काठमाडौं । आइसिसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपाल घरेलु टोली युएईसँग १३ रनले पराजित भएको छ । युएईमा जारी आइसिसी यू-१९ महिला विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले पहिलो हार बेहोरेको हो । शनिबार भएको खेलमा नेपाल घरेलु टोलीसँग १३ रनले पराजित भएको थियो । युएईले दिएको १२३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १०९ रनमात्र बनाउन सक्यो ।
नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक ४८ रनको योगदान दिनुभयो । उहाँले ४३ बलमा पाँच चौका प्रहार गरे पनि टोलीको हार टार्न सक्नुभएन । सना प्रविन र सोनी पाख्रिनले समान १९ रन बनाउनुभयो भने ज्योत्सिना मरासिनी ११ रनमा अविजित रहनुभयो ।
नेपाललाई अन्तिम ओभरमा १८ रन चाहिएको अवस्थामा त्यसअघि अजमानमा टस जितेर ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १२२ रनको योगफल तयार पारेको थियो ।
युएईका लागि रिनिता रजिथले सर्वाधिक ४८ रन बनाउनुभयो । उहाँले ३३ बलमा पाँच चौका र दुई छक्का प्रहार गर्नुभएको थियो भने ओपनर लाभन्या केनीले २० तथा इन्दुजा नन्दकुमारले १२ रन थप्नुभएको थियो ।
नेपालकी पूजा शर्माले तीन विकेट लिनुभएको थियो । पूजा महतो, करिश्मा गुरुङ र सीमा केसीले समान एक-एक विकेट लिनुभयो ।
जितसँगै युएई ६ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा छ । चार अंक भएको नेपाल दोस्रो स्थानमा छ । नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले हराएको थियो भने दोस्रो खेलमा कुवेतमाथि १८ रनको फराकिलो जित निकालेको थियो । प्रतियोगितामा नेपालले आज (आइतबार) पुनः थाइल्याण्डसँग खेल्दैछ ।
चार टोली सहभागी छनोटमा हरेक टोलीले ६ खेल खेल्नेछन् । डबल लिग फम्र्याटमा हुने लिगपछि शीर्ष स्थानमा रहने टोलीले सन् २०२५ मा मलेसियामा हुने आइसिसी यू-१९ विश्वकपमा स्थान बनाउनेछ । यू-१९ विश्वकप जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुनेछ । एसिया क्षेत्र छनोटको शीर्ष स्थानमा रहने टोलीले अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड रहेको समूह डीमा स्थान बनाउनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच