
ललितपुर । उच्च अदालत पाटनले पशुपतिको गौशाला धर्मशाला विवादमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डालकुमार खड्काको एकल इजलासले पहिलो सुनुवाइ गर्दै शुक्रबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । अन्तरिम आदेश दिने वा नदिनेबारे छलफल गर्न दुवै पक्षलाई छलफलका लागि बोलाएको हो ।
काठमाडौं महानगरपालिकाले धर्मशालाबाट हटाउने खोजेको र उक्त कार्य असंवैधानिक भएको दाबी गर्दै मारवाडी सेवा समितिका तर्फबाट पशुपति क्षेत्र विकास कोषसमेत १५ जनालाई विपक्षी बनाउँदै रिट दायर भएको थियो ।
गौशाला धर्मशाला सञ्चालनको विषयमा मारवाडी सेवा समितिले उक्त जग्गामा आफूहरूकोे ८४ वर्ष अघि देखिको मोहियानी हक रहेको दाबी गर्दै आएको छ । मोहियानी हक प्राप्त जमिनको उपभोग गर्न कुनै सम्झौता गर्नु नपर्ने भन्दै २०६० सालमा भएको सम्झौता ५१ हजार रुपैयाँ सहयोगसँग मात्रै सम्बन्धित रहेको समितिको भनाइ छ । समितिले सञ्चालन गर्दै आएको गौशालामा २५० वटा गाई पालेको, धर्मशालामा सस्तो मूल्यमा दैनिक सयौँलाई खानेबस्ने सुविधा दिइएको, गरिबलाई नियमित रूपमा भोजनको व्यवस्था गरिएको र चिकित्सालयमार्फत सयौँलाई निःशुल्क स्वास्थ्य सेवा एवं डाइलासिस सेवासमेत उपलब्ध गराउँदै आएको जनाएको छ । आफूहरू गैरनाफामूलक संस्था भएको र नियमित रूपमा लेखा परीक्षणसमेत गर्दै आएकाले समाज सेवाको नाममा व्यापार गर्यो भन्ने आरोपलाई समितिले खण्डन गर्दै आएको छ । तर, पशुपति क्षेत्र विकास कोषले भने सो क्षेत्र सुरुदेखि नै तोकिएको प्रयोजनका लागि उपयोग नगरिएको जिकिर गर्दै आएको छ । कोषका पदाधिकारीहरू त्यो गौशाला नै नभएको समेत दाबी गर्छन् ।
धर्मशालामा देखिएको विवादलाई लिएर आमरूपमा दुईथरि तर्क अगाडि आएका छन् । कसैले हड्पिएको सार्वजनिक सम्पत्ति फिर्ता ल्याउने प्रयासको रूपमा हेरेका छन् । कसैले भने हिन्दू धर्ममाथिको प्रहारको रूपमा समेत व्याख्या गर्ने गरेका छन् । खासगरी कोषका पूर्व-पदाधिकारीहरू मारवाडी सेवा समितिले सञ्चालन गर्दै आएको धर्मशाला उसैलाई सञ्चालन गर्न दिनुपर्ने तर्क गर्दै आएका छन् । पूर्व-सदस्यसचिव गोविन्द टण्डन, नरोत्तम वैद्यदेखि पूर्वन्यायाधीश गोपाल पराजुलीसम्म यो पक्षमा छन् । विश्व हिन्दू महासंघलगायत विभिन्न हिन्दुवादी संस्था पनि समितिको पक्षमा देखिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच