अल्छे तिघ्रो स्वादे जिब्रो
अल्छे मान्छेको जिब्रो मीठो खोज्ने र तिघ्रो हलचल गर्न नसक्ने हुन्छ भनेको छ यस उखानले । अचेल म सबैतिर विसंगति देख्न थालेको छु । एमाले संगठनकला भएको तर अनुशासन र दूरदृष्टिविहीन हुल्लडवाज, लोभी, दम्भी र करनी तथा कथनी भरपर्दो नभएको दल बन्दै जान लागेको देख्दैछु । कांग्रेस सुनौलो विश्वबन्दित इतिहास भएको तर सुक्न लागेको भीरका टाकुराको रूख जसले कसैलाई न छहारी दिनसक्छ न त आफैं उभिन सक्छ । नेपालका अरू धेरै दलका सम्बन्धमा मलाई एक शब्द पनि खर्च गर्ने जाँगर छैन किनभने ती राजनीति गर्न संगठित भएकै होइनन् । कोही मधेसको जमिन्दारी जोगाउन कोही कांग्रेस र एमालेका केही गतिछाडाले कामाएको देखेर कमाउन या देश र जनता लुट्न लुटेरा अवसरवादी जम्मा भएर राजनीतिको मखुण्डो भिरेर आएका देखिन्छन् ।
बाँसको तामा पहिले आकाश छेड्छु भनेर तीखो बनेर बढ्छ तर निश्चित बाढ पुगेपछि टुप्पो झुकेर भुइँमा लत्रन पुग्छ । ठीक यसै गरी सिद्धिन लागेको आतंक, प्रतिशोध र धन कमाउने स्वप्नका दलदलमा डुबेको दल साबित हुँदैछ माओवादी । यसको अब कुनै भविष्य छैन नेपाली भूमिमा भन्ने लाग्छ मलाई । एकल बहुमत ल्याएर देशमा शासन गर्ने सोच भएका एमालेका अध्यक्ष केपी शर्मा ओली अदालतमा आर्थिक अपचलनमा मुद्दा खेपिरहेका मान्छेबाट अर्बाैंको दान लिन्छन् र भन्छन् अनैतिक तथा भ्रष्टाचार गर्दिन गर्न पनि दिन्न । ओम्नी गिरिबन्धु, भ्युटावर, क्रसर उद्योग आदिबाट धन कमाउन उनले रविलाई काखमा लिएर पोष्यपुत्र बनाएको सबैले देखेकै छन् ।
यसरी एमालेका कसैको पनि करनी र कथनी मिलेको कहीँ कतै पनि देखिँदैन । यो मुखले मीठो खान, आँखाले राम्रो देख्न चाहने तर शून्य दिमाग, अल्छे प्रवृत्ति शिथिल हातगोडा भएका मान्छेको मनको लड्डु घ्यूसँग खाने मनोतृष्णामात्रै हो । प्रजातन्त्रमा विधिको सर्वोच्चता हुन्छ तर हाम्रो प्रजातन्त्रमा संविधानले मानव अधिकार आयोग जस्ता संवैधानिक आयोगमा अध्यक्ष भएका मान्छे पनि राजदूत बनाइएको देख्दा हाम्रो प्रजातन्त्र वानरका हातको नरिवल भएको छैन भन्न सकिएला ? यसरी हेर्दा चिलाउने र कन्याउने दुवै उस्तै देखिन्छन् ।
आत्मनो मुख रागेण बध्यन्ते शुकसारिका ।
नेपालका राजनीतिक दलमध्ये सबैभन्दा पुरानो र गतिला दर्शनले घप्लक्क ढाकेको दल हो नेपाली कांग्रेस । यसको इतिहास अति सुन्दर, रचनात्मक र विश्वप्रसिद्ध मात्र होइन विश्ववन्दित पनि थियो तर आज यो सुनौलो इतिहास भएको तर वर्तमान कुहेको र भविष्य अन्धकार भएको दलका रूपमा बहुचर्चित हुनलागेको छ ।
आफ्नै मुखका कारणले सुगा मैना पिंजरामा पर्दछन् । ‘हृयात्मैवरात्मनो बन्धुरात्मैवरिपुरात्मनः ।’ आफ्नो बन्धु र आफ्नो शत्रु आफ्नै मन, कर्म र प्रवृत्ति हुन्छन् बाहिरिया कोही पनि हुँदैनन् ।
‘म ताक्छु मुडो बञ्चरो ताक्छ घुँडो’
नेपालका राजनीतिक दलमध्ये सबैभन्दा पुरानो र गतिला दर्शनले घप्लक्क ढाकेको दल हो नेपाली कांग्रेस । यसको इतिहास अति सुन्दर, रचनात्मक र विश्वप्रसिद्ध मात्र होइन विश्ववन्दित पनि थियो तर आज यो सुनौलो इतिहास भएको तर वर्तमान कुहेको र भविष्य अन्धकार भएको दलका रूपमा बहुचर्चित हुनलागेको छ । जसरी अति कष्टकर दिनमा पनि गरिब उद्धार, सामन्तको उच्छेदन, सर्वहारावर्गको अधिनायकत्व जस्ता नारा दिएर नेपालका वामदल फस्टाएका र फैलिएका थिए तिनलाई दलझगडा, गुटबन्दी, दम्भ प्रदर्शन र हैकमवादी प्रवृत्तिले आज चकनाचुर बनाएको देखिन्छ । ठीक त्यसैगरी कांग्रेसमा पनि सत्ताप्राप्तिका लागि अप्राकृतिक गठबन्धन, रूखमा भोट हाल्छु भन्नेलाई कारबाही, घेराभित्रको हँसिया हतौडामा भोट हाल्न केन्द्रीय निर्देशन जारीका कारणले स्वाभिमानी कांग्रेसहरू चुप्प लागेर घरमा निस्क्रिय बस्न विवश भएका छन् ।
अहिले कांग्रेसी नेता आगामी १५औं महाधिवेशनमा १० लाख क्रियाशील सदस्य बनाउने स्वप्न सुनाउन लागेका छन् । दश लाख क्रियाशील सदस्य बनाउन के के गर्नुपर्छ भन्ने कुराको कसैले योजना अघि सार्न पनि सकेको देखिँदैन । क्रियाशील सदस्यलाई विगत १२ वर्षदेखि पार्टी कब्जाको रणनीतिको अस्त्र बनाएका छन् । वर्तमान सभापतिको चरित्र हेर्दा गुट, जात, सुदूरपश्चिम, जसरी जेगरी भए पनि सत्ता, नस, नाता, सुन, द्रव्य र तीन महिनामा गर्नुपर्ने काम तीन वर्षमा पनि नगर्ने, भागबण्डाका महाविषले देश र दललाई नै विषाक्त बनाएर राखेका छन् ।
जनता बाढी पहिराले बगून् कि भुइँचालाले किचिएर मरून् त्यता ध्यान छैन तर विगतदेखि आजैसम्म पनि आफ्नो र आफ्न्तको चाकरीदारको उद्धारमा र सत्ताका लागि बकुल्लेभक्ति यस प्रकारको प्रवृत्ति भएका नेताका पछि लागेर यो पार्टी देश एक्लै हाँक्ने स्थानमा पुग्छ भनेर कसरी विश्वास गर्छन् जनताले र यसमा मान्छे आकर्षित हुन्छन् ? अहिले मेचीदेखि महाकालीसम्मैका गाउँ, शहर सर्वत्र पहिलो पार्टीका सभापति र दोस्रो दलका सभापति देशकै दुर्भाग्यमूर्तिका रूपमा चित्रण गर्नेगरेको भेटिन्छ । खेलकुद मैदानमा पनि ...चोर देश छोड भन्ने नारा लागेको सुन्दा पनि निर्लज्ज भएर बांगे हात हल्लाएर समर्थक खोजेको देखिनु अचम्म होइन र ?
एउटा खास सांस्कृतिक समूहका कार्यक्रममा सहभागी हुन जाँदा देशका युवकले यी दुईमाथि गरेको खुलामञ्चको व्यवहार सबैले देखे होइन र ? यदि चरित्र अनुकूल बोली, आचरण र व्यवहार एवं क्रियाकलाप भएको भए यस्तो हुन्थ्यो होला र ? प्रजातन्त्रमा नेता जनताको प्रिय पात्र हुनुपर्ने होइन ? किन आज हाम्रा ती मान्छे जो पटक पटक जनताबाट छनिएर प्रधानमन्त्री जस्तो पद सम्हाले तिनको यो सुगति ? दुुर्गति के ठान्ने ?...चोर देश छोड ।...चालाले दुःख पाए साराले । यस्ता नारा बीपी, मनमोहन, गणेशमान, सुशील कोइराला किसुनजीविरुद्ध कहिल्यै कतै सुनियो ? अब पनि यसो गर्ने रास्वपा या माओवादीका छाउरा भनियो भने भयानक भूल हुनेछ । यो युवकको सहजस्वस्फुर्त क्रन्दन मिश्रित आक्रोश हो । मर्ता क्या नहि कर्ता ?
सत्ता र शक्ति जनतामा हुन्छ
हाम्रा देशमा सत्ता र शक्ति प्राप्तिका निमित्त उत्कोच, ताबेदारी, नसनाता, जातभात, ग्रुप र समूह खोजिन्छ । बाहुन ठूला पदमा पुग्दा सर्वत्र बाहुन् । छेत्री ठूला पदमा पुग्दा सर्वत्र छेत्रीको दब्दबा देखिएको हुनाले राजनीति पनि असारसाउनको खहरे जस्तो भयो । वर्षा भए बाढी आउने नभए खहरेका छातीमा कमिला हिँड्ने । म अलि सानै र कम बुझ्ने क्षमताको हुँदा बाहुनवाद चलायो फलानाले यसका विरुद्ध जेहाद छेड्छु भनेर मैले सधैं पाउको दर्शन गरेका नेता कुर्लिए । मैले अहिले यसो विचार गर्दा अहिलेभन्दा त त्यस बेला तिलचामल बराबर भएको देखेँ । त्यति बेला त्यो आरोप लागेका मान्छेले एक दिन भनेका थिए, ‘मैले सबैलाई संविधानको दायरामा ल्याएँ तर आज शिर झुकाएर भन्छु गणेशमानजीलाई सकिन’ ।
वर्तमान सभापतिजीले पनि लामो र लोमहर्षक संघर्ष गर्नुभएको हो तर जब पदमा पुग्नुभयो अनि उहाँले धरातल र हैसियत बिर्सेको हुनाले आज उहाँ र ओलीजी संस्कार संस्कृति मनाउने ठाउँमा र खेलाडीलाई आश्वस्त बनाउन जाँदा पनि गएका ठाउँमा मूर्दावाद सुन्नु परेको देखिन्छ ।
गणेशमानजीलाई बीपीले पनि सक्नुभएन तर सधैं बीपीलाई उहाँले मान्नुभयो । पार्टी फुटाएर छुट्टै पार्टीको नेता सभापति भएका मान्छेलाई पनि उनले आफूभन्दा पछिल्लो मर्यादा दिएका थिए तर आज ? आफूसँग दुई-दुई चक्र चुनाव लडेका र देशका सबै तह र तप्काले भावी सभापति भनेर भन्न लागेका व्यक्तिलाई पनि त्यो स्थान र मर्यादा दिएको त देखिएन । अहिले पनि नेपाली कांग्रेसका विधानले तोकेकै निर्वाचन वर्षमा चुनाव हुने निश्चित छैन । किनभने वर्तमान नेका सभापतिजी नेपाल विद्यार्थी संघको सभापति आठ वर्ष हुँदा पनि चुनाव गराउनु भएन र बीपीले विकल्प खोज्नुभएको थियो । नेपाली कांग्रेसको सभापति भएको प्रथम कालावधिमा पनि त उहाँले नौ वर्षमा मात्रै बल्लबल्ल चुनाव गराउनुभएको थियो नि त ।
भनिन्छ छेत्रीबाहुनलाई पदले र नारीलाई धनले अघाउन सकिँदैन । २०८४ सालको मंसिर महिनाको यति गते नेपाली कांग्रेसको १५औं महाधिवेशन गर्ने भनेर बेलैमा तोकेर तदनुसार क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणका अप्ठ्यारा प्रावधान हटाएर जिल्ला सभापतिमार्फत ७७ वटै जिल्लामा संगठन विस्तारका सबै काम गर्न आरम्भ नगरे सल्लाह गर्दागर्दै बार घर माझी डुबे झैँ वर्तमान सभापतिले ओछ्यानमा सुतेर महाधिवेशन प्रतिनिधिलाई शुभकामना सन्देश दिने अवस्था नआउन्जेल नेपाली कांग्रेसको १५औं महाधिवेशन नगर्न पनि सक्नुहुन्छ । उहाँको बेलाबेलाको क्रियाकलाप र पूर्वप्रवृत्तिले पनि यही भन्छ ।
यस कुरालाई ख्याल राखेर सभापतिजीलाई बेलैमा चुनाव गराउँछु भन्न विवश बनाएनन् कांग्रेसीजनले भने काग कराउँदैछ पिना सुक्दैछ भन्ने उखान चरितार्थ हुन्छ । यस्ता कुरामा उहाँले विद्यावारिधिभन्दा ठूलो करनी र कथनी विभेदको डिग्री लिनुभएको छ । होशियार कांग्रेस सुधार्न चाहने कोही हुनुहुन्छ भने । ताबेदारी गरेर टीके पदाधिकारी बन्नुहोला जनताले चाहेको नेता बन्न त जनताबाटै तागत लिएर आउनुपर्छ । जसरी बीपी आउनुभएको थियो, जसरी गिरिजाप्रसाद आउनुभएको थियो, जसरी किसुनजी र सुशील कोइराला आउनुभएको थियो ।
वर्तमान सभापतिजीले पनि लामो र लोमहर्षक संघर्ष गर्नुभएको हो तर जब पदमा पुग्नुभयो अनि उहाँले धरातल र हैसियत बिर्सेको हुनाले आज उहाँ र ओलीजी संस्कार संस्कृति मनाउने ठाउँमा र खेलाडीलाई आश्वस्त बनाउन जाँदा पनि गएका ठाउँमा मुर्दावाद सुन्नु परेको देखिन्छ । नेपाल र बंगलादेशका बहिनीहरू खेलेको दशरथ रंगशालामा ओलीले के सुन्नुपरेथ्यो हेक्का छ ? त्यहाँ कुनै विरोधी दलका कार्यकर्ताभन्दा युवायुवती थिए जसका छातीमा नेपालको अपार माया थियो र नालायक पदाधिकारीलाई तिनले मुर्दावादको पगरी लाएर स्वागत गरेका थिए भन्ने बुझ्नुपर्छ । वर्तमान कांग्रेस सभापतिको पनि अवस्था यही हो ।
आफू राजनीतिको अखाडामा हुँदाहुँदै पत्नीपुत्रकलत्रको व्यवस्था गर्ने राणा, राजा, पञ्चको मात्रै होइन, लालु यादव र रावडी देवीको पनि जल्दोबल्दो उदाहरण छ है सभापतिजी हो । छारामा सुतेर खुट्टा भारमा चढाउँदैमा कोही पनि महान् गनिँदैन । आजका दिनमा विनासुरक्षा तपाईंहरू रत्नपार्कबाट आ-आफ्ना घरसम्म हिँडेर आउन सक्नुहुन्न बीचैमा पिटिनुहुन्छ अनि के नेता हुँ भन्ने यस्ताले । नेता पद, पैसा, सुरक्षासञ्जाल होइन त्यो त चरित्र, आस्था, विश्वास र आममान्छेका हृदयमा रहेको भरोसा हो । यो देशका महानहरूबाट यस्तै शिक्षा पाइन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच