✍️ सुरेशकुमार भट्ट
हाम्रो ठूलो किसानी परिवार हामी किसानका छोरा बाजेहरूले मिजार बरामहरूका खेत खनिदिएबापत पाएका सुर्कासुर्की खेत, आफँंले खोरिया फाँडेर बनाएको पाताल खेत । तीन मोहर अर्थात् डेढ रुपैयाँमा फुपाजु डुंडे घिमिरेले किनिदिएको मोती भैंसीले बाइस बेतसम्म पाडी पाडी पाइदिएकाले जोडिएको सम्पत्ति र सातवटा सुर्का खारेर बनाएको जमिनमुनिको भान्सा चुला र माथि खाँबे तलाको धुवाँको भुमरी खेल्ने घर । त्यो पनि भानु डिठ्ठा (धनकुटामा १८३०-४० तिर बहाली छँदै धनकुटामै मृत्यु) का नातीले जेठी श्रीमती डुँडी भनेर हेला गरेकाले गाउँले बराम, न्यार, जोगी र श्रीमल सार्कीहरूले मिलेर बनाइदिएको कुटी जस्तो घर । साना दुई नाती सासु बुहारी ।
घरकै मेलो, घरकै खेलो, न त हुन्थ्यो पानीको छेलोखेलो तर बुढाको गजबकै थियो खेत रोपाइँ काम गराइको मेलो । खेतका गरागरा घुमी घुमी हेर्थे । कुनै गरामा पानीको राँटारुटी देखे भने, ए जेठा ! ‘ज्वो बाउ ।’ ‘यता ले यता ले’ भनेर कराउँथे ।
छोरा चाँडै नै बितेकाले विधवा बुहारी अहिवाती सासु आमा छोरी जस्ता थिए रे । श्रीमानले कान्छी विवाह गरेर ल्याउँदा रत्यौली नाचेर रात कटाएकी यिनै हाम्री डुंडी जिजुबज्यै । नातीहरू जेठा जगटे कान्छा पँखेटे । कपाल बाह्र वर्षसम्म नफालेकाले जगटे (जगल्टे) र अति लामा लामा हात पाखुरा दारपात भएकाले पँखेटे भजन बालुनका गुरु, बालुन नाच्न फराकिलो आँगन कि गरै चाहिने । त्यसैले पनि पाँसुला लामा हुनाले पँखेटे भनेका होलान् । हेला भएका दुःख पाएका टुहुरा टुहुरीलाई माया गर्ने र हेला गर्ने बराबरै हुन्थे रे त्यतिखेर तर अहिले फरक छ ।
हाम्रो यही परिवारका सात भाइमा (साइला धर्मप्रसाद सानैमा मरेकाले) बाँकी रविलाल ठूलठूले, डण्डप्रसाद ठूलो माइला, जगुप्रसाद सानठूले, चन्द्रप्रसाद ठूलो कान्छा, गंगाप्रसाद सानमाइला, धनप्रसाद सानकान्छा, छ भाइ खलक भनिन्छ । जेठा नाति ठूलठूले अति सहयोगी तथा फितलो अलिकति सन्की स्वभाव तर बालबालिका भनेपछि हुरुक्कै हुने अति दयालु र मायालु । जसको आँगनमै हामी भुराको लामो समय बित्थ्यो । हाम्रा तिनै ठूलठूले जेठाबा बारे केही रमाइला प्रसंगमध्येका केही टाक्कटुक्क । उहाँ खेतको बिउ राखेदेखि त्यही खेतमा दैनिक गौंडागल्फा, ढुंगा र काठपात टिपनटान, झाडी फडान जस्ता काम, बाँझो खेतमा गाईबस्तु चराउने, गोठालाले बिउ ख्वाइदेलान् भनेर कुर्ने कामका लागि पनि साँझसम्म खेतमै बस्नुहुन्थ्यो ।
जब वर्षा सुरु हुन्थ्यो सबभन्दा पहिला खेत रोप्न थाल्नुहुन्थ्यो । सबैले मैजारो गरिसक्दा जेठाबा पहिले रोप्न थालेकै पाताल खेतको अँगेरघारीको पानीमा मूल पलाउन झण्डै भदौ लाग्थ्यो । जेठाबा त्यही गल्लीको मुखका सुर्कासुर्कीमा रोपाइँको मैजारो गर्नुहुन्थो । किनकि सबैतिर मूल पलाएपछि लाखेपर्खे गरेर खेत रोप्ने उहाँको बानी नै थिएन न त उहाँ हल हालेर नै कहिल्यै रोपाइँ गर्नुहुन्थ्यो । किनकि घरकै हलीगोरु घरकै खेतला, लाठे, रोपार, ब्याडे, बाउसे बुढा आफैँ गर्थे । बुढा छोराहरूलाई खासै काममा लगाउँदैनथे । उनकै मजामा मेलामा जान्थे, फर्कन्थे । उनीहरूलाई कहिल्यै पनि बुढाले खेतालामा गनेनन् ।
घरकै मेलो, घरकै खेलो, न त हुन्थ्यो पानीको छेलोखेलो तर बुढाको गजबकै थियो खेत रोपाइँ काम गराइको मेलो । खेतका गरागरा घुमी घुमी हेर्थे । कुनै गरामा पानीको राँटारुटी देखे भने, ए जेठा ! ‘ज्वो बाउ ।’ ‘यता ले यता ले’ भनेर कराउँथे । यो बाउले पक्कै गरामा राँटारुटी पानी देखे होला भनेर गोरु लिएर बाल्वाकी आउँथ्यो ‘जोत जोत’ भन्थे ।
जोती पनि सक्यो पानी पनि सुक्यो हुन्थ्यो । अनि बाल्वाकी भन्थे ‘हृया बाउ फरि इसरी त रोपिन्न है खेत’ । यस्तो वर्षैपिच्छे खेत रोप्न थालेपछि बाल्वाकीले सधैँ जसो भोग्नुपथ्र्यो । घरी यता ले घरी उता ले भनेर लीलै गर्थे खेतमा पानी नपुगेको साल जेठा बा । पानी पहुल भएर खेत रोप्न नपाएको सालमा । ‘बडो फुया गर्ने त होला भनेर बोलाको भए न त भोलि होला नि नभए पर्सि होला । हार नखान जेठा ! यसरी दौराको फेर फर्काएर कम्मरमा पटुकातिर टुप्पो सिउरिँदै भन्थे जेठा बा । ‘ए ! बाल्वकि यता ले यता ले’ यस्तै गर्थे । यस्तै गर्दैमा बित्थ्यो दिन, जोत्न थालेपछि हलोमा लागेको हिलो पनि सुक्थ्यो तर जेठा बा सानो राँटो पानी देखे नि भन्थे ‘यता ले, यता ले ।’ (गोरखाका लोककवि भट्ट हाल नर्थ क्यारोलाइना अमेरिकामा बस्तै आउनुभएको छ ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच