
काठमाडौं । भारतको दिल्ली राज्यको नयाँ मुख्यमन्त्री आतिशी बन्ने हुनुभएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालको राजीनामापछि आतिशी नयाँ मुख्यमन्त्री बन्ने हुनुभएको हो । आम आदमी पार्टीको मंगलबार बसेको विधायक दलको बैठकले आतिशीलाई नयाँ मुख्यमन्त्री बनाउने निर्णय गरेको छ । आम आदमी पार्टीका सांसद गोपाल रायले विधायक दलको बैठकले सर्वसम्मत रूपमा आतिशीलाई मुख्यमन्त्रीका रूपमा अघि सारिएको बताउनुभयो ।
मुख्यमन्त्री केजरीवाल जेलमा रहेका बेला आतिशीले सरकारको मुख्य ‘पोर्टफोलियो’ सम्हाल्नुभएको थियो । शिक्षासमेत मुख्य विभाग सम्हाल्नुभएकी आतिशीलाई केजरीवालको विश्वास पात्रका रूपमा हेरिन्छ । यसअघि नयाँ मुख्यमन्त्रीका लागि कैलाश गहलोत, गोपाल राई र सौरभ भारद्वाजको नाम पनि चर्चामा थिए । तर, आपको विधायक दलको बैठकले आतिशीको नाम अनुमोदन गरेको हो । २६ र २७ सेप्टेम्बरमा विधानसभाको सत्र बोलाइएको छ ।
१३ सेप्टम्बरमा शराब नीति (रक्सी) केसमा सुप्रिम कोर्टले केजरीवाललाई ससर्त जमानत दिएको थियो । उहाँ रिहाइ भएलगत्तै १५ सेप्टेम्बरमा मुख्यमन्त्री पद छोड्ने घोषणा गर्नुभएको थियो । उहाँले अब जनताले आफू इमानदार रहेको या बेइमान रहेको फैसला गर्ने बताउनुभयो । जनताले निर्वाचन जिताएपछि मात्र आफू मुख्य मन्त्री बन्ने उहाँले घोषणा गर्नुभएको छ ।
केजरीवाल र मनिष सिसोदियाको सर्वाधिक नजिक रहेर काम गर्नुभएकी आतिशीले केजरीवाल र सिसोदिया जेलमा हुँदा पार्टीलाई मञ्जबुत रूपमा एकताबद्व बनाउनुभएको थियो ।
उहाँले सिसोदिया जेलमा हुँदा शिक्षासहित महत्वपूर्ण ६ मन्त्रालय समाल्नुभएको थियो । साथै उहाँ २०१३ को पार्टीको घोषणा पत्र बनाउँदा टिममा रहनुभएको थियो । पार्टीमा संलग्न भएयता उहाँ निरन्तर क्रियाशील रहँदै आउनुभएको छ । आतिशी सन् २०२० विधानसभा चुनावमा पहिलोपटक विधायक निर्वाचित हुनुभयो र २०२३ मा केजरीवाल सरकारमा पहिलोपटक मन्त्री बन्नुभएको थियो । त्यसको एक वर्षपछि २०२४ मा उहाँ मुख्यमन्त्री बन्न लाग्नुभएको हो । उहाँ दिल्लीको कालकाजी क्षेत्रकी विधायक हुनुहुन्छ ।
आतिशी दिल्लीको मुख्यमन्त्री हुने तेस्रो महिला हुनुहुन्छ । यसअघि सुष्मा स्वराजले १९९८ मा ५२ दिन दिल्लीको मुख्य मन्त्री पद समाल्नुभएको थियो भने शीला दीक्षित १९९८ देखि २०१३ सम्म लगातार तीनपटक मुख्य मन्त्री बन्नुभएको थियो ।
को हुन् आतिशी ?
सन् १९८१ मा जन्मिनुभएकी आतिशी दिल्ली विश्वविद्यालयका प्रोफेसर विजयकुमार सिंह र तृप्ता वाहीकी छोरी हुनुहुन्छ । उहाँले दिल्लीको स्प्रिङडेल्स स्कुलमा अध्ययन गर्नुभएको हो । स्टीफन्स कलेजबाट इतिहास पढनुभएको उहाँले अक्सफोर्ड विश्वविद्यालयबाट स्नातकोत्तर गर्नुभएको छ । पछि आतिशीले आन्द्र प्रदेशको ऋषि भ्याली स्कुलमा पढाउनुभयो । उहाँ अग्र्यानिक खेती र शिक्षा प्रणालीसँग सम्बन्धित काममा सक्रिय हुनुभयो । पछि उहाँ भोपाल आउनुभयो । त्यहाँ उहाँले धेरै एनजिओमा काम गर्नुभयो । यसैक्रममा उहाँ आम आदमी पार्टी र प्रशान्त भूषणको सम्पर्कमा आउनुभएको थियो । उहाँ अन्ना आन्दोलनको समयदेखि संगठनमा सक्रिय हुनुहुन्छ । हाल आम आदमी पार्टीको प्रमुख अनुहारमध्ये एक हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच