काठमाडौं । हङकङका बाबर हायतले कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने हुनुभएको छ । आगामी मंसिर १५ देखि सुरु हुने एनपिएलका लागि कर्णालीले बाबर हायतलाई अनुबन्ध गरेको जनाएको छ । पाकिस्तानमा जन्मेर हङकङका लागि खेल्दै आउनुभएका बाबरले यसअघि पनि नेपालमा आएर क्रिकेट खेलिसक्नुभएको छ । उहाँसँग नेपालमा धेरै क्रिकेट खेलेको अनुभव छ ।
बाबरले हङकङका लागि २२ ओडिआई र ७९ टी-२० आई म्याच खेल्नुभएको छ । टी-२० आईमा उहाँले एक हजार ९१० रन बनाउनुभएको छ भने १२२ रनको उच्च स्कोर छ । उहाँको नाममा दुई टी-२० आई शतक पनि छ भने १० अर्धशतक पनि प्रहार गर्नुभएको छ । उहाँले सन् २०२४ मा नेपालविरुद्ध नै ११० रन बनाउनुभएको थियो ।
बाबरले सन् २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकपमा नेपालविरुद्धकै खेलमा टी-२० आईमा डेब्यु गर्नुभएको थियो । पावर हिटिङका लागि परिचित बाबरले टी-२० क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आउनुभएको छ र उहाँको आगमनले टिम अझै बलियो हुने कर्णालीले जनाएको छ ।
बाबर कर्णालीले एनपिएलका लागि अनुबन्ध गरेको दोस्रो विदेशी खेलाडी हुनुहुन्छ । यसअघि कर्णालीले पाकिस्तानका हुसेन तलातलाई अनुबन्ध गरिसकेको छ ।
बाबरको आगमनले टोली थप मजबुद भएको कर्णाली याक्सका प्रशिक्षक ज्ञानेन्द्र मल्लले बताउनुभयो । ‘बाबर आजम निकै अनुभवी खेलाडी हुन् । उनको आगमनले टोली थप मजबुद भएको मानेको छु,’ प्रशिक्षक मल्लले भन्नुभयो, ‘उनले नेपालमा धेरै खेल खेलिसकेका छन् । त्यो अनुभव एनपिएलमा देखिने आशा गर्छौँ ।’
नेपाली राष्ट्रिय टिमका पेस बलर सोमपाल कामी मार्की प्लेअर रहेको कर्णालीको मुख्य प्रशिक्षक राष्ट्रिय टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल हुनुहुन्छ । कर्णाली याक्सको टोलीमा हालसम्म सोमपाल कामी, गुल्सन झा, देव खनाल, नन्दन यादव, अर्जुन घर्ती, रित गौतम, मौसम ढकाल, भुवन कार्की, दीपेन्द्र रावत, युनिशविक्रम सिंह ठकुरी, दीपक डुम्रे, हुसैन तलात र बाबर हायत अनुबन्ध भइसक्नुभएको छ ।
कर्णाली याक्सको हस्पिटालिटी पार्टनरमा ‘हिल्टन’
कर्णाली याक्सले आफ्नो हस्पिटालिटी पार्टनरमा हिल्टन होटललाई भिœयाएको छ । हिमायलन विल्डर्स एण्ड इञ्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले एनपिएलका लागि होम अफ कर्णाली याक्समा हिल्टनसँग सम्झौता गरेको हो । सम्झौतामा कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरे र हिल्टनका महाप्रबन्धक श्रीधर थोटाले हस्ताक्षर गर्नुभएको छ । प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्तरको बनाउने योजनासहित नेपालमा यसै वर्षदेखि सञ्चालनमा आएको पाँच तारे होटलसँग सम्झौता भएको सहमालिक घिमिरेले बताउनुभयो । ‘हाम्रो क्लब, खेल र खेलाडीहरू अब अन्तर्राष्ट्रिय स्तरका हुनेछन् । त्यसैले हामीले भर्खरै सञ्चालनमा आएको ख्याति प्राप्त होटल रोजेका हौँ ।’ एनपिएल १५ मंसिरदेखि ६ पुससम्म काठमाडौंमा हुँदैछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच