनाउनुपर्ने उनीहरूको भनाइ छ । नेता, कार्यकर्ताहरूको दबाब र सुझावअनुसार एक महिनाअघि मात्र सत्ताबाट बहिर्गमित नेकपा माओवादी केन्द्रले पार्टी संरचनामा रहेका विभिन्न समिति भंग गर्ने तयारी गरेको छ । विशेष महाधिवेशन गर्ने उद्देश्यले पदाधिकारी, स्थायी समिति विघटन गर्न लागिएको नेताहरूको दाबी छ । महाधिवेशन गरेको तीन वर्ष र पदाधिकारी चयन भएको दुई वर्ष पनि नपुग्दै ती कमिटी विघटन गर्ने निष्कर्षमा माओवादी पुगेको हो । माओवादीमा अहिले पदाधिकारी, स्थायी समिति, केन्द्रीय समिति, सल्लाहकार, ज्येष्ठ कम्युनिष्ट मञ्च, आयोग, विभाग र प्रदेश गरी आठ संरचना छन् ।
२२ सदस्यीय पदाधिकारीसहित ४३ जना स्थायी समिति सदस्य र ४०७ जना केन्द्रीय सदस्य प्रतिस्पर्धाबिनै चुनिएका थिए । किनकि २०७८ पुस ११ देखि १८ सम्म काठमाडौंमा सम्पन्न आठौँ महाधिवेशनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मात्र निर्वाचित गरेको थियो । २०७९ माघ २५ गते माओवादीले २२ सदस्यीय पदाधिकारी घोषणा गरेको थियो । एक अध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, ६ उमहासचिव, नौ सचिव र एक कोषाध्यक्ष सहितलाई माओवादीले पदाधिकारी भन्ने गरेको छ । अब केन्द्रीय समितिलाई कायम राखेर अन्य कमिटी भंग गर्ने तयारी रहेको बताइएको छ । आगामी साउन २५ गते बोलाइएको स्थायी समिति बैठकबाट सो निर्णय अनुमोदनको तयारी भएको एक पदाधिकारीले भनाइ छ । त्यसपछि केन्द्रीय समिति बैठकले त्यसबारे अन्तिम निर्णय गर्नेछ ।
पदाधिकारी र स्थायी कमिटी भंग गर्ने कुनै तयारी छैन : साह
पार्टी सचिव गणेश साहले भने पदाधिकारी र स्थायी कमिटी भंग गर्ने कुनै तयारी नभएको जिकिर गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘यो विषय हरिबोल गजुरेलजीले राख्नुभएको हो । उहाँले प्रस्ताव ल्याउनुभएको हो । उपमहासचिव पदबाट राजीनामा दिँदै पदाधिकारीहरूले सामूहिक राजीनामा दिनुपर्ने हरिबोलजीको प्रस्ताव हो । एकजनाले प्रस्ताव गर्नेबित्तिकै राजीनामा दिने भन्ने विषय होइन । त्यो उहाँको कुरा हो । अहिले नै पदाधिकारी र स्थायी कमिटी भंग गर्ने विषय होइन । छलफल भएको छैन ।’
साउन ११ देखि १५ गतेसम्म चलेको पदाधिकारी बैठकमा उठेका विषयमा थप छलफलको लागि स्थायी कमिटीको बैठक साउन २५ गतेका लागि बोलाएको छ । त्यसलगत्तै केन्द्रीय कमिटी बैठक बस्ने तयारी छ । पदाधिकारी र स्थायी कमिटीलाई भंग गरेर महाधिवेशनमा जानुपर्ने अधिकांश नेताहरूको जोड रहेको छ ।
विशेष महाधिवेशनबारे बृहत् छलफलमा छौँ : सापकोटा
माओवादी केन्द्रका उपाध्यक्ष एवं पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले विशेष महाधिवेशनबारे बृहत् छलफल हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘विशेष महाधिवेशन गर्ने भनेर छलफल सुरु भएको छैन । तर, कुराहरू उठेका छन् । अब यसबारे छलफल गरेर आवश्यक निर्णय लिन्छौँ । त्यसका लागि साउन २५ गते स्थायी समिति आहृवान गरेका छौँ ।’
गत महाधिवेशनमा अध्यक्ष प्रचण्डले खल्तीबाट नाम अघि सारेकाले अधिकांश प्रभावशाली नेताहरू सन्तुष्ट छैनन् । महासचिवमा वर्षमान पुन र जनार्दन शर्माबीच टकराव बढ्दा प्रचण्डले देव गुरुङलाई ल्याउनुभएको थियो । अधिकांशले नेताहरूले विधान र विधिअनुसार पार्टी चलाउनुपर्छ भनेर अध्यक्ष प्रचण्डलाई दबाब दिइरहेका छन् । माओवादीले फागुन १ देखि ३ सम्म काठमाडौंमा विधान अधिवेशन गरेको थियो । विधान अधिवेशनले सबै कमिटी प्रत्यक्ष निर्वाचनबाट चुनिने र तिनलाई सानो आकारको बनाउने निर्णय गरेको थियो । त्यसबेला असारदेखि भदौसम्म विशेष महाधिवेशन गर्ने घोषणा गरे पनि त्यसलाई सारिएको थियो । अब फागुनतिर विशेष महाधिवेशन हुनसक्ने बताइएको छ । विभिन्न पार्टीबीचको एकता, पार्टी प्रवेश गरेका नेताहरू समेटिएकोले पार्टीले विशेष महाधिवेशन गर्ने भएको हो ।
विशेष महाधिवेशनअघि माओवादीले केही महिना संगठन सुदृढीकरण अभियान चलाउने जानकारी दिँदै पार्टी सचिव दीनानाथ शर्माले भन्नुभयो, ‘अब स्थायी समितिको बैठक बस्छ, त्यसपछि केन्द्रीय समितिको बैठक गरिन्छ । केन्द्रीय समितिबाट नयाँ योजना र कार्यक्रम बनाएर संगठन, महाधिवेशन, विचार निर्माण सँगैसँगै लिएर जाने मोटामोटी समझदारी भएको छ ।’ सबै कमिटी सानो आकारको बनाउने माओवादीको तयारी छ । लगातार सत्तामा केन्द्रित हुँदा पनि संगठन झन् कमजोर भएको भन्दै एकपटक फेरि नयाँ अभियान लिएर जाने विषयमा पदाधिकारी सहमत भएका छन् ।
अध्यक्ष प्रचण्डमाथि दबाब
पार्टी अध्यक्ष प्रचण्डमाथि पछिल्लो समय सत्ताकेन्द्रित भएको आरोप पार्टी भित्रबाटै पनि लाग्दै आएको छ । भर्खरै सम्पन्न पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डको नेताहरूले चर्को आलोचना थिए । लामो समयदेखि एकलौटी नेतृत्वमा रहनुभएका प्रचण्डको विकल्पमा जानुपर्ने विषयमा पनि माओवादीमा बहस सुरु भएको छ । यद्यपि, तत्काल प्रचण्डको विकल्प खोज्नेगरी पार्टीमा छलफल नभएको प्रवक्ता अग्नि सापकोटको दाबी छ । महासचिव देव गुरुङले संगठन सञ्चालन गर्न नसक्ने आवाज पार्टीभित्र उठिरहेको छ । केही नेताहरूले कांग्रेस र एमालेजस्ता बलिया संगठन भएका पार्टीसँग मुकाबिला गर्न जानकार र प्रभावशाली महासचिव हुनुपर्ने भन्दै अध्यक्ष प्रचण्डलाई निरन्तर दबाब दिइरहेका छन् । नेताहरूले आफ्नो चर्को आलोचना गरेपछि पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डले जनताको समस्या बुझ्न देश दौडाहमा जाने बताउनुभएको थियो । माओवादी केन्द्रका सचिव चक्रपाणि खनालले पदाधिकारी बैठकमा नेताहरूको कार्यशैलीको विषयमा कुरा उठेको पुष्टि गर्दै भन्नुभयो, ‘कार्यशैलीको विषयमा कुरा नउठेको होइन, उठ्यो । सरकार सञ्चालन, नियुक्तिको विषयमा छलफल गरेर प्राथमिकता कहाँ थियो त्यसमा जोड पुगेन भन्ने विषयमा कुरा उठेका छन्, तर व्यक्ति नै तोकेर कसैको बारेमा उठेन । नीतिको विषयमा कुरा उठेका हुन् ।’
उपमहासचिव शर्माको समानान्तर गतिविधि
नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं प्रभावशाली नेता जनार्दन शर्मा पार्टी अध्यक्ष प्रचण्डको कार्यशैलीसँग सर्वाधिक असन्तुष्ट रहनुभएको छ । यदाकदा शर्माले पार्टी विभाजन गर्ने तयारी गर्न थालेको समेत चर्चा चल्ने गरेको छ । तर, शर्मानिकट स्रोतका अनुसार शर्मा भने पार्टी विभाजन गर्ने मनस्थितिमा छैनन् । पार्टीभित्रै समानान्तर गतिविधि अगाडि बढाउने, आफ्नो गुट र स्वीकार्यतालाई फराकिलो पार्ने र उचित अवसरमा नेतृत्वका लागि पहलकदमी लिने शर्माको मनस्थिति रहेको निकट नेताहरूको भनाइ छ ।
शर्माले देशव्यापी रूपमा पार्टीभित्रका सम्भावनायुक्त युवा नेतासँग संवाद गर्ने, पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलनलाई धैर्यतापूर्वक बदल्ने, अध्यक्ष प्रचण्डसँग सहकार्य र संघर्ष सँगसँगैको सम्बन्धमा रहने रणनीति बनाएका छन् । प्रचण्डको नेतृत्वमा अब माओवादी पार्टी लामो समय अघि बढ्न नसक्ने, प्रचण्डले बाध्य भएर नेतृत्व हस्तान्तरण गर्नुपर्ने दिन केही वर्षभित्रै आउने जनार्दन समूहको निष्कर्ष छ ।
एकीकृत समाजवादीको केन्द्रीय कमिटी ३४३ सदस्यीय
नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले पार्टीकोे केन्द्रीय कमिटी संख्या बढाएर ३४३ बनाएको छ । विधानअनुसार बनाइएको ‘क्लस्टर’का आधारमा कार्यदलले केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेको छ । प्रस्तावित नामलाई केन्द्रीय कमिटीले अनुमोदन गरेको छ । पार्टीमा २९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएको छ ।
असार तेस्रो साता भएको महाधिवेशनमा अध्यक्ष, सम्मानित नेता र महासचिवसहित तीन पदाधिकारीसहित ९० केन्द्रीय सदस्य घोषणा गरिएको थियो । पार्टीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल सदस्य रहेको कार्यदललाई पार्टीका सातै प्रदेशले केन्द्रमा पठाएको सिफारिशका आधारमा केन्द्रीय सदस्यको नामावली तयार पारिएको बताइएको छ । केन्द्रीय कमिटीले पूर्णता पाएपछि पदाधिकारी छनोट गरिने नेकपा एसले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच