काठमाडौं । डिस होम मिडियाका मालिक एवं सत्तारूढ नेकपा (एमाले)का सांसद देवीप्रकाश भट्टचनले सहकारीको झण्डै एक अर्ब रुपैयाँ अपचलन गरेको आरोप लागेको छ । प्रभु बैंक, प्रभु मनी ट्रान्सफरलगायत विभिन्न व्यावसायिक कम्पनी सञ्चालन गर्दै आउनुभएका भट्टचनले प्रभु गु्रप अन्तर्गतकै मनी ट्रान्सफरमार्फत नेपाल भित्रिने रेमिट्यान्स रकम विदेशमै निकालेर देशका विभिन्न सहकारीबाट लिएर भुक्तानी गरेको आरोप लागेको हो । स्रोतका अनुसार मनी ट्रान्सफरमार्फत विदेशबाट आउने रकम उतै राखेर नेपालका सहकारीको करिब ९८ करोड रुपैयाँ भुक्तानी गरेको उहाँमाथि आरोप छ । रेमिट्यान्सको रकम भुक्तानी गरे पनि सहकारीलाई भने फिर्ता नगरेको पाइएको छ । देशैभरीका रेमिट्यान्स सेवा भुक्तानी गर्ने सहकारीहरूले प्रभुबाट पैसा पाएका छैनन् । रकम भुक्तानीका लागि सहकारीहरूले प्रभु म्यानेजमेन्टमा सम्पर्क गरेपछि अपचलनको विषय बाहिर आएको हो । विभिन्न सहकारीहरूले आफूहरूको रकम फिर्ता गर्न म्यानेजमेन्टलाई ताकेता गरेका हुन् ।
उहाँविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयमा उजुरीसमेत परेको पाइएको छ । सांसद भट्टचनको प्रभाव र दबाबका कारण प्रहरीले उजुरी लिन नमानेपछि प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले जिल्ला सरकारी वकिलको कार्यालयमा उजुरी दिनुभएको थियो । लामा र भट्टचन पूर्व-व्यावसायिक साझेदार हुन् । कार्यालयले उजुरीको व्यहोरासहित आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पत्रसमेत पठाएको थियो । गत असोज ११ गते नै जाहेरी दर्ता भए पनि प्रहरीले कुनै कारबाही अगाडि बढाएको छैन ।
‘कुसुम लामाले देवीप्रकाश भट्टचनसमेत उपर दिनुभएको मुलुकी अपराध संहिता २०७४ को दफा २४९ र २५२ बमोजिमको कसुर (ठगीसमेत) जाहेरी दरखास्तको प्रतिलिपि, निवेदन, जाहेरी दरखास्त र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि समेतका कागजातहरू संलग्न राखी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५ (२) बमोजिम आवश्यक कायार्थ पठाइएको व्यहोरा अनुरोध छ,’ कार्यालयले गत असोज ११ गते प्रहरी परिसरलाई पठाएको पत्रमा भनिएको छ ।
उहाँले सहकारीको रकम अपचलन गरेको थाहा पाएपछि राष्ट्र बैंकले कारबाही गर्ने तयारी गरेको थियो । तर, उहाँ बैंक तथा वित्तीय संस्थाबाट बाहिरिएर डिस होमको अध्यक्ष बन्नुभएको थियो । हाल सहकारीको बचत अपचलन प्रकरणमा देशका प्रतिष्ठित व्यक्तिहरू अनुसन्धानका लागि हिरासतमा छन् । सहकारी प्रकरणमै केहीमाथि अनुसन्धान चलिरहेकै बेला सांसद भट्टचनले चलाएको समूहबाट पनि सहकारीको झण्डै ९८ करोड रुपैयाँ दुरुपयोग भएको पाइएको हो । तर, सत्तारूढ एमालेका सांसदसमेत रहनुभएका उहाँमाथि सरकारले कुनै कारबाही अगाडि बढाएको छैन । प्रभु समूहका तत्कालीन अध्यक्ष भट्टचन पैसाकै आडमा एमालेको समानुपातिक कोटाबाट प्रतिनिधि सभाको सांसद हुनुभएको थियो ।
सहकारीको रकम देवी भट्टचनले चलाएका छन् : प्रभु म्यानेजमेन्ट
प्रभु म्यानेजमेन्टले रकम लिइएका सहकारीलाई पत्र लेख्दै अध्यक्ष एवं सांसद भट्टचनबाटै रकम असुलउपर गराइने स्पष्ट पारेको छ । प्रभु गु्रपअन्तर्गत सञ्चालनमा रहेको प्रभु म्यानेजमेन्टले विभिन्न सहकारीलाई तिर्नुपर्ने रकम भट्टचनबाट फिर्ता आएपछि तिर्छौं भन्दै पत्र लेखेको हो । कम्पनीले पोखरा महानगरपालिका कास्कीमा रहेको एक बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई भुक्तानी गर्नुपर्ने रकम भट्टचनले तिर्ने भन्दै पत्र लेखेको हो । सहकारीको रकम समयमा भुक्तान नगरेको भन्दै बारम्बार पत्र काटेकोमा गत साउन २४ गते प्रभु म्यानेजमेन्टका लेखा अधिकृत हेम महाजुले त्यसको जवाफ दिँदै उक्त रकम अध्यक्ष भट्टचनले चलाएको र फिर्ता आएपछि मात्र तिर्ने बताउनुभएको हो । ‘यस संस्थाले तपाईंलाई भुक्तानी गर्नुपर्ने रकमको शोधभर्ना तपाईंलाई यसभन्दा अगावै लिखित जानकारी गराइएअनुसार यस संस्थाले प्रभु मनी ट्रान्सफर (देवी भट्टचन)बाट फिर्ता आउनासाथ तपाईंको हरहिसाब मिलान गर्ने कुराको पुनः जानकारी गराउँदछु । ‘तसर्थ भुक्तानी फस्र्योटको लागि २० दिन समय उपलब्ध गराइदिनु हुन विनम्र अनुरोध गर्दछौँ,’ म्यानेजमेन्टका लेखा अधिकृत महाजुलले पठाएको जवाफमा भनिएको छ । पत्रमा म्यानेजमेन्टले नेपाल राष्ट्र बैंकमा समेत उजुरी गरेको जनाएको छ । ‘यस संस्थाले नेपाल राष्ट्र बैंकसमक्ष हाल देखिएको सहकारी संस्थाको रेमिट्यान्सबापत भुक्तानी गर्नुपर्ने विषयलाई लिएर प्रभु मनी ट्रान्सफरलाई भुक्तानीको व्यवस्था गराउन दबाबमूलक भूमिका खेल्न अनुरोध गरिएको समेत जानकारी गराउदँछौँ,’ पत्रमा भनिएको छ ।
भट्टचनले झण्डै एक अर्ब रुपैयाँ अपचलन गरिदिएपछि म्यानेजमेण्ट डुब्ने अवस्थामा पुगेको छ । सम्पूर्ण कर्जा रकम भट्टचनले व्यक्तिगत कम्पनीमा लगानी गरेकोले उक्त रकम भट्टचनबाट रकम फिर्ता आएपछि मात्र साँवा र ब्याज भुक्तान गर्ने कम्पनीले जनाएको छ ।
मेरो कुनै लिनु/दिनु छैन, पैसा मैले तिर्ने होइन : भट्टचन
सांसद देवी भट्टचनले भने आफूले म्यानेजमेन्टलाई कुनै पनि रकम तिर्न बाँकी नरहेको दाबी गर्नुभएको छ । म्यानेजमेन्टलाई कुनै तिर्नुपर्ने रकम नभए पनि आफूलाई अनावश्यक रूपमा जोडिएको उहाँको आरोप छ । सहकारीको पैसा म्यानेजमेन्टले नै तिर्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो । ‘मेनेजमेन्टसँग मेरो कुनै लिनु/दिनु छैन । त्यो प्रभु म्यानेजमेन्टको कुरा हो । बेकारमा मलाई किन जोडिरहेका छन् थाहा छैन,’ हिमालय टाइम्ससँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘त्यो मसँग जोडिएको विषय नै होइन । सहकारीको पैसा उसैले तिर्नुपर्ने हो । किन नतिरेको हो त्यो पनि थाहा छैन, उसैलाई थाहा होला । त्यो मेरो कम्पनी पनि होइन । मैले तिर्नुु पर्दैन । मैले तिर्नुपर्ने विषय नै होइन ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच