
इलाम । कुरा शुक्रबारको हो । यातायात व्यवस्था सेवा कार्यालय इलाममा मोटरसाइकलको चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल परीक्षा थियो । कार्यालय परिसर वरपर परीक्षा दिनेको भिड नै लागेको थियो । कोही परीक्षा पास गरेर एक अर्कामा खुसी साटासाट गरिरहेका थिए त कोही फेल भएर फेरि अर्कोपटक थप मिहिनेत गरेर आउने खबर साटासाट गर्दै थिए । परीक्षास्थलको त्यही भिडमा हुनुहुन्थ्यो उमेरले ७३ वर्ष पुग्नुभएका दुर्गाप्रसाद घिमिरे । उहाँ पनि ट्रायल परीक्षा दिन आफ्नो पालो पर्खंदै हुनुहुन्थ्यो ।
केही दिन अघि मात्र इलामस्थित इलामेली अटोमोबाइल ट्रायल सेन्टरमा मोटरसाइकल सिक्न आउँदा उहाँको तस्बिर सामाजिक सञ्जालमा भाइरल नै बनेको थियो । त्यसैले पनि उहाँले ट्रायल दिने दिनमा समेत सबैको नजरमा परिरहेका थिए । पाको शरीर भए पनि दृढ इच्छा शक्ति बोकेर लाइसेन्स लिएरै मात्र घर फर्किने संकल्प गरेर घरबाट निस्किनुभएका घिमिरेले मोटरसाइकलकोे चालक अनुमति पत्र (लाइसेन्स) लिन सफल हुनुभएको छ । ताप्लेजुङ जिल्ला फुङ्लिङ नगरपालिका-८ घर हुनुभएका घिमिरेले लिखित र प्रयोगात्मक (ट्रायल) परीक्षा उत्तीर्ण गरेर चालक अनुमति पत्र (लाइसेन्स) लिन सफल भएको यातायात व्यवस्था सेवा कार्यालय इलामका प्रमुख खग्रेन्द्रप्रसाद मैनालीले बताउनुभयो । मैनालीले भन्नुभयो, ‘शरीर बुढो भएर केही हुन्न इच्छा शक्ति भयो भने सफल बन्न केहीले छैक्दैन त्यसैको उदाहरण बन्नुभएको छ दुर्गाप्रसाद घिमिरे ।’ मैनालीले लाइसेन्स लिन सफल हुनुभएको प्रमाण हस्तारतरण गर्दै घिमिरेलाई बधाईसमेत दिनुभयो ।
यता, २०६० सालमा मोटरसाइकल सिकेर कुदाउन थाले पनि अहिलेसम्म लाइसेन्स भने नभएको बताउने घिमिरे लिखित र प्रयोगात्मक परीक्षा पास भएपछि खुसी हुनुभएको छ । घिमिरेले भन्नुभयो, ‘लामो प्रयासपछि जीवनको एक महत्वपूर्ण सफलता हात पार्न सफल भए त्यो नै मेरो लागि ठूलो कुरा हो । इलाममा यातायात कार्यालय स्थापना भएर लाइसेन्स वितरण सुरु भएपछि मात्र मलाई थाहा भयो ६० बर्ष माथिकाले पनि लाइसेन्स लिन पाइन्छ भन्ने कुरा । त्यसपछि फारम भरे परीक्षा दिए आज पास पनि भए । नत्र गाँउघरमा ६० वर्षमाथि लाइसेन्स लिन पाइँदैन भन्ने हल्लाकै भरमा बसिरहेको थिए । तर, त्यसो होइन रहेछ भन्ने थाहा पाएपछि इलाम आएको हुँ ।
२० वर्षसम्म सरकारी सेवामा काम गर्नुभएका घिमिरे इलाममा परीक्षा दिन आउँदा नातिलाई साथमा लिएर आउनुभएको थियो । गाविस सचिवका रूपमा काम गरेर अवकाश प्राप्त घिमिरे लाइसेन्स प्राप्त गरेपछि खुसी हुँदै शुक्रबार नै घर फर्किनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच