
काठमाडौं । विगत एक दशकयता विश्वस्तरमै धेरै प्रकारका संक्रामक रोगले गम्भीर चुनौती सिर्जना गरिरहेका छन् । सन् २०१९ को अन्त्यबाट सुरु भएको कोभिड-१९ महामारीले विश्वभर स्वास्थ्य संकट पैदा गरेको थियो । कोभिड महामारीलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको थियो । कोभिड हाल करिब नियन्त्रणमा छ । तर, अहिले फेरि अर्को रोग मंकीपक्सको संक्रमण बढिरहेको छ । अफ्रिकी महाद्वीपबाट सुरु भएको मंकीपक्सको संक्रमण तीव्र गतिमा विश्वका अन्य महाद्वीपमा पनि पुगिसकेको छ । अफ्रिका बाहिरका देशहरूमा पनि एमपक्सका घटनाहरू देखिएका छन् । गतसाता मात्रै पाकिस्तानमा मंकीपक्स संक्रमणको पहिलो केस भेटिएको थियो । स्विडेनमा पहिलोपटक मंकीपक्सको संक्रमण पुष्टि भएको छ । स्विडेन र पाकिस्तानपछि मंकीपक्स फिलिपिन्समा पनि देखापरेको छ । सोमबार फिलिपन्समा पनि मन्कीपक्स संक्रमित फेलापरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । फिलिपिन्समा भेटिएको यो पहिलो केस हो ।
डब्ल्युएचओले गत साता मंकीपक्सलाई ‘पब्लिक हेल्थ इमर्जेन्सी’ घोषणा गरेको थियो । डब्ल्युएचओले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेसँगै मंकीपक्स भाइरसबारे त्रास फैलिएको छ । विश्व स्वास्थ्य संगठनले अफ्रिकामा भइरहेको एम्पक्सको वृद्धिलाई १४ अगष्ट २०२४ मा विश्वव्यापी जनस्वास्थ्य आपतकालका रूपमा घोषणा गरेको थियो । यसअघि अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले यसलाई सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको थियो ।
नेपालमा भने पछिल्लोपटक मंकीपक्सको संक्रमण भेटिएको छैन । तर, गत वर्षको असारमा पहिलोपटक मंकीपक्स (एमपक्स) को संक्रमण पुष्टि भएको थियो । हाल संक्रमण नदेखिए पनि नेपाल पनि मंकीपक्सको उच्च जोखिममा रहेको छ । सरकारले नै मंकीपक्स संक्रमणको जोखिममा नेपाल रहेको जनाएको छ । छिमेकी देशहरू मंकीपक्स भाइरसको संक्रमणको जोखिममा रहेकाले नेपाल पनि सतर्क रहनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
छिमेकी देशमा दु्रत रूपमा फैलिरहेकाले जोखिम रहेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताउनुभयो । ‘नेपालमा अघिल्लो वर्ष एकजना विदेशी ६० वर्षीया महिलामा मंकीपक्स संक्रमण देखिएकाले पनि नेपाल जोखिम नरहेको भन्न सकिँदैन,’ उहाँले भन्नुभयो । यो बिफर समूहसँग सम्बन्धित छ, तर योभन्दा धेरै कम हानिकारक छ । तर, यसको नयाँ भेरियन्ट अधिक घातक भएको डब्ल्युएचओको ठहर छ । क्लेड–१ भनेर चिनिने भाइरसको तुलनात्मक रूपमा नयाँ स्ट्रेन २०२२ देखि अफ्रिकी देशहरूमा फैलिरहेको थियो । अफ्रिकाको कंगोमा हालसम्म मंकीपक्स (एमपक्स) भाइरसबाट ५४८ जनाको मृत्यु भइसकेको र छिमेकी देशहरूमा पनि दु्रत रूपमा फैलिने क्रममा छ ।
‘क्लेड–१’ मध्य अफ्रिकाको स्थानीय हो । उही समयमा मंकीपक्स फैलिएको ‘क्लेड आइबी’ नयाँ र अधिक संक्रामक छ । मंकीपक्स पहिले जनावरबाट मानिसमा सर्ने गरेको भए पनि अहिले मानिसबाट मानिसमा पनि सर्ने गरेको छ । यो भाइरस केन्या, रुवाण्डा, युगाण्डा र बुरुण्डीजस्ता छिमेकी देशहरूमा पनि फैलिएको छ । नयाँ स्ट्रेन सजिलै फैलिन सक्ने विज्ञहरूले बताएका छन् ।
लक्षणहरू के-के हुन् ?
यो भाइरसको प्रारम्भिक लक्षणमा ज्वरो आउने, टाउको दुख्ने, सुन्निने, ढाड दुख्ने र मांसपेशी दुख्नेजस्ता हुन् । जब ज्वरो कम हुन्छ, शरीरमा दागहरू देखा पर्दछन्, जुन प्रायः अनुहारबाट सुरु हुन्छ र शरीरको अन्य भागहरूमा फैलिन्छ । यी दानाहरूले थप चिलाउने वा दुःखाइ हुनसक्छ । संक्रमण सामान्यतया आफैँ समाधान हुन्छ र १४ देखि २१ दिनसम्म रहन्छ । गम्भीर अवस्थामा, शरीरभरी र विशेष गरी मुख, आँखा र जननांगहरूमा घाउहरू देखा पर्छन् ।
कसरी सर्छ ?
मंकीपक्स संक्रमित व्यक्तिको नजिकको सम्पर्कबाट फैलिन्छ । यौनसम्पर्क र छालादेखि छालाको सम्पर्कबाट यो भाइरस बढी सर्छ । यो भाइरस आँखा, श्वासप्रश्वास प्रणाली, नाक वा मुखमा फुटेको छालाको माध्यमबाट शरीरमा प्रवेश गर्नसक्छ । संक्रमित व्यक्तिले प्रयोग गरेको ओछ्यान, कपडा र तौलियाजस्ता वस्तुहरू छोएर पनि बाँदरको पोक्स फैलिन सक्छ । यो भाइरस संक्रमित जनावरहरूको सम्पर्कमा आएर पनि हुनसक्छ ।
संक्रमणबाट बच्न के गर्ने ?
एमपक्स शंका वा पुष्टि भएको व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने, संक्रमित व्यक्तिलाई घर वा अस्पतालमा आइसोलेसनमा राख्ने, संक्रमित व्यक्तिको हेरचाह गर्ने तथा पूर्ण रूपमा जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्छ । सामान्यतया यो आफैँ ठीक भएर जाने भाइरल रोग हो । मंकीपक्सको फैलावट नियन्त्रण गर्ने सबैभन्दा राम्रो उपाय खोप लगाउनु हो । यसको लागि खोप छ, तर यो जोखिममा रहेका वा संक्रमित व्यक्तिको नजिक रहेका व्यक्तिहरूलाई मात्र उपलब्ध छ । डब्ल्युएचओले भर्खरै औषधि उत्पादकहरूलाई भ्याक्सिनको आपतकालीन प्रयोगको लागि अगाडि आउन र यी खोपहरूलाई आवश्यक पर्ने देशहरूमा लैजान आग्रह गरेको छ तर, यसलाई औपचारिक रूपमा स्वीकृत गरिएको छैन । डब्लुएचओका अनुसार यो रोगको मृत्युदर ११ प्रतिशतसम्म पनि पुग्छ । साना बालबालिकामा मृत्युदर उच्च रहेको छ । हालको समयमा मृत्युदर लगभग ३.६ प्रतिशत छ । झण्डै दश संक्रमितमध्ये एकको भने जटिलताको कारणले मृत्यु हुने देखिएको संक्रामक रोग विशेषज्ञहरू बताउँछन् ।
सबै प्रदेशमा अस्पताल र चिकित्सक तोकिसकेका छौँ : डा. बुढाथोकी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंकीपक्सको जोखिम न्यूनीकरण गर्न तयारी थालेको छ । मंकीपक्सको विषयमा विज्ञसँग सुझाव लिइसकेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताउनुभयो । यसबारे जानकारीका लागि कल सेन्टर १११५ सञ्चालनमा रहेको उहाँले जानकारी दिनुभयो । साथै, हवाई तथा जमिनका नाकामा रहेका हेल्थ डेस्क तथा सरुवा रोगहरूको निगरानी (सर्बिलेन्स) गर्ने तीनै तहका निकायलाई सतर्क गराएको उहाँले बताउनुभयो । ‘पूर्व-तयारीस्वरूप स्वास्थ्य तथा जनसंख्या र सबै प्रदेशमा यस रोगको निदान तथा व्यवस्थापनका लागि अस्पताल र चिकित्सक तोकिसकेका छौँ,’ डा. बुढाथोकीले भन्नुभयो । उहाँका अनुसार मन्त्रालयले सातवटै प्रदेशमा रोगको रोकथाम र व्यवस्थापनका लागि अस्पताल र चिकित्सक तोकेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच