नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शुक्रबार आफ्नो तीन वर्षे कार्यकालको उपलब्धि सार्वजनिक गर्र्नुभएको छ । घिसिङले सार्वजनिक गर्नुभएको तथ्यांक अनुसार पछिल्लो तीन वर्षमा नेपालको विद्युत् क्षेत्रले ठूलै फड्को मारेको देखिन्छ । विगतमा देशले दैनिक १८ घण्टासम्मको लोडसेडिङ सामना गर्नुपरे पनि पछिल्लो दशक ऊर्जा क्षेत्रमा नेपालले महत्वपूर्ण उपलब्धि हासिल गरेको हो ।
आर्थिक वर्ष २०७२/७३ मा ५८ र तीन वर्षअघि ८९.७ प्रतिशत रहेको विद्युतीकरण हाल ९९ प्रतिशत पुगेको छ । त्यसैगरी आठ वर्षअघि २९ लाख ७० हजार रहेका विद्युत् ग्राहक संख्या हाल सामुदायिकसहित ५९ लाख ३५ हजार पुगेको र छिट्टै देश पूर्णरूपमा विद्युतीकरण भएको घोषणाको चरणमा रहेको छ । आठ वर्षअघि प्रतिवर्ष तीन अर्ब ७२ करोड युनिट विद्युत् खपत हुने गरेकामा हाल १० अर्ब २३ करोड युनिट पुगेको छ भने प्रतिव्यक्ति ऊर्जा खपत एक सय ३१ युनिटबाट बढेर चार सय युनिट पुगेको छ । विद्युत् खपत बढाउन विद्युतीय सवारीसाधन प्रवद्र्धन तथा प्रोत्साहन गर्न प्राधिकरणले आफैं ६२ चार्जिङ स्टशेन निर्माण गरी सञ्चालनमा ल्याएको छ भने निजी क्षेत्रबाट निर्माण गरिएका चार सयभन्दा बढी चार्जिङ स्टेशन रहेका छन् । विद्युतीय चुल्होको प्रवद्र्धनमार्फत एलपी ग्यास प्रतिस्थापनमा जोड दिइएको छ ।
प्राधिकरणले आर्थिक वर्ष २०७८/७९, २०७९/८० र २०८०/८१ मा क्रमशः १३ अर्ब ३४ करोड, नौ अर्ब ४२ करोड र १३ अर्ब ३१ करोड खुद नाफा कमाएको छ । आम्दानीतर्फ आर्थिक वर्ष २०७८/७९, २०७९/८० र २०८०/८१ मा क्रमशः ८७ अर्ब १५ करोड, एक खर्ब तीन अर्ब र एक खर्ब १६ अर्ब रहेको छ भने सम्पत्ति आर्थिक वर्ष २०७८/७९, २०७९/८० र २०८०/८१ मा क्रमशः पाँच खर्ब २२ अर्ब, पाँच खर्ब ७७ अर्ब र छ खर्ब ३२ अर्ब रहेको छ । त्यस्तै प्राधिकरणले सरकारको कोषमा साँवा व्याज, आयकर, रोयल्टी गरी आर्थिक वर्ष २०७८/७९, २०७९/८० र २०८०/८१ मा क्रमशः नौ अर्ब ७४ करोड, १५ अर्ब ७० करोड र १० अर्ब ७० करोड जम्मा गरेको छ ।
विगतमा विद्युत् चुहावट गम्भीर चुनौतीका रुपमा रहँदै अएकोमा पछिल्लो समय प्राधिरणकरणले विद्युत् चुहावट नियन्त्रणमा पनि सफलता प्राप्त गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा १७.३८ प्रतिशत रहेको विद्युत् चुहावट आर्थिक वर्ष २०८०/८१ सम्म आइपुग्दा १२.७३ प्रतिशतमा झरेको छ ।
प्राधिकरणले विद्युत् उत्पादन र वितरणतर्फको पूर्वाधारमा पनि ठूलो लगानी गरेको छ । आठ वर्षअघिसम्म विद्युत् वितरणतर्फका वितरण सबस्टेसन ८० वटा रहेकामा अहिले झण्डै दुई सय अर्थात् एक सय ९७ पुगेका छन् भने सबस्टेसन क्षमता छसय ४० एमभिएमात्र रहेकोमा दुई हजार पाँच सय एमभिए पुगेका छन् । वितरण लाइनतर्फ आठ वर्षअघि एक लाख २१ हजार सर्किट किलोमिटर रहेकामा दुई लाख आठ हजार सर्किट किलोमिटर पुगेको छ । प्राधिकरण, प्राधिकरणका सहायक कम्पनी र निजी क्षेत्रका विद्युत् आयोजना गरी कुल जडित क्षमता तीन हजार एक सय ५७ मेगावाट पुगेको छ । बिगत तीन वर्षमा मात्र १७ सय छ मेगावाट प्रणालीमा थप भएको छ भने जडित क्षमतामा सबैभन्दा बढी करिब ९५ प्रतिशत अर्थात् २९ सय ९१ मेगावाट योगदान जलविद्युत्कै रहेको छ ।
देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय प्रतिस्पर्धी बजारको डे–अहेड र रियल टाइम मार्केट र मध्यकालीन सम्झौताबमोजिम पनि विद्युत् निर्यात भइरहेको छ । विद्युत् निर्यात परिमाण हरेक वर्ष बढिरहेका छ । नेपालले औपचारिक रूपमा विद्युत् निर्यात नोभेम्बर २०२१ बाट सुरु गरेको थियो । निर्यातको मात्रा बढ्दै गएर गत आर्थिक वर्ष एक अर्ब ९४ करोड युनिट विद्युत् निर्यात गरी १७ अर्ब आठ करोड आम्दानी भएको छ । वर्षायाममा दैनिक सात सय मेगावाटभन्दा बढी विद्युत् निर्यात भइरहेको छ । तथापि सुख्खायाममा नदीमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जलविद्युत् गृहहरूबाट विद्युत् उत्पादन घट्ने हुँदा माग धान्न भारतबाट विद्युत् आयात पनि हुने गरेको छ । गत आर्थिक वर्ष भारतबाट एक अर्ब ९१ करोड युनिट अर्थात् १६ अर्ब ९३ करोड रुपैयाँबराबरको आयात भएको थियो । नेपालको स्वच्छ हरित ऊर्जा छिट्टै बंगलादेश पनि निर्यात हुँदैछ । जसका लागि आवश्यक गृहकार्य पूरा गरी नेपाल, भारत र बंगलादेशका निकायबीच त्रिपक्षीय सझौता हुने चरणमा रहेको छ ।
ऊर्जा क्षेत्रमा बढ्दो स्वदेशी तथा विदेशी लगानीकै कारण नेपाल लोडसेडिङमुक्त मात्रै नभई ऊर्जा निर्यातको चरणमासमेत प्रवेश गर्न सफल हुनु महत्वपूर्ण उपलब्धि मान्नुपर्छ । निर्यातमात्रै नभई ऊर्जा उत्पादनसँगै आन्तरिक खपत पनि बढ्नु अर्थतन्त्रको अर्को सबल पक्ष हो । हुन त उल्लेखित उपलब्धि प्राधिकरण वा कार्यकारी निर्देशक घिसिङको एकल प्रयासको मात्रै उपज होइनन् तर पनि उहाँको कुशल व्यवस्थापकीय योगदनलाई भने नकार्न मिल्दैन । नेपालको जलविद्युत्ले औद्योगीकरण र आयात प्रतिस्थापनलगायत समग्र क्षेत्रमा महत्वपूर्ण टेवा पुर्याउने भएकाले आगामी दिनमा पनि प्राधिकरण वा घिसिङले जस्तै सरकार तथा अन्य सरोकारवाला निकायले यसको प्रवद्र्धनमा भूमिका खेल्न आवश्यक छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच