काठमाडौं । नेकपा माओवादी केन्द्रले साना वाम घटकसँग गर्ने भनेको एकता शीर्ष नेतृत्वको व्यस्तता र बेवास्ताका कारण अलपत्र परेको छ । नेकपा माओवादी केन्द्रले पटक-पटक विचार मिल्ने वामघटकसँग एकता र सहकार्य गर्ने निर्णय गरेको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल साजवादी पार्टीसँग त एकताबारे बारम्बार औपचारिक छलफल पनि गरिसकेको छ । माओवादी केन्द्र र नेसपाले गत चैत ३ गते नै एकताबारे सहमति गर्दै दुई दलीय कार्यदलसमेत बनाएका थिए । सहमतिको आठ महिनापछि पनि औपचारिक एकता नहुँदा स्थानीय तह उपनिर्वाचनको पूर्व-सन्ध्यामा अलमल बढेको छ । ‘माओवादीसँग पार्टी एकता गर्ने भनेर बसियो तर आठ महिना बितिसक्दा औपचारिकता पाएन । आफ्नो पार्टी पनि निष्क्रिय हुने एकता पनि नहुने क्रम अन्त्य हुनुप¥यो’ नेसपाका एक कार्यकर्ताको भनाइ छ ।
नेसपा सहअध्यक्ष गंगानारायण श्रेष्ठ भने माओवादीसँगको एकतामा अब ढिलाइ नहुने बताउनुहुन्छ । चाडपर्वका कारण केही समयदेखि संवाद सुस्त भएको भन्दै उहाँले विगतमा भएका छलफलका आधारमै स्थानीय चुनावसम्म पार्टी एकताको सम्भावना रहेको बताउनुभयो । ‘नेसपा र माओवादी केन्द्रबीच पार्टी एकता हुने निश्चित छ । जे जे औपचारिकता बाँकी छ त्यो स्थानीय चुनावसम्म टुंग्याउन सकिन्छ’, उहाँले भन्नुभयो । विचार मिल्ने वाम शक्तिहरूको ध्रुवीकरण अपरिहार्य रहेको भन्दै उहाँले विगतमा माओवादी आन्दोलनसँग जोडिएका सबैजना एकै ठाउँमा उभिनुपर्ने औँल्याउनुभयो ।
माओवादी उपमहासचिव जनार्दन शर्माले केही समयअघि नेकपा महासचिव नेत्रविक्रम चन्द लगायतसँग कपिलवस्तुमा छलफल गर्नुभएको थियो । सो छलफलले माओवादी–नेकपा एकीकरणमा थप पहल गरेको बताइन्छ । माओवादी सचिव देवेन्द्र पौडेल नेकपा, नेसपासहित अन्य शक्तिहरूसँगको एकतामा अब विलम्ब नहुने बताउनुहुन्छ । ‘माओवादीको बैठकले नै वामपन्थी, राष्ट्रवादी, गणतान्त्रिक, प्रगतिशील शक्तिहरूबीच सहकार्यको निर्णय गरेको हो । माओवादीका कारण एकतामा कुनै अलमल भएको छैन । आजसम्म जे जति कारणले रोकिएको भए पनि छठलगत्तै यस विषयमा परिणाम दिनेगरी काम हुन्छ’, उहाँले हिमालय टाइम्ससँग भन्नुभयो ।
स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते हुँदै छ । त्यसअगावै एकताको सन्देश दिने तयारी भइरहेको माओवादी नेताहरूको दाबी छ । यद्यपि, पार्टी एकताको विस्तृत मोडालिटी, शीर्ष नेताहरूको पद एवं वरीयता व्यवस्थापन लगायतका विषयहरू मिल्न नसक्दा एकतामा ढिलाइ भएको हो । माओवादी केन्द्रमा एकतापश्चात् नेत्रविक्रम चन्दको हैसियत के हुने ? भन्ने विषय सबैभन्दा पेचिलो बनेको छ ।
माओवादी केन्द्रीय समितिको बैठक दशैँअघि नै बस्ने तय थियो । यद्यपि, विभिन्न कारणले हुन नसकेको बैठक स्थानीय उपनिर्वाचन अघि बस्ने सम्भावना छ । अब बस्ने बैठकले नै पार्टी एकताका आधार र प्रस्तावहरू टुंगो लगाउने माओवादी सचिव पौडेलको भनाइ छ ।
‘माओवादीको नेतृत्वमा नेपालको वामपन्थी प्रगतिशील आन्दोलनलाई अझ मजबुद बनाउने गरी अबको केन्द्रीय कमिटी बैठकबाट निर्णय लिन्छौँ’, उहाँले भन्नुभयो । यसअघि माओवादी स्थायी कमिटी बैठकले संगठन चुस्त बनाउने, जनतामाझ जाने र २०८४ को चुनाव एक्लै लड्नसक्ने तागत निर्माण गर्ने निर्णय गरेको थियो । सो निर्णय कार्यान्वयनका लागि पनि साना वाम घटक र पूर्व- माओवादी समूहहरूलाई साथमा लिनुपर्ने दबाब माओवादी नेतृत्वलाई छ । केही दिनअघि काठमाडौंमा आयोजित सभामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षमा रहेका वाम दलहरूको एकताको सन्दर्भ उठाउनुभएको थियो । विपक्षमा रहेको नेकपा एकीकृत समाजवादी सँगको एकता चर्चा सेलाएका बेला अब माओवादीभित्र भने संगठन मजबुतीका लागि एकता अभियान नै चलाउनुपर्ने दबाब बढ्दो छ । माओवादीले यस बीचमा क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेकपा बहुमत, नेकपा मशाल, एकीकृत समाजवादीलगायत दलहरूसँग एकताको पहल गरे पनि सफल हुन सकेको छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच