काठमाडौं । नेपालले सन् २०२६ मा अल्पविकसित राष्ट्र (एलडिसी) समूहबाट स्तरोन्नति हुँदाका चुनौती न्यूनीकरण गर्न बृहत्तर दृष्टिकोण अपनाउनुपर्ने बताइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि युरोपियन युनियन नेपाल व्यापार तथा लगानी कार्यक्रम (टिआइपी) को सहयोगमा हालै गरिएको नेपालको एलडिसी ग्रेजुएसनः डब्लुटिओ दायित्वमा प्रभाव कम गर्न व्यापार नीतिमा सुधारसम्बन्धी अध्ययनमा उक्त कुरा उल्लेख छ ।
नेपालका लागि कानुनी र नियामक ढाँचामा सुधार गर्नुपर्ने, संस्थागत कार्यविधिमा सुधार गर्नुपर्ने, मानव संसाधनको क्षमतामा सुधार गर्नुपर्ने, निर्यात बजारलार्ई विविधिकरण गर्नुपर्ने र अन्तर्राष्ट्रिय सहकार्यलाई बलियो बनाउनुपर्ने, गैरभन्सार अवरोध हटाउन राष्ट्रिय क्षमताको सुदृढीकरण, राष्ट्रियस्तरको विकास, प्रमुख व्यापार साझेदारसँग पारस्परिक मान्यता सम्झौता, नेपाल व्यापार एकीकरण रणनीतिले प्राथमिकतामा राखेका उत्पादन प्रवद्र्धन, स्तरोन्नति भएका अन्य देशका अनुभवलगायतमा ध्यान दिनुपर्ने अध्ययन प्रतिवेदनले औंल्याएको छ ।
स्तरोन्नतिपछि आइपर्ने चुनौती आफ्नो हित अनुकूल अन्तर्राष्ट्रिय व्यापारबाट लाभ लिने क्षमता कायम राख्न नेपालले कानुनी र नीतिगत सुधारलाई तीव्रता दिनुपर्ने र संस्थागत एवं मानव संसाधन क्षमता बलियो बनाउनुपर्ने सार्वजनिक-निजी संवाद कार्यक्रममा सहभागीले बताएका छन् ।
कार्यक्रममा उद्योग मन्त्रालयका सचिव कृष्णबहादुर राउतले नेपालको स्तरोन्नति तयारीका सम्बन्धमा निजी क्षेत्रले उठाएका चासो र दिएका सुझावप्रति सरकार गम्भीर रहेको बताउनुभयो भने सहसचिव देवराज जोशीले एलडिसीबाट स्तरोन्नति नेपालका लागि चुनौती र अवसर दुवै हुने भन्दै नेपालले व्यापारसम्बन्धी नीति र कानुनमा सुधार जारी राख्न आवश्यक रहेको बताउनुभयो । अध्ययन प्रतिवेदनको मस्यौदा प्रस्तुत गर्दै पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझाले कृषि, अनुदान, बौद्धिक सम्पत्तिको अधिकार र व्यापार सहजीकरण सम्झौतासम्बन्धी सम्झौतालगायत विश्व व्यापार संगठनका नयाँ दायित्व पालना गर्न सक्ने क्षमता नेपालमा हुनुपर्ने बताउनुभयो ।
अन्तर्राष्ट्रिय व्यापार केन्द्रका अन्तर्राष्ट्रिय विज्ञ अभिजित दासले स्तरोन्नतिसँगै नेपालले अन्तर्राष्ट्रिय व्यापारका कडा नियम सामना गर्नुपर्ने तथा भन्सार सुविधा गुमाउने जोखिमबारे सचेत गराउँदै एलडिसीबाट संक्रमण सहज हुने सुनिश्चित गर्न आवश्यक कार्ययोजना बनाई तयारी थाल्नुपर्नेमा जोड दिनुभयो । नेपाल महिला उद्यमी महासंघकी अध्यक्ष शोभा ज्ञवालीले नेपाल स्तरोन्नतिका लागि अझै परिपक्व नभएको भन्दै महिला व्यवसायीले अन्तर्राष्ट्रिय व्यापारमा अधिकतम् फाइदा लिन सक्ने गरी तयारीका लागि महिला क्षमता बढाउन र सार्वजनिक निजी संवाद व्यापक बनाउन आवश्यक रहेको बताउनुभयो । निजी क्षेत्रका प्रतिनिधिहरूले उत्पादन तथा निर्यात लागत अन्य देशको तुलनामा बढी रहेका कारण नेपाली व्यवसायीको प्रतिस्पर्धात्मक क्षमता कम हुन गएको, नेपाली उद्योग जोखिममा जान सक्नेबारे विश्लेषण तथा प्रमुख गन्तव्य मुलुकसँग नेपाली वस्तुका लागि विशेष सुविधाका लागि आग्रह गर्नुपर्ने सुझाव दिएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच