अमेरिकालगायत टुँडिखेल र दशरथ रंगशालाको सार्वजनिक कार्यक्रमहरूमा प्रधानमन्त्रीको आम्नेसाम्नेमा नै केपी ओली मुर्दावाद,....देश छोड, दुःख पाए साराले केपी ओलीका पाराले जस्ता उग्र नारामा हजारौं हजार युवाहरूको सक्रिय सहभागिताले अहिले नेपाली राजनीतिक नेतृत्व र व्यवस्था संकटमा छ भन्ने पुष्टि हुन्छ । यसलाई सत्ताधारीले अन्यथा व्याख्या नगर्दा हुन्छ । एकपछि अर्को कार्यक्रमहरूमा युवा विद्रोहीहरूको बढ्दो ऐक्यबद्धताले संकट चुलिएको प्रतीत हुन्छ । यो अवस्था किन र कसरी आयो ? जिम्मेवारहरू पूर्वाग्रही नभइकन गम्भीर आत्मसमीक्षा, सिंहावलोकन र आगतलाई सुधार्नुपर्ने दबाबलाई आत्मसात गर्नुपर्छ । नेतृत्वमा हुनेहरूको कार्यशैली, जीवनशैली, क्रियाकलापलाई सम्बन्धित पक्षले पुनर्विचार, आत्मसमीक्षा, आत्मसमर्पण र सुधारको बाटो अख्तियार गर्नुको विकल्प छैन ।
वास्तवमा अब ढाँटछल नगरीकन व्यवहारमै सुध्रन प्रारम्भ भएको अवस्था सिर्जना यदि भएन भने उखानबाट, जिब्रो लट्पट्याएर र कुम हल्लाएको भरमा तिम्रो सत्ता र व्यवस्था किमार्थ टिक्दैनन । यथास्थितिमा कुशासनका नायकहरूलाई र महँगो व्यवस्थालाई जस्ताको तस्तै किन टिक्न दिने ? युवाहरूलाई निर्यात गरेर शासन गर्ने कार्यशैली, जीवनशैली र शासकीय शैलीमा हाम्रो भविष्य अन्धकार छ भन्ने युवाहरूको आवाजसँग बाँकी देशवासीको समर्थन छ । युवा आवाज कुल्चदा बंगलादेशको अवस्था नआओस् । युवाहरूलाई निर्यातको मुख्य वस्तु बनाउने र रेमिटेन्समा भ्रष्टाचार गर्ने दिनहरू अब सक्किएका हुन् भन्ने जनाउ हो युवा-असन्तुष्टि ।
एमाले, कांग्रेस र माओवादीबाट तीन असफलहरू बारम्बार आलोपालो प्रधानमन्त्री हुने जुन परिपाटी र परिस्थिति विद्यमान छ त्यसले गर्दा ती पार्टीहरूमा युवाहरूको भविष्य छैन भन्ने एमालेलगायत कांग्रेस र माओवादीका युवाहरूको निष्कर्ष हो दशरथ रंगशालाको घटना ।
असन्तुष्टिको शैली र भाषा हिजो पनि शिष्ट थिएन भने आज कसरी हुन्छ ? त्यो दोष हिजो शिष्टाचारसम्बन्धी गलत अभ्यास गर्ने यिनै नेताहरूलाई जान्छ । हामीले खति अति व्यहो¥यौं । अब खति व्यहोर्ने पालो अति गर्नेहरूको हो भन्ने आवाजलाई सधैं दमन गर्न सकिँदैन भन्ने उदाहरण हुन् अफगानिस्तान, श्रीलंका र बंगलादेशमा भएका राजनीतिक उथलपुथलका घटनाहरू । राजनीति गर्नेहरूले विश्वका राजनीतिक घटनाक्रमबाट शिक्षा लिनुको अर्को विकल्प छैन ।
सधैं उथलपुथल मच्चाउँछु । सत्तामा रजाइँ गर्छु भन्नेहरूका दिनगन्ती सुरु भएको आभास हुन्छ । अहिलेको विरोध मिलिजुली शासन गर्ने र बाँडिचुँडी खाने सिद्धान्त अब म्याद सक्किएको औषधि हो भन्ने युवाहरूको निष्कर्ष हो । दशरथ रंगशालामा प्रधानमन्त्रीकै अगाडि युवाहरूले गरेको विरोध अब भ्रष्टाचार, ढाँटछल र छलछामको राजनीति टिक्दैन भन्ने घोषणा हो । प्रधानमन्त्रीको पूर्वघोषित कार्यक्रम रद्द गर्दा सरकार कमजोर भएको सन्देश गयो । वातावरण यसरी किन बिग्रियो ? कसले बिगार्यो ? यो एक्कासि र अर्काले बिगारेको पनि होइन । यो बिगार्ने जिम्मेवारहरू खड्गप्रसाद ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल एण्ड कम्पनी नै हुन् ।
यिनीहरूले सरकार र पार्टीलाई निजी सम्पत्ति बनाए । सुशासनको धर्म, मर्म र सिद्धान्तमा सधैं प्रहार गर्नेहरूलाई नै प्रहार नगरिकन हाम्रो अवस्था सुध्रँदैन भन्ने यदि युवाहरूको निष्कर्ष हो भने जनताको साथ यिनै युवाहरूलाई जान्छ भन्ने कुरा नेपाली राजनीतिलाई निजी सम्पत्तिको रूपमा दुरुपयोग गर्नेहरूले बुझ्नुपर्छ । आफ्नै छोराछोरी आफ्नो पार्टीमा गोलबन्द गर्न असफलहरूले अब युवाहरूलाई राष्ट्र निर्माणको जिम्मेवारीमा अग्रसर हुने बाटो बन्द गर्ने र अझै रजाइँ गर्ने सोचलाई त्याग्नुपर्छ । अन्यथा यसको दुष्परिणाम सोझै राष्ट्रिय अखण्डतामा पनि पर्नसक्छ । त्यसैले जिम्मेवारहरूले समयमै आफ्नो अक्षमतालाई आत्मसात गर्दै सत्ता युवाहरूमा अविलम्ब हस्तान्तरण गर्ने बाटो अख्तियार गर्नुपर्छ ।
एमालेकै छोराछोरीहरू प्रधानमन्त्री खड्गप्रसाद ओलीको विरोधमा नारा लगाउँछन् भनेर सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको अभिव्यक्तिले अब पुराना पार्टीहरू संकटमा रहेको पुष्टि भयो । एमालेकै छोराछोरीहरू एमाले समर्थक नभएर बालेन र राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थक किन भए ? तिनीहरू बालेन र राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थक मात्रै नभएर एमालेको घोरविरोधी किन बने ? नेतृत्वको कार्यशैली, जीवनशैली, चरित्र, आचरण र क्रियाकलापलाई नजिकैबाट नियालेका छोराछोरीहरू नै वाक्कदिक्क भएर तिनीहरूले अर्को पार्टीलाई समर्थनमात्रै गरेनन् कि एमाले प्रधानमन्त्रीका कार्यक्रमहरूमा समेत सञ्चारमन्त्री गुरुङका अनुसार सक्रियतापूर्वक विरोधमा लागे । एमाले मात्रै होइन कांग्रेस र माओवादीबाट तीन असफलहरू बारम्बार आलोपालो प्रधानमन्त्री हुने जुन परिपाटी र परिस्थिति विद्यमान छ त्यसले गर्दा ती पार्टीहरूमा युवाहरूको भविष्य छैन भन्ने एमालेलगायतका कांग्रेस र माओवादीका युवाहरूको निष्कर्ष हो दशरथ रंगशालाको घटना ।
एउटै मानिस बारम्बार प्रधानमन्त्री हुने रोगको सिकार यी पार्टीहरू यसअघि नै हुनुपर्ने थियो । त्यो अहिले भयो । नयाँ कार्यक्रम र दृष्टिकोण केही नभएकाहरू बारम्बार प्रधानमन्त्री हुने र असफल हुने रोगको निसानामा अहिले खड्ग ओली छन् भने शेरबहादुर र दाहाललाई पनि अब पुनः प्रधानमन्त्री हुने बाटो बन्द भयो भन्ने घोषणा पनि हो यो विरोध । युवाहरूको असन्तुष्टिले उत्पत्ति गरेको विद्रोहको प्रभावको उपचार होइन कारण बारे समाधानका उपायहरू यदि समयमै खोजिएन भने अब परिस्थिति कसैको पनि काबुमा नहुन सक्छ । २०८४ मा स्वतन्त्र उम्मेदवार र नयाँ पार्टीहरूलाई सिध्याउने पुराना पार्टीहरूको योजनालाई जनताले अब साथ दिँदैनन् भन्ने कुरा घटनाक्रमबाट पुष्टि हुन्छ ।
टुँडिखेलमा देउवा र ओलीप्रतिको आक्रोशले युवाहरू अब यिनीहरूका थोत्रा गफहरूबाट अघाएको सन्देश दिएका थिए भने रंगशालामा प्रधानमन्त्रीका विरुद्ध घन्केको मुर्दावादको नारा अब राजनीतिक कोर्स परिवर्तनको संघारमा देश उभिएको स्पष्ट जनाउ पनि दिए । व्यक्ति बलवान् हुँदैन समय बलवान् हुन्छ भन्ने कुरा शेरबहादुर, खड्ग ओली र पुष्पकमल दाहालहरूले बुझ्नुपर्छ । प्रधानमन्त्रीको देशभित्र र बाहिर जताततै किन विरोध हुन्छ ? विनाकारण विरोध हुँदैन । देशको प्रधानमन्त्री कुनै पनि कार्यक्रमहरूमा जाँदा आफ्नैविरुद्ध नारा लाग्छ त्यो पनि सम्बोधनसँग...चोर, देश छोड भन्ने उग्र नारा युवाहरूले लगाउने अवस्था र परिस्थिति किन सिर्जना भयो ? तिम्रो पाराले दुःख पायो साराले हिजो सिकाउने ओलीहरू त्यसकै निसानामा आज आफैँ किन परे ?
परिवर्तनपछि आफ्नो व्यक्तिगत आर्थिक परिवर्तन नगरेर जनताको अवस्थालाई परिवर्तन गरेको भए यो अवस्था किमार्थ आउने थिएन । यसबारे सम्बन्धित सबैले व्यवहारमा आत्मसमीक्षा, आत्ममूल्यांकन र आत्मआलोचना किन गर्दैनन् ? वर्तमान राजनीतिक नेतृत्वसँग युवाहरू किन रुष्ट छन् ? यो विषय मार्मिक छ । युवाहरूलाई निर्यात गर्ने योजनाकार यिनै पालैपालो नेतृत्व गर्नेहरू नै हुन् ।
त्यसैले प्रधानमन्त्रीप्रति देशभित्र र देशबाहिर पनि युवाहरूको यस प्रकारको असन्तुष्टि अब थोत्रा नेताहरूको भविष्यमा ग्रहण हो भन्दा हुन्छ । वर्तमान प्रधानमन्त्रीजी बेतुकका कुरा बोल्ने, अर्कोलाई होच्याएर बोल्ने र आफू कुनै अर्को ग्रहबाट आएको छुट्टै व्यक्तित्व र क्षमता भएको विशेष व्यक्ति हुँ भन्ने र घरघरमा ग्यास, पानीजहाज र कुश्मा-बेनी रेलजस्ता हावादारी र चटकी शैलीको विरुद्धमा युवाहरूले आक्रमण गरेका हुन् भन्ने तर्क गर्नेहरूको संख्या पनि कम छैन । प्रधानमन्त्रीजी आफूले बोलेका र गरेका बकमफुसे कामको आत्मप्रशंसा आफ्नो भाषणहरूमा गर्ने हँुदा प्रधानमन्त्रीको उपस्थिति र अभिव्यक्तिप्रति युवाहरू रुष्ट देखिए ।
प्रधानमन्त्रीजीको शैक्षिक धरातल, समस्याको हावादारी विश्लेषण र उहाँको भ्रष्टहरूसँगको विशेष हिमचिम, सम्पर्क र सहयोगको लेनदेनका विषयहरू प्रतिको कटाक्ष हो भन्नेहरू पनि गलत नहोलान् । प्रधानमन्त्रीप्रतिको मर्यादालाई यसरी युवाहरूले खुल्लमखुल्ला उल्लंघन गर्ने स्थितिको बीजारोपण दुर्भाग्यपूर्ण भन्नुपर्छ । आफ्ना ढोके, बैठके र पार्टीका लम्पट कार्यकर्ताले वर्तमान प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई राजनेता भनेको विषय अपच भएको धारणा युवाहरूले व्यक्त गरेको विषयमा प्रधानमन्त्री आफू पनि सच्चिनुपर्ने हो कि ? विकास, ज्ञान, शिक्षा, सुध्रने र सच्चिने विषयको अन्त्य हुँदैन । प्रधानमन्त्रीसँग सच्चिने म्याद गुज्रेको घोषणा हो युवाहरूको अहिलेको विरोध । प्रधानमन्त्रीजीको रवाफी भाषण, हास्यव्यंग्य साथै चटके बोलीचाली र जीवनशैलीप्रति युवाहरू अत्यन्तै नकारात्मक छन् ।
त्यसका अतिरिक्त उहाँले लगाउने घडी, चस्मा र जुत्ताको मूल्य सुन्दा सबैले जिब्रो टोक्नुपर्ने विषय अर्को चरम असन्तुष्टिको कारण हो । अहिले नेपालीबीच प्रधानमन्त्रीको खर्चिलो जीवनशैलीका साथसाथै राष्ट्रले प्रधानमन्त्रीको उपचारमा करोडौं खर्च गरेको विषयको उच्चारण गर्दै उनले राज्यलाई के दिए भन्ने युवाहरूको प्रश्न कम मार्मिक र महत्वपूर्ण छैन ?
राज्यको ढुकुटीबाट स्वास्थ्योपचारमा करोडौं खर्च गर्ने खड्गप्रसाद ओली र देशभित्र हुने सामान्य उपचारका लागि जापानमा गएर राज्यकोषको दुरुपयोग गर्ने पूर्वराष्ट्रपति रामवरण यादव र त्रिभुवन विश्वविद्यालयको टिचिङ अस्पताल महाराजगञ्जमा हुने साधारण पेट दुःखेको उपचार एयरएम्बुलेन्समा जम्मु टोली डलर खुवाउने हेतुले बोकेर दिल्ली उड्ने वर्तमान राष्ट्रपतिको क्रियाकलापप्रति पनि युवामात्रै होइन सारा देशवासीले ‘नपाउनेले केरा पायो बोक्रैसमेत खायो’ भन्ने उखान चरितार्थ बनाएको विषयले रामचन्द्र पौडेल सर्वाधिक आलोचनाको विषय बनेका छन् । आलोचना रहरले कसैले गर्दैन । जीवनशैली, कार्यशैली र स्वभावप्रतिको आलोचनाबाट मुक्ति भनेको कि पद त्याग कि सुध्रनुबाहेक अर्को तेस्रो विकल्प छैन ।
पदधारीहरूको गलत काम, बोली र हाउभाउ आदि जनचासो, चिन्ता र आक्रोशको विषय हुने हुनाले युवाहरूले अपमानजनक नारा लगाएका हुन् कि भनेर त्यसको स्पष्टीकरण र सच्चिन सुरुवात गरेको सन्देश दिन अब प्रधानमन्त्रीलगायत सबै पदधारीहरूले ढिला गर्नै हुँदैन । शेरबहादुर देउवा, खड्गप्रसाद ओली, पुष्पकमल दाहाल आदिहरू बारम्बार प्रधानमन्त्री हुनुपर्ने, आफ्नो र आफ्नाका लागि आर्थिक चमत्कार गर्ने तर देश र जनतालाई ऋण र गरिबीको खाडलमा हाल्नेहरू नै आजीवन राज्यको सुविधा उपभोग गर्ने तथाकथित कानुन र नियमहरू तेस्र्याएर ढुकुटीमा धावा बोल्नेहरूलाई युवाहरूले ठाउँका ठाउँ आक्रमण गर्ने विषय अब अनौठो नहोला । यिनीहरू आफ्नो अक्षमता र अलोकप्रियता बारे किन सचेत हुँदैनन् ?
एउटै मानिस चार-पाँच दशकसम्म शक्तिमा हुने आफ्नाका लागि देशको ढुकुटीलाई दुरुपयोग गर्नेहरूप्रति युवाहरूको असन्तुष्टि र आक्रोश पनि अस्वाभाविक होइन भन्नेहरूको तर्कसँग असहमत हुने ठाउँ पनि छैन । राज्यको ढुकुटी दुरुपयोग गर्ने हेतुले नै राजतन्त्रलाई मासेका त होइनन् भन्ने प्रश्न अब अनुचित भन्न किमार्थ मिल्दैन ।
यिनीहरू बारम्बार पद ओगट्ने र नागरिकको अहितमा पदीय शक्तिलाई दुरुपयोग गर्ने र रवाफ, आडम्बर प्रदर्शन गर्ने भएकोले यिनीहरू सबै अहिले युवाहरूको निसानामा छन् । युवाहरूकै निसानाका कारण बंगलादेश कि शेख हसिनाले निर्वासित जीवन बिताउनु प¥यो । देउवा, ओली र दाहालले पनि अब सोच्ने हो कि ? एउटै मानिस चारपाँच दशकसम्म शक्तिमा हुने आफ्नाका लागि देशको ढुकुटीलाई दुरुपयोग गर्नेहरूप्रति युवाहरूको असन्तुष्टि र आक्रोश पनि अस्वाभाविक होइन भन्नेहरूको तर्कसँग असहमत हुने ठाउँ पनि छैन । राज्यको ढुकुटी दुरुपयोग गर्ने हेतुले नै राजतन्त्रलाई मासेका त होइनन् भन्ने प्रश्न अब अनुचित भन्न किमार्थ मिल्दैन ।
अहिले एकपटक पदमा पुगेपछि जीवनभर राजकीय सुविधा लिने व्यवस्थाका साथै योग्यता शून्यहरूलाई राजनीतिको नाममा जागिरे बनाउँदा देशको राजस्वभन्दा साधारण खर्च बढी भएको अवस्था छ । प्रदेशको नाममा अनावश्यक आर्थिक भार र स्थानीय निकायदेखि केन्द्रसम्मका राजनीतिक पदहरूमा काम गर्ने सबैलाई बेतनधारी बनाउँदा लिएको ऋणको ब्याज भुक्तानी गर्न पनि फेरि ऋण लिनुपर्ने अवस्थाले अब देश टाट उल्टेको घोषणा गर्नमात्र बाँकी छ । देशलाई यस अवस्थामा पुर्याउने नै बारम्बार प्रधानमन्त्री किन बन्ने भन्ने युवाहरूको दृष्टिकोणलाई अब समर्थन किन नगर्ने ?
मुलुकलाई समृद्ध त के यथास्थितिमा राख्न असफलहरूले व्यवस्था बचाउने नाममा नेपालीको अवस्थालाई जरजर पारे । पञ्चायत कालमा राजनीतिक नियुक्ति सक्षम र योग्य व्यक्तिमध्येबाट हुन्थ्यो । निर्णायक भूमिका राजाको भए पनि उनले आफ्ना नातेदारहरू नियुक्त गरेनन् । राजनीतिक नियुक्ति अहिले नाता, कार्यकर्ता र घुस दिनसक्नेहरूको मात्र हुने हुँदा नियुक्ति अयोग्यहरूको मात्र हुन्छ । देश यत्रतत्र सर्वत्र लथालिंग छ । लथालिंगको परिणाम हो युवाहरूको विद्रोह ।
युवाहरूले लथालिंगलाई व्यवस्थापन गर्ने योजनाविनाको विद्रोहको परिणाम फेरि थप लथालिंग हुन पनि सक्छ । यस्तो विरोध जनताको हितमा हुँदैन । परिवर्तनपछिको विकास र समृद्धिको स्पष्ट खाकाविना परिवर्तनको नेतृत्व गर्छु भन्नेहरू किमार्थ स्वीकार्य हुँदैनन् । विगतका भ्रष्टाचारका काण्डहरूको अविलम्ब निष्पक्ष छानविन र यी सबै भ्रष्टहरूलाई जेलमा हेर्ने आमनेपालीको चाहना पूरा गर्ने हिम्मतिलो नेतृत्व देशले खोजेको छ । के युवाहरूको विद्रोहबाट त्यस्तो भरपर्दो नेतृत्व जन्मन सक्छ ?
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच