बुटवल । धादिङको झ्याप्ले खोलामा शुक्रबार राति पहिरोमा धेरै सवारीसाधन पुरिए । केहीले भागेर ज्यान जोगाउन सफल भए भने केही त्यही पहिरोमा पुरिन पुगे । त्यही पहिरोमा पुरिएर दुईजना दाजु बहिनीले समेत ज्यान गुमाउन पुगे । उनीहरू हुन्, स्याङ्जाको गल्याङ नगरपालिका-३ स्थायी घर भएका जुम्ल्याहा दाजुबहिनी १५ वर्षीय दीपेश र दीपिका भट्टराई ।
स्याङ्जा स्थायी घर भए पनि उहाँहरू बुटवलको योगीकुटीमा बसेर देशकै ठूलो सामुदायिक विद्यालय कालिका मानव ज्ञान माविमा कक्षा १० मा पढ्दै हुनुहुन्थ्यो । पढाइमा तीक्ष्ण दुवै विद्यालयसहित बाहिर हुने विभिन्न प्रतियोगितामा पनि भाग लिनुहुन्थ्यो । त्यही क्रममा एस्ट्रोनोमी ओलिम्पियाड सोसाइटीले काठमाडौंमा असोज १७ गते नेसनल एस्ट्रोनोमी ओलिम्पिया प्रतियोगिता आयोजना गरेको थियो । दाजु बहिनीले अनलाइबाटै फर्म भर्नुभएको थियो । उहाँहरू पहिलो चरणको २०२४ को प्रतियोगिताका लागि छनोट भएको खबर आयो ।
काठमाडौंबाट पहिलो चरणमा छनोट भएपछि दोस्रो चरणका लागि बंगलादेशमा हुने प्रतियोगितामा सहभागी हुन पाइन्थ्यो । बंगलादेशमा हुने प्रतियोगितामा ३२ राष्ट्रका विद्यार्थी सहभागी हुन्थे । बंगलादेशमा विजेता बन्ने विद्यार्थी अन्य प्रतिस्पर्धाका लागि अमेरिका जान पाउँथे । प्रतियोगिता जितेर अमेरिका पुग्ने सपना बोकेर काठमाडौं आउँदै गर्दा उहाँहरू सवार लु१ज ४५७८ नम्बरको माइक्रो बस धादिङको झ्याप्ले खोलामा शुक्रबार राति पुरिन पुग्यो र उहाँहरूको सपना पनि ।
उहाँहरू आमा सीतासँगै शुक्रबार बुटवलबाट काठमाडौंका लागि हिँड्नुभएको थियो । उक्त दुर्घटनामा आमा सीतासँगै १४ जना यात्रु त्यहीँ अस्ताए, जसमा चालकसमेत समावेश थिए । कालिका मानवज्ञान माध्यमिक विद्यालयका प्राचार्य दिनेश थापाका अनुसार दीपेश र दीपिका आफैँ ‘कन्फ्रेन्सको फारम’ भएर छनोट भएका थिए । ‘कार्यक्रम यही असोज १७ गते हो,’ थापाले भन्नुभयोे, ‘सायद काठमाडौंमा पढ्ने दाइ दिदीसँग पनि भेटघाट गर्ने मनसायले दुई/चार दिनअघि नै गएको हुनुपर्छ ।’ उनीहरूले यही वर्ष हुने एसइई परीक्षामा ४ जिपिए ल्याउने विद्यालयको अपेक्षा थियो । उनीहरू कक्षा ४ बाट यही विद्यालयमा पढिरहेका थिए, प्राचार्य थापाले भन्नुभयो ।
उनीहरूका दाइदिदी पनि यहीँबाट ‘पास आउट’ भएका हुन्,’ थापाले भन्नुभयोे, ‘कक्षा शिक्षकसँग बिदा मागेर गएका हुन् । आमा सीता पनि स्कुलमा आएपछि विद्यालयले केही आर्थिक सहयोग गरेर पठाएको थियो । कर्णधार भाइबहिनी अस्ताए । हामी ठूलो पीडामा छौँ ।’ दीपेश-दीपिकाका बुवा होमनाथ भट्टराई विगत पाँच वर्षदेखि दक्षिण कोरियामा मजदुरी गर्दै आउनुभएको छ । श्रीमती र छोराछोरी बुटवलबाट यात्रा तय गर्ने क्रममा उहाँसँग कुराकानी भएको थियो । तर, होमनाथ कामबाट फर्किंदा गाडी पुरिएको खबर पुग्यो ।
विद्यालयका शैक्षिक संयोजक दीपक बञ्जाडेले नेपाल एस्ट्रोनोमिकल सोसाइटीको आयोजनामा काठमाडौंमा नेसनल एस्ट्रोनोमी ओलम्पियार–२०२४ को पहिलो सेसन सकाएर दोस्रो चरणमा बंगलादेश जाने तयारीका लागि उनीहरू काठमाडौं गएको बताउनुभयो । सीताका मामा नगेन्द्रराज पाण्डेले भाञ्जा (होमनाथ)को परिवार पहिरोको विपत्तिमा परेको भन्दै दुःख व्यक्त गर्नुभयो । ‘विशाल सपना बोकेर हिँडेका बाबु नानीलाई पहिरोले खोस्यो,’ पाण्डेले भन्नुभयोे, ‘भाञ्जालाई नेपाल बोलाएका छौँ । दीपेश-दीपिकाका दाजुदिदी काठमाडौं बसेर पढ्छन् । तीक्ष्ण क्षमताका बाबुनानी कलिलै उमेरमा अस्ताए । हामी शव कसरी ल्याउने भन्ने छलफलमा छौँ ।’ पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले पनि बुटवलले ठूलो मानवीय क्षति व्यहोर्नुपरेको वताउनुभयो ।
कालिका मानवज्ञान माविका प्रधानाध्यापक दिनेश थापाका अनुसार दुवै विद्यालयका उत्कृष्ट विद्यार्थी हुन् । उनीहरूसँगै कालिका मानवज्ञान विद्यालयबाट सोही प्रतियोगितामा सहभागी हुन अन्य चार विद्यार्थी पनि गएका छन् । असोज १७ गतेको प्रतियोगिता भए पनि अन्य विद्यार्थी त्यसअघि नै काठमाडौं पुगिसकेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच