मौद्रिक नीति खुकुलो बनाउनुपर्छः अर्थमन्त्री

Read Time = 7 mins

विराटनगर । अर्थतन्त्रमा आएको शिथिलता अहिलेको मूलभूत समस्या भएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताउनुभएको छ । आगामी आर्थिक वर्ष ०८०/०८१ को बजेट एवं राजस्व नीति तर्जुमाका सन्दर्भमा आयोजित कोशी प्रदेशस्तरीय कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । नेपाल राष्ट्र बैंकतर्फ संकेत गर्दै शिथिलता के कारण आयो, निजी क्षेत्र जानकार रहेको अर्थमन्त्री महतले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अर्थतन्त्रको दुईवटा महत्वपूर्ण नीतिगत पाटो छ, एउटा मौद्रिक नीति हो भने अर्को वित्तीय नीति हो, मौद्रिक नीतिको जिम्मेवारी राष्ट्र बैंकलाई दिएको छ । राष्ट्र बैंकलाई स्वतन्त्ररूपमा काम गर्ने अधिकार छ । एउटा परिवेशमा राष्ट्र बैंकबाट मौद्रिक नीतिलाई कसिकसाउ गरियो । कति कसिकसाउ गर्नुपथ्र्यो, कति गर्नुहुँदैन थियो, त्यो अर्को विषय हो ।’ विगतमा मौद्रिक नीति कसिलो बनाइए पनि अब भने खुकुलो गर्न जरुरी भएकाले राष्ट्र बैंकको नेतृत्वलाई आफूले जानकारी गराइसकेको उहाँले बताउनुभयो । राष्ट्र बैंक नेतृत्वले पनि उक्त विषय गम्भीरताका साथ लिएको र चाँडै एउटा निर्णयमा पुग्ने विश्वास दिलाएको अर्थमन्त्री महतले बताउनुभयो ।

ब्याजदरले समस्या सिर्जना गरेको भन्दै उहाँले मौद्रिक नीतिमार्फत् बजारमा पुँजी प्रवाह गर्न र उद्योग व्यवसायलाई मद्दत गर्न जरुरी रहेको बताउनुभयो ।

अर्थमन्त्री महतले भन्नुभयो, ‘वित्तीय नीतिको नेतृत्व मैले गरिरहेको छु, पुँजीगत खर्चको प्रतिशत न्यून छ । अहिले ३० प्रतिशतको मात्र कुरा आएको छ । यसको प्रभावकारिता बढाउन जरुरी छ । हाम्रो ठेक्का प्रक्रियामा समस्या छ, साइट क्लियरेन्सका कुरा आएको छ, समस्यामा निर्णय नहुँदा उत्पन्न हुने समस्या छ । सबै क्लियरेन्स नभई ठेक्का लाग्यो, अब काम होला भनेर सबैले पर्खेर बसे, काम अघि बढ्दैन । साइट क्लियरेन्स नहुँदा यो समस्या आउँछ । वैदेशिक सहयोगमा आएको कतिपय आयोजनालगायत स्वदेशी लगानीका आयोजनासमेत अघि बढ्न सकेका छैनन् । त्यसले गर्दा पुँजीगत खर्चमा समस्या आएको हो ।’

आगामी दिनमा त्यस्ता आयोजनालाई मध्यनजर गर्दै अघि बढ्नुपर्ने उहाँले बताउनुभयो । वर्षको अन्तिम त्रैमासिकमा मात्रै ठेक्का लगाउन जुर्मुराउने परम्परा गलत भन्दै पहिलो दिनबाटै काम सुरु गर्न सबै मन्त्रालयसँग छलफल भइरहेको उहाँले बताउनुभयो । मन्त्री महतले भन्नुभयो, ‘बजेटको निकै नजिक म अर्थमन्त्री भएर आएँ, संविधानतः बजेट प्रस्तुत गर्न एक महिनामात्र बाँकी छ । समस्याका धेरै पाटा र चाङ छन् । समस्या सबै समाधान गरेर धेरै कुरा पूरा गर्न सक्छु भनेर म दाबी गर्दिनँ । समस्या समाधानमा मेरो इमान्दार कोसिस हुनेछ, समर्पित भएर म काम गर्दैछु । कसरी हामी एकाकार भएर अर्थतन्त्रमा देखिएका समस्या, अवरोध, शिथिलता हटाउने म इमान्दार प्रयास गर्नेछु ।’

उहाँले राज्य संयन्त्रमा समस्या रहेको स्वीकार गर्दै समस्या समाधानका लागि सहकार्यमा जोड दिनुभयो । चुनौती पार गर्न सबैले संयम भएर कामको सुरुवात गर्नुपर्ने, आफ्नो जिम्मेवारीप्रति गम्भीर हुनुपर्ने, कुरा कम र काम बढी गर्नुपर्ने उहाँको भनाइ थियो । मन्त्री महतले निजी क्षेत्रलाई पनि आफ्ना समस्याको जगमा पुगेर बुँदागतरूपमा सल्लाह सुझाव दिन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘औद्योगिक प्रारम्भ भएको ठाउँ हो, विराटनगर । प्रतिनिधिमूलक सल्लाह सुझाव हुन्छ भनेर म यहाँ आएको हुँ, प्रत्यक्षरूपमा सल्लाह सुझाव राख्न नसक्ने साथीहरूका लागि यहाँका प्रतिनिधिमूलक संस्थाबाट ती विचार र सुझावको प्रतिनिधित्व भएको छ भन्ने मलाई विश्वास छ ।’

कामका आधारमा कर्मचारीको मूल्यांकन
सोही अवसरमा अर्थमन्त्री महतले कर्मचारीको मूल्यांकन कामका आधारमा हुने भन्दै जिम्मेवारी इमान्दार, पारदर्शी र समर्पणसाथ पूरा गर्न निर्देशन दिनुभएको छ । बिहीबार विराटनगर भन्सार निरीक्षणका क्रममा उहाँले कर्मचारीहरूलाई यस्तो निर्देशन दिनुभएको हो । मन्त्री महतले भन्नुभयो, ‘कुनै पनि तहमा माथि देखाएर जिम्मेवारी दुरूपयोग गर्ने अथवा अनुचित काम गर्ने छुट कसैलाई छैन ।

भन्सार चुहावट गर्ने प्रवृत्तिलाई हामी क्षमा दिँदैनौँ, मलाई विश्वास छ, तपाईंहरूले राम्रो गर्नुहुनेछ, राम्रो गर्न कोसिस गरिराख्नुभएको छ । यो आर्थिक वर्ष असारसम्ममा भन्सार असुलीको प्रतिशत निकै बढ्ने मैले अपेक्षा गरेको छु, राजस्व बढाउन हामीले करदातालाई अनावश्यक दुःख दिनुहुँदैन । तर, नियम कानुनले दिएको छ, त्यसमा कर्मचारीले कार्यान्वयन गर्न चुक्नुहुँदैन भनेर अनुरोध गर्छु ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?