
भनिन्छ जहाँ चाह त्यहाँ राह । म भ्रमणप्रिय मान्छे शाखा अधिकृत छँदा गृहमन्त्रालय छाडेर पर्यटनमा सरुवा मागगरी आएको त हिमालतिरको यात्रा गर्ने सुअवसर जुर्यो । एउटा जापानी टिम ग्याचुङकाङ हिमाल आरोहण गर्न सरकारसँग अनुमति लिएको रहेछ । त्यो टिमसँग लाइजन अफिसरको दायित्व सम्हाल्न सक्ने एउटा सरकारी अफिसरको खोजी भइरहेको थियो । अनि मन्त्रालयले मलाई बोलाएर तपाईंलाई जापानी टिमसँग जान लाइजन अफिसरका लागि छनौट गरिएको छ । त्यो टिमले ग्याचुङकाङ हिमालको आरोहण साउथ फेसबाट गर्ने भनि अनुमति लिएको छ ।
सो कुरा र अरू नेपाल सरकारको नियमकानुन उलंघन गर्न नपाउन ती सबै कुराहरूको निगरानी राख्ने तपाईंको जिम्मेवारी हुनेछ । साथै टिमलाई कुनै कुराको आवश्यक सहयोग र मद्दत चाहिने भएमा र त्यो उचित छ भन्ने लागेमा तपाईंले सरकारको सम्बन्धित निकायसँग समन्वय गरी सहयोग गर्नुहोला । यस्तो मौखिक आदेश दिँदै पत्रमा भने तपाईंलाई जापानी टिमसँग लाइजन अफिसरको जिम्मेवारीमा खटाइएको छ उक्त टिमसँग जानुभई आफ्नो जिम्मेवारी सम्हाल्नुहोला मात्र लेखेर दिइएको थियो ।
एक दिन भाग्यबस ती दुई अग्ला डाँडाबीचको साँगुरो पास छिचोल्दै प्लेन फुत्त लुक्ला विमानस्थलमा ओर्लँदा सबैजना हर्षबिभोर हुनपुगेका थियौं । खुशीले टिम सदस्यहरू एकअर्कालाई अँगालो हालिरहेका थिए । मानौँ त्यहाँ अवतरण हुन पाउनु कुनै दुर्लभ काम फत्ते गरेको जस्तै भएको थियो ।
उक्त टिम सन् १९८८ शरद ऋतुमा हिमाल आरोहण गर्न आएको रहेछ । अनि म सम्वत् २०४५ साल भदौ १० गतेदेखि उक्त टिमसँग काजमा खटिएको थिएँ । त्यतिबेला म उमेरले चार दशक पूरा गरी सातको लाइनमा दौडिरहेको थिएँ । पर्बतारोही दलको टिमलिडरसँग सम्पर्क गरी हामी दिनहुँ त्रिभुवन विमानस्थल जाने र फर्कने गर्न थाल्यौं । सोलुखुम्बु जिल्लामा प्रवेश गर्ने दोलखा जिरीको तत्कालीन पैदलमार्ग बाहेक लुक्ला नै अचेल एकमात्र हवाइरुट कायम छ । लुक्ला विमास्थल पुग्नुभन्दा अलिक वरै दुबैतिर अग्लाअग्ला डाँडाहरूको बीचमा रहेका साँघुरा खोँचले यात्रालाई दुष्कर बनाएको छ । हवाईजहाज त्यही खोच (पास) बाट स्पिड कम गर्दै ओर्लँदै ल्याण्ड गर्ने बाध्यता भएकाले हवाईजहाज ल्याण्ड गर्न गाह्रो भएको हो ।
त्यसमाथि भदौको महिना हावाहुरी चल्ने कालो बादल आकाशमा छिनमै जम्मा भएर पानी पर्ने भएर जहाज यहाँ काठमाडौंमा उडाउन सजिलो भए पनि त्यहाँ त्यो खोँच छिचोल्न अति गाह्रो भएर कति दिन त चालकले जहाज उडाउँदै उडाएन । तर, हिमाली भेगको मौसम अहिले ठीक छ भने केही बेरमै बिग्रन बेर लाग्दैन । त्यसै भइरहेर हाम्रो यात्रा कहिले लुक्ला पुग्नपुग्न लाग्दा पनि फर्कनुपर्यो भने कहिले त्रिबिबि एअरपोर्टबाट उड्दा मौसम ठीक थियो भने केही बेर जहाज उडेपछि एक्कासी मौसम बिग्रन गएको खबर पाइलटले पाएपछि बीचबाटै फर्कनुपर्यो ।
यही चक्करमा करिब १०/१२ दिनै बित्यो । यो बिमानस्थलको नाम लुक्ला राखेको सार्थक लाग्यो । धेरैजसो समय लुकेर बस्ने यो बिमानस्थल कुनै बेला छर्लंग खुल्ने संयोगको फायदा उठाइहाल्नुपर्ने नत्र भने यो फेरि लुकी हाल्ला है जस्तो भएर नै यसको नाम लुक्ला राखिएको हुनुपर्छ । तर, एक दिन भाग्यबस ती दुई अग्ला डाँडाबीचको साँगुरो पास छिचोल्दै प्लेन फुत्त लुक्ला बिमानस्थलमा ओर्लंदा सबैजना हर्षबिभोर हुनपुगेका थियौं ।
खुशीले टिम सदस्यहरू एकअर्कालाई अँगालो हालिरहेका थिए । मानौँ त्यहाँ अवतरण हुन पाउनु कुनै दुर्लभ काम फत्ते गरेको जस्तै भएको थियो । ल्याइएका आरोहण र खाद्यसामग्री अनलोड भई त्यहाँको स्थानीय भरियाबाट ओसार्न लगाई होटलमा राख्न लगाएर हामी दन्दनी बलिरहेको अगेनाछेउमा बस्ने र उभिने गर्न थाल्यौँ खाना नखाउन्जेलसम्मका लागि । हिमाली भेग भएर होला लुक्लामा भदौमै जाडो भित्रिसकेको रहेछ । जाडोले गर्दा बाहिरी शरीरमात्र तताएर नपुग्नेहरूले भित्र तताउने जल (सोमरस) को सेवन पनि गर्दैगरेका थिए । केही छिनपछि हामी सबैले खाना खाइवरी रात्रि विश्राम गरेका थियौँ । बिहान सबेरैदेखि बाहिरतिर मानिसहरूले कल्याङमल्याङ गरिरहेको आवाज कानमा परिरहेको थियो । अनि केही बेरपछि उठेर हेर्दा त थुप्रै मानिस मालसामान मिलाउँदै गरेको देखेँ । ती त हाम्रो टिमको सामान बोकेर बेसक्याम्प पुर्याउने ७० जना भरियाहरू पोे रहेछन् भन्ने थाहा पाएँ ।
बिहानको १० वा साढे १० बजेको थियो होला ब्रेकफाष्ट खाइवरी ७० जना भरियासहित हामी २५/३० जना गरी करिब १०० जनाको काफिला लुक्लाबाट लहरै हिँड्दा त सन् २०४७ मा अंग्रेजले हिन्दुस्तानलाई धर्मको आधारमा पाकिस्तान र भारत दुई देशमा विभाजन गरिदिएपछि हिन्दुहरू रुँदैकराउँदै भारत आउन लागेको र मुसलमान अल्ला हो अकबर गुहार गर्दै पाकिस्तान जान लागेको लस्कर जस्तै कारुणिक दृश्य देखिएको थियो । तर, त्यो दृश्य आफ्ना थातथलो त्यसै छाडेर अपरिचित ठाउँ मुलुक र छिमेकमा बस्न जानुको हृदयबिदारक देखिएको थियो भने यो चाहिँ कुनै साहसिक अभियान विजय गर्न गइरहेको उत्साहले भरिएका मानिसको लस्कर थियो ।
नेपालमा रहेका हाम्रा गौरवमय अमूल्य निधि (रत्नहरू) सेताम्यै भई उत्तरी सिमानामा पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मै रहेका अनगन्ती हिमचुचुराहरू छन् । यी चुचुरामध्ये सगरमाथा विश्वकै सर्वोच्च शिखर यिनै हिमश्रृंखलामा पर्ने भएर साहसिक कार्यहरू, दृश्यावलोकन र आरोहणका लागि विश्वलाई नै आकर्षित गरिरहेर विदेशी पर्यटक नेपालमा ओइरिरहेका छन् ।
ती भरियाहरूको निधारमा नाम्लो पिठ्युँमा डोको अनि डोकोभरि मनग्यै गह्रुँगो सामानहरू अगाडि उकालिँदैगरेको साँगुरो बाटो । यस्ता मायालाग्दा दृश्य देख्दा हाम्रो पहाडी जनजीवन कत्तिको कष्टप्रद रहेछ भन्नेकुरा उदांगो भइरहेको थियो । मानिसको निधारमा भनिन्छ त्यहाँ भाग्य बसेको हुन्छ । त्यही डोकाको नाम्लाकोे कालो दाग बसी भाग्य उड्छु भनेर झन्झन् गरिबीको दलदलमा जाकिँदैगएका छन् । डोको र नाम्लो हाम्रो सम्पूर्ण पहाडी जनजीवनको नियति अनि दिनचर्या नै हो । भनिन्छ मिहिनेत नगरी मीठो फल पाइँदैन । जीविकोपार्जन गर्न आफ्ना निधारमा डोकामा नाम्लो लगाई पिठ्युँमा गधा, खच्चर वा चौंरीले झैँ भारी बोकेर उकालीओराली गर्ने आर्थिक असमानताकोे यो गहिरो विकराल खाडल मुलुकमा शताब्दीसम्म ब्याप्त रहेको कुलीनतन्त्रको शोषण उत्पीडनले गर्दा हुन गएकामा दुई मत छैन ।
कुलीनतन्त्रलाई बिदा गरेर पञ्चायत व्यवस्था लादिए पनि जनताको जीजनस्तर सुधार्नेे कुनै काम भइरहेका छैनन् । क्षेत्रीयस्तरमा सामानुपातिक विकासको नारा नधन्काइएका त होइनन् तर ती नारामै सिमित भइरहेका छन् । धन्न नेपालमा रहेका यी हाम्रा गौरवमय अमूल्य निधि (रत्नहरू) सेताम्यै भई उत्तरी सिमानामा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मै शीर ठाडो पारी बसेका अनगन्ती हिमाल चुचुराहरू । यी चुचुरामध्ये सगरमाथा विश्वकै सर्वोच्च शिखर यिनै हिमशृंखलामा पर्ने भएर साहसिक कार्यहरू, दृश्यावलोकन र आरोहणका लागि विश्वलाई नै आकर्षित गरिरहेर विदेशी पर्यटकहरू नेपालमा ओइरिरहेका छन् ।
जसले गर्दा स्थानीयले तिनका भरिया बनेर पनि आफ्नो जीविका चलाइरहेका छन् । अनि पर्यटन क्षेत्रले विदेशी मुद्रा आर्जनमा केही हदसम्म सघाउ पुर्याइरहेको छ । आवश्यकता छ सरकारले विद्यमान पदयात्रा मार्ग स्तरीय तुल्याउँदै र अरू नयाँ पदमार्गका साथै सम्भावित अरू थप हिमचुचुरा आरोहणका लागि खुला गर्दैजानु । जसले गर्दा राज्यकोे विदेशीमुद्रा आर्जनमा बढोत्तरी हुनुको साथै स्थानीयहरूले अझ बढी होटल, चमेनागृह, होमस्टे आदि व्यवसाय सञ्चालन गरेर आफ्नो जीविकोपार्जन सहज तुल्याउन सघाउ पुग्नजानेछ ।
नाम्चे पुग्न उक्त टिमले प्रदान गरेको एउटा रूखस्याक, एउटा ट्युमलेटमा मनतातो पानीमा मिसाइएको तागतिलो धुलोपदार्थ, एउटा थर्मस, एउटा स्टिलको छडी र एउटा हावा नछिर्ने ट्राउजर शरीरमा भिर्दै लम्किरहेका थियौं । लुक्लाभन्दा ६४० मि.उचाइमा रहेको नाम्चे बजार बाटो त उकालो हुने नै भयो । यस्तोमा नहिँडेको बानी तर भित्र साहस भरपुर भएकाले बेलाबेलामा एक छिन सुस्ताउँदै गन्तव्यतिर बढ्दैगरेका थियौँ । यहाँ एउटा कुरा स्पष्ट गर्नुपर्नेभयो लुक्लाको अल्टिच्युड २८०० मिटर छ, नाम्चेको ३४४० मिटर छ । यस हिसाबले लुक्लाभन्दा नाम्चेबजार ६४० मिटर अग्लोमा अवस्थित छ । क्रमशः
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच