
यति बेला देश बाढी पहिराको चपेटामा परी थिलथिलो भएको छ । देशको पश्चिम क्षेत्रलाई छोडेर मध्यक्षेत्र र पूर्वी क्षेत्र बढी थिलथिलो बन्न पुगेको छ । सबैभन्दा बढी पीडित त काठमाडौं उपत्यका नै भएको छ र यसका वरिपरि निकटका स्थान बाढी र पहिरोका चपेटामा परेका छन् । यसले गर्दा धनजनको क्षति त भएकै छ साथै अबको केही दिनसम्म अवागमनमा पनि कठिनाइ हुने भएको छ । मौसम खुल्दै जानथालेको हुनाले बिस्तारै अवस्था सहज बन्दै जाला तर यही बेला दशैँको आगमन पनि भइरहेको हुँदा मानिसलाई उपत्यकाबाट बाहिर र बाहिरबाट उपत्यका आउजाउ गर्नुपर्ने बाध्यता छ । बाढीपहिरोमा परेर ज्यान गुमाउन पुगेका आफन्तहरूका शव बुझ्नका लागि पनि तिनीहरू घटना भएका स्थान र अन्तिम संस्कार गरिने ठाउँहरूसम्म जानुपर्ने बाध्यता छ ।
एकातिर यस्तो पीडा अर्कातिर बाटो अवरुद्ध भएको र चाडपर्वको बेलासमेत परेको कारण मानिसलाई हवाईजहाज चढेर भए पनि निश्चित ठाउँमा पुग्नै परेको छ । तर, सेवा प्रदायक हवाई कम्पनीहरूले यही बेला हवाई भाडामा भारी मात्रामा वृद्धि गरेका कारण सबैलाई मार परेको छ । यसबाट केही प्रश्नहरू सिर्जना हुनपुगेका छन् । नेपालमा सञ्चालनमा रहेको हवाई कम्पनीहरूको देशप्रतिको नैतिक दायित्व छ कि छैन ? यदि भएको भए सामान्य अवस्थामै पनि दशैँ तिहारजस्ता महान् चाडपर्वको समय पारेर यसरी भाडा वृद्धि गर्नु हुँदैनथ्यो । यस्ता द्रूत सेवाप्रदायक कम्पनीहरूले पर्वहरूको सन्दर्भ पारेर त सके विभिन्न प्रकारका सहुलियत दिनुपथ्र्यो नसके साविकको अवस्थालाई मात्र कायम राख्ने प्रयास गरेको भए पनि हुने थियो तर त्यसो गर्न सकेनन् ।
ती कम्पनीहरूको यस्तो निर्णयलाई जायज हो भन्न कसैले पनि सक्दैन । हो, सबैलाई थाहा छ । यस्ता हवाई कम्नीहरू व्यापारिक प्रयोजनले खडा गरिएका हुन् । तिनको व्यावसायिक लक्ष रहेको हुन्छ । कहाँबाट कसरी नाफा आर्जन गर्न सकिन्छ भनेर तिनले हेर्ने गर्छन् । त्यसलाई अन्यथा मान्न मिल्दैन तर तिनले सीमित मात्रामा, अवस्था र परिस्थितिलाई हेरेरमात्र भाडा बढाएको भए तिनले आलोचना खेप्नुपर्ने थिएन । हुन त नेपालका हरेक क्षेत्रमा अनियमितता र शोषण गर्ने कार्य भइरहेकै छन् । यसलाई धेरैले लुटतन्त्रको संज्ञा पनि दिने गरेका छन् तर व्यवसाय गरेर आर्जन गर्ने उद्देश्यलाई लुट भन्न नमिल्ला तैपनि हवाइ कम्पनीहरूको यो दशैँका मुखमा र देश बाढीपहिरोबाट थिलथिलो भएको अवस्थामा आएको यस्तो निर्णयलाई सान्दर्भिक मान्न सक्ने अवस्था छैन । हवाई कम्पनीहरूका पनि आफ्ना तर्क होलान् । कुनै कम्पनी घाटामा होलान्, कुनैको ठूलो परिमाणमा बैंकमा ऋण होला, यस्तो अवस्था नभए पनि कम्पनीहरू नाफा कमाउनकै लागि स्थापना गरिएका हुन्छन् ।
सरकारलाई तिर्नुपर्ने करको मात्रा पनि निकै ठूलै राशिमा तिर्नुपर्ला । यस्तो अवस्थामा व्यावसायिक प्रयोजनले स्थापना गरिएका यस्ता कम्पनीहरूले सेवाको दृष्टिले काम गर्ने हो भने बिस्तारै यी कम्पनीहरू बन्द हुँदै जनेछन् । विमान किनेर ल्याएको पैसा पनि कुनै कम्पनीहरूको भुक्तानी भइनसकेको अवस्था पनि होला । केही कम्पनी बन्द भइसकेका छन् भने केहीको आर्थिक अवस्था राम्रो छैन । पर्वतीय र चार्टर उडानबाहेक पर्वतीय यात्रुबाहक उडानहरू बन्द भइसकेका छन् । पहाडी गाउँघरसम्म मोटर बाटो पुगेर सेवा सञ्चालन भएपछि पहाडका आकर्षण र यात्रीहरूका भरपर्दा यातायातका साधान हवाईजहाज हालका दिनहरूमा त्यताबाट एक प्रकारले अघोषित रूपमा विस्थापित भइसकेका छन् ।
तराईका सुविधासम्पन्न ठाउँमा हवाईजहाज चढेर यात्रा गर्नेहरू हुनेखाने वर्गका मानिसमात्र हुन्छन् भन्ने सोच हवाई कम्पनी तथा अन्य मानिसको समेत रहने गरेको छ । यो सोच धेरै हदसम्म सही हो तर यस धारणालाई शतप्रतिशत सही मान्न सकिँदैन । आपतविपत परेर जरुरी काम पर्दा हवाई यात्रा गर्नुपर्ने बाध्यता सबैका लागि आइपर्छ । त्यस कारण तराईका जिल्लामा हवाईजहाजबाट यात्रा गर्नेहरू पनि सबै सम्पन्न नै हुन्छन् भन्ने छैन । यी यावत कुराहरूलाई ध्यानमा राखेर हवाइ कम्पनीहरूले हालै गरेको हवाई भाडा वृद्धिको निर्णय खारेज गर्नु उचित हुन आउँछ ।
हुन त उक्त कम्पनीहरूले यस निर्णयलाई हाल स्थगित गरेको घोषणा गरेका छन् तर स्थगित निर्णय भनेको पुनः निर्णय गरेर लागू गर्ने अवस्थामा रहिरहेको हुन्छ । यस निर्णयको खारेजी गरेको खण्डमा यात्रीहरूले केही मात्रामा राहतको महसुस गर्लान् । अर्कोतिर भाडा बढाउने अवस्था भए थोरै प्रतिशतले वृद्धि गर्ने हो भने एकै पटक ठूलो राशिको वृद्धिको मार यात्रीहरूले खेप्नुपर्ने छैन । आममानिसहरूको चाहना अनुसार र सरकारले समेत हालका लागि नबढाउनु भन्ने निर्देशन दिएका कारण हाल यो निर्णय स्थगित गरिएको हो । राम्ररी अनुगमन गरेर कम्पनीको अवस्था, राष्ट्रका कानुनहरू, यात्रीहरूका चाहना सबैलाई हेरेरमात्र आगामी दिनमा भाडा वृद्धिको निर्णय गर्नु उचित हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच