गत शनिबारबाट क्रमशः
युवावस्थामा प्रवेश भएसँगै मानिसको मनमा प्रेमको धून बज्न थाल्दछ । त्यो धूनको झंकारमा एउटा नशा हुन्छ जसले मानिसको मन ब्याकुल बनाइदिन्छ । नशाको आवेगमा सौन्दर्य र विलासिताको खोजीमा लागेको मानिसको मन घुम्ने व्यथा लागेको बोका जसरी फनफनी घुम्न थाल्दछ । यो नशा तिमी र मलाई पनि चडेको थियो । नशाको प्रभाव यस्तो थियो कि हामीले आ-आफ्ना परिवारको मानमर्दन गर्दै उनीहरूको इच्छाविपरीत लिभ-इनमा बस्न पुग्यौँ ।
तिमी आफूलाई अत्याधुनिक पाश्चात्य संस्कृतिको ठेकेदार ठान्दछौँ र त्यसको दम्भ गर्छौं भन्ने कुरा मलाई थाहा छ नवीन । आधुनिकता नराम्रो कुरा होइन । तर, कुनै पनि कुराको दम्भलाई समयको कुनै पनि कालखण्डमा राम्रो मानिँदैन । एकातिर तिमी अत्याधुनिकताको दम्भमा स्वछन्द भएर स्वतन्त्रताको गलत ढंगले उपभोग गर्दै विवाह नगरी एउटी अन्तरजातीय युवतीसँग आफ्नै घरमा लिभ-इन रिलेसनसिपमा बस्न पछि नपर्ने । अर्कोतिर हुर्किएकी बहिनीलाई आमा-हजुरआमाको संस्कार मान्नुपर्दछ भन्दै पाइला पाइलामा बन्देज लगाएर घर पालुवा चराजस्तो बनाउन खोज्ने । तिम्रो दोहोरो चरित्रको कारण उकुसमुकुस भएकी तिम्री बहिनी सुनितालाई ती सब कुरा मान्य थिएनन् । सुनिताको घनिष्ट सहेली भएको कारण, उनले तिमीलाई ढोंगी र स्वार्थी ठान्दछिन् भन्ने कुरा मैले राम्ररी बुझेकी थिएँ ।
हेर नवीन, स्त्री होस् वा पुरुष, प्रेमपूर्ण सम्बन्ध र वैयक्तिक स्वतन्त्रताको चाहना प्रत्येकमा रहेको हुन्छ । तर, ती सब कुराको बारेमा तिमीले न कहिल्यै बुझ्न सक्यौ न त बुझ्न नै चाहृयौ । तिम्रो अनावश्यक बन्देजको कारण आफू उपेक्षित र अपमानित भएको ठान्ने सुनिता, तिम्रो अत्याधुनिकताको खोक्रो दम्भको विद्रोहमा उत्रिइन् । सुनिताको विद्रोहको आगोमा घ्यू थप्ने काम गर्यो ड्रग-पेडलर तिम्रो मित्र प्रविण खत्रीले ।
यो कुराको ध्यानाकर्षण मैले तिमीलाई पटक-पटक गराएँ पनि । तर, तिम्रो मुखबाट सधैँभरि एउटै कुरा निस्कियो, ‘भनेको मान्दिनँ भने, जोगिनी बनेर जंगल पसोस् कि मादल ठटाएर चौबाटोमा बसोस मलाई मतलब छैन ।’
युवावस्थामा प्रवेश भएसँगै मानिसको मनमा प्रेमको धून बज्न थाल्दछ । त्यो धूनको झंकारमा एउटा नशा हुन्छ जसले मानिसको मन व्याकुल बनाइदिन्छ । नशाको आवेगमा सौन्दर्य र विलासिताको खोजीमा लागेको मानिसको मन घुम्ने व्यथा लागेको बोका जसरी फनफनी घुम्न थाल्दछ । यो नशा तिमी र मलाई पनि चढेको थियो । नशाको प्रभाव यस्तो थियो कि हामीले आ-आफ्ना परिवारको मानमर्दन गर्दै उनीहरूको इच्छाविपरीत बस्न पुग्यौँ ।
तिम्रो मित्र प्रवीण खत्रीले गैरकानुनी काम गर्छ र ऊ ‘ड्रग-पेड्लर’ हो भन्ने कुरा तिमीलाई राम्रोसँग थाहा थियो नवीन । उसले गैरकानुनी ढंगले कमाउने सम्पतिको बारेमा पनि तिमी अनभिज्ञ थएनौँ । त्यति हुँदाहुँदै पनि उसको मिठो बोली-वचन, उसको आकर्षक व्यक्तित्व र अत्याधुनिक रहनसहनको प्रशंसा गरेर नथाक्ने तिमीले उसँगको घनिष्टता छोडेनौँ । आज आएर यो कुरा भन्न मलाई रत्तिभर संकोच छैन कि, सुनिताको मनमा प्रवीण खत्रीप्रतिको आकर्षणको बिउ रोप्ने र उसको सामिप्यमा धकेल्ने काम तिमी आफैँले गरेका थियौ नवीन ।
केही उत्तेजित भएको नवीनले भन्यो- ‘के भन्न खोज्दैछ्यौ सुप्रिया तिमी ? के सुनिताको लालन-पालन मैले सही ढंगले गरिन भन्ने हो ?’
कसैको लालनपालन गर्नु भनेको खान-लाउन दिनुमामात्र सिमित हुँदैन नवीन । उसले प्रेम र आत्मियता चाहेको हुन्छ । परिवारको सदस्य भएको नाताले उसले आफ्नो अधिकार पनि खोजेको हुन्छ । तर, तिम्रो ध्यान त्यतापट्टि कहिल्यै गएन । बहिनीको मनमा के छ ? उनी के चाहन्छिन् ? भन्ने कुरा जान्ने र बुझ्ने फुर्सद कहाँ थियो र त्यो बेला तिमीलाई ?
स्त्रीको कमजोरीको फाइदा उठाउनमा खप्पिस प्रवीण खत्रीसँग बढ्दै गएको सुनिताको हिमचिम प्रेममा परिणत हुँदै गयो । प्रेमको मोह-जालमा फसेर पागलजस्ती भएकी सुनिता कहिले र कसरी दुव्र्यसनमा फसिन् भन्ने कुराको पत्तो न तिमीले पायौ न मैले ।
मैले त्यो कुरा थाहा पाउँदासम्म निकै ढिलो भइसकेको थियो । सुनिता दुव्र्यसनको दलदलमा यो हदसम्म फँसीसकेको थिइन् कि लागुपदार्थ प्राप्तिको लागि उनी प्रविण खत्रीलाई आफ्नो शरीर सुम्पिनसम्म पनि तयार हुने स्थितिमा पुगिसकेकी थिइन् । सुनितालाई त्यो दलदलबाट निक्लेपछि मात्र सबै कुराको जानकारी गराउने सोच बनाएकी मैले तिमीलाई यी सब कुरा त्यो बेला सुनाउन सकिनँ ।
सुप्रियाको कुरा सुनेर स्तब्ध भएको नवीनलाई आफू नांगिएको अनुभूति भयो । जुवाको खालमा सबै कुरा गुमाएको जुवाडे जसरी लाचार हुँदै भन्यो- ‘त्यो नाटकको प्रमुख पात्र म हुँला भन्ने कुरा यस अगाडि मैले सोचेको पनि थिइनँ सुप्रिया ।’
सुप्रियाले भन्दै गई- सुनितालाई यथास्थितिमा फिर्ता ल्याउनु असम्भव प्रायः भइसकेको थियो नवीन । तर, म मेरी आत्मीय सहेली, तिम्री बहिनीलाई जस्तोसुकै मूल्य चुकाएर भए पनि त्यो कुलत र प्रविणको झुटो मोह-जालबाट बाहिर निकाल्न चाहन्थें ता कि तिम्रो आत्म-सम्मानमा चोट नलागोस् ।
सुनितालाई कुलतबाट बाहिर ल्याउन र उनको अस्मिता जोगाउँने प्रयासमा म तिम्रो घनिष्ट मित्र प्रविण खत्रीको चंगुलमा फँस्न पुगें । तिमीसँग लिभ-इनमा बसेकी तिम्री यो प्रेयसी बैकल्पिक सुनिता बनेर प्रविण खत्रीको ओछ्यानमा पुग्न बिबश भई, भन्दै दुवै हातले आँखा छोपेर निकै बेरसम्म घुँक्क .. घुँक्क ...गर्दै रोइरही ।
केहीबेरमा सामान्य स्थितिमा फर्किएकी सुप्रियाले भनी- मानिस कहिलेकाहीँ यस्तो काम गर्न विवश हुन्छ नवीन जसको कल्पनासम्म पनि गरेको हुँदैन । नियतिले गर्दनमा खुकुरी राखेर ऊबाट त्यो काम गराउँछ । गरिसकेपछि स्वयमलाई पनि विश्वास हुँदैन त्यो काम म आफैँले गरेको हुँ भन्ने कुरा ।
त्यो बेला म त्यस्तै परिस्थितिमा फसेकी थिएँ । मेरो विवशता कसले बुझ्ने ? यो कुरा न तिमीलाई सुनाउन सक्थें न त आफूले बिर्सिन नै सक्थें ! अरू कसैले बिटुलो पारेको मेरो यो शरीर, म मेरो प्रियतमलाई सुम्पिने कुरा सपनामा पनि सोच्न सक्दिनथें ! बरु तिमीलाई चुपचाप छोडेर नियतिलाई स्वीकार्दै प्रविण खत्रीसँग लिभ-इनमा बस्न पुगेँ । तर, मलाई कुनै गुनासो छैन । तिमीसँग जीवन बिताउने चाहना पूरा नभए पनि सुनितालाई सुधारगृहसम्म पुर्याएर तिम्रो परिवारको मानसम्मान बचाउन सकेकोमा आफूलाई धन्य ठान्दछु भन्दै आँखाबाट चुहिन लागेका आँसु हत्केलाले पुछी ।
सुप्रियाले नाटकीय ढंगमा भनेका एक-एक कुरा ध्यानपूर्वक सुनेको नवीनलाई कुन्नि किन हो ? सबै कुरा सत्य हो जस्तो लागिरहेको थिएन । कुन कारणले त्यस्तो लाग्यो भन्ने कुराको निक्र्यौल भने तत्काल गर्न सकेन । तर पनि सुप्रियाको हात आफ्नो हातमा लिएर कृतज्ञता ज्ञापन गर्यो ।
‘तिमी आयौ, मेरो वेदना सुनिदियौ, मन हलुंगो भयो । कृतज्ञता त मैले पो ज्ञापन गर्नुपर्छ नवीन’ भन्दै उसको अनुहारमा हेरिरही ।
भान्साबाट ‘खाना तयार भयो दिदी’ भन्ने परिचारिकाको आवाज सुन्दा दुवैजना झस्किए ।
सुप्रियाले भनी- ‘लौ हेर त ! बितेका कुरालाई लिएर हामी त कुन झमेलामा पो फसेछौँ । खाने कुराको प्रसंग ननिस्किएको भए त झगडा नै पो हुन्थ्यो कि क्या हो !’
दुवैजना उठेर डाइनिङ टेबलतर्फ लागे ।
खानाको परिकार देखेर अचम्मित भएको नवीनले भन्यो- ‘मेरो खाने कुराको रुचि अझै बिर्सिएकी छैनौ ?’
मुस्कुराउँदै भनी- ‘के कसैलाई त्यत्तिकै प्रेम गरिन्छ ?’
स्तब्ध भएको नवीनले भन्यो, ‘के साँच्चिकै तिमी .....?’
सहज भावले भनी- ‘यो कुरा मसँग होइन, आफैँसँग सोध ...!’
खाना खाएपश्चात् नवीनले सोध्यो- ‘कुन बाध्यताले सेल्स-गर्ल बन्न पुग्यौ ?’
सुप्रियाले सहज भावमा जवाफ दिई- प्रविण खत्री जेलबाट फर्किएर नआउन्जेल मलाई उसको सम्पतिको उपभोग गर्न मन लागेन । त्यसैले उसको घर छोडेर आमाले अन्तिम बेलामा उपहारस्वरूप दिएको यो कटेजमा आएर बसें । एक दिन एउटी मित्रले घरमा एक्लै के बस्छ्यौ, मेरो सपिङ मलमा आएर केही घण्टा मलाई सहयोग गर भन्ने अफर दिएपश्चात् समय बिताउनको लागि सेल्स-गर्ल बन्न पुगें ।
सुप्रियाको अनुहारमा हेर्दै गरेको नवीनले सोध्यो- ‘तिमीप्रति प्रविण खत्रीको व्यवहार कस्तो छ ?’
सम्मोहित स्वरमा भनी- म बुझ्दछु तिमी के भन्न खोज्दैछौ । यतीका वर्षपछि बल्लतल्ल भेट भएको छ, छोड प्रविणको कुरा ! अर्को कुनै दिन सुनाउँला । बरु कुनै रमाइलो कुरा गर ता कि अर्को भेट नहुँदासम्म स्मरण भईरहोस । यसो भन्दै गर्दा सुप्रियाको आँखामा कुनै छल-कपट थिएन । यस्तो लाग्थ्यो यि सब कुरा उसको अन्तरआत्माबाट स्वतस्फूर्त निस्किएको हो ।
लामो उछ्वास छोड्दै गरेको नवीनले भन्यो, ‘रात छिप्पीईसक्यो सुप्रिया । मेरो जिज्ञाशा शान्त पारेर आजको साँझ रमाइलोसँग बिताउने अबसर दिएकोमा धन्यबाद । अब म जान्छु ।’
‘आफूले आफूलाई ठग्नु राम्रो कुरा होइन नवीन । घरमा तिमीलाई पर्खिएर बस्ने को नै छ र, जान्छौ ? चुप लागेर बस ।’ अधिकारपूर्बक हात समातेर पुनः सोफामा बसाउँदै भनी- ‘उपयोग गर्न जानेमा जीवन सुन्दर छ नवीन । किन यसको उपभोग गर्दैनौ ? तिमी किन जिउन जान्दैनौ ? जीवन त घटनाहरूको संगालो हो । घटना घटिरहेकै हुन्छन् । आफूले चाहेजस्तो जीवन कसको पो हुन्छ र यहाँ ? यि मलाई नै हेर ! तिमीसँग जीवन बिताउने रहर हुँदा हुँदै पनि अहिले लावारिस जस्ती बन्न पुगें ।
त्यस्तैमा ‘दिदी म गएँ है’ भन्दै घरधन्दा सकेकी परिचारिका बाहिर निस्किई । परिचारिका बाहिरिएपश्चात् ढोका बन्द गरेकी सुप्रिया नवीनको हात समातेर बेड रुमतर्फ लागी ।
त्यो रात आँखा झिमिक्क पनि नपारी बित्यो । उज्यालो हुने बेलामा सुतेको नवीन मध्यान्नमा ब्युंझीदा नुहाई-धुवाई गरि छेउमा आएर बसेकी सुप्रियाका ठूल्ठूला हँसिला आँखा उसैलाई नियाली रहेका थिए ।
नवीन बाथरुमबाट फर्किएपश्चात् सुप्रियाले भनी- ‘आज तिमीलाई कतै जानु छ कि ? मैले त दुई दिनको छुट्टी लिएकी छु ।’
नवीनले भन्यो- ‘अब त कतै नगई यही बसौंजस्तो लाग्न थाल्यो ।’
‘त्यस्तो हिम्मत गर्न सकौला र ?’ व्यंगात्मक हाँसो हाँसी सुप्रिया ।
कुनै जवाफ दिन नसकेको नवीन टोलाएर बसीरहृयो ।
नवबिबाहित दम्पति जसरी अर्को दुई दिन र दुई रात बितेको अत्तो-पत्तो दुवैलाई भएन ।
तेस्रो दिन बिहान उठ्दा नवीनलाई कमजोरी महसुस भईरहेको थियो । उसका दुवै आँखा धसिएका थिए । कान टि..टि.. गरेर बज्दै थिए । उसलाई लाग्यो आफूभित्र भएको सबै कुरा रित्तिएको छ । गर्नलाई अब केही बाँकी छैन ।
ब्रेकफास्टपश्चात् बाहिर निस्किएकी सुप्रिया फर्किएकी थिईन । लनमा बसेर बगैंचालाई नियाल्दै गरेको नवीनको मन तीन दिनअगाडि सुप्रियाले सुनाएको घटनामा पुगेर अडियो । त्यो घटनाको सेरोफेरोमा घुम्दै गरेको उसको मन अनायास एउटा निष्कर्षमा पुग्यो ।
‘सुनिताको आडमा घटेको भनिएको त्यो तथाकथित् घटना, घटना नभएर प्रविण र सुप्रियाको मिलेमतोमा लामो समयको विचार-विमर्शपश्चात बुनेको पूर्वनियोजित कार्यक्रम हो । सुनिताको लागि आफू बलि-वेदीमा चढ्नु परेको कुरा सुनाएर उसले मेरो विश्वास जित्न र क्षणिक मैत्री कायम गरेर आफ्नो एक्लोपनलाई रमाइलो बनाउन खोजेकी मात्र हो । यथार्थ कुरा के हो भने अथाह सम्पत्ति भएको प्रविणसँग लिभ–इनमा बसेर स्वच्छन्दतापूर्वक ऐस–आरामको जिन्दगी बिताउन उत्सुक थिई सुप्रिया । र, त्यो तथाकथित घटनाको तानावाना बुन्ने कारक तत्व पनि सुप्रिया नै हो ।’ यो निष्कर्षसँगै उसको मन वितृष्णाले भरिंदै गयो ।
‘मप्रति नै विश्वासघात गरेर प्रवीण खत्रीसँग लिभ-इनमा बस्न पुगेकी त्यस्ती स्त्रीसँग म कसरी पुनः शारीरिक सम्पर्क राख्न पुगेँ ?’ उसले मनैमनमा निर्णय लियो– ‘यसलाई सम्झिएर फेरि कुनै दिन यो घरको बाटो लाग्ने छैन । दोहो¥याएर यसको मोह-जालको माखे साङ्लोमा फस्ने छैन ।’
सुप्रिया फर्केर आउँदासम्म खाना तयार भइसकेको थियो । खाना खाएपश्चात् सुप्रियाले भनी- ‘आज म काममा जान्छु । तिमी के गरी दिन बिताउँछौ ?’
नवीनले भन्यो, ‘मलाई घर जानु छ ।’
‘बेलुका त आउँछौ होला नि !’ भन्दै बाहिर निस्किई सुप्रिया ।
त्यो दिन घर गएको नवीन दोहोर्याएर सुप्रियाकोमा फर्किएन । न त फोन कल नै गर्यो । तर, १५ दिन बित्दा नबित्दै वासनाको वृक्ष पुनः पुष्पित र पल्लवित हुँदै गयो । सुप्रियाको सान्निध्यको उत्कट चाहना र शारीरिक भोगको तृष्णा प्रबल हुँदै गएको उसको मानसपटलमा सुप्रियाको पुष्ट शरीर र अंग-प्रत्यंगको न्यानोपनको स्मरण ताजा हुँदै गयो । वासनाको चंगुलमा फसेको नवीनको मनबाट, सुप्रियासँगको पछिल्लो भेटमा आफूले आफैँसँग गरेको प्रतिज्ञा विस्मृतिको खाडलमा पुरिँदै गयो । त्यो बेला उसको मनमा उब्जिएको वितृष्णा अनायास तृष्णामा परिणत भएर उसको अगाडि उभिन आइपुग्यो । ग्यारेजबाट गाडी निकालेको नवीनले स्टेयरिङ हृवील सुप्रियाको घरतिर घुमायो ।
सुप्रियाकोमा पुग्दा कम्पाउण्डको गेटमा ताल्चा लागेको थियो । सुप्रियाको खोजीमा निस्किएको नवीनले तत्क्षण गाडीको स्टेयरिङ सपिङ मलतर्फ मोड्यो । मलमा पुगेर सोधीखोजी गर्दा थाहा भयो सुप्रियाले काम छोडेको सात दिन भइसकेको थियो ।
त्यस्तैमा एउटी सेल्स-गर्लले नजिकै आएर ‘तपाईं नवीन होइन ? सुप्रियाले तपाईंको लागि गिफ्ट छोडेकी छन्’ भन्दै एउटा प्याकेट दिई ।
नवीनले त्यो प्याकेट घर पुगेर मात्र खोलेको थियो । प्याकेटभित्र सुप्रियासँग सपिङ मलमा पहिलोपटक भेट हुँदाको बेला उसले मन पराएको सुन्दर नेक-टाई थियो । त्योसँगै थियो एउटा चिठी । नेक-टाई टेबलमा राखेर चिठी खोल्यो ।
आफूलाई अत्याधुनिक पाश्चात्य संस्कृतिको ठेकेदार ठान्दछौँ र त्यसको दम्भ गर्छौं । आधुनिकता नराम्रो कुरा होइन । तर, कुनै पनि कुराको दम्भलाई समयको कुनै पनि कालखण्डमा राम्रो मानिँदैन । एकातिर तिमी अत्याधुनिकताको दम्भमा स्वछन्द भएर स्वतन्त्रताको गलत ढंगले उपभोग गर्दै विवाह नगरी एउटी अन्तरजातीय युवतीसँग आफ्नै घरमा बस्न पछि नपर्ने । अर्कोतिर हुर्किएकी बहिनीलाई आमा–हजुरआमाको संस्कार मान्नुपर्दछ भन्दै पाइला पाइलामा बन्देज लगाएर घर पालुवा चराजस्तो बनाउन खोज्ने ।
लेखेकी थिई, चिठी लेख्नको साटो फोनबाट पनि तिमीलाई यी सब कुरा भन्न सक्ने थिएँ । तर, फोन कल गरिनँ, चिठी नै लेख्न मन लाग्यो । मलाई विश्वास छ, कुनै दिन मलाई खोज्दै तिमी यहाँ अवश्य आउनेछौ । किनकि पछिल्लो भेटमा तिमीले प्रविण र मेरो सम्बन्धको बारेमा राखेको जिज्ञासा शान्त हुन बाँकी नै थियो ।
तिमीलाई थाहा छैन होला नवीन ! कुनै पनि स्त्रीको स्वभाव घूलनशील प्राकृतिक तत्वजस्तो हुन्छ । परिवेश र समय अनुकुल स्वभाव निर्माण गर्न उसलाई कुनै बेर लाग्दैन । जुन सुकै परिवेशमा जहाँ सुकै पुगेकी होस् त्यही परिवेशमा घुलमिल भएर रमाउने उसको स्वभाव हुन्छ । ऊ सती सावित्री बनेर कालको मुखबाट आफ्नो पतिलाई फिर्ता ल्याउन सक्छे । द्रौपदी बनेर कसैको वंशवृक्ष नष्ट गर्न सक्छे । पतिको चरणामृत पिउनुपर्ने बाध्यात्मक संस्कार भएको परिवारमा पुगेकी रहिछ भने त्यसको लागि पनि तम्तयार भएकी हुन्छे । भलै पति घरबाट निस्किनेबित्तिकै, आधुनिक पहिरनमा कम्मर लच्काउँदै ब्वाईफ्रेण्डको अंगालोमा बाँधिएर मोजमस्ती गर्न कुनै होटेलमा किन नपुगोस् ! स्त्री भएको नाताले म यो भन्न सक्दिनँ कि म अरूहरूभन्दा भिन्न छु !
प्रविणले मप्रति कस्तो व्यवहार गर्छ भन्ने तिम्रो जिज्ञासा शान्त पार्नुपूर्व म उसको बारेमा केही कुरा राख्दैछु । सुन, कुन यस्तो कुकर्म होला जुन प्रविणले गरेको छैन ! उसले गरेका ती सब कुकर्मको लागि ऊ माफी दिने लायकसम्म पनि छैन । तर, बदलिँदो सामाजिक परिवेशअनुसार जसलाई जिउनु भनिन्छ, त्यो उसलाई आउँछ । शारिरीक हिसाबमा ऊ स्वस्थ, साधन सम्पन्न र व्यवहार कुशल छ ।
राज्यको शासन सत्तामा अधिकार राख्दछ । सबभन्दा ठूलो कुरा हो ऊ रस लिनु र दिनुमा विश्वास गर्दछ । उसले बुझ्दछ कुन मानिस के गर्दा खुसी हुन्छ, ऊ त्यस्तै गर्छ ।
उसले मसँग कुनै किसिमको वादविवाद गर्दैन । म कहाँ जान्छु, के गर्छु भन्ने कुरा सोधीखोजी र चियोचर्चो पनि गर्दैन । न त मेरो निजी स्वतन्त्रतामा हस्तक्षेप नै गर्छ । अझ ठूलो कुरा त के हो भने म जे जस्ती छु, उसले मलाई आँखा चिम्लेर बिश्वास गर्छ । प्रत्येक पटक घर फर्किएर आउँदा अधिकारपूर्ण रूपले निस्फिक्री भएर प्रेम गर्छ ।
चिठीको दोस्रो पाना पल्टायो नवीनले । लेखेकी थिई- पछिल्लो समय तिमीसँग बितेको प्रेमपूर्ण समयको स्मरण गर्दा अहिले पनि मेरो मन तरंगित भइरहेको छ । चौथो दिन घर गएका तिमी फर्किएर आउँदैनौ भन्ने कुरा तिम्रो मौनले मलाई जानकारी दिइसकेको थियो । कहिलेकाहीँ मौनले जुन यथार्थ प्रकट गर्दछ त्यो वाणीबाट प्रकट हुन सक्दैन नवीन ।
अत्याधुनिकताको दम्भको आडमा पुरातन संस्कारले जेलिएर बसेको तिम्रो दमित मानसिकतालाई नजिकबाट नियालेकी छु मैले । क्षणिक शारीरिक सम्बन्धभन्दा माथि उठेर पुनः हिजोको मैत्री स्थापित गर्ने कुरामा तिमी सहमत हुने कुनै सम्भावना छैन भन्ने कुरा पनि मैले बुझेकी छु । तै पनि तिमीलाई पर्खिएँ । तिमी त आएनौ तर यो बीचमा प्रविणको फोन कल आयो । जेलबाट छुट्नेबित्तिकै पहिलो कल मलाई नै गरेको थियो । उसले अधिकार जमाउँदै के भन्यो, थाहा छ ? ‘जहाँ छ्यौ, तुरुन्त घर आऊ । म जेलबाट सिधै घर जाँदै छु ।’
यो अधिकारको पछाडि जुन अकर्षण शक्ति छ त्यसलाई म नकार्न सक्दिनँ । म मात्र होइन कुनै पनि स्त्रीले सक्दिन । थाहा छ नवीन, त्यो अधिकार नै प्रेम हो । बिना अधिकारको प्रेम एउटा दम्भ मात्र हो । आहा ! त्यो अधिकारको थोरै मात्र अंश तिमीसँग भइदिएको भए सुनमा सुगन्ध थपिएसरह हुन्थ्यो नवीन । त्यसको उपभोग चाहे जोसुकैले किन नगरोस् !
आज पुनः एकपटक प्रविणको प्रेमपूर्ण अंगालोमा बाँधिन जाँदै छु । जाँदाजाँदै तिमीलाई एउटा महत्वपूर्ण कुरा भन्न मन लाग्यो । स्त्री जो कोही किन नहोस्, संसारको जुनसुकै कुनामा पुगेर बसोबास गरेकी भए पनि उसले आफ्नो पहिलो प्रेमीलाई जिन्दगीको अन्तिम क्षणमा पनि बिर्सिएकी हुन्न !
जीवन अमूल्य छ नवीन । यसलाई सम्हालेर राख । अर्को जम्काभेट नहुँदासम्मको लागि बिदा ...!
चिठी पढिसकेपश्चात् उदास र मलिन अनुहार लगाएर आँखा चिम्लिएको नवीनलाई तिखा काँडासरी बनेर मनमा बसेका विगतका अनगिन्ति स्मृतिले भित्रभित्रै घोच्न सुरु गरे । घोचाइको क्रम यति तीव्र भयो कि उसको मन नराम्रोसँग कुँडिँदै गयो । सहयात्रीको रूपमा अन्तरंग सम्बन्ध बनाएर वर्षौंसम्म साथ दिएकी सुप्रिया उसलाई एकाएक बहुरुपिया जस्तो लाग्न थाली ।
असहृय आन्तरिक वेदनाले छटपटीदै गरेको ऊ आफ्नो विगत जीवनको मूल्यांकनमा निमग्न हुँदै गयो- ‘आफ्नो संस्कार र संस्कृतिलाई लत्याएर, अत्याधुनिकताको नाममा लिभ-इनमा बस्ने सन्किपनले आफ्नो जीवन लथालिंग पार्नुबाहेक अरू के गरेँ मैले ? परिवार र समाजबाट बहिष्कृतसरह हुन पुगेँ । मेरो आफ्नै व्यवहारको कारण लावारिसजस्तो बन्न पुगेकी एक मात्र बहिनी दुव्र्यसनको शिकार बन्न पुगी । साथ छोडेकी सुप्रिया आफ्नै मित्र प्रवीण खत्रीसँग लिभ-इनमा बस्न गई । न कसैको प्रेम पाएँ न त मानसिक शान्ति नै । आडम्बरको कम्जोर वैसाखीको सहारा लिएर जिन्दगीको महत्वपूर्ण समय व्यर्थमा खेर फालेँ । दुरदर्शिताको अभावमा जिन्दगीको सारा ढाँचा नै टुटफुट भएर छरपष्ट भयो । आफ्नो दाँत, आफ्नै जिब्रो । दाँतले जिब्रो टोक्यो भनेर कोसँग उजुरी गर्न जानु ?’
शून्यमा नियालेर बसेको नवीनलाई आफूप्रति नै वितृष्णा पैदा भएर आयो । उसको मन भयंकर ग्लानि र पश्चात्तापले भरिँदै गयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच