काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्र र सिमिटको संयुक्त आयोजनामा काठमाडौंमा नेपालमा लघु, साना तथा मझौला कृषि उद्यमको स्थिति, अवसर र चुनौती विषयक राष्ट्रिय कार्यशाला गोष्ठी आयोजना गरिएको छ । सो अवसरमा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मुलुकको अति नै महत्वपूर्ण विषय लघु, साना तथा मझौला कृषि उद्यमका अवसर र चुनौती विषयक कार्यशाला गोष्ठी आयोजनाप्रति खुसी व्यक्त गर्दै सरकारले पनि कृषि क्रान्तिका लागि कृषि दशक २०८१-२०९१ मनाउन लागेको जानकारी गराउनुभयो । गोष्ठीको निष्कर्ष कृषि दशकका लागि मार्गदर्शक बन्न सकोस् भन्ने कामनासमेत उहाँले गर्नुभयो ।
महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कार्यशालाले नेपालमा क्रियाशील लघु, साना तथा मझौला उद्यमीले भोगिरहेका समस्यामाथि छलफल हुने र ती समस्याको निराकरण गर्न सबै पक्ष मिलेर कार्य गर्ने वातावरण निर्माण हुने आशा लिएको बताउनुभयो । महासंघले सदैव लघु, साना तथा मझौला उद्यमीलाई केन्द्रमा राखेर कार्य गरिरहेको र यसमा पनि महासंघको कृषि क्षेत्र हेर्ने गरी स्थापना भएको कृषि उद्यम केन्द्रले कृषि क्षेत्रका लघु, साना तथा मझौला उद्यमीका लागि स्थापनाकालदेखि नै कार्य गर्दै आएको उहाँले जानकारी गराउनुभयो । युएसएडको सहयोगमा सिमिटद्वारा सञ्चालित नेपाल सिड एण्ड फर्टिलाइजर(एनएसएएफ)ले लघु, साना तथा मझौला उद्यमलाई सहयोग कार्यक्रम सञ्चालनका लागि महासंघसँग सहकार्य गरेकोमा उहाँले धन्यवाद दिनुभयो ।
कृषि तथा पशुपन्छी मन्त्रालयका सहसचिव सवनम शिवाकोटीले सरकारले घोषणा गरेको कृषि लगानी वर्षमा गोष्ठीमा उठान भएका विषयवस्तु समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सिमिटका आवासीय प्रतिनिधि एवं परियोजना संयोजक डा. द्युतीमान चौधरीले सिमिटले लामो समयदेखि मकै बालीलगायतको क्षेत्रमा कार्य गर्दै आइरहेको र केन्द्रसँगको सहकार्यमा सञ्चालित परियोजनाको परिणाम राम्रो आएको बताउनुभयो । इकोनोमिक ग्रोथ अफिस युएसएड नेपालका उपनिर्देशक जुडिथ आल्मोडोभरले पनि नेपाल बिउ तथा मल परियोजना÷सिमिट र केन्द्रसँगको सहकार्यमा भएको कामको परिणाम प्रभावकारी देखिएको बताउनुभएको थियो ।
राष्ट्रिय सहकारीका अध्यक्ष ओमदेवी मल्लले नेपालमा सहकारीको १८ क्षेत्र भए तापनि १७ अन्य कार्य भइरहेको र एउटाबाट कृषि सहकारीको काम हुने गरेको जानकारी दिनुभयो । सहकारीबाट उत्पादित चिया एवं दूधको बजारीकरणमा समस्या भए तापनि अन्य उत्पादनको अन्तर्राष्ट्रिय व्यापार सफल रहेको उहाँको भनाइ थियो । वार्षिक पाँच मेट्रिक टनभन्दा बढी कफी विदेश निर्यात हुने गरेको र तीन अर्बभन्दा बढी जडीबुटीको वार्षिक कारोबार हुने गरेको, सहकारीमार्फत् सञ्चालित लघु, साना तथा घरेलु उद्योग पाँच सयभन्दा बढी सफल रहेको, सहकारीमार्फत् कोप मार्ट सुरुवात भएको उहाँले जानकारी दिनुभएको थियो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले देशको रोजगारीको सबैभन्दा धेरै हिस्सा ओगटेको लघु, घरेलु तथा साना उद्योगको योगदानको चर्चा गर्दै सर्टिफिकेसनमा रहेको समस्या समाधानमा पहल भइरहेको, रैथाने बाली प्रवद्र्धनमा सरकारले सहयोग गरिरहेको, इन्नोभेटिभ कामलाई पुरस्कृत गर्ने परिपाटी विकास भएको जानकारी दिनुभएको थियो । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति कुसुमदेवी थापाले नेपाल कृषि प्रधान देश भए तापनि कृषिमा आत्मनिर्भर हुन नसकेकोमा दुःख व्यक्त गर्दै कृषिमा क्रान्तिको आवश्यकता आँैल्याउनुभयो । उहाँले कृषि क्षेत्रमा रहेको समस्या सबै कृषि विधेयकमा समेट्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । दुईदिने कार्यशालामा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका साथै देशका विभिन्न जिल्लाका कृषि उद्यमी तथा जिल्लास्तरका उद्योग वाणिज्य संघका प्रतिनिधिको सहभागिता थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच