वैदेशिक रोजगारीमा गएका वडाध्यक्ष फर्काउन माग

ताप्लेजुङ । यहाँको सिरिजङ्गा गाउँपालिकाका-३ का स्थानीयवासीले वैदेशिक रोजगारीमा गएका वडाअध्यक्ष फर्काउन माग गरेका छन् । एकवर्षदेखि वडाअध्यक्षविहीन बनेका वडाबासीले वडाध्यक्ष नहुँदा वडाबाट प्रवाह हुने सेवा तथा विकासका गतिविधि प्रभावित भएको गुनासो गरेका छन् ।

वडाध्यक्ष दिलप्रसाद बोखिम विसं २०८० कात्तिक २४ गते वैदेशिक रोजगारीका लागि हङकङ जानुभएको थियो । त्यसपछि कार्यवाहक अध्यक्षमार्फत् वडाका काम गरिए पनि स्थानीयवासीले विकासको गति सुस्त भएको गुनासो गरेका हुन् । वडा अध्यक्षको खोजी गरेर वडा कार्यालयमा कार्य सम्पादन गर्न माग राख्दै गत असोज ५ गते स्थानीयवासीले गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाएका थिए ।

वडाध्यक्षको अनुपस्थितिमा वडाका अन्य जनप्रतिनिधिले समन्वय गरी योजना कार्यान्वयन गर्न कठिनाई भएको उनीहरुको भनाइ छ । गत साता स्थानीयले गाउँपालिका अध्यक्षलाई तत्काल वडाध्यक्षलाई फर्काउन वा काम गर्न नसक्ने अवस्थामा राजीनामा दिन माग राख्दै पुनः ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्रमा भनिएको छ, “जनताको प्रतिनिधित्व गर्ने आधारमा संविधान कार्यान्वयन गर्ने व्यक्ति गैरजिम्मेवार हुँदा कसरी विकास हुन्छ ? वडामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधीविहीन अवस्था कस्तो हुन्छ ?” उनीहरुले वडाका समस्या तत्काल समाधान नगरे आन्दोलन गर्न बाध्य हुने चेतावनीसमेत दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?