मेचीनगरबाट सुरु भयो कांग्रेस युवा नेताको १२ दिने संकल्प यात्रा

राजेन्द्र गौतम झापा, संवाददाता
Read Time = 5 mins

झापा । मुलुकमा विद्यामान विसंगतिको समूल अन्त्यको मुल लक्ष्यसहित मेचीनगर - महेन्द्रनगर युवा संकल्प यात्रा सुरु भएको छ । शुक्रबार पूर्वीसीमा काँकडभिट्टाबाट सुरु भएको यात्रा मंसिर ४ गते महेन्द्रनगरमा समापन हुनेछ । सामाजिक, आर्थिक, राजनीतिकलगायत समग्र क्षेत्रमा देखिएका विकृतिको अन्त्यका लागि युवा नेताको सामुहिक प्रयासका रुपमा यात्रालाई चित्रण गरिएको छ ।

संकल्प यात्राको नेतृत्व कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले गर्नुभएको छ । विभिन्न जिल्ला यात्रामा ५० जना युवा कांग्रेस सहभागी छन् । संकल्प यात्राले देशभरका युवालाई लोकतन्त्र, विधिको शासन, युवाको हकहित र जनअधिकारका पक्षमा ऐक्यबद्धता हुन प्रेरित गर्ने शाहीले बताउनुभयो । यात्राको शुभारम्भ काँकडभिट्टाको सडकमा दुई सय मिटर हिँडेर गरिएको छ ।

कांग्रेस झापा सभापति देउकुमार थेवेले १० बुँदा समेटिएको ब्यानर र पार्टीको झण्डा शाही लगायत समूहलाई हस्तान्तरण गरेर गर्नुभएको हो। संकल्प यात्राका क्रममा तराईका जिल्लामा युवा जागृतिका कार्यक्रम, अन्तरसंवाद र सामुहिक छलफल गरिने शाहीले जानकारी दिनुभयो ।

यात्राका क्रममा लोकतान्त्रिक मूल्य मान्यताको प्रबर्द्धन, दण्डहीनताको अन्त्य, भ्रष्टाचार न्यूनीकरण, सुशासन, उद्यमशीलतासँगै समृद्ध राष्ट्र निर्माणमा युवाहरुसँग समसायिक विषयमा छलफल हुनेछ । अभियानका संयोजक शाहीले देशको विकास हुँदैन भन्ने सोचको अन्त्य गरी नागरिकमा आस भर्न जरुरी भएको बताउनुभयो ।

" युवामा उत्साहको उर्जा भर्न जरुरी छ , संकल्प यात्राले निरासाको न्यूनीकरण गर्छ " उहाँले भन्नुभयो, " बर्सेनि ५ लाख युवा बेरोजगार भइरहेको अवस्था छ, त्यसको अन्त्य वर्तमानको आवश्यकता हो । " सरकारलाई सुत्ने छुट नभएको बताउनु भएको शाहीले मुलुक भ्रष्टाचारले आक्रान्त बनेको दाबी समेत गर्नुभयो ।

" विकृतिले मुलुक जर्जर भएको छ, जनताले दु :ख मात्रै पाएका छन्, नेता मन्त्री, प्रधानमन्त्री बनेर मात्रै हुँदैन" उहाँले भन्नुभयो , "जनताको जीवन परिवर्तन हुनुपर्छ, नत्र ठूला दलको दह्रो सरकार छ भनेर केही हुँदैन । "

तरुण दलका पूर्वमहामन्त्री, कर्णाली प्रदेशको प्रदेश सभापतिको प्रत्यासी, कालीकोटबाट दुईपटक संघीय सांसदको उम्मेदवार बनिसक्नु भएको शाहीले सहकारी पीडितलाई तत्काल राहत र बचत फिर्ता गर्न सरकारसँग मागसमेत गर्नुभयो ।

मेचीनगरबाट अहिले केहीबेर अघि सुरु भएको यात्राका सहभागी आज दमक पुग्ने कार्यक्रम छ । टोली भोलि मोरङसँगै सुनसरीको इटहरी पुग्ने छ । २५ गते लाहान, २६ गते जनकपुर, २७ गते चपुर , २८ गते वीरगन्ज , २९ गते भरतपुर , ३० गते वुटवल, मंसिर १ गते लमही, २ गते वीरेन्द्रनगर, सुर्खेत, ३ गते कोहलपुर र ४ गते महेन्द्रनगर पुगेर संकल्प यात्रा पूरा हुनेछ ।

यात्रा सुभारम्भ कार्यक्रममा युवा कांग्रेसहरु इन्द्रबहादुर बुढाथोकी, मुकेश लिम्बु, पशुपति पोखरेल, प्रेमिका रानामगर , धर्मेन्द्र नेम्बाङ लगायतले बोल्नुभयो । उहाँहरुले संकल्प यात्राको लक्ष्यसिद्ध हुने अपेक्षा गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?